रोजगारी र आम्दानी बढाउने उद्देश्यले प्यूठानका कृषकले सामूहिक लगानीमा कृषि फार्म सञ्चालनमा ल्याएका छन् । प्यूठान नगरपालिका–९, मरन्ठाना बूढादेवीका स्थानीय कृषक सामूहिक कृषि फार्ममा लागेका हुन् । ६० रोपनी जग्गा भाडामा लिई उनीहरूले विभिन्न तरकारी खेती, स्थानीय जातका कुखुरापालन, व्यावसायिक भैंसी, बाख्रा र माछापालन गर्न थालेका हुन् ।
कुसुनढुंगा एकीकृत कृषि फार्म गठन गरी १८ जनाको सामूहिक लगानीमा कृषि फार्म सञ्चालनमा ल्याइएको फार्मका अध्यक्ष बोमबहादुर भण्डारीले बताए । “प्रतिव्यक्ति दुर्ई लाखका दरले फार्ममा लगानी गरेका छौं” भण्डारीले भने, “दैनिक ज्यालादारी रूपमा ७ जनाले फार्ममा काम गर्दै आएका छन् ।”