भदौ २८, बैतडी । गत आर्थिक वर्षमा दशरथचन्द नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको ९५ प्रतिशत रकम खर्च गरेको छ । नगरपालिकामा आएको २ करोड ४१ लाख ६ हजार ५९ रुपैयाँमा १ करोड ९५ लाख ४५ हजार ३९१ रुपैयाँ खर्च भएको हो ।
नगरपालिकाका ११ ओटा वडाका १ हजार ६९२ जनाले रोजगारको लागि फारम भरेको भएपनि ७४० जना रोजगारको लागि छनौट भएका थिए । छनौट भएका प्रतिव्यक्तिले औषतमा ५१ दिनको काम पाएका थिए । वडाले छनौट गरेका ४३ ओटा योजना निर्माण भएका छन् ।
निर्माण गरिएका योजना सोलिङ बाटो, पिसिसि बाटो, रोडमर्मत तथा नालि निर्माण, प्रतिक्षालय निर्माण, खानेपानी मर्मत, सिँचाइ कुलो मर्मत, चौतारो निर्माण, विद्यालय भवन निर्माण तथा खेल मैदान मर्मत गरेका थिए ।
कार्यक्रम सञ्चालन हुने समयमा कोरोनाले बन्द हुँदा योजनाको मूल्यांकन नपुगेकाले शत प्रतिशत रकम खर्च नभएको दशरथचन्द नगरपालिकाका रोजगार संयोजक नन्दराज जोशीले बताए । चालू आर्थिक वर्षको लागि पनि नगरपालिकाका १ हजार २६४ जना बेरोजगार व्यक्तिले फारम भरेको रोजगार संयोजक शाखाले बताएको छ ।
जिल्ला भरिको तथ्यांक हेर्दा सबै ठाउँमा कार्यक्रमबाट मर्मत संम्भारका योजनाहरुमै काम गराएको पाइन्छ । बेरोजगारहरुले रोजगारी पाएपनि निर्माण गरिएका योजनाहरु बजेट अनुसारका योजना निर्माण नभएको सरोकारवालहरु बताउँछन् ।