उद्योग स्थापनालाई आधार मान्दा नेपाल अहिले दोस्रो पुस्तामा चलिरहेको छ । पहिलो पुस्ताको रूपमा हाम्रा बुवा पुस्ताका उद्योगीहरूलाई लिन सकिन्छ । उनीहरूको पालामा मानव स्रोत व्यवस्थापनको त्यति सारो विकास भएको थिएन । सबै कामहरू सञ्चालकको निर्देशनमा हुने गर्थे र उनीहरूको बोली नै अन्तिम निर्णय हुन्थ्यो । त्यतिबेला पारिवारिक व्यवसाय थियो । साथै दक्ष जनशक्तिको अभाव पनि उत्तिकै थियो । त्यसकारण मानव स्रोत व्यवस्थापनको अभ्यास नहुनु स्वाभाविक थियो ।
अहिले नेपाली निजी क्षेत्र दोस्रो पुस्ताको हातमा आएपछि यो अहिले बढी व्यावसायिक बन्दै गएको छ । संसारमा विकसित हुँदै गएको विज्ञान प्रविधिका साथै मानव स्रोत व्यवस्थापनका विषयमा नवीनतम सिद्धान्तहरूको बारेमा अध्ययन गर्ने मौका यो पुस्ताले पायो । र, त्यसबाट फाइदा लिन सफल पनि भयो । यसकारण यो पुस्ता मानवस्रोत व्यवस्थापनको विषयमा अलि बढी सचेत छ र त्यसलाई महत्व पनि दिँदै आएको छ । निजी व्यावसायिक संस्थाहरूले मानव स्रोत व्यवस्थापन नीति तयार गरेका छन् । तर, कतिले त्यसलाई लागू गरेका छन् भनेर संख्या तोक्न भने कठिन छ । अथवा कतिले आफ्नो रणनीतिक योजना तयार गर्दा मानव स्रोत व्यवस्थापन योजनालाई पनि ख्याल गर्ने गरेका छन् भन्न मुस्किल छ । के चाहिँ भन्न सकिन्छ भने– बैंक, बहुराष्ट्रिय कम्पनीहरू र स्वदेशी औपचारिक व्यावसायिक संस्थाहरूबाहेक अरू संस्थाहरूमा मानव स्रोत व्यवस्थापन नीतिको प्रभावकारी अभ्यास हुन सकिरहेको छैन ।
(नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यसँगको कुराकानीबाट)
वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २