आगामी बजेटमा पूँजीगत लाभकर घटाउन धितोपत्र बोर्डको माग

जेठ ८, काठमाडौं । नेपाल धितोपत्र बोर्डले  आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि पूँजीगत लाभकर घटाउन माग गरेको छ ।  ५१ लाखभन्दा बढी लगानीकर्ताको भविष्य जोडिएको धितोपत्र दोस्रो बजारको विकास र विस्तारका लागि बोर्डले पूँजीगत लाभकर घटाउन आवश्यक ठानेको हो । यसै वर्षदेखि सरकारले पूँजीगत लाभकर अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्ताबिच फरक - फरक लागू गरेको छ ।  धितोपत्र कारोबारमा नाफा भएको खण्डमा मात्र तिर्नुपर्ने यो कर यसै आर्थिक वर्षदेखि व्यक्तिगत लगानीकर्ताहरुको हकमा पनि फरक - फरक लागू भएको हो । यसअघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका व्यक्तिगत लगानीकर्ताहरुले यसै वर्षदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्न थालेका हुन् ।  दीर्घकालिन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप सरकारले ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको हो ।  धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ । बोर्डले आगामी दिन अल्पकालीन अवधि १८० दिन कायम गरी त्यस अवधिभित्र नाफामा विक्री गरेको धितोपत्रमा ६ दशमलव ५ प्रतिशत मात्र पूँजीगत लाभकर लगाउन माग गरेको हो ।  हाल कायम अल्पकालिन लगानीकर्ताले तिर्दै आएको पूँजीगत लाभकर १ दशमलव ५ प्रतिशत विन्दु कम कायम गर्न बोर्डले प्रस्ताव गरेको हो । बोर्डले हाल ३६५ दिन कायम रहेको दीर्घकालिन अवधि १८० दिनभन्दा बढीलाई मानेर त्यसमा भएको कारोबारबाट सिर्जित आम्दानीमा ५ प्रतिशत मात्र पूँजीगत लाभकर लागू गर्न भनेको छ । दीर्घकालिन लगानीकर्ताको लागि १ प्रतिशत विन्दु पूँजीगत लाभकर घटाउन बोर्डले माग गरेको हो । पूँजीगत लाभकर घटाउने लगायतका एक दर्जन माग बोर्डले आगामी बजेटका लागि गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सार्वजनिक निष्कासनमा आरक्षणको व्यवस्था गर्न समेत बोर्डले प्रस्ताव गरेको छ ।  विदेशमा बसेर आफ्नै देशमा लगानीको वातावरण बनाउने उद्देश्यले बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा आरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिएको हो । विशिष्टीकृत लगानी कोषको आर्जित आयमा कर नलाग्ने व्यवस्था गर्न माग गर्दै धितोपत्र बजारमा लगानी गर्दा लाग्ने शुल्कमा समेत पुनर्विचार गर्नुपर्नेमा बोर्डले सरकारको ध्यानाकर्षण गराएको छ ।  साना तथा मझौला कम्पनीको कारोबारका लागि छुट्टै प्लाटफर्मको व्यवस्था गर्नुपर्ने आवश्यकता समेत बोर्डले औल्याएको छ । यसले गर्दा धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीको मूल्य तथा बजार मापक नेप्से परिसूचकमा उच्च उतार चढाव आउने अवस्थामा सुधार आउने विश्वास बोर्डको छ ।  उल्लेखित प्रस्तावहरु सहित बोर्डले आगामी बजेटका लागि धितोपत्र तथा वस्तु विनियम सम्बन्धी अध्ययन तथा प्रशिक्षण संस्थाको स्थापना, वस्तु विनिमय बजार सञ्चालनका लागि आवश्यक पूर्वाधारको विकास, ऋणपत्र बजारको विकास, प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि सहजिकरण लगायतका प्रस्ताव पनि अघि सारेको छ ।  साथै, बोर्डलाई कर छूट हुने निकायका रुपमा परिभाषित गर्ने र एक अर्ब वा सोभन्दा बढीको कारोबार गर्ने कम्पनीहरुलाई अनिवार्य धितोपत्र सार्वजनिक निष्कासन गरी सूचीकृत हुनुपर्ने व्यवस्थालाई समेत कडाईका साथ लागू गर्न बोर्डले माग गरेको छ । 

सम्बन्धित सामग्री

साउनयता पुसमा उच्च लाभकर

काठमाडौं। गत पुसमा चालू आर्थिक वर्षकै सर्वाधिक पूूँजीगत लाभकर संकलन भएको छ । धितोपत्रको दोस्रो बजारको कारोबार राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार पुसमा ७४ करोड ३९ लाख १३ हजार रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेका अनुसार पुसमा व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनबाट १७ करोड २८ लाख ९९ हजार रुपैयाँ, अल्पकालीनबाट ५२ करोड ४४ लाख ७२ हजार रुपैयाँ र संस्थागत लगानीकर्ताबाट ४ करोड ६५ लाख ४१ हजार रुपैयाँ पूँजीगत लाभकर संकलन भएको हो । पुसमा चालू आर्थिक वर्ष (आव) कै सर्वाधिक लाभकर संकलन भएको हो । मङ्सिरको तुलनामा पुसमा सरकारले झन्डै १४५ प्रतिशत धेरै लाभकर संकलन गरेको तथ्यांक सूचना अधिकारी न्यौपानेले उपलब्ध गराए । उनका अनुसार साउनमा ४० करोड ८ लाख, भदौमा १४ करोड ६९ लाख, असोजमा २१ करोड ९५ लाख, कात्तिकमा ८ करोड ४१ लाख र मङ्सिरमा ३० करोड ५३ लाख रूपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । दुई वर्षभन्दा धेरै समयपछि धितोपत्रको दोस्रो बजारमा केही उत्साह देखिएको छ । मङ्सिर २० गतेदेखि उकालो लागेको धितोपत्र बजारको तथ्यांकीय मापक नेप्से बुधवार २ हजार १६३ बिन्दुमा बन्द भएको छ । यस दिन नेप्से २ हजार २१५ बिन्दुसम्म उक्लेको थियो ।  बजार उकालो लागेसँगै कारोबार रकमले पनि रेकर्ड कायम गर्दै अघि बढेको छ । बुधवार २९ महीनायताकै सर्वाधिक रकमको कारोबार भएको छ । यो दिन ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँभन्दा बढीको ३ करोड ३५ लाख २५ हजारभन्दा बढी कित्ता धितोपत्र किनबेच भएको हो । ६० लाख ८८ हजारभन्दा बढी लगानीकर्ताको सम्पत्ति कारोबार हुने धितोपत्रको दोस्रो बजार कारोबारमा २० लाखभन्दा बढी लगानीकर्ता सहभागी छन् । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता खोल्नेको संख्या ६० लाख ८८ हजारभन्दा माथि पुगेको अवस्थामा त्यसको करीब ३३ प्रतिशतले दोस्रो बजार कारोबारका लागि अनिवार्य रहेको टीएमएस खाता खोलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ । दुई महीनाअघि १८ लाख हाराहारीमा रहेको टिएमएस खाता अहिले २० लाखभन्दा माथि पुगेको नेप्सेको भनाइ छ । देशको अर्थतन्त्रको ऐना मानिने धितोपत्रको दोस्रो बजारमा सूचीकृत धितोपत्रको मूल्य बढेसँगै सरकारी आम्दानी पनि बढ्ने गरेको छ । सरकारले आफ्नो आम्दानीसँगै आम लगानीकर्ताको आम्दानी बढ्ने गतिमा बजारको विकास र विस्तारमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिँदै आएका छन् । गतवर्षको बजेटमै पूँजीगत लाभकर घटाउन माग गरेका लगानीकर्ताले आगामी बजेटमा उक्त माग सम्बोधन हुने अपेक्षा गरेका छन् ।  सरकारले धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई व्यक्तिगत लगानीकर्ताको हकमा दुई प्रकारमा विभाजन गरी कर संकलन गर्छ । एक वर्षभन्दा बढी समय शेयर राखेर विक्री गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम समय राख्नेलाई अल्पकालीन लगानीकर्तामा विभाजन गरेर सरकारले दुईथरी करको दर तोकेको छ ।  सरकारले अल्पकालीन लगानीकर्ताबाट ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनबाट ५ प्रतिशत पूँजीगत लाभकर असुल्ने व्यवस्था गरेको छ । संस्थागत लगानीकर्ताले भने १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ । लगानीकर्ताले धितोपत्र कारोबारबाट नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

पूँजीगत लाभकर नै अन्तिम कर हो कि होइन ? 'कानुनी व्यवस्थाले दोहोरो लाग्दैन'

हालै आर्थिक अभियानमा ‘पूँजीगत लाभकरलाई अन्तिम कर मान्न माग’ र ‘दोहोरो कर तिर्न तयार छैनन् लगानीकर्ता’ भन्ने समाचार छापिएको थियो । यो समाचार मात्र होइन, अहिले शेयरबजारका लगानीकर्ता सबैलाई यो व्यवस्था टाउको दुखाइ भएको छ । यही कारण शेयरबजार घटेको हो पनि भनिन्छ । मेरो विचारमा पूँजीगत लाभकर न त अन्तिम कर हो न यो दोहोरो कर हो । यससम्बन्धी आयकर ऐनका दफाहरू स्पष्ट छन् र ती दफाले कुनै प्रकारको अन्योलको सृजना गरेको छैन । तर, यस सम्बन्धमा आयकर ऐनका सम्बद्ध दफाहरूको अभिप्राय अथवा सही अर्थ नबुझेकाले नै अन्योल सृजना भएको हो । साथै आर्थिक विधेयक २०८० को दफा २९ ‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छूटसम्बन्धी विशेष व्यवस्थाले’ अन्योल बढाउनमा आगोमा घिउ हाल्ने कार्य गरेको छ । आन्तरिक राजस्व विभागले पनि प्रेस विज्ञप्ति जारी गरी पूँजीगत लाभकर अन्तिम कर हो भनी लेखेको छ ।  यस सन्दर्भमा आयकर ऐनका सान्दर्भिक दफाहरूको सही व्याख्या यस प्रकारले गर्न सकिन्छ ।   धितोपत्र, जग्गा तथा घरजग्गाको निःसर्गबाट पूँजीगत लाभ भएको अवस्थामा आयकर ऐनको दफा ९५ क ले जुनजुन दरले अग्रिम कर असुल गर्नुपर्ने भनी लेखेको छ उक्त ऐनको अनुसूची १ को दफा ४ ले पनि ती ती दरले नै कर लगाउनु भनी लेखको छ । अर्थात्, पूँजीगत लाभ भएको अवस्थामा अग्रिम करको दर र उक्त लाभमा लाग्ने करका दरहरू उही छन् र कुनै फरक छैन ।  जहाँसम्म पूँजीगत लाभकर अन्तिम हो अथवा होइन भन्ने प्रश्न छ, त्यसको जवाफ आयकर ऐनको दफा ९५ क को उपदफा (१३) ले दिएको छ । यस उपदफामा लेखिएको छ ‘यस दफाबमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले तिर्नुपर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ ।’ यस व्यवस्थाले स्पष्ट पारेको छ कि दफा ९५ क अनुसार कुनै पनि अग्रिम कर अन्तिम होइन, अग्रिम नै हो । तर, जबसम्म हामी दफा ९७ को प्रावधानलाई दफा ९५ क को प्रावधानसँग जोडेर अध्ययन गर्दैनौं तबसम्म यो कर अन्तिम होइन, अग्रिम हो भन्ने जवाफ प्रत्येक अवस्थामा सही हुन सक्दैन । आयकर ऐनको दफा ९७ मा आय विवरण दाखिला गर्न नपर्ने अवस्थाहरू बारे कुरा गरेको छ । ती अवस्थाहरूमध्ये एउटा यो पनि छ, ‘(ङ) आय विवरण पेश गर्न नचाहने गैरव्यावसायिक करयोग्य सम्पत्ति निःसर्गको आयमात्र भएको प्राकृतिक व्यक्ति ।’ अर्थात् कुनै प्राकृतिक व्यक्तिको उक्त वर्षमा गैरव्यावसायिक करयोग्य सम्पत्ति निःसर्गको आयमात्र भएको अवस्थामा उक्त व्यक्तिले आय विवरण दाखिला गर्नु पर्दैन । तर, दफा ९७ को उपदफा (२) ले यस प्रावधानमा पनि थप शर्त लगाएको छ, ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा ४० लाख रुपैयाँभन्दा बढी भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नुपर्ने छ ।’ यहाँ बुझ्नुपर्ने कुरा के हो भने जुन अवस्थामा पूँजीगत लाभकरका लागि आय विवरण दाखिला गर्नु पर्दैन भनी लेखेको छ, ती अवस्थामा मात्र पूँजीगत लाभकर अन्तिम कर मानिन्छ । उक्त अवस्थामा पनि लगानीकर्ताले आय विवरण दाखिला गर्न चाहेमा गर्न सक्ने भनी उसलाई स्वैच्छिक अधिकार प्रदान गरेको छ ।  आय विवरण दाखिला गर्दा दोहोरो कर भार पर्न जान्छ भन्ने धारणा पनि कपोलकल्पित हो । आयकर ऐनमा यस्तो लेखेको नै छैन । आय विवरणअनुसार गणना गरिएको कर दायित्वको रकम जैले पनि जम्मा अग्रिम करका रूपमा काटिएको रकमभन्दा घटी नै हुन्छ, बढी त कुनै हालतमा पनि हुँदैन । किनभने नेप्सेले जुनजुन कारोबारबाट लाभ भएको छ उक्त लाभ माथि तोकिएको दरले अग्रिम कर कट्टी गर्ने गर्छ, तर जुन कारोबारमा नोक्सान भएको छ उक्त नोक्सानको समायोजन लाभबाट गर्दैन । लगानीकर्ताले आय विवरण दाखिला गर्दा उक्त वर्षमा भएको लाभबाट नोक्सान घटाई खुद लाभ अथवा खुद नोक्सानको गणना गर्छ र खुद लाभ भएको खण्डमा मात्र उक्त खुद लाभको रकममा तोकिएको दरले कर लगाई जम्मा कर दायित्वको निर्धारण गर्छ । खुद नोक्सान भएको खण्डमा उक्त नोक्सानको रकमलाई आगामी वर्षको लाभबाट समायोजन गर्न पाउने गरी व्यवस्था गर्छ । आय विवरणअनुसारको कर दायित्वभन्दा अग्रिम कर कट्टी भएको रकम बढी भएमा बढी भएजतिको रकम आगामी वर्षको कर दायित्वबाट घटाउन पाइनेछ ।  आय विवरण भर्दा लगानीकर्तालाई निम्न फाइदा हुन जान्छ: कारोबार वर्षमा शेयर कारोबारमा बेहोरेको नोक्सान भए उक्त आय विवरणमा देखाउन पाइन्छ र आगामी वर्षमा हुने लाभबाट घटाउन पाइन्छ । एउटा शेयर बेच्दा भएको नोक्सानलाई अर्को शेयर बेच्दा भएको नाफाबाट घटाउन पाइने भएकाले यसरी वर्षभरिमा शेयर कारोबारबाट खुद लाभको गणना गरी उक्त खुद लाभमाथि मात्र कर दायित्वको निर्धारण गरिन्छ ।  प्राकृतिक व्यक्तिले पाउने कर छूटको रकम रू. ५ लाख वा रू. ५ लाख पनि घटाई बाँकी रहेको आयमा मात्र ५ वा ७ दशमलव ५ प्रतिशतले कर लाग्छ । शेयर खरीद गर्न बैंक वा वित्तीय कम्पनीबाट लिएको ऋणमा तिरेको ब्याज तथा शेयर कारोबारकै लागि गरिएका अन्य प्रत्यक्ष खर्च कर प्रयोजनका लागि उक्त आयबाट घटाउन पाइन्छ । आर्थिक विधेयक २०८० को दफा २९ निम्न अवस्थामा मात्र प्रभावित हुन्छ ।  क) कुनै एउटा प्राकृतिक व्यक्तिले धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबार गर्ने उद्देश्य लिई एउटा व्यावसायिक फर्म कुनै पनि एक सरकारी निकायमा दर्ता गराई वा नगराई सञ्चालन गरिरहेको छ भने र उक्त फर्मको नामबाट नै धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबार गरिरहेको छ भने मात्र ती कारोबारहरूलाई व्यावसायिक कारोबार भन्न मिल्छ । यस्तो अवस्थामा मात्र उक्त व्यावसायिक फर्मले खरीद गरेका धितोपत्र, जग्गा तथा घरजग्गालाई व्यापारिक मौज्दात मान्नुपर्छ । त्यसको निःसर्गबाट निर्धारण गरिएको करयोग्य आयलाई व्यवसायको आय मानी २५ प्रतिशतको दरले कर तिर्नुपर्ने हुन्छ । अन्य कुनै पनि अवस्थामा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारलाई नियमित व्यावसायिक कारोबार हो भनी भन्नै मिल्दैन ।  लेखक जगदिश अग्रवाल वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट हुन् ।

पूँजीगत लाभकर अल्पकालीन र दिर्घकालीन लगानीकर्ताका लागि फरक

जेठ १६, काठमाडौं । आगामी आर्थिक वर्षदेखि शेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले अल्पकालीन र दिर्घकालीन लगानीबाट प्राप्त प्रतिफलका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने भएको छ ।  यसअघि संस्थागत लगानीकर्ताहरुले १० प्रतिशत र सर्वसाधारण लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सर्वसाधारण लगानीकर्ताहरुलाई अल्कालीन र दिर्घकालीन लगानीकर्ताको रुपमा छुट्याएको छ ।  सरकारले जारी गरेको आर्थिक अध्यादेशमा एक वर्षभन्दा कम अवधिमा शेयर कारोबार भई लाभ लिएका लगानीकर्ताहरुमा ७ दशमलव ५ प्रतिशत र सोभन्दा बढी अवधिपछिको कारोबारबाट लाभ लिएका लगानीकर्ताका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । दिर्घकालीन लगानीकर्ताको तुलनामा अल्पकालीन लगानीकर्ताको लागि २ दशमलव ५ विन्दु अर्थात् ५० प्रतिशत बढी पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो ।  पूँजीगत लाभकरको व्यवस्था गरेको हो । एक वर्षसम्म शेयर कायम गरी त्यसपछि कारोबार पश्चात लाभ गर्ने लगानीकर्ताहरुका लागि भने सरकारले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको हो । यस अघि अल्कालिन र दिर्घकालीन दुबै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । यस वर्ष सरकारले अल्पकालिन लगानीकर्ताको लागि २ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर बढाएको हो  यस वर्षको बजेटमा पूँजीबजारका विषयमा धेरै कुरा सम्बोधन नभएपनि बजारको विकास र विस्तारकै लागि वितरणमुखी बजेट आएकोमा खुसी व्यक्त गरेका लगानीकर्ताहरुले अध्यादेशमार्फत पूँजीगत लाभकर बढाएकोमा भने दुख व्यक्त गरेका छन् । कतिपय लगानीकर्ताहरुले भने दिर्घकालीन लगानीलाई प्रोत्साहन हुने भन्दै यस विषयलाई स्वागत गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमकी सचिव दुर्गा तिवारीले अल्पकालीन लगानीकर्ताको लागि करको दर बढेकोमा असन्तुष्टि व्यक्त गरेकी छन् ।  उनले सरकारसँग दिर्घकालीन लगानीकर्ताको लागि करको दर कम गर्न माग गर्दै आएकोमा अल्पकालीन लगानीकर्ताको लागि कर बढाउँ भन्ने बुझाई परेको प्रतिक्रिया दिएका छिन् । दिर्घकालीन लगानीको लागि प्रोत्साहन गर्न सरकारले अल्पकालिन लगानीकर्ताको करको दर बढाएर हैन दिर्घकालीन लगानीकर्ताको लागि करको दर घटाउन आवश्यक रहेको उनको भनाई छ ।