बजार अभावले सिमेन्ट उद्योगको आम्दानी सुस्त

काठमाडौं । मुलुकमा सञ्चालित सिमेन्ट उद्योगहरू बजार अभावका कारण धराशयी अवस्थामा पुगेका छन् । उद्योगीका अनुसार बजार अभावका कारण सञ्चालनमा आएका ६३ सिमेन्ट उद्योगमध्ये अधिकांशको आम्दानी सुस्त छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा अहिले सिमेन्ट उद्योगहरू धराशयी अवस्थामा रहेको बताउँछन् । ‘बजार अभावका कारण उद्योगहरू धराशयी अवस्थामा पुगेका छन् । २० प्रतिशतभन्दा बढी उद्योगहरू त चलेका पनि छैनन्,’ उनले भने  ।  नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष तथा अग्नि सिमेन्टका प्रबन्ध निर्देशक डा. ताराप्रसाद पोखरेल बाटो, पुल, सिँचाइलगायत भौतिक पूर्वाधार निर्माण कार्य नहुँदा सिमेन्ट उद्योग प्रभावित भएको बताउँछन् । ‘नयाँ निर्माणको काम हुन सकेको छैन, निर्माण व्यवसायीले पुरानो कामको पनि भुक्तानी नपाएकाले पर्याप्त निर्माण कार्य हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर सिमेन्ट उद्योगमा परेको छ,’ उनले भने । भारतीय सिमेन्ट नेपालीभन्दा सस्तो भएकाले भारतमा निर्यात गरेर प्रतिस्पर्धा गर्ने अवस्था पनि नभएको पोखरेल बताउँछन् । ‘नेपाल सरकारले सिमेन्ट निर्यातलाई प्रोत्साहित गर्न ८ प्रतिशतसम्म नगद अनुदान दिएको छ,’ पोखरेल भन्छन्, ‘सिमेन्ट उद्योगलाई जोगाउने र निर्यात प्रवर्द्धन गर्ने हो भने निर्यातमा २० प्रतिशत अनुदान दिनु आवश्यक छ ।’ सिमेन्टको आपूर्ति मागभन्दा बढी भएर बजार अभाव हुँदा मूल्यमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको पनि उनले बताए । विभिन्न रेटिङ कम्पनीले सार्वजनिक गरेको १० ओटा सिमेन्ट कम्पनीको प्रतिवेदनअनुसार आर्थिक वर्ष (आव) सन् २०२० मा ३४ अर्ब सञ्चालन आम्दानी गरेका कम्पनीले २०२१ मा आम्दानी २३ प्रतिशतले बढेर ४१ अर्ब ९२ करोड रुपैयाँ पुगेको थियो । तर, २०२१ को तुलनामा २०२२ मा सिमेन्ट उद्योगहरूको आम्दानी ५ प्रतिशतले मात्र बढेको छ । बजार अभावकै कारण आम्दानी प्रभावित भएको व्यवसायी बताउँछन् ।  यस्तै आव सन् २०२२ मा ४४ अर्ब २८ करोड सञ्चालन नाफा कमाएका १० ओटा सिमेन्ट उद्योगले ५७ अर्ब १४ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएका छन् । यो कर्जा उनीहरूको सञ्चालन नाफाको तुलनामा २९ प्रतिशत बढी हो ।  १० सिमेन्ट कम्पनीको अवस्था  शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड सन् २०१७ मा स्थापित शौर्य सिमेन्टमा शंकर ग्रूप, अम्बे ग्रूप र हुलास ग्रूपको लगानी छ । कम्पनीको अध्यक्षमा शुलभ अग्रवाल छन् । रेटिङ कम्पनी इन्फोमेरिक्स नेपालका अनुसार शौर्यले आव सन् २०२२ मा ७ अर्ब ४३ करोड रुपैयाँ (लेखापरीक्षण नभएको) सञ्चालन आम्दानी गरेको छ । शौर्यले ११ अर्ब ४४ करोड रुपैयाँको दीर्घकालीन कर्जा र ३ अर्ब ७० करोडको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । इन्फोमेरिक्सले कम्पनीको दीर्घकालीन कर्जाको लागि ट्रिपल बी माइनस र अल्पकालीन कर्जाको लागि ए थ्री रेटिङ दिएको छ । कम्पनीले ‘शौर्य’ ब्रान्डमा सिमेन्ट गरी विक्रीवितरण गर्दै आएको छ । शौर्यको उद्योग सिरहामा छ । सम्राट सिमेन्ट कम्पनी प्रालि सन् २०१३ मा स्थापित सम्राट सिमेन्टको उद्योग दाङमा छ । यसको दैनिक उत्पादन क्षमता ३ हजार ६०० मेट्रिक टन छ । रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार सम्राटले आव (सन्) २०२२ मा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सम्राटले १० अर्ब १५ करोड रुपैयाँको दीर्घकालीन कर्जा र २ अर्ब ४९ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । केयर रेटिङ्सले दीर्घकालीन कर्जाको लागि डबल बी प्लस र अल्पकालीनका लागि ए फोर प्लस रेटिङ दिएको छ । कम्पनी अध्यक्षमा अनिलकुमार रुंगटा र प्रबन्ध निर्देशकमा वासुदेव पाण्डेय छन् । कम्पनीको निर्देशकमा निर्वाण चौधरी र वरुण चौधरी छन् । कम्पनीले ‘गजराज’, ‘सम्राट’, ‘बादशाह’, ‘बाज’ लगायत सातओटा ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड सन् २००७ मा स्थापित घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको उद्योग दाङमा छ । यसले ‘सगरमाथा’, ‘गोर्खा’, ‘विश्वकर्मा’लगायत ब्रान्डमा सिमेन्ट उत्पादन र विक्री गर्छ । इन्फोमेरिक्स नेपालका अनुसार घोराहीको वार्षिक क्लिंकर उत्पादन क्षमता ८ लाख ४० हजार मेट्रिक टन छ । आव सन् २०२२ मा ५ अर्ब ४ करोड रुपैयाँ कम्पनीको सञ्चालन आम्दानी गरेको कम्पनीले २०२३ को ६ महीनामा १ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ । इन्फोमेरिक्सले कम्पनीको ८ अर्ब ३ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी र २ अर्ब ३५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ए थ्री प्लस रेटिङ दिएको छ । घोराही सिमेन्टमा त्रिवेणी ग्रूप र विशाल ग्रूपको लगानी छ । कम्पनीको अध्यक्षमा पुरुषोत्तमलाल संघई छन् । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड सन् २००९ मा स्थापित पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको कारखाना नवलपरासीमा छ । यसको वार्षिक क्लिंकर उत्पादन क्षमता ५ लाख ९० हजार मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता ७ लाख ३० हजार टन छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार पाल्पा सिमेन्टले आव (सन्) २०२२ मा ३ अर्ब ८१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यसले भारतमा सिमेन्ट र क्लिंकर निर्यात पनि शुरू गरेको छ । आव सन् २०२३ को ११ महीनामा कम्पनीले २९ करोड २० लाख रुपैयाँको निर्यात गरेको छ । इक्राले कम्पनीको ४ अर्ब ६० करोड रुपैयाँ दीर्घकालीन कर्जाको लागि एल डबल बी र ३ अर्ब ८ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि ए फोर रेटिङ दिएको छ । कम्पनीमा आरएमसी ग्रूपको लगानी छ । सर्वोत्तम सिमेन्ट लिमिटेड सन् २०१० मा स्थापित सर्वोत्तम सिमेन्ट लिमिटेडको उद्योग नवलपरासीमा छ । यसले ‘सर्वोत्तम’ ब्रान्डमा ओपीसी र पीपीसी सिमेन्ट विक्रीवितरण गर्दै आएको छ । उद्योगको वार्षिक उत्पादन क्षमता १० लाख मेट्रिक टन क्लिंकर रहेको छ । इक्रा नेपालका अनुसार कम्पनीले आव (सन्) २०२२ मा ७ अर्ब ८८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । इक्राले सर्वोत्तमको ८२ करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि ट्रिपल बी र ३ अर्ब ८६ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ए थ्री प्लस रेटिङ दिएको छ । कम्पनीमा सौरभ ग्रूपको लगानी छ । शिवम् सिमेन्ट्स लिमिटेड सन् २००३ मा स्थापित शिवम् सिमेन्ट्स लिमिटेडमा लक्की ग्रूप, शारडा ग्रूप, गोयल ग्रूपलगायतको लगानी छ । उद्योगको वार्षिक क्लिंकर उत्पादन क्षमता ६ लाख ३० हजार मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता ९ लाख ९० हजार मेट्रिक टन छ । शिवम्ले ‘शिवम् सिमेन्ट’ ब्रान्डमा सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । इक्रा नेपालका अनुसार कम्पनीले आव (सन्) २०२२ मा ९ अर्ब २६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको शिवम् होल्डिङ्स प्राइभेट लिमिटेडमा ८० प्रतिशत र होङ्सी सिमेन्ट प्राइभेट लिमिटेडमा ३० प्रतिशत हिस्सेदारी छ । इक्राले कम्पनीको १ करोड १४ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एल डबल ए माइनस र ३ अर्ब ९ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए वान प्लस रेटिङ दिएको छ ।  अम्बे सिमेन्ट प्रालि सन् २००४ मा स्थापित अम्बे सिमेन्ट प्रालिको उद्योग पर्सामा छ । अम्बे ग्रूपको लगानी रहेको यस कम्पनीको अध्यक्षमा शोभाकर न्यौपाने र प्रबन्ध निर्देशकमा सज्जनकुमार अग्रवाल छन् । कम्पनीले १० ओटा ब्रान्डमा ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन र विक्रीवितरण गर्दै आएको छ । केयर रेटिङ्स नेपालका अनुसार अम्बेले आव सन् २०२२ मा १ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको ९५ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि केयर रेटिङ्सले ए फोर प्लस रेटिङ दिएको छ । उद्योगको ग्राइन्डिङ क्षमता दैनिक १ हजार मेट्रिक टन रहेको छ ।  वृज सिमेन्ट इन्डस्ट्रिज प्रालि सन् २००० मा स्थापित वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको उद्योग रूपन्देहीमा छ । यसको दैनिक ग्राइन्डिङ क्षमता १ हजार २ सय टन छ । कम्पनीमा केडिया अर्गनाइजेशन र भारतीय कम्पनी शान्ता सिमेन्ट प्रालिको बराबर शेयर छ । कम्पनीले ८ ओटा ब्रान्डमा ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन र विक्री वितरण गर्छ । इक्रा नेपालका अनुसार वृजले आव सन् २०२२ मा २ अर्ब ४९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । इक्राले वृजको ३३ करोड रुपैयाँ दीर्घकालीन कर्जाको लागि एल डबल बी माइनस र ५७ करोड रुपैयाँ अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ ।  आरएमसी सिमेन्ट प्रालि सन् २००९ मा स्थापित आरएमसी सिमेन्ट प्रालिको उद्योग बारामा छ । आरएमसीले ओपीसी र पीएससी सिमेन्ट उत्पादन गर्दै आएको छ । यसमा श्रवण अग्रवाल, राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवालको शेयर स्वामित्व छ । इक्रा नेपालका अनुसार आरएमसीले आव सन् २०२२ मा ८९ करोड रुपैयाँ (लेखापरीक्षण हुन बाँकी) सञ्चालन आम्दानी गरेको छ । इक्राले कम्पनीको ८१ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए थ्री रेटिङ दिएको छ । कम्पनीले बिटुमिनको व्यापार पनि शुरू गरेको छ । सन् २०२२ मा कम्पनीको ६३ प्रतिशत आम्दानी बिटुमिन व्यापारबाट भएको छ ।  अग्नि सिमेन्ट इन्डस्ट्रिज लिमिटेड सन् २००७ मा स्थापित अग्नि सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्छ । कम्पनीको अध्यक्षमा कृष्णप्रसाद पोख्रेल र प्रबन्ध निर्देशकमा डा. ताराप्रसाद पोख्रेल छन् । कम्पनीको दैनिक ग्राइन्डिङ क्षमता ९ सय मेट्रिक टन छ । केयर रेटिङ्स नेपालका अनुसार आव सन् २०२२ मा कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । केयर रेटिङ्सले कम्पनीको ११ करोड ५६ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि डबल बी माइनस र ६९ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि ए फोर रेटिङ दिएको छ । कम्पनीले ‘त्रिदेव’, ‘अग्नि’, ‘ओरियन्ट’ र ‘अल्फा’ ब्रान्डमा सिमेन्टको विक्री वितरण गर्छ ।

सम्बन्धित सामग्री

सिमेन्ट निर्यातमा सुखद सुरुवात

गत वर्ष साउनमा ४९ लाखको मात्रै निर्यात भएको सिमेन्ट यो साउनमा साढे २३ करोड पुग्यो सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान र विद्युत् महुसलमा समेत छुट दिने घोषणा गरेपछि नेपालबाट सिमेन्ट...

अर्घाखाँची सिमेन्ट भारत निर्यात

केही वर्षअघिसम्म सिमेन्ट तथा क्लिंकर दुवैमा भारतसँग आत्मनिर्भर रहेको नेपाल अब सिमेन्ट र क्लिंकर दुवै भारत निकासी गर्न सक्षम भएको छ । सोमबारमात्रै अर्घाखाँची सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । रुपन्देही जिल्लाको सियारी गाउँपालिकास्थित मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट उद्योग नेपालकै ठूलो सिमेन्ट उद्योगमध्येको एक हो । उद्योगले भैरहवाको बेलहिया नाका हुँदै सिमेन्ट […]

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

बागमती – सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ। लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ। कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो। उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि टेण्डर भइसकेकोले छिटै […]

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन बन्द भएको छ।  लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ।...

सुरु भयो सिमेन्ट निर्यात

सुरु भयो सिमेन्ट निर्यात काठमाडौं । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेन’ सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ । शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा […]

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन 'तानसेन' सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ।शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जा

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

काठमाडौं, असार २५ । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल(७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेनु सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ। शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार […]

सिमेन्ट निर्यातमा खै सहजीकरण?

आत्मनिर्भर भएकामध्येको एक वस्तु हो– सिमेन्ट। सिमेन्ट उत्पादक संघका अनुसार यहाँका उद्योगले वार्षिक करिब साढे दुई करोड टन सिमेन्ट उत्पादन गर्न सक्छन्। स्वदेशी बजारमा वार्षिक करिब एक करोड २० लाख टन मात्र खपत हुन्छ। बाँकी सवा करोड मेट्रिक टन सिमेन्ट निर्यात ग...

गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ५ वटा सिमेन्ट उद्योग कारबाहीमा (सूचीसहित)

काठमाण्डाै – गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच वटा सिमेन्ट उद्योग कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारबाही गरेको हो । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको छ । सिमेन्टको गुणस्तर परीक्षणका क्रममा तोकेको गुणस्तरअनुसार नरहेको भन्दै विभागले बिक्री/वितर...

४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट पहिलो

शिवम् सिमेन्ट ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको जनाएको छ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो । हालै गुणस्तर तथा नापतौल विभागले एनएस ५७२ प्रमाणिकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । सिमेन्ट […]