पर्वत (अस) । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका एकनारायण पौडेल विगत २२ वर्षदेखि तरकारी उत्पादन गर्दै आएका छन् । उनले ४ वर्षदेखि भने तरकारीसँगै बीउको उत्पादन पनि गर्न थालेका छन् । बीउको राम्रो बजार भएपछि उनले तरकारीसँगै बीउ उत्पादनमा लागेका हुन् ।
पौडेलको सिको गर्दै यहाँका २० परिवारले अहिले बीउको उत्पादन गर्न थालेका छन् । किसानहरू भक्तपुरे लोकल काँक्रो, रायो, मुला, टमाटर, खुर्सानी, काउली लगायत तरकारीको बीउ उत्पादन गर्न सक्रिय छन् । गाउँमा बनाइएका तीनओटा कृषि समूहमा आबद्ध कृषकले टमाटर र काँक्रोको बीउ काठमाडौंसम्म निकासी गर्दै आएको किसान पौडेलले जानकारी दिए । ‘वर्षभरि खाने अन्न भएकाले यो खेतमा त करैले धान लगाएको हो । अब धान काट्नासाथ यो फाँटैभरि हरिया तरकारी र बीउका लागि राखिएका तरकारी हुन्छन्,’ पौडेलले भने, ‘बीउबिजन बेचबिखनबाट लाखौंको आम्दानी हुन्छ ।’
पहिले पानीको अभावमा टारी बनेको यो खेतको मूल्य अहिले बजारको घडेरीको भन्दा पनि महँगो छ ।’ किसानले वर्षभरि उपभोग गर्ने भएकाले खेतमा धान त लगाउँछन् । तर धानको तुलनामा बढी फाइदा बीउ उत्पादनमा हुने गरेको स्थानीय झलकनाथ पौडेलले बताए । उनले वर्षमा ६० क्विन्टल टमाटर नै बेच्छन् । एउटै टमाटरको बोटमा १० किलोसम्म फल्ने र आफूले फरक–फरक जातका टमाटर फरक फरक ठाउँमा लगाएकाले सधैं उत्पादन दिन सकेको उनले बताए । किसानहरूका अनुसार गतवर्ष मात्रै टमाटरको ३० क्विन्टल र काँक्रोको ६० क्विन्टल बीउ विभिन्न ठाउँमा निकासी भएको थियो । गतवर्ष देशैभर उत्पादन राम्रो भएकाले बीउमा प्रतिस्पर्धा हुँदा कम आम्दानी भए पनि यस वर्ष धेरै वर्षाले बीउको मूल्य बढ्ने उनीहरूको अपेक्षा छ ।
यस वर्ष टमाटरको बीउको मूल्य प्रतिकिलो ३ हजार र काँक्राको बीउको २ हजार रुपैयाँ हुने खबरले कृषकहरू उत्साहित छन् । यस क्षेत्रमा केही न केही परिमाणमा बीउ उत्पादन नगर्ने घर नभएको स्थानीय इन्दिरा पौडेलले बताइन् । ‘हाम्रो जीविका तरकारीले नै धानेको छ,’ उनले भनिन्, ‘तरकारी खेती नगर्ने घरै छैन ।’ तरकारीबाटै गाउँमा करोडौं कमाइने भएकाले गाउँका युवा विदेश गएका छैनन् । कृषकहरूले तीन सिजनमा खेती गर्दै आएका छन् ।
जलजला कृषि उत्पादनका हिसाबले उर्वर भूमि रहेकाले व्यावसायिक कृषिका लागि गाउँपालिकाको ठाउँ र आवश्यकता अनुसार कृषकलाई सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए । जलजलामा उत्पादन हुने तरकारी कुश्मा बजार, म्याग्दीको बेनीबजार, बागलुङ बजार र पोखरासम्म निर्यात हुँदै आएको छ । हालै गण्डकी प्रदेशले यो गाउँलाई मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँमा छनौट गरेर तरकारी उत्पादनको पकेट क्षेत्र बनाएको छ । किसानले सरकारको तर्फबाट ८० प्रतिशतसम्म अनुदान प्राप्त गर्नेछन् ।