जेठ ५, काठमाडौं । प्रहरीले अदालतबाट एक दिन कैद र ९ लाख रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्तलाई बिहीवार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने वर्ष ३७ का प्रकाश रेग्मी रहेका छन् । निजले विसं २०७६ कात्तिक १० मा मुक्तिनाथ विकास बैंक लिमिटेड महाराजगञ्ज शाखामा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएका थिए ।
उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनको गत जेठ ३ गतेको फैसलाले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा एक दिन कैद र ९ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
प्रहरीले बिहीवार नै अभियुक्तलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।