अदानीले सम्पत्ति गुमाउने क्रम रोकिएन, हिन्डेनबर्गको प्रतिकारपछि कम्पनीको शेयर २० प्रतिशतसम्म घटे

काठमाडौं । भारतीय अर्बपति व्यापारी गौतम अदानीको सम्पत्ति घट्ने क्रम सोमवार पनि जारी छ । फोब्र्सको रियल टाइम बिलेनियर इन्डेक्सका अनुसार सोमवार उनको सम्पत्ति अर्को १० अर्ब डलरले घटेको छ । योसँगै उनको सम्पत्ति लगातार तेस्रो दिन पनि घटेको छ । उनको नेटवर्थ ८७ अर्ब १० करोड डलर छ । उनी फोब्र्सको सूचिमा आठौं स्थानमा ओर्लिएका छन् । मुकेश अम्बानी भने १० नम्बरमा छन् । हिन्डेनबर्गको रिपोर्ट आएपछि अदानी समूहको कम्पनीको शेयर ओर्लिने क्रम जारी छ । फोब्र्सको रियल टाइम बिलेनियर इन्डेक्समा अदानी सबैभन्दा धेरै गुमाउने व्यक्ति बनेका छन् । २ बजेसम्म उनले ९ अर्ब ६० करोड डलर गुमाएका छन् ।  अदानीले आफ्नो सम्पत्तिमा भएको वृद्धिलाई भारतको सफलतासँग जोड्ने प्रयास गरेको आरोप हिनडेनबर्गको छ । तर उनको सो प्रयासप्रति आफूहरु सहमत नभएको कम्पनीको भनाइ छ । अदानी समूहले धोकाधडीको ढाकछोप गर्न राष्ट्रियताको ढाल प्रयोग गरेको आरोप हिन्डेनबर्गको छ । भारत उदीयमान शक्ति राष्ट्रको साथसाथे उज्यालो भविष्य भएको लोकतान्त्रिक देश भएको तर अदानी समूहले यसलाइए पछाडि धकेलिरहेको आरोप हिन्डेनबर्गको छ । समूहले व्यवस्थित तवरले देशलाई लुटेर झन्डाले छोपेको कम्पनीको भनाइ छ । ४१३ पृष्ठको जवाफमा ३० पृष्ठ मात्रै आफूहरुले सोधेको प्रश्नमा केन्द्रित भएको बताइएको छ । अदानी ग्रुप र हिन्डेनबर्गबीच जुहारी जारी रहँदा सोमवार पनि अदानी समूहका कम्पनीको शेयरमा सेल अफ देखिएको छ ।  सोमवार बजार शुरु हुनु भन्दा अगाडि हिन्डेनबर्गले हिजो अदानीले दिएको जवाफमा प्रतिक्रिया दिएको थियो । सोमवार बिहानी कारोबारमा ९ प्रतिशतले बढेको अदानी इन्टरप्राइजेजको शेयर मूल्य घटेर साढे ३ प्रतिशतमा आएको थियो । अन्य ६ ठूला कम्पनीको शेयरमा तीव्र कमी आएको छ । अदानी पावर, अदानी ग्रिन, अदानी टोटल ग्यास र अदानी ट्रान्समिशनको शेयर मूल्य भने क्रमशः ५ प्रतिशत, २० प्रतिशत, २० प्रतिशत र ५० प्रतिशतले घटेका थिए । एजेन्सी