माघ १० देखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले माघ १० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत् पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १० दशमलव १४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा विक्रीका लागि छुट्याएको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा विक्री गर्नेछ ।  सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तामा विक्री गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६ सय ४० कित्ता आईपीओ पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा विक्री गर्न लागिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई बोलकबोल प्रणालीमार्फत आईपीओ विक्री गर्न लागिएको हो । योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।  योग्य संस्थागत लगानीकर्तालाई प्रतिशेयर ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकिएको छ । तोकिएको मूल्य सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । योग्य संस्थागत लगानीकर्तामा पूर्णरूपमा विक्री हुँदा कायम मूल्य कट अफ मूल्यमा १० प्रतिशत घटाएर दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ । बाँकी ६० प्रतिशत दरको आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले पुनः नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । बोर्डले पुस १९ गते कम्पनीलाई बुक बिल्डिङ विधिबाट पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई मात्र आईपीओ विक्री गर्न अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने यो कम्पनी दोस्रो नम्बरमा छ । यसअघि यो विधिबाट सर्वोत्तम सिमेन्टले आईपीओ जारी गरेको छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यस रेटिङले समयमै वित्तीय दायित्व वहन गर्न पर्याप्त क्षमता रहेको कम्पनीको संकेत गर्दछ । २०५२ भदौ १९ गतेदेखि सञ्चालनमा रहेको यस कम्पनीले विभिन्न किसिमका धागो उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादन भारत, टर्की, भियतनाम, युके लगाएतका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ ।  कम्पनीको अध्यक्षमा पवन गोल्यान छन् । यो कम्पनी नाफामै सञ्चालनमा छ । गत आर्थिक वर्षसम्म ५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी चालू आर्थिक वर्षको पहिलो आर्थिक वर्षसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ५ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ ।  

सम्बन्धित सामग्री

रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्दै, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । यही असार २७ गते रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । रिलायन्सले बुक बिल्डिङ विधिबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ जारी गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुटाएको ११ लाख ५५ हजार ९६० कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन […]

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न पायो स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले पुस १९ गते कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति दिएको हो । यस कम्पनीले आइपीओ निष्कासन गर्न बोर्डमा २०७९ असार ३१ गते निवेदन दिएको थियो । लामो समयपछि कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।  अनुमति पाएसँगै पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुनेछ । कम्पनीको शेयरको ४० प्रतिशतले हुने ७ लाख ७० हजार ६४६ कित्ता शेयर बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरिनेछ ।  कम्पनीको शेयरको आशय मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म छ । यही रेन्जमा रहेर योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिनु पर्नेछ । धितोपत्र पूर्ण रूपमा विक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गर्नुपर्छ । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छूट दिई धितोपत्र निष्कासन गर्नुपर्ने छ ।  योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरिएको शेयर बाँडफाँट भएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।  पवन गोल्यान कम्पनीका कार्यकारी अध्यक्ष हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा छ । कम्पनीले अन्तरराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्नलगायत सिउने धागो विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि सञ्चालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।  रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने दोस्रो कम्पनी बनेको छ । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।

जगदम्बा स्टिलसहित ३ उत्पादनमूलक कम्पनी आईपीओ निष्कासन प्रक्रियामा

१० पुस, काठमाडौं । सर्वोत्तम सिमेन्टपछि अरू ३ उत्पादनमूलक कम्पनीले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा प्रक्रिया अघि बढाएका छन् । जगदम्बा स्टिलसहित उत्पादनमूलक ३ कम्पनी प्राथमिक सेयर (आईपीओ) निष्कासनको प्रक्रियामा रहेका हुन् । जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स र एसवाई प्यानल नेपाल आईपीओ निष्कासनका लागि केही महिनादेखि नै बोर्डको पाइपलाइनमा छन् । यी ३ बाहेक […]

कात्तिक १ पछि आईपीओ स्वीकृति ठप्प

काठमाडौं । शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाढीले दोस्रो बजारमा आपूर्ति बढेको गुनासो आएसँगै नेपाल धितोपत्र बोर्डले कात्तिक १ गतेपछि आईपीओ स्वीकृति दिएको छैन ।  कात्तिक १ गते बोर्डले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई प्रिमियम मूल्यसहित प्रतिकित्ता २०६ रूपैयाँमा आईपीओ विक्री गर्न अनुमति दिएको थियो । त्यसपछि आईपीओ अनुमति ठप्प छ ।  नियमपूर्वक प्रक्रिया पूरा गरेका कम्पनीलाई आईपीओ अनुमति दिँदा पनि बोर्डको नेतृत्व र व्यवस्थापनको आलोचना हुन थालेपछि अध्यक्ष रमेशकुमार हमालले स्वीकृति प्रक्रियामा ढिलाइ गरेका हुन् । नियमपूर्वक काम गर्दा पनि अनेकौं मुद्दा मामिलाको सामना गर्नुपरेकाले कार्यसम्पादन नै सुस्त हुन पुगेको हमालले दाबी गरे ।  बोर्ड अध्यक्षले प्रक्रिया पूरा गरेको फाइल स्वीकृत गर्दा आलोचना भएपछि सञ्चालक समितिमार्फत फाइल स्वीकृत गराउने मनसाय अध्यक्ष हमालको थियो । उनले ‘बजारको दीर्घकालीन विकासका लागि’ आफूले अघि सारेको नीति प्रभावकारी हुने/नहुने विषयमा अहिले व्यवस्थापनसँग छलफल जारी रहेकाले सञ्चालक समितिमा उक्त प्रस्ताव पुगिनसकेको बताए ।  बोर्डमा सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रियाका लागि विभाग गठन गरेर स्वच्छ र पारदर्शी रूपमा काम भइरहेकोमा अनावश्यक आलोचनाबाट काम गर्ने कर्मचारी त्रसित भएको हमालले बताए । उनले यस्ता गतिविधिले नेपालमा सही कामको मूल्यांकन नहुने कुराको पुष्टि गर्ने समेत बताए । केही लगानीकर्ताको मागबमोजिम बोर्डले आईपीओ स्वीकृति प्रक्रियामा ढिलाइ गरेपछि चाँडै नै यसको निकास खोज्नुपर्नेमा लगानीकर्ताले नै जोड दिएका छन् । शेयर लगानीकर्ता संघ (नेपाल) का कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले दोस्रो बजारको सकारात्मक गति तय गर्न आईपीओ स्वीकृति प्रक्रिया रोक्नु उचित नहुने बताए । आलोचना भयो भन्दैमा नियामक निकायले आफ्नो नियम नै उल्लंघन गरेर आईपीओ स्वीकृतिमा ढिलाइ गर्न नहुने उनको तर्क छ ।  धितोपत्रको दोस्रो बजारप्रति लगानीकर्ताको जति चिन्ता छ त्योभन्दा बढी चिन्ता र जिम्मेवारी नियामक निकायले लिनुपर्ने भएकाले बजारको भविष्यलाई ध्यानमा राखी बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियालाई निरन्तरता दिनुपर्ने फुल्लेलले बताए ।  पछिल्लो समय बोर्डले सार्वजनिक निष्कासनलाई विशेष प्राथमिकताका साथ अघि बढाएको थियो । बोर्डको यो प्राथमिकताकै कारण वास्तविक क्षेत्रका कम्पनीदेखि जलविद्युत् क्षेत्रका धेरै कम्पनीले आईपीओमा चासो देखाएका छन् । राम्रा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिनेदेखि बुक बिल्डिङ विधिबाट समेत शेयर बेच्न दिने बाटो बोर्डले खुला गरेको थियो । लामो समयदेखि अन्योल बनेको बुक बिल्डिङ विधिमार्फत शेयर बेच्ने प्रक्रिया सर्वोत्तम सिमेन्टले अघि बढाएको छ । सर्वोत्तमले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि यो विधिबाट आईपीओ विक्री गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा विक्री भएको आईपीओको कटअफ मूल्य ४०१ रूपैयाँ निर्धारण भएको छ । अब यो मूल्यभन्दा १० प्रतिशत कममा कम्पनीले सर्वसाधारणलाई शेयर बेच्नेछ ।  अर्को एउटा कम्पनीले पनि बुक बिल्डिङ विधिबाट शेयर बेच्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले न्यूनतम ६०८ रूपैयाँदेखि अधिकतम ९१२ रूपैयाँमा बुक बिल्डिङ विधिबाट शेयर विक्रीका लागि २०७९ असार ३१ गते नै बोर्डमा निवेदन दिएको थियो । यो कम्पनीसँगै २२ कम्पनीले आईपीओ अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । बोर्डमा निवेदन दिने २२ कम्पनीमा अन्य समूह अन्तर्गतका ७, होटल तथा पर्यटनतर्फका २, जलविद्युत् समूहका ११, उत्पादन तथा प्रशोधन समूहका २ कम्पनी छन् ।