रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माघ १० गतेदेखि विक्रीमा आएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत् पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रूपैयाँको १० दशमलव १४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रूपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा विक्रीका लागि छुट्याएको छ । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तामा विक्री गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६ सय ४० कित्ता आईपीओ पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा विक्री गर्न लागिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई बोलकबोल प्रणालीमार्फत आईपीओ विक्री गर्न लागिएको हो ।  योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ६०८ रूपैयाँदेखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकिएको छ । तोकिएको मूल्य सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । योग्य संस्थागत लगानीकर्तामा पूर्ण रुपमा विक्री हुँदा कायम मूल्य कट अफ मूल्यमा १० प्रतिशत घटाएर दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ । बाँकी ६० प्रतिशत दरको आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले पुनः नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । बोर्डले पुस १९ गते कम्पनीलाई बुक विल्डिङ विधिबाट पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई मात्र आईपीओ विक्री गर्न अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  यो कम्पनी दोस्रो नम्बरमा रहेको छ । यस अघि यो विधिबाट सर्वोत्तम सिमेन्टले आईपीओ जारी गरेको छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यस रेटिङले समयमै वित्तीय दायित्व वहन गर्न प्रयाप्त क्षमता रहेको कम्पनीको संकेत गर्दछ । २०५२ साल भदौ १९ गतेदेखि सञ्चालनमा रहेको यस कम्पनीले विभिन्न किसिमका धागोहरु उत्पादन गर्दै आएको छ ।कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरू भारत, टर्की, भियतनाम, युके लगाएतका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ । कम्पनीको अध्यक्षमा पवन गोल्यान रहेका छन् । यो कम्पनी नाफामै सञ्चालनमा रहेको छ । गत आर्थिक वर्षसम्म ५ अर्ब ६३ करोड रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी चालू आर्थिक वर्षको पहिलो आर्थिक वर्षसम्मको  अपरिस्कृत वित्तीय विवरण अनुसार ५ अर्ब ६४ करोड रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस