असार १५, चितवन । चितवनका सात ओटा कृषि फार्मले उच्च क्षमताको ट्याक्टर पाएका छन् ।
भरतपुर महानगरले कृषिमा आधुनिकीकरण र उत्पादन क्षमतामा वृद्धि होस भन्ने योजनासहित छ ओटा ट्याक्टर र एक ओटा हाते ट्याक्टर हस्तान्तरण गरेको हो । महानगरको परिसरमा एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वति शाह ठकुरीले कृषि फार्मका किसानहरुलाई ट्याक्टर हस्तान्तरण गरेका हुन् ।
५० हर्स पावरको उच्च प्रविधिको ट्याक्टर पाउनेमा महानगरको कैलास कृषि विकास कृषक समूह, बिमल एग्रो फर्म एण्ड रिर्सच सेन्टर, कमलपोखरी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था, अमृत किसान बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड, हिम शिखर कृषि सहकारी संस्था र उन्नत बिज बृद्धि कृषक समूह रहेका छन् । यस्तै रिजन कृषि तथा पशुपक्षी फर्मे हाते ट्याक्टर प्राप्त गरेको छ । ट्याक्टरमा, हाईरो, कल्टिभेटर र रोटाभेटर मेत उपलब्ध गराइएको छ ।
प्रतिट्याक्टर १६ लाख ५२ हजार रुपैयाँ लागत मूल्य रहेको र महानगरले प्रतिट्याक्टर ८ लाख रुपैयाँ अनुदान दिएको महानगरका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए । महानगरमा आवेदन परेका कृषि फार्म र समुहलाई छनौट गरी थप पाँच ओटा ट्याक्टर अनुदानमा उपलब्ध गराइने उनले बताए ।
आइतवार मात्रै महानगरले एउटा फार्मलाई धान रोप्ने उच्च प्रविधिको मेसिन हस्तान्तरण गरेको थियो । केहीदिनमै पाँच ओटा फार्मलाई धान रोप्ने, प्रशोधन गर्ने र विद्युतीय डाएर मेशीन वितरण गरिने पौडेलको भनाइ छ ।
उक्त समारोहमा महानगर प्रमुख दाहालले महानगरपालिले कृषिलाई विगतका बर्षदेखि उच्च प्राथमिकतामा राख्दै आएको बताउंँदै कृषि क्षेत्रको विकासका लागि यान्त्रिकिकरण र आधुनिकिकरणमा जोड दिएको बताइन् ।
कृषि पेशामा अगाडी बढ्न यो कार्यक्रमले किसानलाई उत्प्रेरणा दिने बताउँदै दाहालले सिंचाइका लागि बोरिङ निर्माणमा उत्तिकै प्राथमिकता दिएको उनले बताइन् ।
युवालाई कृषि कर्ममा आकर्षण गर्न आगामी आर्थिक वर्षमा पनि कृषिका लागी पर्याप्त बजेट विनियोजन गरिएको उपप्रमुख पार्वती शाह ठकुरीले बताइन् । आगामी आर्थिक वर्षको बजेटमा प्रतिलिटर दूधमा ३ रुपैयाँ अनुदान दिएको बताउँदै उनले चितवन जिल्लालाई व्यावासियक र कृषिको हबको रुपमा विकसित गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।