चारैतिर जीर्ण बनेको भवन । पुरानो खिया लागेर प्वाल परेको जस्ताको छानो । कतिबेला भत्किने हो थाहा छैन । पानी चुहिन्छ । तर, त्यही भवनबाट स्वास्थ्य जस्तो संवेदनशील काम भइरहन्छ । स्वास्थ्यकर्मीहरू जोखिम मोलेर काम गर्छन् । गाउँले सर्वसाधारणहरू सामान्य औषधि लिन पनि घण्टौं पालो कुर्छन् । यो ०७२ सालको महाभूकम्पले अति जीर्ण बनाएको षडानन्द नगरपालिका–१, नेपालेडाँडास्थित स्वास्थ्यचौकीको हविगत हो । जीर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसँगै सावधानी अपनाउनुपर्ने बाध्यता छ ।