माघ २४, काठमाडौं । नेपालमा विगत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा कोरोना भाइरसका संक्रमित १ हजार ५७० जना थपिएका छन् । उक्त अवधिमा ११ हजार ३६५ ओटा नमूना परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार सो अवधिमा ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी कुल १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उक्त अवधिमा काठमाडौं उपत्यकामा ४३७ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार उक्त अवधिमा काठमाडौं जिल्लामा ३५० जना, ललितपुर जिल्लामा ५९ जना र भक्तपुर जिल्लामा २८ जना गरि कुल ४३७ जना संक्रमित थपिएका हुन् ।
हाल काठमाडौं उपत्यकामा कुल १९ हजार १०४ सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४ दशमलव ६ रहेको मन्त्रालयले बताएको छ ।
मुलुकभर अहिले १३७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ रहेको छ । त्यस्तै आईसीयूमा २५५ जना छन् भने ४२ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
त्यस्तै संस्थागत आईसोलेशनमा १ हजार २२८ जना छन् भने होम आईसोलशनमा ३८ हजार ८८३ जना रहेका छन् । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ ।