माघ ११, काठमाडौं । नेपालमा विगत २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार १८ हजार १०३ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४३२ र ७ हजार ८०६ ओटा नमूनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा भने आठ जनाको मृत्यु भएको छ ।
उक्त अवधिमा ३ हजार ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल मुलुकभर ८८ हजार ९३४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
यसैगरी उक्त अवधिमा काठमाडौं उपत्यकामा मात्रै ६ हजार १७२ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४ हजार ८७५ जना, भक्तपुर जिल्लामा ५१५ जना र ललितपुर जिल्लामा ७८२ जना संक्रमित थपिएका हुन् ।
हाल मुलुकभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आईसोेलेशनमा रहेका छन् भने १ हजार ८१७ जना संस्थागत आईसोलेशनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् रहेको उक्त मन्त्रालयले मंगलवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये ५६ हजार ८८२ काठमाडौं उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।
अहिले संक्रमित भइरहेकामध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्। विगत दुई सातादेखि नेपालमा कोभिड- १९ संक्रमण वृद्धि भइरहेको छ।