साउन ६, विराटनगर । नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि विक्री वितरण गर्दै आएका ५२ ओटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् ।
वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७/७८ मा २०२ ओटा व्यावसायिक फर्ममा अनुगमन गरिएकोमा सो संख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइएको छ ।
तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि, कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगंगास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस रू. दुई लाख वा सोभन्दा बढी जरिवानामा परेका थिए ।
ती फर्मबाट रू. १९ लाख पाँच हजार जरिवाना असुल गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २२ फर्ममाथि कारवाही गरी रू. नौ लाख २५ हजार जरिवाना गरेको थियो ।
यसैबीच गत आर्थिक वर्षमा एक हजार ८३९ नयाँ फर्म दर्ता भएकामा तीन हजार ३०६ फर्मको नवीकरण/संशोधन र २०० फर्म खारेजीमा परेको कार्यालयले जानकारी दिएको छ । यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । रासस