पनौती नगरपालिका–८ मा रहेको खरीबोट दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले उक्त सहकारीमार्फत दूध बेच्ने किसानलाई अनुदान रकम वितरण गरेको छ ।
बागमती प्रदेश सरकारले सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर दुई रुपियाँ प्रोत्साहनमा आधारित कार्यक्रममार्फत अनुदान दिँदै आएको छ । सोही रकम उक्त सहकारीले शुक्रबार एक कार्यक्रमका बीच दुग्ध किसानलाई वितरण गरेको थियो । खरीबोट दुग्ध उत्पादन सहकारी संस्थाका व्यवस्थापक एवं पनौती नगरपालिका–८ का वडाध्यक्ष केशव बन्जाराले १०६ किसानलाई अनुदानको रकम वितरण गरेको बताउनुभयो । उहाँका अनुसार सहकारीमार्फत एक वर्षमा सङ्कलन भएको तीन लाख १९ हजार १४४ लिटर दूधको दुई रुपियाँका दरले छ लाख ३८ हजार २८८ रुपियाँ बागमती सरकारले अनुदान दिएको थियो ।