साउन १७, काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन ओटा योजनाहरुले लाभांश घोषणा गरेका छन् ।
एनआईसी एशिया ग्रोथ फण्ड,एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेका हुन् ।
एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले एउटै अनुपातमा कर सहित ३५ प्रतिशत र एनआईसी एशिया डायनामिक डेप्ट फण्डले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
क्यापिटलको व्यवस्थापनमा तीन बन्दमुखी योजना र एक खुलामुखी योजना सञ्चालनमा रहेको छ । यी तीन योजना सहित क्यापिटलले असार २३ गतेदेखि सात वर्षे अवधिको एनआईसी एशिया सेलेक्ट–३० सञ्चालन गरेको छ । एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड भने खुलामुखी योजना हो ।
एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष १२ प्रतिशत प्रतिफल वितरण गरेको थियो भने एनआईसी एशिया ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको आठ महीनामै ८ प्रतिशत प्रतिफल वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले भने पहिलो वर्षमा १० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।