प्यूठान नगरपालिका–१, खैराका माधव आचार्य बुटवल पावर कम्पनीको बाँझो जग्गामा रोपाइँ गर्दै हुनुहुन्छ । बन्दाबन्दीले अन्नलगायत खाद्य उपजमा भएको महँगी सम्झिएर उहाँ चार रोपनी बाँझो जमिनलाई खेतीयोग्य बनाउन लाग्नुभएको हो ।
“कमाउने र किन्ने कसरी भन्ने चिन्ता छ”, कृषक आचार्यले भन्नुभयो, “यही बाँझो जमिनमा खेती गरे पनि उब्जेपछि त केही दिन धान्ला ।” आचार्यसँंगै गाउँका कृषक सोही ठाउँमा रहेको बाँझो बगरमा खेती गर्न व्यस्त छन् । वर्षौँदेखि खाली जमिनमा यस वर्षदेखि खेती गर्न थालिएको छ । रोजगारीका लागि विभिन्न मुलुकमा गएका तन्नेरीहरू यसपटक गाउँ फर्केपछि बाँझो जमिनमा कृषि हतियार चल्न थालेका हुन् ।