जेठ ९, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू भएपछि केहि बैंकले आफ्ना अनुकूल नियम बनाएकोप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
नेपाल बैंकर्स संघले गत बिहीवार प्रेस विज्ञप्ति निकालेर निषेधाज्ञा भर ५० हजारभन्दा माथिको रकममात्रै खातामा जम्मा गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । संघले निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखाबाट अत्यावश्यक सेवा भने प्रदान गरिने बताएको थियो ।
अत्यावश्यक परेमा ग्राहकले खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी रकम खातामा जम्मा गर्न, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस, आरटीजीएस जस्ता माध्यमबाट) कारोबार गर्नुपर्ने मात्र बैंक जान संघले अनुरोध गरेको थियो ।
थोरै रकम जम्मा गर्नका लागि पनि बैंकमा भिड हुने गरेको भन्दै नेपाल बैंकर्स संघले कोभिड अवधिभरका लागि यस्तो निर्णय गरेको थियो । यतिखेर कतिपय बैंकले ससानो रकम झिक्न जाँदा सर्वसाधारणलाई ससानो रकम पनि भुक्तानी नदिएको गुनासो आएपछि गभर्नर अधिकारीले सामाजिक सञ्जालमा ट्वीट गर्दै ससानो रकम झिक्न नपाउने भन्ने बिषय हुदै होईन भन्दै यस्तो निर्देशन हुने कुरा पनि भएन र गरिएको पनि छैन भनेका छन् ।
साथै उनले कुन बैंकको कुन शाखाबाट यस्तो व्यवहार भएको हो खुलाएर जानकारी पठाउन भनेका छन् ।नेपाल राष्ट्र बैंकले ग्राहकको हितलाई प्राथमिकतामा राख्न, वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/ गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न https://gunaso.nrb.org.np/ अनलाइन पोर्टल निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ ।