त्रिपोली । लिबियाको संयुक्त राष्ट्र सङ्घ समर्थित सरकारका गृहमन्त्री फाथी बासाघाको हत्या प्रयास भएको छ ।
राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा गृहमन्त्री फाथीमाथि अज्ञात बन्धुकधारीले गोली चलाएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्रीको सवारीलाई लक्षित गरी टोयोटा गाडीमा सवार व्यक्तिहरूले मेसिनगन प्रयोग गरेर आक्रमण गरेका थिए ।
मन्त्री बासाघाका अङ्गरक्षकले प्रतिकारमा गोली चलाएका थिए, जसबाट एक जना बन्दुधकधारीको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना पक्राउ परेका थिए ।
२०११ मा लिबियाका तत्कालीन नेता मोउमर गद्दाफीको शासन पतन भएयता लिबियामा असुरक्षा र अस्थिरता व्याप्त छ । (रासस–सिन्ह्वा)