वैशाख १८, दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय स्थल च्छोरोल्पा हिमताल जाने टासिनाम–च्छोरोल्पा पदयात्रा मार्ग निर्माण सम्पन्न भएको छ । १६ लाख ५५ हजार २५० रुपैयाँको लागतमा पदमार्ग निर्माण सम्पन्न भएको हो ।
गौरिशंकर गाउँपालिका वडा नम्बर ९ मा निर्माण भएको सो पदमार्गकालागि डिभिजन वन कार्यालाय दोलखाले १५ लाख रुपैयाँ उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख शिव सापकोटाले आर्थिक अभियानलाई बताए । उपभोक्ता समितिद्वारा निर्माण गरिएको सो काममा उपभोक्ताहरुले १ लाख ५५ हजार २५० रुपैयाँ बराबर श्रम गरेको प्रमुख सापकोटाको भनाइ छ ।
बाग्मती प्रदेश सरकारबाट डिभिजन वन कार्यालय दोलखामार्फत आएको गौरिशंकर पर्यटन प्रवर्द्धन शिर्षकको रकमबाट गौरिशंकर गाउँपालिकाको छनोटमा सो पदमार्र्गमा सिंढी निर्माण गरिएको हो । गौरिशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्रभित्र पर्ने भएकोले पदयात्रा मार्गमा सिंढी निर्माण गर्न गौरिशंकर संरक्षण क्षेत्र आयोजनाबाट पनि सहमती लिई उपभोक्ता समिति मार्फत निर्माण गरिएको डिभिजन वन कार्यालय दोलखाले बताएको छ ।
टासिनाम–च्छोरोल्पा पदयात्रा मार्गको काम सम्पन्न भई भुक्तानीको चरणमा रहेको डिभिजन प्रमुख सापकोटाको भनाइ छ ।
सिंढी निर्माण गरिएको पदयात्रामार्ग को लम्बाई करीब ५ किलोमिटर रहेको छ । पदयात्रा मार्गमा सिंढी निर्माण पछि च्छोरोल्पा हिमताल हेर्न जाने पर्यटकहरु तथा स्थानीयहरुलाई यात्रा गर्न सहज हुने उपभोक्ता समितिका अध्यक्ष साङ्गे शेर्पाले बताए ।
यसैगरी डिभिजन वन कार्यालय दोलखामार्फत नै उपभोक्ता समितिबाट बैतेश्वर तथा जिरी नगरपालिकाको संगममा रहेको हनुमन्ते डाँडामा हनुमानको मुर्ति राख्ने, सिंढी तथा रेलिङ निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको कार्यालयको भनाइ छ ।
सो कार्यकालागि पनि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, दोलखा मार्फत १५ लाख रुपैयाँ उपलब्ध गराई उपभोक्ता सामिति मार्फत काम भइरहेको छ ।
हनुमन्ते डाँडामा हनुमानको मुर्ती राख्ने काम सम्पन्न भइसकेको, १०० मिटर सिँढी निर्माण गर्ने तथा ५० मिटर रेलिङ हाल्ने काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष केशबहादुर तामाङले बताए ।