गत जेठ २६ गतेको कान्तिपुर दैनिकमा चन्द्रकिशोरको ‘मान्छेसँग खुसी छैन चुरे’ शीर्षक लेख पढेपछि मैले चुरे संरक्षण क्षेत्रका सरोकारवालाहरूलाई सम्झें । निजी क्षेत्रसँग त चुरे खुसी होस् पनि कसरी, जसको ध्याउन्न नै चुरेको ढुंगा, गिट्टी र बालुवा बेचेर धनी बन्ने दाउ मात्र छ । यो वर्ग यति धेरै शक्तिशाली छ, आफूले चाहेजस्तो भएन भने सरकारको नीति नै बदल्न पछि पर्दैन । पछिल्लो समय ढुंगा, गिट्टी र बालुवा बेचेर राजस्व बढाउने नाममा यो वर्गसँग स्थानीय तहको पनि घाँटी जोडिएको छ । यी दुवै वर्गलाई चुरे रिसाएकामा खासै चिन्ता छैन; कमाइको शृंखला टुट्नु भएन, बस ।