काठमाडौं । खानी तथा भूगर्भ विभागले संखुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण शुरू गरेको छ । विभागको टोलीले संखुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य शुरू गरेको हो ।
विभागका महानिर्देशक रामप्रसाद घिमिरेले फलाम रहेको सम्भावित क्षेत्रको अध्ययन गरी ‘म्यापिङ’को कार्य अगाडि बढाएको बताए । ‘ठूलो क्षेत्रफलमा अध्ययन गरेर क्रमशः सानो क्षेत्रफलको अध्ययन गर्नेछौं,’ उनले भने । विभागले एक महिनाको फलामको भू–भौतिक अध्ययनका लागि जनशक्ति समेत
खटाइसकेको छ ।
फलामबाहेक उक्त विभागले काभ्रेपलाञ्चोकको फोस्रेडाँडामा ग्रेनाइटको अध्ययन एवं ‘ड्रिलिङ’ कार्य गरिरहेको छ । महानिर्देशक घिमिरेका अनुसार सिन्धुलीको पहाड तथा कैलालीको खोलामा पाइने ढुंगाको समेत अध्ययन गरिएको छ ।
विभागले चालू आर्थिक वर्षमा नै देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुंगा, मार्बल, बालुवा, तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो ।
खानी तथा भूगर्भ विभागले देशका विभिन्न शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम समेत गरिरहेको छ । विभागका अनुसार २०५२ सालदेखि हालसम्म देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम सम्पन्न भइसकेको छ ।
प्रत्येक वर्ष एक शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम गर्दै आएको विभागले चालू आर्थिक वर्षमा बर्दियाको गुलरीया बजारको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम सम्पन्न गरेको थियो । रासस