घाटामा चलिरहेको आयल निगमको १५ दिनमा थप अढाई अर्ब रुपैयाँ घाटा व्यहोर्ने निर्णय !

फागुन ४, काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य कम्तिमा पनि १५ दिनका लागि यथावत् राख्ने भएको छ । अन्तरराष्ट्रिय बजारमा हालैका दिनमा कच्चा तेलको भाउ बढेर कयौं वर्षयताकै उच्च स्तरमा उक्लिएको छ । भारतबाट आउने तेलको भाउ पनि बढेर आएको छ । तर आयल निगमले यस पटक भने तेलको भाउ नबढाउने भएको हो ।   निगमले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रतिलिटर पेट्रोलको भाउ १ सय ४२ रुपैयाँमा यथावत् राखिएको छ । प्रतिलिटर पेट्रोलमा निगमको लागत १ सय ६१ रुपया ५ पैसा छ । अर्थात् भाउ नबढाउने निर्णयपछि हरेक एक लिटर पेट्रोलमा निगमलाई १९ रुपया ५ पैसा घाटा हुनेछ । पेट्रोलमा निगमले बेहोरेको यो अहिलेसम्मकै उच्च घाटा हो । १५ दिनमा पेट्रोलमा निगमले कुल ५४ करोड ४४ लाख रुपैयाँ घाटा बेहोर्ने बताइएको छ । यसअघि निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)लाई हरेक लिटर पेट्रोलका लागि ८४ रुपयाँ ३२ पैसा तिर्दै आएको थियो । तर यस पटक भने खरिद मूल्य ५ रुपैयाँ ५६ पैसा बढेर ८९ रुपैयाँ ८८ पैसामा पुगेको छ । हरेक लिटर पेट्रोलमा निगमले नेपाल सरकारलाई ५८ रुपैयाँ ४८ पैसा कर बुझाउने गरेको छ ।  यसमा ढुवानी भाडा, निगम खर्च, प्राविधिक नोक्सानीलगायत खर्च समावेश गरेर प्रतिलिटर पेट्रोलको लागत १ सय ६१ रुपैयाँ ५ पैसा पुग्छ । आईओसीले डिजेलको भाउ पनि प्रतिलिटर ५ रुपैयाँ ६३ पैसा बढाएर पठाएको छ । योसँगै डिजेलको लागत मूल्य १ सय ४८ रुपैयाँ ४८ पैसामा उक्लिएको छ । तर आयल निगमले डिजेलको विक्री मूल्य यस अघिकै प्रतिलिटर १ सय २५ रुपैयाँ कायम गरेको छ । अर्थात् डिजेलमा पनि निगमको घाटा प्रतिलिटर १५ रुपैयाँ ४८ पैसा छ । यसरी निगमले दैनिक १६ करोड रुपैयाँ भन्दा बढी र १५ दिनमा २ अर्ब ४२ करोड रुपैयाँ घाटा व्यहोर्ने निर्णय गरेको हो । नेपालमा पेट्रोलको भाउ पछिल्लो समयय कीर्तिमानी स्तरमा उक्लिएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । हालैका दिनमा भाउ प्रतिब्यारेल ९६ डलरसम्म उक्लिएको छ । युक्रेनमा रुसले हमला गर्ने अनुमानबीच पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा तेलको भाउ बढिरहेको छ । कच्चा तेलको भाउले चाँडै नै प्रतिब्यारेल १०० डलर छुने अनुमान बढेको छ ।   यो पनि पढ्नुस- तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्ने चेतावनी, आपूर्तिमा अवरोधको चिन्ता

सम्बन्धित सामग्री

आयल निगमले मासिक १४ करोड ब्याजमात्रै तिर्नुपर्छ !

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले तीन पटक मूल्य घटाएर पठाउँदा पनि नेपाल आयल निगम मासिक ६२ करोड घाटामा रहेको जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गरी निगम अझै घाटामा भएकाले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य नघटाउने निर्णय गरेको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा निगमका महानिर्देशक उमेशप्रसाद थानीले निगमको घाटा...

कर घटे पनि यसकारण पेट्रोल डीजलको मूल्य अझै बढ्न सक्छ

के सरकारले पेट्रोल र डीजलमा पूर्वाधार कर घटाएकोमा तपाईँ खुसी हुनुहुन्छ? यदि हुनुहुन्छ भने तपाईँको खुसी धेरै बेर नटिक्न सक्छ। नेपाल आयल निगम स्रोतका अनुसार सरकारले यही असार मसान्तसम्मका लागि मात्रै पूर्वाधार कर कटौती गर्ने निर्णय गरेको हो।'यो भनेको ४२-४३ दिनका लागि मात्रै पूर्वाधार कर घटाइएको हो, सधैँका लागि होइन,' निगम स्रोतले भन्यो।अझ पूर्वाधार कर घटाएर मूल्य पनि घटाउने कुराको अर्थ स्पष्ट भइनसकेकोले अब के गर्ने भन्नेबारे निगमका पदाधिकारीहरू नै अन्योलमा देखिन्छन्।'अब पूर्वाधार कर कटौतीसम्बन्धी अर्थ मन्त्रालयको पत्र प्राप्त भएपछि मात्रै के गर्ने भन्नेबारे निगमको सञ्चालक समितिले निर्णय गर्ला,' प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले भने।निगम स्रोतका अनुसार पूर्वाधार कर कटौती गरेर पनि सरकारले यदि मूल्य समायोजन गर्न भन्यो भने भाउ घट्नुको साटो अझ बढ्नेछ किनकि परल मूल्यमा अझै विक्री गर्ने गरिएको छैन।यो कुराको निगमले बुधवार सार्वजनिक गरेको विज्ञप्तिमा पनि सङ्केत गरेको छ।'यदि अन्तर्राष्ट्रिय मूल्य नघट्ने र यही बिन्दुमा स्थिर रहिरहने हो भने पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री-वितरण सहज बनाइराख्नका लागि पेट्रोल, डीजल र एलपी ग्यासको खुद्रा विकी मूल्य लागतसरह नै हुनेगरी कायम गर्नुपर्ने स्थिति रहेको छ।'करमा के भएको हो?कर कटौती गरेर भए पनि उपभोक्तालाई राहत दिनुपर्ने आवाज उठिरहँदा सरकारले पेट्रोल र डीजलमा लगाउँदै आएको पूर्वाधार कर घटाएको छ। योसँगै राज्यले असुल्दै आएको पूर्वाधार करमा प्रतिलिटर पेट्रोल र डीजलमा १०-१० रुपैयाँ घटेको छ।कर कटौती भएपछि थोरै भए पनि मूल्य घट्ला कि भन्ने सर्वसाधारण उपभोक्ताको अपेक्षा थियो। पेट्रोलियम पदार्थको लागत मूल्यपछि त्यसमा सरकारी राजस्व र मूल्य अभिवृद्धि कर जोडिने गरेको छ।त्यसमा भन्सार शुल्क, सडक मर्मत-सम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्कलगायत समेटिन्छ।पछिल्लो मूल्यसूची के छ?निगमले इन्डियन आयल कर्पोरेशनबाट बुधवार प्राप्त नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। सूचीअनुसार निगमको खरिद मूल्य पेट्रोल प्रतिलिटर रु. २०२.९३, डीजल रु. १८२.७३, मट्टितेल रु. १४७.९२ र एलपी ग्यास प्रतिसिलिन्डर रु. २५५१.१५ रहेको छ।निगमले अहिले पेट्रोल प्रति लिटर १७० ,डिजेल प्रति लिटर १५३ रुपैयाँ र मट्टीतेल प्रति लिटर १५३ रुपैयामा र एलपी ग्यास प्रतिसिलिन्डर रु.१,८०० मा विक्री गरिरहेको छ।हवाई इन्धन र मट्टितेल बाहेकमा अझै घाटा बेहोर्नुपरेको निगमले दाबी गरेको छ।मूल्यबारे मन्त्रालय के भन्छ?उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्नो प्रस्तावअनुसार नै सरकारले बजेटमार्फत्‌ पेट्रोल र डीजलमा पूर्वाधार कर हटाएको जनाएको छ।'त्यो हामीले नै गरेको प्रस्ताव थियो, बजेटमार्फत्‌ आएको छ। कार्यान्वयन भन्सार कार्यालयले गर्ने हो,' मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले भने।पेट्रोलियम पदार्थको मूल्य घटबढ गर्ने कुरा निगमको सञ्चालक समितिको भएको उनले बताए।'मन्त्रालयले नीतिगत विषय हेर्ने हो। मूल्यसम्बन्धमा निगमको सञ्चालक समितिले निर्णय गर्ला,' प्रवक्ता रेग्मीले थपे।आयल निगम के भन्छ?आयल निगमका अनुसार पेट्रोलमा अझै प्रतिलिटर रु. २२.९३, डीजलमा रु.१९.७३ र एलपी ग्यासमा प्रतिसिलिन्डर रु. ७५१.१४ घाटा रहेको छ।'पन्ध्र दिनमा अझै पनि ती अर्ब साढे सात करोड रुपैयाँ र एक महिनामा छ अर्ब १५ करोड रुपैयाँ घाटाको स्थिति भएकोले मूल्य घटाइहाल्ने अवस्थामा हामी छैनौँ,' निगमका प्रवक्ता विनितमणि उपाध्यायले बीबीसीसँग भने।इन्डियन आयल कर्पोरेशनलाई जुन महिनाका लागि करिब ३२ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ।'तर यस अवधिमा इन्धन विक्रीबापत सङ्कलन हुने रकमबाट करिब १० अर्ब रुपैयाँ मात्र भुक्तानी गर्न सक्ने स्थिति देखिएको छ,' निगमले भनेको छ।उपभोक्ता अधिकारवादी के भन्छन्?बढ्दो महँगीबीच पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएकोमा सर्वसाधारण तथा उपभोक्ता अधिकारवादीले सरकारको चर्को आलोचना गर्दै आएका छन्।'भन्सार कर र मूल्य अभिवृद्धिकर हटाएर सरकारले उपभोक्तालाई राहत दिनुपर्‍यो,' उपभोक्ता अधिकारवादी विमला खनालले भनिन्।तर सरकार आफैँ महँगीको समस्यालाई सम्बोधन गर्ने विषयमा इच्छुक नदेखिएको उनको आरोप छ। -बिबिसीबाट

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढायो

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।  नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।  चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छै ।मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा छ । &n

कसरी थाम्लान थामीले आयल निगमको घाटा ? यी हुन् नवनियुक्त कार्यकारीका ३ चुनौति !

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिका कारण पेट्रोल तथा डिजेलको मूल्य नेपालमा हालसम्मकै उच्च छ ।  पेट्रोलिमय पदार्थको मूल्य यतिविधि महँगो हुँदा पनि नेपाल आयल निगम भने चरम घाटामा गएको बताइएको छ । निगमका अनुसार फागुन मसान्तसम्म मात्रै निगमको घाटा २८ अर्ब रुपैयाँ नाघ्ने उल्लेख छ । यस्तो अवस्थामा निगमको नेतृत्व गर्न आएका छन्, उमेश प्रसाद थानी । गत बिहीवार बसेको मन्त्रीपरिषदको बैठकले निगमको कार्यकारी निर्देशक नियुक्त गरेका थानीले शुक्रवारदेखि कार्यभार पनि सम्हाली सकेका छन् ।  तर उनको कार्यकालमा घाटामा गएको निगमलाई नाफामा लैजाने देखि उपभोक्तालाई सस्तो मूल्यमा पेट्रोलियम दिने लगायतका चुनौति देखिन्छन् । पहिलो चुनौती- निगमको घाटा पूर्ति थानीले कार्यभार सम्हाल्दै गर्दा निगम लामो समयपछि घाटामा गइसकेको थियो । उक्त घाटा तत्काल थामिने संकेत पनि छैन । फागुन मसान्त सम्म २८ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपपण गरेको निगम यो भन्दा धेरै मूल्य बढाउन सक्ने अवस्थामा पनि छैन ।  पेट्रोलियम पदार्थको मूल्य नबढाए सरकारले लिने कर घटाए मात्रै निगमको घाटा थामीन सक्छ । तर अहिले भने निगमले मूल्य स्थिरीकरण कोषको रकम समेत खर्च गरिरहेको छ । यसरी संस्थानको घाटा बढेर सञ्चिति कोषको रकम खर्च हुँदै जानु र अत्यधिक मूल्य बढाउँदा पनि संस्थानले घाटा नै बेहोरिरहेको अवस्था नै व्यवस्थापनको मूख्य चुनौती रहेको निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल बताउँछन् ।  दोस्रो चुनौति- उपभोक्ता मूल्य घटाउने दवाब  इन्धन भनेको समग्र देशकै अर्थतन्त्र हाँक्ने पदार्थ भएकाले घाटाको व्यापार गर्न नहुने तर उपभोक्तामुखी समेत बन्नुपर्ने पूर्वकार्यकारी निर्देशक पौडेलको सुझाव छ ।  ‘संस्था पनि घाटामा नजाने र उपभोक्ता महँगी समेत नबढ्ने गरी चलाउनुपर्छ’ पौडेल भन्छन्, ‘त्यसको उपाय भनेको पेट्रोलको मूल्य जतिसक्दो बढाउनु पर्छ र डिजेलको मूल्य जतिसक्दो कम राखेर ब्यालेन्स गरेर जानुपर्ने नै देख्छु ।’ सरकारले लिने कर हटाएर भएपनि उपभोक्तालाई राहत दिनुपर्ने उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बताए । ‘सरकारले लिने कर हटाएर हुन्छ कि, निगमका कर्मचारीले पाउने सेवा सुविधा कटौती गरेर हुन्छ, उपभोक्ता मूल्य बढाउनु हुँदैन ।’ महर्जनले भने, ‘अहिलेको मूल्यबाट पनि घटाउनुपर्छ ।’  तेस्रो चुनौति- पेट्रोलियम व्यवसायीका बखेडा पछिल्लो समय निगम सम्बद्ध पेट्रोलियम व्यवसायीले पनि विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।  पेट्रोलियम व्यवसायी, पेट्रोलियम ढुवानी व्यवसायी र ग्यास व्यवसायीले ६ बुँदे माग राख्दै माग सम्बोधन नभए चैत ६ गतेदेखि कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् ।  पेट्रोलियम ढुवानी गरेको भाडा बढाउनुपर्ने, ग्यास तथा पेट्रोल विक्रीवापतको कमिशन बढाउनु पर्ने र गत १९ चैतमा खारेज गरिएको कमिशन प्रतिशत यथावत राख्न व्यवसायीले माग गरेका छन् ।  माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका व्यवसायीले आपूर्ति व्यवस्था खल्बल्याउन सक्छन् । आपूर्ति व्यवस्थामा समस्या नआउने गरी व्यवसायीलाई मनाउनुपर्ने चुनौति पनि थामी सामु छ । बुधवारको पत्र कुर्दै निगम फागुन १६ मा इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट आएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा र डिजेलमा प्रतिलिटर ११ रुपैयाँ ७८ पैसा नोक्सान बेहोरिरहेको निगमले उलेख गरेको छ ।  सो अनुसार निगमले १६ फागुनदेखि फागुनमसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ नोक्सानी बेहोर्ने प्रक्ष्येपण गरेको थियो । यद्यपि त्यसको हिसावकिताब सार्वजनकि गरिसकेको छैन ।  हरेक १५ दिनमा आइओसीबाट नयाँ मूल्यसूची आउने चलन अनुसार बुधवार नयाँ मूल्यसूची आउने छ । त्यसपछि निगमले फेरि आगामी १५ दिनको नोक्सान प्रक्ष्येपण गर्ने छ । अहिले निगमको घाटा बढेका कारण मूल्यस्थिरिकरण कोष लगायतका सञ्चिति कोषको रकम प्रयोग गर्दै आएको छ । गत २३ फागुनमा विज्ञप्ति जारी गर्दै निगमले  अघिल्लो दिन मात्रै मूल्यस्थिरिकरण कोषबाट ४ अर्ब २५ करोड रुपैयाँ आइओसीलाई भुक्तानी गर्ने निर्णय गरेको थियो । यसअघि गत माघमा पनि १ अर्ब ८० करोड रुपैयाँ उक्त कोषबाट निगमले आइओसीलाई भुक्तानी गरेको थियो ।

१५ दिनसम्म व्यवसायीले पुरानै कमिसनमा पेट्रोलियम पदार्थ उठाउने

काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले १५ दिनसम्म पुरानै डिलर कमिसनमा आधारित रहेर पेट्रोलियम पदार्थ उठाउने बताएको छ। पन्ध्र दिनपछि पनि सरकारले नयाँ मूल्यअनुसार कमिसन नदिए आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए। आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले निगमको व्यापार घाटा न्यूनीकरण गर्न भन्दै नयाँ पम्प व्यवसायीलाई […]