जेठ २०, महोत्तरी । महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज (जेठ २०) गते मध्यरातसम्मलाई तेस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागू हुने गरी पुन: ११ दिन थप गरेको हो ।
पहिलो पटक गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता जेठ १ र १० गते क्रमशः दोस्रो र तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लामा कोभिड–१९ संक्रमणको दर घट्दै गए पनि जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ ।
अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दुध, पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।
जिल्लामा अहिले बुधबारसम्म यसपालि गत वैशाख १४ गतेयता महाव्याधि संक्रमणले ६९ जनाको ज्यान गइसकेको छ । यस अवधिमा दुई हजार ३३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जानकारी दिएको छ । यस अवधिमा ४८५ जनाले संक्रमण जितेका छन् । अब एक हजार ७७८ जनामा अझै संक्रमण पाइएको कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिए । रासस