अनुदान पाएपछि किसान व्यावसायिक बाख्रापालनतर्फ उन्मुख

 कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख भएका छन् । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसाय कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमअन्तर्गत मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध किसानलाई अनुदान रकम उपलब्ध गराई व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख गराइएको छ ।     व्यावसायिक रूपमा बाख्रापालनका लागि परियोजनाले १५ लाख २२ हजार १५० र समूहमा आबद्ध किसानले १४ लाख ७० हजार ५० रकम बेहोर्ने सम्झौता गरिएको छ । कार्यक्रमको कुल लागत ३० लाख रहेको छ । समूहमा आबद्ध २४ परिवारले गरेको बाख्रापालनबाट ११५ जना लाभान्वित भएका छन् । नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टले खरी, जमुनापारी, बोयर क्रस, वारवरी, बिटल, सिरोही, जमुनापारी क्रस जातका बाख्रा वितरण गरिएको जानकारी दिए ।      ‘व्यावसायिक रूपमा बाख्रापालनको कार्यमा संलग्न किसानलाई आधुनिक तरिकाले बाख्रापालन गर्ने तौरतरिकाबारे तालिमका माध्यमबाट जानकारी दिन कार्य अगाडि बढाइएको छ,’ उनले भने, ‘खोर व्यवस्थापनदेखि आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि किसानलाई सुसूचित गर्दै छौं ।’ उनका अनुसार बाख्रामा विशेषगरी निमोनिया, खोरेत, भ्यागुते, थुनिलो, कक्सीडियोसीस, कन्टेजियस इकथाइमा, जुकालगायतका रोग देखापर्ने गरेका छन् । बाख्रालाई सन्तुलित आहारको व्यवस्थाका लागि समेत किसानलाई जानकारी दिने गरिएको उनले बताए । बाख्राका लागि आवश्यक पर्ने डालेघाँस र अन्य पोषणयुक्त घाँसका बिरुवा लगाउन गाउँ नजिकैको सार्वजनिक नदी तटीय क्षेत्रको जग्गा छनोट गरिएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए । नदीतटीय क्षेत्रमा झण्डै २० बिघा क्षेत्रफलमा तारबार गरी घाँस रोप्ने कार्यलाई केही दिनभित्रै शुरू गरिने उनको भनाइ छ । मध्यवर्ती युवा बाख्रापालन समूहका अध्यक्ष तेजबहादुर विष्टले परम्परागत तरिकाले बाख्रापालन गर्दा लागत खर्च धेरै आउने गरेको उल्लेख गर्दै आधुनिक तरिकाले बाख्रापालन गर्दा लागत घटन गई आम्दानी बढ्ने भएकाले यसलाई व्यावसायिकरूपमा अगाडि बढाउन हौसिएको बताए । ‘चरिनचरनका लागि विगतको जस्तो बाख्रालाई निकुञ्ज क्षेत्रमा अब लग्दैनौं,’ उनले भने, ‘पोषणयुक्त घाँसखेती गरी घरमै व्यवस्थित रूपमा बनाइएका खोरमा राखेर बाख्रापालनको कार्य हुन्छ ।’ बाख्रापलन विशेषगरी मासु र दुग्ध पदार्थ उत्पादनका लागि गरिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले बताए । ‘बाख्रापलन कम लागत र सामान्य हेरचाह गर्दा पुग्ने भएकाले विपन्न वर्गका किसानको जीविकोपार्जनको माध्यमका रूपमा यो व्यवसाय रहेको छ,’ उनले भने, ‘गरीबी हटाई विपन्न वर्गका व्यक्तिलाई आत्मनिर्भर बनाउनका लागि यस व्यवसायले सघाउ पुर्‍याउने विश्वास लिएका छौं ।’ व्यावसायिक रूपमा बाख्रापालन व्यवसायमा संलग्न किसानको व्यवसाय प्रवद्र्धनका लागि नगरपालिकाबाट समेत सहयोग गर्न तत्पर रहेको उनले बताए । मासुमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि किसानलाई व्यावसायिक बाख्रापालनतर्फ डोहो¥याइएको उनको भनाइ छ । सिमलफाँटा गाउँका अधिकांश परिवारले बाख्रापालन गर्दै आएका छन् । रासस

सम्बन्धित सामग्री

अनुदानले निर्वाहमुखीबाट व्यावसायिकतातर्फ पशुपालन, देशभरका किसान व्यावसायिक बन्दै

पोखरा । सरकारले हरेक वर्ष अनुदानमा आधारित कृषि कार्यक्रम सञ्चालन गर्ने भन्दै अर्बौं रुपैयाँ खर्च गर्ने गरेको छ । तर, फितलो कार्यान्वयन, योजना छनोटमा बेवास्ता तथा उचित अनुगमन तथा मूल्यांकन नहुँदा योजना असफल भएका उदाहरण बग्रेल्ती पाइन्छन् । तर, अनुदान रकम सदुपयोग गर्न सके निर्वाहमुखी रहेको पशुपालनलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् कास्कीको रूपा गाउँपालिकाका २४ महिला किसान ।  विश्व बैंकको सहयोगमा सञ्चालित नेपाल लाइभस्टक आयोजनामा जोडिएर पशुपालनमा लागेका देशैभरका ५ सयभन्दा बढी किसान अनुदानको रकम सदुपयोग गरी आफूलाई व्यवसायिक कृषकरूपमा उभ्याउँदैछन् ।  आयोजनाले गण्डकी प्रदेशमा मात्रै ४८ पालिकामा १३६ उपआयोजना सञ्चालन गरी निरन्तर अनुगमन मूल्यांकन तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराइरहेको छ । व्यक्ति, समूह, सहकारी, संघ र निजी फर्म तथा कम्पनीसँगको सहकार्यमा यी आयोजना अगाडि बढेका हुन् ।  आयोजना सञ्चालन गरिरहेका कृषकले केही प्राविधिक र प्रक्रियागत झन्झट भएता पनि आयोजना सम्पन्न हुँदासम्म आफू व्यवसायिक उत्पादक भएको बताएका छन् ।  कास्कीको रूपा गाउँपालिका–५ देउरालीस्थित २४ जना महिला मिलेर १ करोड ९८ लाख लगानीमा सञ्चालन गरेको  ‘अन्नपूर्ण पशुपालक समूह’ उपआयोजनामा आवद्ध भएका महिला कृषकहरूले आयोजना सम्पन्न भइसक्दा व्यवसायिक कृषक बनेको बताए ।   बाँदरले खेती नष्ट गर्न थालेपछि कृषक समूह बनाएर बाख्रापालन व्यवसाय शुरू गरेका यहाँका २४ महिला व्यावसायिक बन्दै गएका हुन् । सिँचाइको सुविधा नहुँदा किसानहरूको खेतीयोग्य जग्गा कम छ । त्यसमा पनि बाँदर आतङ्कका कारण बस्ती नै विस्थापित हुने अवस्था थियो । फलफूल, मकै, आलु, दलहन, गहुँ र तरकारीलगायतका बाली जोगाउनै मुस्किल परेपछि अधिकांश खेती बाँझै थियो ।  समूहले वन कार्यालयको सहयोगमा ३ हजार २०० घाँसका बेर्ना ल्याइ बाँझो जग्गामा लगाएपछि व्यावसायिकतातर्फ उन्मुख भएको किसान बताउँछन् । हाल आयोजनाको अनुदान सहयोगसहित कुल १ करोड ९८ लाखमा २२ अत्याधुनिक खोर निर्माण गरी बाख्रापालन गरिएको छ । शुरूमा ३१० बाख्रा र १३ ओटा उन्नत जातका बोका खरीद गरी शुरू भएको आयोजनाका सबै पशुको प्रसुडेन्सियल इन्योरेन्सले बीमा गरिदिएको छ । सुधारिएको खोर यूरियन पीट, कम्पोष्ट पिट निर्माण गरिएको छ । आयोजनाले सम्पन्न नभएसम्म प्राविधिक र आर्थिक सहयोग गर्दा यो उपआयोजना सम्भव भएको हो ।  यो समूहको नेतृत्व एक ६५ वर्षीया महिलाले गरेकी छन् । सामान्य लेखपढ समेत नभएकी खोमाया गुरुङ अन्नपूर्ण पशुपालक समूहकी अध्यक्ष हुन् । गाउँको आमा समूहमा ३० वर्ष अध्यक्ष रहेकी गुरुङलाई जापानी सहयोग नियोग जाइकामा लामो समय काम गरेको अनुभव पनि छ । छोरा विदेश बुहारी शहर झरेपछि एक्लै बनेकी गुरूङले आँफू सहित व्यवसायि बन्न चाहेका अन्य २३  जना महिलाको नेतृत्व गरिरहेकी छन् । आँफुले ऋण र आयोजनाको सहयोगमा ६ ओटा बाख्रा ल्याएर पाल्न थालेकी हुन । अहिले उनको खोरमा २४ ओटा बाख्रा पुगेका छन् । आफूले पनि बाख्रा पाल्दा अन्य महिलालाई हौसला मिलोस भनेर खोर बनाएको उनि बताउँछिन् ।   ‘छोरा विदेश गए बुहारी शहर झरिन् । खेतवारी बाँझै हुँदा मन दुख्थ्यो अहिले सबैमा घाँस लगाएकी छु । आफै घाँसपानी गर्छु,’ उनले भनिन्,  ‘नाती/नातिना दशैंमा आउँछन् । एउटा खसी खान्छन्, जान्छन्।’  ‘गाउँमा युवा छैनन्, भएका यिनै छोरीबुहारी हुन् । म बूढीमान्छेले २÷४ बाख्रापाल्दा यिनलाई हौसला होला भनेर मैले पनि पालेकी हुँ । तर, राम्रो भएको छ, आफै घाँसपानी गर्छु। ऋणको किस्ता महिनाको ७ हजार जति आउँछ । एउटै खसी बेचे २ महीनालाई किस्ता पुग्छ,’ उनले थपिन् । समूहकी सदस्य रहेकी कृषक दुर्गा बिकका अनुसार आयोजनाको अनुदान र बैंकको ऋण सहयोगमा खोर निर्माण सम्पन्न भएपछि २/४ ओटा बाख्रा पालन शुरू गरेको भए पनि अब व्यावसायिक रूपमै विस्तार गरी बाख्रापालन गर्ने सोच बनाएको बताइन् । आयोजना सम्पन्न हुँदासम्म सिकेको र प्राप्त गरेको तालिम तथा ज्ञानले आफूहरू व्यावसायिक बाख्रापालन गर्न सक्षम भएको उनको भनाइ छ । ‘पहिले पनि बन्दजस्तै (परम्परागत) खोरमा बाख्रा पाल्थ्यौं, कहिले राम्रो आम्दानी भएन । अहिले अत्याधुनिक खोर छ, कसरी पाल्नुपर्ने रहेछ भन्ने पनि सिकियो । अहिले छोटै समयमा उत्पादन पाउँदा अव व्यावसायिक रूपमै बाख्रापालन गर्ने सोचेकी छु,’ उनले भनिन् ।  सोही समूहकी सचिव तथा उपआयोजनाकी प्रबन्धक अप्सरा श्रेष्ठले लामो समय पोखरा बजारमा बस्दै आएको र कोरोना महामारीको समय गाउँ फर्केर शुरू गरेको बाख्रपालनले गाउँमै रोकेको बताइन् ।  उनका अनुसार यो समूहमा खरी बाख्रा तथा बोयर बोका खरीद गरी बाख्रापालनलाई व्यावसायीकरण र आधुनिकीकरणपछि दैनिक १९ किलो मासु उत्पादन गर्ने समूहको दीर्घकालीन योजना रहेको बताइन् ।  समूहले उत्पादन गरेको मासुको बजार व्यवस्थापनमा कुनै समस्या नभएको श्रेष्ठ बताउँछिन् । ‘बजारको समस्या पनि छैन । उपभोक्ता यहीँ आएर लैजानुहुन्छ । हामीले यहाँ आएका उपभोक्तालाई सकेसम्म खाली पठाउँदैनौं । समूहले उत्पादित खसीबाख्रा विक्रीका लागि बजारको मासु पसलसँग सहकार्यसमेत गरेको छ,’ उनले भनिन् । उनले जिउँदो खसी प्रतिकेजी ५५० रुपैयाँमा विक्री हुने गरेको जानकारी दिइन् ।

मौरीपालक किसानलाई अनुदान

कैलाली । कैलालीको जानकी गाउँपालिका– ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन् । व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर सो वनमा गएका हुन् । छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका उनी मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्ने गर्छन् । मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीका घार ठाउँठाउँ पुर्‍याउन पनि उनलाई कुनै समस्या छैन । ‘मसँग धेरै मौरी त छैन । व्यवसायलाई विस्तारै बढाउँदै गएको छु ।’ उनले भने, ‘मिहेनतअनुसार आम्दानी राम्रो छ । सिजनमा राम्रो आम्दानी हुन्छ । त्यहीँबाट आएको पैसाले घर खर्च, बालबालिकाको पढाइलगायतको सबै खर्च बेहोर्ने गरेको छु ।’ उनी मौरीपालन व्यवसायसँगै अन्य कृषि पेसामा समेत जोडिएका छन् । उनको सबै परिवार नै कृषिमा केन्द्रित छ । ‘कृषिलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । राज्यले मौरीलाई पनि कृषिसँग जोडेको छ तर त्यसमा किसानलाई कुनै अनुदान सहयोग अहिलेसम्म पनि भएको छैन ।’ किसान बलबहादुरले भने, ‘स्थानीय सरकारले पनि सहयोग गरेको छैन । अन्य कृषि क्षेत्रमा अनुदान आउँछ । अनुदान नदिए मौरीपालनलाई कृषिसँग जोड्नुभएन ।’ उनी मात्रै होइन, पछिल्लो समयमा किसान व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आएको भए पनि मौरीपालनमा किसान आकर्षित हुन सकेका थिएनन् । विशेषगरी पूर्वी क्षेत्रबाट मौरीपालक किसान तोरी फुल्ने समयमा मौरीका घार बोकेर कैलालीका विभिन्न ठाउँमा आउने गर्छन् । त्यहाँबाट आएका मौरीपालक किसानबाटै मौरीपालनमा आकर्षित भएको पाइन्छ । कतिपय किसानले व्यावसायिक रूपमा काम शुरु गरेका छन् भने कतिपयले भर्खरै मौरी पालन गर्न शुरू गरेका छन् । बजारीकरणको समस्या नभएका कारण पनि किसानहरू मौरीपालन व्यवसायमा आकर्षित भएको पाइन्छ । किसानले अहिले उत्पादन भएको मौरीको मह प्रतिकेजी रु. ५०० भन्दा बढीमा विक्री गर्दै आएका छन् । जानकी–७ का टेकबहादुर चौधरी पेसाले शिक्षक हुन् । उनले १७ वर्ष शिक्षण गरे । शिक्षण पेसाबाट सन्तुष्ट हुन नसकेका उनले अहिले शिक्षण पेसा छोडेर व्यावसायिक मौरीपालनमा लागेका छन् । रासस

पर्वतको पाङमा व्यावसायिक भैंसीपालनको लहर

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा नं २ खुर्कोटका किसान व्यावसायिक भैंसीपालनमा आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट क्षेत्र विस्तारपछि किसानहरू भैंसीपालनतर्फ आकर्षित भएका हुन् । पाङका यज्ञप्रसाद कँडेलले भैंसी पाल्न थालेको २६ वर्ष भयो । यो वर्ष आफू भैंसी थप्ने योजनामा रहेको उनले सुनाए । घरमा रहेका दुई भैंसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको भैंसीको व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)मा नपर्ने भएपछि उनले भैंसी थप गर्न लागेका हुन् । कँडेलजस्तै गोपीनाथ रिजालले पनि भैंसी थपेर आफू व्यावसायिक दूध उत्पादन गर्ने सोचमा रहेको बताए । ‘अहिले मसँग स्थानीय जातका तीनओटा भैंसी छन्,’ रिजालले भने, ‘अब तीनओटा थप्दै छु ।’ पाङ र वडा नम्बर २ खुर्कोटका ५० किसान नयाँ भैंसी खरीदको तयारीमा छन् । वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदीका अनुसार परियोजनाअन्तर्गत संघीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको पाँच लाख र किसानको ५ लाख गरी कुल ३५ लाख रुपैयाँ लगानीमा कम्तीमा पनि १५० ओटा भैंसी पाल्ने तयारी गरिएको छ । कृषि उत्पादनका लागि उर्वर मानिने पाङ र खुर्कोटमा अहिले पनि धेरै किसानले दुध उत्पादन गर्ने गरेको भए पनि त्यसलाई व्यावसायिक बनाउन नसक्दा अपेक्षित फाइदा लिन सकेका थिएनन् । मोही बनाएर फाल्ने दूधलाई व्यावसायिक रूपमा बजारमा पठाउन थप भैंसीसहित परियोजना लागू भएको हो । पार्वती गुफा भैंसीपालन पकेट समितिमार्फत दुग्ध संकलन केन्द्र समेत निर्माण गरेर पर्वत सदरमुकाम कुश्मा, बागलुङ सदरमुकाममा बागलुङमा विक्री गर्ने र त्यहाँ खपत हुन नसके पोखरासम्म पु¥याउने तयारी भइरहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । ‘यहाँ उत्पादित दूध खेर गइरहेको छ, दुग्ध उत्पादनलाई व्यावसायिक बनाएर स्थानीय नागरिकको जीवनस्तर उकास्न भैंसी पकेट जोन महत्त्वपूर्ण छ,’ उनले भने, ‘सबैको घरमा भएको दूध एकै ठाउँमा जम्मा पारेर विक्रीको व्यवस्था गरेपछि सबैले रोजगारी पाउँछन्, उत्पादनले उचित मूल्य पनि पाउँछ ।’ वडा सदस्य खगेन्द्र रिजालका अनुसार पकेट क्षेत्रमा समावेश हुन चाहने किसानका लागि सूचना आह्वान गरेर मापदण्ड पूरा गर्न सके सहभागी हुन भनिएको थियो, जसमा किसानको तर्फबाट १० हजार रुपैयाँ लगानी गर्नुपर्ने, कम्तीमा एउटा मुर्रा जातको सहित तीनओटा भैंसी पालेको हुनुपर्ने, एक रोपनी क्षेत्रफलमा घाँस लगाएको हुनुपर्ने लगायत शर्त राखिएको थियो । पहिलो वर्ष ५० जना किसान परियोजनामा सहभागी हुने र उनीहरूले पालेका भैंसीबाट दैनिक कम्तीमा ५०० लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएको छ । पाङ र खुर्कोटलाई पकेट जोनको रूपमा विकास गर्दै गर्दा पूर्व तयारी स्वरूप दुग्ध संकलन केन्द्र समेत निर्माण भइसकेको छ । दैनिक कम्तीमा साढे ५०० लिटर दूध संकलन गर्न सक्नेगरी काम अघि बढाइएको र बजार व्यवस्थापनका लागि समितिमार्फत ठाउँहरू बुझ्ने काम भइरहेको समितिका अध्यक्ष बाबुराम रिजालले बताए । गाउँका युवाहरू काम खोज्दै विदेश गएका छन् । स्थानीय चन्द्रकला रिजालले गाउँमा भैंसीपालनको लहर चलेपछि काठमाडौंमा रहेका छोराबुहारीलाई गाउँमै बोलाएर भैंसीपालन गर्न सल्लाह दिएको बताइन् । ‘अहिले सबैले भैंसीपालन गर्ने लहर चलाएका छन्,’ रिजालले भनिन्, ‘अरूको काम गर्नुभन्दा आफ्नै व्यवसाय गर्नुपर्छ भनेर छोराबुहारीलाई बोलाएकी छु ।’ कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार व्यावसायिक दूध उत्पादनको प्रचुर सम्भावना रहेको त्यस क्षेत्रलाई ५ वर्ष अघिदेखि नै दूधको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । तर किसानको सक्रियता र राज्यबाट हुने अनुदान सहयोगको अभावमा कार्यक्रम लागू हुन सकेको थिएन ।

धनकुटाका युवाको आकर्षण बाख्रा पालन व्यवसायमा

साउन ५, धनकुटा । पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ । यसै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुशेटारका स्थानीयले सामूहिक बाख्रापालन गरिरहेका छन् । पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका किसानले अहिले सामूहिक रुपमै उन्नत जातका बाख्रापालन गरिरहेका छन् ।  कुशेटारका २१ घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय गर्दै आएका छन् । २१ घरपरिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन् । बाख्रापालन व्यवसायमा अधिकांश युवा वैैदेशिक रोजगारबाट फर्केका छन् । उनीहरुले वैदेशिक रोजगारमा भन्दा राम्रो कमाइ भइरहेको बताएका छन् । कुशेटारका देवि नेम्बाङ आजकाल प्रायः बाख्राको खोरमै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी हो । उनीसहित गाउँका २१ परिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ नामको सामूहिक बाख्रा समूह खोलेपछि उनीहरुको दैनिकी बाख्रा फार्ममै बित्ने गरेको छ । नेम्बाङको खोरमा ६० ओटा भन्दा बढी बाख्रा रहेका छन् । गाउँमै व्यावसायी बन्न बाख्रापालन रोजेको उनी बताउँछन् । चितवन र मकवानपुरबाट उन्नत बोयर जातका बाख्रा खरीद गरेर ल्याएको नेम्बाङले जानकारी दिए । बाख्रापालनका लागि उनले ६० लाख बढीको लगानी भएको छ । २२ वर्षसम्म शिक्षक पेशामा आवद्ध नेम्बाङले माछापालन, लेयर्स कुखुरा र सुँगुर पालन पालन पनि गरेको बताउँछन् । माछापालन र सुँगुर पालन व्यवसायमा सोचेजस्तो आम्दानी नभएपछि बाख्रापालनमा लागेको उनले बताए । ६ वर्ष अगाडिबाट शुरु गरेको बाख्रापालनकै लागि ३५ रोपनी जग्गामा घाँस खेती गरिरहेको नेम्बाङले बताए । नेम्बाङले खरी, जमुनापारि हुँदै बोयर बाख्रा पालन गरिरहेको बताउँछन् । ‘बाख्रापालनबाट परिणाम आइसक्ने बेला भएको छैन’, नेम्बाङले भने, ‘२१ घरमा बाख्रा पालन गरिरहेका छौँ, समूहमा मिलेर काम गरेका छौँ, राम्रो परिणाम आउनेमा विश्वस्त छौँ ।’ नेम्बाङले युवा पुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए ।  कुशेटारकै ४३ वर्षीय अशोक याख्याको फर्ममा अहिले ४० ओटा बाख्रा छन् । उनी बाख्रापालनमा लागेको ७ वर्ष भएको छ । रोजगारीको शिलशिलामा ९ वर्ष मलेसिया, बहराइन डेढ वर्ष याख्याले गाउँमा फर्केपछि सुँगुर पालन गरेको बताउँछन् । उनले बाख्रापालनका लागि ४ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन् । बाख्रापालन व्यवसायबाट वार्षिक साढे ५ लाख रुपैयाँ भन्दा बढी कमाइ भइरहेको याख्खाले बताए । उनले बाख्रापालनको लागि खोरमा मात्रै ३ लाख लगानी भएको बताए ।  ‘विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, तर यहाँ छुट्टै आनन्द छ’, याख्खाले भने, ‘अब यही पेशालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो ।’ उनले थप्दै भने ‘घर खर्च जोहो गर्नकै लागि विदेश जानुपर्ने रहेनछ, आफूसँग भएको ज्ञान र सीपलाई राम्रोसँग प्रयोग गर्नुपर्ने रहेछ ।’ कुशेटारमा बाख्रा पालनका लागि ठाउँ पनि उपयुक्त भएकोले त्यहाँका मानिसले यो पेशा रोजेका हुन् । पुख्यौली रुपमा बाख्रापालन गर्दै आएका किसान व्यावसायिक बनेका छन् । २१ परिवारले प्रतिपरिवार मासिक ५० हजारदेखि ३ लाखसम्म आम्दानी गरिरहेका छन् । विदेश जानेलाई रोक्न सकिन्छ कि भन्ने हेतुले समूहमा बाख्रापालन शुरु गरेको र सरकारी अनुदान भन्दा आफैँ सक्षम बन्नेतर्फ लागेको रातमाटे घाँसी बोयर बाख्रापालन समूहका अध्यक्ष झप्टमान अधिकारीले बताए । अहिले २१ घरको बाख्रा फर्ममा करीब १ हजार भन्दा बढी बाख्रा रहेका छन् । कुशेटारका केही युवा विदेश जाने सोचलाई त्यागेर र विदेशबाट फर्केर बाख्रापालनमा लागेको समूहका अध्यक्ष अधिकारीले बताए । ‘केही युवा विदेश जाने सोच त्यागेर बाख्रापालनमा लागेका छन’, अधिकारीले भने आर्थिक अवस्था कमजोर भएकालाई समूहका एक सदस्यबाट १० देखि १५ हजार सहयोग गरेर खोर बनाउने काममा सहयोग गर्दै आएका छौं ।’ कुशेटारका बाख्रा फार्ममा अहिले ३ लाख रुपैयाँसम्म पर्ने बोयर जातका बोका रहेका छन् । ‘यहाँको कमाईले हरेक सदस्य पूर्णरुपमा सन्तुष्ट भएको पाएको छु’, अधिकारीले भने ‘आम्दानीलाई दोब्बर बनाउने गरी थप काम गर्ने तयारीमा रहेका छौं ।’ २१ घरले बाख्रापालनका लागि करीब २ करोड रुपैयाँ बढी लगानी गरेको अध्यक्ष अधिकारीले बताए । बाख्रापालनका लागि यस आर्थिक वर्षमा साँगुरीगढी गाउँपालिकाले समूहलाई १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

अनुदान पाएपछि किसान बाख्रापालनतर्फ उन्मुख

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख भएका छन् । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसाय कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमअन्तर्गत मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध किसानलाई अनुदान रकम उपलब्ध गराई व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख…