पर्वतको पाङमा व्यावसायिक भैंसीपालनको लहर

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा नं २ खुर्कोटका किसान व्यावसायिक भैंसीपालनमा आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट क्षेत्र विस्तारपछि किसानहरू भैंसीपालनतर्फ आकर्षित भएका हुन् । पाङका यज्ञप्रसाद कँडेलले भैंसी पाल्न थालेको २६ वर्ष भयो । यो वर्ष आफू भैंसी थप्ने योजनामा रहेको उनले सुनाए । घरमा रहेका दुई भैंसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको भैंसीको व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)मा नपर्ने भएपछि उनले भैंसी थप गर्न लागेका हुन् । कँडेलजस्तै गोपीनाथ रिजालले पनि भैंसी थपेर आफू व्यावसायिक दूध उत्पादन गर्ने सोचमा रहेको बताए । ‘अहिले मसँग स्थानीय जातका तीनओटा भैंसी छन्,’ रिजालले भने, ‘अब तीनओटा थप्दै छु ।’ पाङ र वडा नम्बर २ खुर्कोटका ५० किसान नयाँ भैंसी खरीदको तयारीमा छन् । वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदीका अनुसार परियोजनाअन्तर्गत संघीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको पाँच लाख र किसानको ५ लाख गरी कुल ३५ लाख रुपैयाँ लगानीमा कम्तीमा पनि १५० ओटा भैंसी पाल्ने तयारी गरिएको छ । कृषि उत्पादनका लागि उर्वर मानिने पाङ र खुर्कोटमा अहिले पनि धेरै किसानले दुध उत्पादन गर्ने गरेको भए पनि त्यसलाई व्यावसायिक बनाउन नसक्दा अपेक्षित फाइदा लिन सकेका थिएनन् । मोही बनाएर फाल्ने दूधलाई व्यावसायिक रूपमा बजारमा पठाउन थप भैंसीसहित परियोजना लागू भएको हो । पार्वती गुफा भैंसीपालन पकेट समितिमार्फत दुग्ध संकलन केन्द्र समेत निर्माण गरेर पर्वत सदरमुकाम कुश्मा, बागलुङ सदरमुकाममा बागलुङमा विक्री गर्ने र त्यहाँ खपत हुन नसके पोखरासम्म पु¥याउने तयारी भइरहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । ‘यहाँ उत्पादित दूध खेर गइरहेको छ, दुग्ध उत्पादनलाई व्यावसायिक बनाएर स्थानीय नागरिकको जीवनस्तर उकास्न भैंसी पकेट जोन महत्त्वपूर्ण छ,’ उनले भने, ‘सबैको घरमा भएको दूध एकै ठाउँमा जम्मा पारेर विक्रीको व्यवस्था गरेपछि सबैले रोजगारी पाउँछन्, उत्पादनले उचित मूल्य पनि पाउँछ ।’ वडा सदस्य खगेन्द्र रिजालका अनुसार पकेट क्षेत्रमा समावेश हुन चाहने किसानका लागि सूचना आह्वान गरेर मापदण्ड पूरा गर्न सके सहभागी हुन भनिएको थियो, जसमा किसानको तर्फबाट १० हजार रुपैयाँ लगानी गर्नुपर्ने, कम्तीमा एउटा मुर्रा जातको सहित तीनओटा भैंसी पालेको हुनुपर्ने, एक रोपनी क्षेत्रफलमा घाँस लगाएको हुनुपर्ने लगायत शर्त राखिएको थियो । पहिलो वर्ष ५० जना किसान परियोजनामा सहभागी हुने र उनीहरूले पालेका भैंसीबाट दैनिक कम्तीमा ५०० लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएको छ । पाङ र खुर्कोटलाई पकेट जोनको रूपमा विकास गर्दै गर्दा पूर्व तयारी स्वरूप दुग्ध संकलन केन्द्र समेत निर्माण भइसकेको छ । दैनिक कम्तीमा साढे ५०० लिटर दूध संकलन गर्न सक्नेगरी काम अघि बढाइएको र बजार व्यवस्थापनका लागि समितिमार्फत ठाउँहरू बुझ्ने काम भइरहेको समितिका अध्यक्ष बाबुराम रिजालले बताए । गाउँका युवाहरू काम खोज्दै विदेश गएका छन् । स्थानीय चन्द्रकला रिजालले गाउँमा भैंसीपालनको लहर चलेपछि काठमाडौंमा रहेका छोराबुहारीलाई गाउँमै बोलाएर भैंसीपालन गर्न सल्लाह दिएको बताइन् । ‘अहिले सबैले भैंसीपालन गर्ने लहर चलाएका छन्,’ रिजालले भनिन्, ‘अरूको काम गर्नुभन्दा आफ्नै व्यवसाय गर्नुपर्छ भनेर छोराबुहारीलाई बोलाएकी छु ।’ कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार व्यावसायिक दूध उत्पादनको प्रचुर सम्भावना रहेको त्यस क्षेत्रलाई ५ वर्ष अघिदेखि नै दूधको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । तर किसानको सक्रियता र राज्यबाट हुने अनुदान सहयोगको अभावमा कार्यक्रम लागू हुन सकेको थिएन ।