आर्थिक रूपले बुझ्दा, आर्थिक गतिविधि उच्च हुने समय चाडबाडकै समय हो । तलबी कर्मचारीले तेह्रौं महीनाको तलब बुझ्ने समय पनि दशैं हो । चाडबाडको समय भनेको त्यस्तो समय हो जुन समयमा आर्थिक गतिविधिको एउटा तीव्र रूप देख्न सकिन्छ । आर्थिक वर्षको कुल बजार गतिविधिको ४०–७० प्रतिशत खर्च यसै समयमा हुने गर्छ । चाडबाडमा जसरी भए पनि खर्च गर्ने पर्छ भन्ने सोच पनि पाइन्छ । यो विश्वव्यापी अभ्यास नै हो । बेलायततिर चाडपर्व भनेको व्यवसाय हो भनी बुझ्ने गरिन्छ । भारतको दुर्गम ठाउँतिर पनि वार्षिक खर्चको १५ प्रतिशत खर्च चाडबाडमा गर्ने गरिएको तथ्यांक भेटिन्छ । ‘फेस्टिभ सिजन प्लस २०२१’ को प्रतिवेदनअनुसार ९१ प्रतिशत भारतीयहरू चाडबाडको समयमा बढी खरीद गर्ने गरेका छन् ।
नेपालमा पनि यो तथ्यांक सोही अनुकूल होला भनि सजिलै अनुमान किन लगाउन सकिन्छ । यहाँ विक्रेताहरू पनि यस समयमा विक्री संख्या उच्च, नाफा न्यून राखेर उच्च आम्दानीको माध्यम खोजेको देख्न सकिन्छ । टिभी, फ्रिज, वासिङ मेसिनदेखि सवारीसाधनमा विभिन्न छूटका योजनाहरूले उक्त तथ्यको पुष्टि गर्छ । हुन पनि नेपालीहरू दशैं केन्द्रित योजना बुनिरहेका हुन्छन् – चाहे नेपालमा बस्ने हुन् वा विदेशमा । अहिले आएर दशैंतिहार भेटघाटको साथै देखाउनुपर्ने जमानातर्फ उन्मुख देखिन्छ । त्यही भएर यस समयमा नयाँ फर्निचर, लुगा कपडा, गरगहना लगायतका वस्तु बढी खरीद विक्री हुने गरेको हो ।
आर्थिक गतिविधि चलायमान राख्नका निमित्त चाडबाड आवश्यक देखिए तापनि यससँग आर्थिक विसंगतिका केही पक्षहरू पनि रहने गरेका छन् । सर्वप्रथम त चाडबाड आउना साथ महँगी पनि आउने गरेको छ । फलफुल तथा तरकारीको भाउ दोब्बर वा त्यसभन्दा बढी हुन्छ । यातायात क्षेत्रको भाडा सबैभन्दा उच्च यही समयमा हुन्छ चाहे गुणस्तर घटाएर होस् या मूल्य बढाएर, कुनै न कुनै तरीकाले चाडबाडमा ग्राहकहरूले सामान्य मुल्य भन्दा महँगो मूल्य तिर्नु परिरहेकै हुन्छ । सर्वसाधारणसँग पुग्दो नगद भएकाले पनि उनीहरू बढेको मूल्य स्वीकार गरिरहेका हुन्छन् ।
चाडबाडमा हुने कालोबजारी अर्को विसंगति हो । यस समयमा माग धेरै हुने र पूर्ति सीमित रहने यातायात आदि क्षेत्रमा निकै आर्थिक चलखेल हुने गरेको छ । शहरी भेगमा सहजै प्राप्त हुने वस्तु, ग्रामीण भेगमा पुगुन्जेलसम्म अभाब हुन सक्ने वस्तुहरूमा पनि यस समयमा कालोबजारी हुने गरेको छ ।
चाडबाड मूलतः धार्मिक र सामाजिक प्रक्रिया हो । अहिले आएर त्यसमा विकृति देखिन थालेको छ । गहना प्रदर्शन, जुवा तास वा मदिरा सेवन सामान्यसरह हुन थालेको छ । आज चाडबाड मनाउने कारण फेरिएको छ, । आज चाडबाड देखाउनका निमित्त मनाउने गरिन्छ, जुन एउटा गम्भीर सामाजिक समस्या भएर जन्म लिँदै छ ।
त्यसैगरी चाडबाडको समयपश्चात् निम्तने वित्तीय तनाव, देशव्यापी रूपमै देखिन्छ । वर्षमा एकपल्ट मिठो खान र राम्रो लगाउने भनेर ऋण लिएरै मनाउनेहरूको संख्या अझै पनि नेपालमा उल्लेखनीय छ । खाडीमा रहेका नेपालीहरूले पेश्की लिएर घर पठाइदिएको रकम होस् या गाउँघरमै ऋण लिएर दशैं मनाउनेहरू, शहरमा घर रंग्याउनको निमित्त जुटाइएको रकम होस् या महँगो मदिराको निमित्त जुटाइएको रकम होस् चाडबाडपछि सताउने वित्तीय तनावले धेरैलाई पिरोल्ने गर्छ । आफ्नो हैसियत बिर्सिएर हैसियतभन्दा माथि गएर खर्च गर्ने परिपाटीले यस्तो अवस्थाको सृजना गर्छ, जुन आजभोलि सामान्यसरह बन्दै गएको देखिन्छ ।
चाडबाड भनेको मुख्यतः आफू मात्र नभएर अरूलाई समेत समेटेर मनाउनुपर्ने हो । यो सामाजिक अभ्यास हो । धार्मिक वा सांस्कृतिक परम्परा हो । स्पेनमा हुने स्यान फर्मिन, अर्थात् साढे कुदाइ वा टोम्याटीना टोम्याटो लडाइँले उक्त मुलुकभन्दा बाहिरको पर्यटकलाई पनि आकर्षित गर्ने गरेको भेटिन्छ । न्यू ओर्लियन्समा मनाइने मार्दी ग्रास होस् या बेलायतमा मनाइने ग्लासटोनबरी यिनीहरूले ठूलो संख्यामा विदेशी पर्यटकसमेत आकर्षित गर्ने गरेको पाइन्छ । नेपालले पनि आफ्नो सभ्यता र संस्कारलाई व्यावसायिक स्वरूप प्रदान गर्न आवश्यक छ । दशैंलगायत चाडबाडले आफन्तबीच सामाजिक हुन सिकाउँदै आए तापनि अहिले आएर त्यस प्रकारको परिपाटी विकृत बन्दै गएको देखिन्छ । देखाउनकै निमित्त मनाइने झैं लाग्ने यस प्रकारको चाडबाडले हिजोको जस्तो मान्यता र विश्वास बोकेको छैन भन्न सकिन्छ । चाडबाड भनेको एकअर्कासँग भेटघाट गरी एकअर्काको समस्या बुझ्ने, सँगै बसेर खाने, रमाउने एक प्रकारको परम्परा र स्थिति हो । त्यसैले यस सयममा लामो बिदा दिइन्छ । चाडवाडमा बिदा प्रदान गर्नु भनेको उक्त चाडबाडको महत्त्व झन् बढाउनु हो । वर्षको एकपल्ट आउने चाडवाडमा बिदा व्यवस्थापन उचित तरीकाले गर्न सकेमा भीडभाडदेखि माग र आपूर्तिको व्यवस्थापन पनि सँगै हुँदै जाने थियो । फूलपातीको दिन घर जानुपर्ने र दशैंको भोलिपल्ट नै कार्यालय क्षेत्र फर्किहाल्नुपर्ने बाध्यताले दशैंको रौनक घट्दै गएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । जसले दशैं मनाउँदैन त्यसलाई पनि बिदा दिने र पूरा सरकारी संयन्त्र ठप्पजस्तै पार्ने व्यवस्था र अवस्था राम्रो होइन ।
चाडबाडको समयमा हिजो चोरीलगायत अपराधयुक्त कार्य धेरै हुने गरेको थियो । अचेल उक्त पाटो फेरिएर अर्कै मोड लिएको देखिन्छ । चाडबाड र यससँग आबद्ध विसंगति अभिन्न पाटो हो, यो हिजो पनि थियो र भोलि पनि रहिरहन्छ । तर, विसंगति कुन तहसम्म पुर्याउने भनी निर्धारण गर्ने जिम्मेवारी सबै पक्षको हो । संस्कृति पहिचान हो । यसलाई जोगाउन सबैको जिम्मेवारी हो । तर, संस्कृति धान्नै नसक्ने गरी खर्चिलो हुनु र अन्य विकृति थपिँदै जानु नकारात्मक पक्ष हो । संस्कृति परिमार्जन हुँदै जान्छ । चाडपर्व पनि परिष्कृत हुँदै जान्छ । तर, दशैंतिहारजस्ता चाडपर्वको महिमा घट्न दिनु हुँदैन ।
रेग्मी बैंकर हुन् ।