पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो ।
बलेवाको पैयुँपाटास्थित स्वास्थ्यचौकीको स्तर वृद्धि गरी नगर अस्पताल सञ्चालन गरिएको हो । शुक्रवार नगरप्रमुख जनकराज पौडेलले सो अस्पतालको उद्घाटन गरे । तत्काल पुरानै संरचनामा अस्पताल सञ्चालन गरिएको छ । ‘एक वर्षभित्र सुविधासम्पन्न नयाँ भवन निर्माण गर्छौं, जनशक्ति समेत थप्ने योजना छ,’ पौडेलले भने । स्थानीयवासीको सहयोगमा अस्पताल निर्माणका लागि ९ रोपनी जग्गाको व्यवस्था गरिएको छ । नयाँ भवन बनाउन १८ करोड बजेट विनियोजन गरिएको छ ।
‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअन्तर्गत पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको हो । अस्पतालमा तीन चिकित्सकसहित २७ जनाको जनशक्तिको व्यवस्था गरिने नगरपालिकाले बताएको छ । हाल यहाँ सिनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, कार्यालय सहयोगसहित आठ कर्मचारी कार्यरत छन् । उक्त अस्पताल सञ्चालनमा आएसँगै बागलुङ नगरपालिकाका पैयुँपाटा, नारायणस्थान र अमलाचौरका झन्डै २७ हजार नागरिक लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । ‘सरकारी सहयोगसँगै स्थानीयवासीबाट सहयोग संकलन समेत भइरहेको छ,’ उनले भने । रासस