काठमाडौं । नेपाली सेनाले राष्ट्र एकीकरणको स्मरण गर्दै गोरखादेखि काठमाडौंसम्म ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ । सेनाले पुस २७ गते जंगी अड्डामा २९९ औँ ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउँदै छ ।
सोही सन्दर्भमा गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरु गोरखा देखि धादिङ, नुवाकोट हुँदै काठमाडौं जंगी अड्डासम्म सञ्चालन हुने ‘एकीरण पदयात्रा’ आज (मंगलबार) गोरखा दरबारबाट सुरु भएको सेनाले जनाएको छ ।
बिभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम, अन्तर्क्रिया तथा प्रवचनको कार्यक्रमहरु समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पहिला पाँचवटा युनिटहरुको निशान झन्डा संलग्न भएको छ ।
कार्यक्रममा नेपाली सेना लगायत स्थानीय, सरकारी, गैर सरकारी निकायहरु र सर्वसाधारणको समेत सहभागिता रहेको छ । यस प्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिबृद्धी हुने विश्वास नेपाली सेनाले लिएको छ ।