संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन १९७३ देखि हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा विश्वभर मनाइँदै आइएको छ । वातावरण संरक्षणमा स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा विश्वस्तरमा देखिएका समस्या, सम्भावना तथा चुनौतीका बारेमा छलफल, बहस र विचार आदान–प्रदान गरी समाधानका उपाय खोज्ने अभियान हो– विश्व वातावरण दिवस । यस वर्षको विश्व वातावरण दिवसको प्रमुख विषय ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनःस्थापना’ रहेको छ । विश्व वातावरण दिवसकै दिन पारेर आज संयुक्त राष्ट्रसङ्घीय पारिस्थिकीय प्रणाली पुनःस्थापना दशक (२०२१–२०३०) को पनि औपचारिक सुरूवात भएको छ । क्षतिग्रस्त प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि यो अर्को नयाँ र दीर्घकालीन महŒवको अभियान हो । सन् २०२१ को वातावरण दिवसमा संयुक्त राष्ट्रसङ्घीय पारिस्थिकीय प्रणाली पुनःस्थापना दशकको सन्देशले प्राकृतिक पुनःस्थापनाको अभियानमा सरिक हुन र कोभिड महामारीबाट थलिएको आर्थिक तथा सामाजिक प्रक्रियालाई हरित उत्थानको माध्यमबाट पुनर्जीवन दिन ऊर्जा प्रदान गर्नेछ ।