रारा ताल कर्णाली प्रदेशकै सुन्दर ताल हो । यो सुन्दर मात्र होइन, नेपालको सबैभन्दा ठूलो ताल पनि हो । जैविक विविधताको हिसाबले पनि यो ताल महत्वपूर्ण मानिन्छ । नेपाल सरकारले घोषणा गरेका मुख्य १०० वटा पर्यटकीय स्थल र कर्णाली प्रदेशले घोषणा गरेका मुख्य १० वटा पर्यटकीय स्थलमा सूचीकृत छ यो क्षेत्र । उच्च हिमाली क्षेत्रमा पाइने जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदा र नेपालको सबैभन्दा ठूलो रारा ताल र त्यसको जलाधार क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले २०३४ साल साउन २४ गते राजपत्रमा सूचना प्रकाशन भई रारा राष्ट्रिय निकुञ्जको स्थापना भयो । यो नेपालको सबैभन्दा सानो र एक अग्रणी राष्ट्रिय निकुञ्ज पनि हो ।