पुस ८, काठमाडौं। नेपालमा जलविद्युतको उच्चतम मागमा नयाँ रेकर्ड बनेको छ।
बुधवार नेपालमा अधिकतम विद्युत् माग १ हजार ६६५ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। यसअघि विद्युतको उच्चतम माग एक पटक मात्रै १ हजार ६०० मेगावाट नाघेकोमा अहिले भने लगातार दुई दिनदेखि उच्चतम माग १ हजार ६०० मेगावाटभन्दा माथि रहेको छ।
यसअघि तीन महीनाअघि विद्युतको उच्चतम माग १ हजार ६१० मेगावाट र खपत भएको ऊर्जा ३ करोड २५ लाख युनिट पुगेको थियो। अहिले खपत भएको ऊर्जाको परिमाणमा करीब ३ करोड युनिट रहेको प्राधिकरणको तथ्याङ्क छ।
बुधवार देशभर २ करोड ९० लाख ३८ हजार युनिट ऊर्जा खपत भएको तथ्याङ्क छ। एक हप्ता अघिसम्म दैनिक २ करोड ७० लाख युनिट हाराहारी मात्रै ऊर्जा खपत भइरहेकोमा पछिल्लो केहि दिन यता दैनिक २० लाख युनिट भन्दा धेरै खपत बृद्धि भएको छ।
पुस महीनाको शुरुवातसँगै चिसो बढेको र प्राधिकरणले नयाँ औद्योगिक लाइनमा विद्युत् आपूर्ति शुरु गरेपछि खपत वृद्धि भएको हो।
नेपाल विद्युत् प्राधिकरणका आयोजनाबाट ८९ लाख ८ हजार युनिट ऊर्जा आपूर्ति हुँदा प्राधिकरणका सहायक कम्पनीहरुबाट ४७ लाख ४५ हजार युनिट, निजी क्षेत्रबाट ९७ लाख ९९ हजार युनिट र भारतबाट ५५ लाख २६ हजार युनिट विद्युत् ऊर्जा आपूर्ति भएको छ।