बौद्धिक सम्पत्ति संरक्षणमा प्रतिलिपि अधिकार : डेढ दशकमा २ हजार १६६ रचना दर्ता

काठमाडौं । बौद्धिक सम्पत्तिमा औद्योगिक सम्पत्ति र प्रतिलिपि अधिकार पर्छन् । प्रतिलिपि अधिकारले बौद्धिक सम्पत्ति संरक्षणमा योगदान दिएको छ । यसमा भएका कसुरहरू फौजदारी अभियोग अन्तर्गत दर्ता हुने भएकाले यो संवेदनशील विषय मानिन्छ । बौद्धिक सम्पत्तिविरुद्धका कार्यहरूमा फौजदारी अभियोग अन्तर्गत मुद्दा दर्ता हुन्छ । कला, साहित्य, गीतरसंगीत सृजना हुनासाथ प्रतिलिपि अधिकार स्वतस् प्राप्त हुन्छ । पछिल्ला दशकहरूमा भौतिक सम्पत्ति जस्तै बौद्धिक सम्पत्ति पनि स्थापित भएको छ । नेपालमा बौद्धिक सम्पत्ति संरक्षणका लागि साढे १ दशकअघि नै ‘प्रतिलिपि अधिकार ऐन–२०५९’ आएको छ । तर, ऐन आए पनि बौद्धिक सम्पत्तिको अधिकार तथा प्रतिलिपि अधिकारसम्बन्धी जानकारी उपत्यका बाहिर, प्रमुख शहरभन्दा पर पुग्न सकेको छैन । भौतिक सम्पत्ति जस्तै बौद्धिक सम्पत्ति पनि हुन्छ भन्ने चेतना अझै कमजोर पाइन्छ । सृजनामाथि स्रष्टाको अधिकार स्थापित गर्ने यो ऐनलाई कार्यान्वयन गर्न चेतना विस्तारमा सरकारले उल्लेख्य लगानी गरेको पाइँदैन । कला, ज्ञानको माध्यमबाट हुने सृजना पनि सम्पत्ति हो भन्ने थाहा पाउनेको संख्या न्यून छ । प्रतिलिपि अधिकार सम्बन्धी ऐन ल्याइए पनि यसको प्रचारप्रसारको विषय नै कम प्राथमिकतामा परेको देखिन्छ । सृजना तथा स्रष्टाहरूको दर्ता, अभिलेखीकरण गर्ने र यससम्बन्धी जनचेतना दिने निकायको रूपमा २०६१ वैशाख ७ गते नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय स्थापना गरिएको छ । प्रतिलिपि अधिकार सम्बन्धी चेतना जगाउने काम राज्यस्तरबाट न्यून प्राथमिकतामा परेको कार्यालयकी रजिस्ट्रार विष्णुकुमारी भट्टराई बताउँछिन् ।  ‘राज्यको तर्फबाट संस्कृतिको पाटो नै प्राथमिकतामा परेको छैन,’ उनले भनिन्, ‘सांस्कृतिक, साहित्यिक, सांगीतिक लगायत विधाका सृजना बौद्धिक सम्पत्ति हुन् भन्नेबारे बुझाउनै सकिएको छैन ।’ बौद्धिक सम्पत्ति भौतिक सम्पत्ति जस्तै महत्त्वपूर्ण भए पनि सरकारले भने यसको प्रचारप्रसारमा कम लगानी गरेको छ । प्रतिलिपि अधिकार सम्बन्धी कार्यक्रमका लागि अत्यन्त न्यून बजेट उपलब्ध छ । करीब ३ लाख बजेट पनि उपलब्ध नभएको रजिस्ट्रार भट्टराईले बताइन् ।  विश्वव्यापी रूपमा प्रतिलिपि अधिकारलगायत बौद्धिक सम्पत्तिको संरक्षण र उपयोगका लागि सांगठनिक रूपमा पहल भएको पाइन्छ । नेपाल पनि विश्व बौद्धिक सम्पत्ति संगठन ९डब्ल्यूआईपीओ०को सदस्य राष्ट्र भएको छ । नेपालमा ऐन आउनुअघि पनि रचना तथा सृजनाहरू उत्पादन नभएका होइनन् । तर, त्यसबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाबाट प्रतिलिपि सम्बन्धी कामहरू भएका थिए । त्यसभन्दा अघि शिक्षा मन्त्रालयको अधीनमा रहेर प्रतिलिपि अधिकारसम्बन्धी काम भएको पाइन्छ । रचना दर्ता राष्ट्रिय पुस्तकालयमा हुन्थे । पहिले किताबहरू राष्ट्रिय पुस्तकालय र गीत, संगीत रेडियो नेपालमा दर्ता हुन्थे । अहिले नेपालमा विभिन्न १३ विधाहरूमा प्रतिलिपि अधिकार दर्ता हुने प्रावधान छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०६१र६२ देखि यी विधामा प्रतिलिपि अधिकार दर्ता भएको पाइन्छ । त्यसयता चालू आर्थिक वर्ष २०७८र७९ को मङ्सिरसम्ममा यी विधामा प्रतिलिपि अधिकार सम्बन्धी कुल २ हजार १६६ ओटा रचना दर्ता भएका छन् । कार्यालयको तथ्यांकअनुसार यी विधामध्ये साहित्य लेखनमा दर्ता उल्लेख्य छ । यो विधामा हालसम्म १ हजार ५७१ ओटा रचना दर्ता भएका छन् । त्यसपछि काष्ठकला, धातुकला, मूर्तिकला र डिजिटल आर्टमा १६१ र ध्वनिअंकन विधामा १५२ दर्ता छन् । म्यागजिन प्रकाशन, शोधपत्र, अनुवाद, प्रस्तुति जस्ता विधामा भने कम दर्ता रहेको पाइन्छ । गीत संगीतहरू पनि साहित्यिक विधामा पर्ने हुँदा यसमा भने बढी भएको हो । प्रतिलिपि अधिकार ऐन–२०५९ ले कुनै पनि विधालाई अनिवार्य रूपमा दर्ता गराउन भनेको छैन, जसले गर्दा प्रतिलिपि अधिकार दर्ताको संख्या कम देखिएको हो । उक्त ऐनअनुसार प्रतिलिपि अधिकार उल्लंघन गरेमा फौजदारी कसुरमा कारबाही हुने व्यवस्था गरिएको छ । कार्यालयका रजिस्ट्रार भट्टराईले उजुरीहरू पनि कम पर्ने गरेको बताइन् । ‘पुस्तकको हकमा उजुरी त्यति धेरै आएको देखिँदैन,’ उनले भनिन्, ‘सार्वजनिक रूपमा जति प्रयोग बढ्यो, त्यति नै उजुरी र कारबाहीका प्रक्रिया अघि बढ्ने हो, प्रतिलिपि अधिकारको प्रयोग नै कम मात्रामा छ ।’ उनका अनुसार गीत, संगीतका हकमा लय, शब्द, स्वर चोरिने गरेको छ । सृजना नितान्त फरक कोणबाट आउने होइन । यसकारण केही स्रोतहरू यहीँकै प्रयोग हुने भएकाले जानेर वा नजानेर दुरुपयोग हुने जोखिम रहेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी दर्ता गराउनुपर्ने कानूनी प्रावधान छ । यो फौजदारी अभियोग अन्तर्गत पर्ने भएकाले पनि यो संवेदनशील विषय भएको उनको भनाइ छ । ‘कडा कानून भएकाले कार्यान्वयनमा आउँदा कारबाही पनि कम भएको हो,’ उनले भनिन्, ‘२०–२५ ओटा मुद्दा होलान्, त्यो पनि काठमाडौं र ललितपुरको जिल्ला अदालतमा मात्र हो, अन्य जिल्लामा छैन ।’ उजुरी प्रहरी कार्यालयमा भए पनि मुद्दाकै रूपमा अघि बढेको घटना भने कम छन् । शिक्षाको स्तर बढेकाले पनि क्याम्पसहरूमा बौद्धिक कानून, कानूनी क्षेत्रमा बुझाइ राम्रो छ भने सृजनाको क्षेत्रमा आउनेहरूले प्रतिलिपि अधिकारका विषयमा बुझ्ने क्रम बढ्दो देखिएको छ ।  

सम्बन्धित सामग्री

प्रतिलिपि अधिकार स्थापना दिवस आज

काठमाडौं। नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले १७औं स्थापना दिवस आज (बुधवार) विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । सरकारले प्रतिलिपि अधिकार संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २०६१ वैशाख ७ गते कार्यालय नै स्थापना गरेको थियो । सोही दिनको अवसर पारेर कार्यालयले बुधवार प्रभातफेरी, शुभकामना आदानप्रदान र कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेको छ । कार्यालयकी रजिस्ट्रार विष्णुकुमारी भट्टराईले बुधवार बिहान साढे  ७ बजे प्रभातफेरी कार्यक्रम शुरू गरेर स्थापना दिवस मनाउन लागिएको जानकारी दिइन् । कार्यालयका अनुसार काठमाडौंको रत्नपार्कस्थित गणेशमान बाटीकाबाट प्रभातफेरी शुरू गरेर नारायणहिटी कार्यालय परिसरमा शुभकामना आदान प्रदान गर्ने र एक कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम छ । कला, साहित्य, ज्ञान–विज्ञान आदि क्षेत्रका रचनाहरूको प्रतिलिपि अधिकार र यससँग सम्बन्धित ध्वनिअंकन, प्रस्तुति तथा प्रसारण अधिकारको प्रभावकारी संरक्षण र संवर्द्धनका लागि कार्यालयको स्थापना भएको थियो । प्रतिलिपि अधिकार ऐन–२०५९ तथा नियमावली–२०६१ अनुसार नेपालमा प्रतिलिपि अधिकारको संरक्षण र संवर्द्धन हुँदै आएको छ । कार्यालय स्थापना हुनुभन्दा पहिला भने यससम्बन्धी काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति शाखामार्फत हुँदै आएको थियो । प्रतिलिपि अधिकार सम्बन्धी कानून र नियमावली आएपछि भने मन्त्रालयअन्तर्गत नै रहनेगरी रजिस्ट्रारको कार्यालय स्थापना गरिएको हो । यद्यपि प्रतिलिपि अधिकार दिवस भने प्रत्येक वर्ष वैशाख १० गते मनाइँदै आएको छ । उपत्यकाबाहिरका स्रष्टामा जानकारी कम छ  विष्णुकुमारी भट्टराई रजिस्ट्रार, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय बौद्धिक सम्पत्तिलाई कानूनले नै संरक्षित र प्रवर्द्धन गरेको छ । प्रतिलिपि अधिकारका लागि नेपालमा कानून नै बनेर प्रयोगमा आएको छ । कानूनी रूपमा रचनाकार, सष्ट्राहरूका अधिकारलाई स्थापित गरिएको छ । बौद्धिक सम्पत्ति सम्बन्धी भएका सन्धि तथा संगठनहरूको नेपाल सदस्य राष्ट्र भएर त्यसका प्रावधान पालना गरेको छ । नेपाल सदस्य राष्ट्र भएपछि कला, साहित्य, ज्ञान, विज्ञानका विविध विषयमा प्रतिलिपि अधिकार अघि बढाएका छौं । खासगरी रचनाकार, स्रष्टा, सर्जकहरूसमक्ष जानकारी पुर्‍याउन र यसको प्रयोगलाई जोड दिन कार्यालयले वार्षिक रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । साहित्य, कला, गीतरसंगीतको क्षेत्रमा लाग्नेहरू सचेत हुन थाल्नु भएको छ । यद्यपि अझै पनि कतिपयमा यस्ता सृजनामा छुट्टै अधिकार हुन्छ भन्ने ज्ञानको कमी छ । शहरभन्दा बाहिरका स्रष्टाहरूलाई यससम्बन्धी जानकारीको अभाव छ । सम्बन्धित क्षेत्रमै काम गर्ने केही व्यक्ति र कानून पढेका बाहेक अन्यलाई कम जानकारी छ । यो ‘ग्याप’ हटाउन पर्याप्त मात्रामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्रष्टाहरूको सृजनाको दर्ता, अभिलेख गर्ने र त्यससम्बन्धी चेतना जगाउनुपर्छ । त्यसमा हामी चुकेका छौं । सार्वजनिक रोयल्टी उठाउन गाह्रो छ सुरेश अधिकारी अध्यक्ष, संगीत तथा रोयल्टी संकलन समाज प्रतिलिपि अधिकारका विषय हेर्दा व्यक्तिगत हकमा व्यवस्थित हुँदै आएको छ । प्रतिलिपि अधिकार सृजनाकारका लागि हो भन्ने विषयले प्राथमिकता पाउँदै आएको छ । यद्यपि सार्वजनिक रोयल्टी संकलनको विषय निकै पेचिलो बनेको छ । सार्वजनिक रोयल्टी संकलन नहुँदा स्रष्टाहरू भोकभोकै बस्नुपर्नेसम्मको बाध्यता आउने देखिन्छ । सार्वजनिक रोयल्टीका क्षेत्रमा सार्वजनिक यातायात, होटेलररेस्टुँरा, महोत्सवलगायत पर्छन् । साथै रेडियो, टेलिभिजन जस्ता क्षेत्रमा पनि यस्तो रोयल्टी उठाउने गरिन्छ । व्यक्तिगत रूपमा रोयल्टी संकलन राम्रो भए पनि सार्वजनिक रूपमा रोयल्टी संकलन गर्न भने सकिएको छैन । त्यसको प्रयास गर्दा, सांगठनिक रूपमा दबाब सृजना गरिँदा सरकार नै उक्त निर्णयबाट फिर्ता हुनुपरेको अवस्था छ । गीतरसंगीत सार्वजनिक रूपमा प्रयोग गर्दा यस्तो रोयल्टी तिर्नुपर्छ । यसमा सरकारले कडा कदम चाल्न आवश्यक छ ।

बौद्धिक सम्पत्ति दर्ता गर्न उद्योग मन्त्रालयद्वारा आह्वान

पुस २८, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु, घरेलु, साना तथा मझौला उद्योगलाई बौद्धिक सम्पत्ति दर्ताका लागि आह्वान गरेको छ । मन्त्रालयले आव २०७८/ ७९को वार्षिक कार्यक्रममा  ती उद्योगहरुको उत्पादनहरुको बौद्धिक सम्पतिमा पहुँच र दर्ता सहयोग कार्यक्रम रहेको भन्दै आफ्नो उत्पादनको बौद्धिक सम्पत्ति दर्ता गर्न भनेको छ । मन्त्रालयले यसका लागि १५ दिन भित्र सम्पर्क गर्न त्यस्ता उद्योगहरुलाई आग्रह पनि गरेको छ । पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन २०२२ अनुसार त्यस्ता उद्योग वस्तु तथा सेवाको बौद्धिक सम्पत्ति दर्ता सहयोग लिन इच्छुकलाई मन्त्रालयले सहजीकरण तथा सहयोग उपलब्ध गराउने छ । आवेदन दिएका मध्ये चालू आर्थिक वर्षमा २० ओटालाई छनोट गरेर यस्तो सुविधा उपलब्ध गराउने पनि मन्त्रालयले बताएको छ । बौद्धिक सम्पत्तिको कानूनी संरक्षणका लागि हाल मुलुकमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ तथा प्रतिलिपि अधिकार ऐन, २०५९ क्रियाशील रहेका छन् । यो पनि हेर्नुस् : बौद्धिक सम्पत्ति अधिकार कार्यान्वयन र चुनौती

नेपालको बौद्धिक सम्पत्ति प्रणाली

प्रतिबद्धताका साथ आर्थिक समृद्धिको संकल्प लिएर अघि बढने मुलुकका लागि बौद्धिक सम्पत्ति विकासको निम्ति कल्पवृक्ष सिद्ध भएको छ । तर, जुन मुलुकका नेताहरू मुखले मात्र आर्थिक समृद्धि रटान गर्छन्, आफू पनि विदेशीका हरुवाचरुवा हुन्छन् र आफ्ना भोकप्यासले पीडित जनतालाई पनि विदेशीकै बँधुवा कमलर र कमलरीमा पठाएकोमा गौरव गर्छन् । त्यस्ता मुलुकमा बौद्धिक सम्पत्तिको अवस्था ऐजेरुले गाँजिएको बोटजस्तै भएको हुन्छ । नेपाल पछिल्लो श्रेणीको मुलुकमा पर्छ । नेपालले जैविक विविधतासम्बन्धी महासन्धि, १९९१ मा हस्ताक्षर र अनुमोदन गरेर मात्र पुग्दैन । यसअनुरूप आनुवंशिक सम्पदामाथि पहुँच र लाभको बाँडफाँटसम्बन्धी व्यवस्था गर्नुपर्ने हुन्छ भने जैवी साधनलगायत परम्परागत ज्ञानको पूर्ण अभिलेखन तयार नगरी अपेक्षित नतिजा प्राप्त हुँदैन । नेपालमा बौद्धिक सम्पत्तिको सृजना प्राचीन अभ्यास हो । तर, कानूनी संरक्षणको प्रारम्भ सर्वप्रथम विसं १९१० मा राजा सुरेन्द्रको पालामा भयो । त्यसबेला जारी भएको मुलुकी ऐनमा प्रतिलिपि अधिकार संरक्षणसँग सम्बद्ध विषयवस्तु उल्लेख भएको पाइन्छ । प्रस्तुत विषयमा केन्द्रित प्रथम कनून भने जुद्धशमशेरको पालामा जारी भएको पेटेन्ट, डिजाइन र ट्रेडमार्क कानून, १९९३ नै हो । त्यो बेलाको परिस्थिति मूल्यांकन गर्दा नेपाल बौद्धिक सम्पत्ति कानून तर्जमा र कार्यान्वयन गर्ने मुलुकको हैसियतले भारतभन्दा अगाडि र विश्वकै हिसाबमा पनि अग्रगण्य समूहमा नै थियो । उक्त कानूनलाई राजा महेन्द्रका पालामा आएको पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ ले प्रतिस्थापन गर्‍यो । यसमा औद्योगिक सम्पत्तिको संरक्षणसम्बन्धी पेरिस महासन्धि, १८८३ को प्रावधानअनुकूल औद्योगिक बौद्धिक सम्पत्तिलाई बैदेशिक संरक्षणको व्यवस्था, दर्ताबाट औद्योगिक सम्पत्तिउपर एकाधिकार स्थापना, एकाधिकारको अवधि किटान र उल्लंघन भएको अवस्थामा सरोकारवालालाई प्राप्त हुने उपचारको समेत व्यवस्था गरिएको छ । त्यस्तै प्रतिलिपि अधिकारको संरक्षणका लागि नेपालमा पहिलो पटक प्रतिलिपि अधिकार ऐन, २०२२ जारी भएको थियो । त्यसमा रचनाकारका प्रतिलिपि अधिकार संरक्षण गर्ने प्रक्रिया, एकाधिकारको अवधि र कसैले प्रतिलिपि अधिकारको उल्लंघन गरेको अवस्थामा प्राप्त हुने उपचारको समेत व्यवस्था गरिएको थियो । लोकतन्त्रको प्रादुर्भाव भएपछि राजा वीरेन्द्र र ज्ञानेन्द्रको कार्यकालमा पनि बौद्धिक सम्पत्तितर्फ केही राम्रा कामहरू भएका छन् । यसै अवधिमा विश्व बौद्धिक सम्पत्ति संगठनको र औद्योगिक सम्पत्ति संरक्षणसम्बन्धी पेरिस महासन्धिको सदस्यता लिने काम भयो । त्यस्तै २०२२ सालको पुरानो प्रतिलिपि अधिकार ऐनलाई प्रतिस्थापन गर्दै जारी भएको प्रतिलिपि अधिकार ऐन, २०५९ बाट हाल प्रतिलिपि अधिकार संरक्षणको कार्य भइरहेको छ । यो ऐनमा धेरै हदसम्म ट्रिप्स र प्रतिलिपि अधिकारसम्बन्धी वर्न महासन्धि, १८८६ का प्रावधान अपनाउने प्रयत्न गरिएको छ । नेपालले २०६१ मा विश्व व्यापार संगठनको सदस्यता प्राप्त गरेसँगै यसको अभिन्न अंगको रूपमा रहेकोे व्यापार सरोकारका बौद्धिक सम्पत्ति अधिकार समेटिएको ट्रिप्स सम्झौताको समेत सदस्य भएको छ र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी वर्न महासन्धिको पनि सन् २०६३ मा सदस्य बनेको छ । बौद्धिक सम्पत्तिसँग सम्बद्ध र विश्व बौद्धिक सम्पत्ति संगठनको समन्वयभित्र पर्ने अन्य धेरै क्षेत्रीय एवं अन्तरराष्ट्रिय सन्धिसम्झौताको सदस्यता लिन भने अझै बाँकी छ । विगतमा भएका यस्ता गतिविधि नियाल्दा समसामयिक अन्तरराष्ट्रिय परिस्थितिको आकलन गरेर समयमा नै निर्णय लिन अहिलेका नेताभन्दा त्यस बेलाका नेतृत्व नै सक्षम रहेको पुष्टि हुन्छ । तत्कालीन अवधिमा खडा भएका उपर्युक्तअनुसारका पूर्वाधारमा टेकेर नेपालले आफू पक्षधर भएको सन्धिसम्झौताका प्रावधानहरू पालना गर्दै अल्पविकसित मुलुकहरूका लागि व्यवस्था गरेको विशेष प्राविधिक सहयोग र सहुलियतसम्बन्धी लचकताको अधिकतम फाइदा उठाउन सक्ने वातावरण बनेको थियो । राष्ट्रिय हितका लागि त्यसको उपयोग गरी उक्त सन्धिसम्झौताबाट र विकसित मुलुकहरूबाट प्राप्त हुने प्राविधिक तथा आर्थिक सहयोगको परिचालन गर्न सकिने अनुकूलता पनि रहेको थियो । उद्योग वाणिज्य मन्त्रालय अन्तर्गत सञ्चालित विश्व ब्यापार संगठनको परियोजना, विश्व बौद्धिकसम्पत्ति संगठनलगायत जापान, कोरिया, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाजस्ता विकसित राष्ट्रबाट सहयोग पनि उपलब्ध भएको थियो तर के भयो त माल पाएर पनि चाल नपाए पछि ? दातृ संस्था र राष्ट्रले उपलब्ध गराएको सहयोगको लेखाजोखा गर्ने हो भने अघिल्ला दशकमा भन्दा गणतन्त्र कालमा बढी छ । तर, त्यसको प्रभावकारिता र उपलब्धि भने नगण्य छ । न त त्यसबाट नीति जन्मिन सक्यो, न त बौद्धिक सम्पत्तिसम्बन्धी कानून बन्न सक्यो, न त बौद्धिक सम्पत्ति कार्यालय खडा गरिन सके, न बौद्धिक सम्पत्ति तालीम केन्द्र स्थापना हुन सक्यो, न सूचना केन्द्र खडा गरिन सके । छोटकरीमा भन्नुपर्दा प्राविधिक सहयोगले सीमित राष्ट्रसेवकका आआफ्ना महत्त्वाकांक्षा त पूरा गर्‍यो होला । तर, राष्ट्रको चिर प्रतिक्षीत खाँचो भने पूरा गर्न सकेन । हाल पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ द्वारा जेनतेन तीन औद्योगिक सम्पत्तिको र प्रतिलिपि अधिकार ऐन, २०५९ तथा प्रतिलिपि अधिकार नियमावली, २०६१ द्वारा प्रतिलिपि अधिकार संरक्षणको व्यवस्था भइरहेको छ । औद्योगिक सम्पत्ति क्षेत्रमा ट्रेडमार्कको दर्ता उत्साहजनक रहे तापनि पेटेन्ट र डिजाइनको दर्ता भने ज्यादै न्यून रहेको छ । ट्रेडमार्क अधिकारको उल्लंघन भने व्यापक छ । ऐनमा बौद्धिक सम्पत्तिका अन्य धेरै विषय समेटिएका छैनन् । जस्तो ट्रिप्स सम्झौताअनुसार संरक्षण दिइनुपर्ने थप बौद्धिक सम्पत्तिमा भौगोलिक संकेत, एकीकृत सर्किट डिजायन, बालीनालीका नयाँ जात र व्यावसायिक गोपनीयताको पनि कुनै कानूनी व्यवस्था हुन सकेको छैन । यीबाहेक मुलुकको आर्थिक र सांस्कृतिक विकासका उपयोगी अरू बौद्धिक सम्पत्तिमा परम्परागत ज्ञान, लोक संस्कृति, उपयोगिता नमूना, जैवी विविधता र आनुवंशिक स्रोत, अस्वस्थ प्रतिस्पर्धा निवारण, डिजिटल डाटा, डोमिन नाम, इ–कमर्श आदि पनि निकै सान्दर्भिक छन् । नेपालले जैविक विविधता सम्बन्धी महासन्धि, १९९१ मा हस्ताक्षर र अनुमोदन गरेर मात्र पुग्दैन । यसअनुरूप आनुवंशिक सम्पदामाथि पहुँच र लाभको बाँडफाँटसम्बन्धी व्यवस्था गर्नुपर्ने हुन्छ भने जैवी साधनलगायत परम्परागत ज्ञानको पूर्ण अभिलेखन तयार नगरी अपेक्षित नतीजा प्राप्त हुँदैन । यिनको विषयमा कहिले चर्चा गर्ने ? यसतर्पm जनचेतना न्यून छ, संस्थागत संरचना कमजोर छ, सरोकारवाला निकाय बीच समन्वय छैन, मुलुकमा बौद्धिक सम्पत्तिको भरपर्दो शिक्षण र तालीम छैन, कहिलेकाहीँ वैदेशिक शिक्षा र तालीमका अवसर मिले पनि तिनको दुरुपयोग हुन्छ, उद्योग व्यवसायमा बौद्धिक सम्पत्तिको उपायोग न्यून छ, बौद्धिक सम्पत्तिसम्बन्धी सेवासुविधा छैनन्, अन्तरराष्ट्रिय संरक्षण खर्चिलो छ, प्रवद्र्धनात्मक कार्यहरूको न्यूनता छ, फितलो संरक्षणले विदेशी लगानी प्रभावित भएको छ, कार्पेटमुनि धूलो गरेजस्तै किन ढाकछोप गर्नुप¥यो र ? शब्दमा त नेपालको संविधानले त बौद्धिक सम्पत्तिलाई नागरिकको मौलिक हकका रूपमा स्वीकार गरेको छ । औद्योगिक नीति, २०६७ र वाणिज्य नीति, २०७२ मा पनि बौद्धिक सम्पत्ति संरक्षणको व्यवस्था गर्ने विषयमा उल्लेख गरिएको छ । तर, मुलुकमा कसरी बौद्धिक सम्पत्ति प्रणालीको विकास गर्ने ? बौद्धिक सम्पत्ति अधिकारको दुरुपयोग कसरी रोक्ने ? कसरी परम्परागत ज्ञानको अभिलेखन तथा संरक्षण गर्ने र स्थानीय समुदायलाई लाभ पुर्‍याउने ? कसरी विकास र अनुसन्धान कार्यलाई बौद्धिक सम्पत्तिसँग आबद्ध गर्ने ? कसरी राष्ट्रिय उत्पादकत्व वृद्धि गर्ने, कसरी बौद्धिक सम्पत्तिको संरक्षणबाट अर्थपूर्ण विदेशी लगानी प्रवर्द्धन तथा प्रविधि हस्तान्तरण गर्ने ? कसरी युवाहरूमा सृजनशीलता र नवीनतम क्रियाकलाप वृद्धि गर्ने ?, कसरी जैवी साधनको पलायन रोक्ने ? के यी विचारणीय प्रश्न होइनन् ? कहिले स्वस्थ भएर हुर्केला यो ऐजेरुले गाँजिएको बोट– हाम्रो बौद्धिक सम्पत्ति ? लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

बौद्धिक सम्पत्ति संरक्षणमा कमजोरी

नेपालमा बौद्धिक सम्पत्ति संरक्षणका लागि समयसापेक्ष कानून र तिनको कार्यान्वयन गर्ने दक्ष जनशक्तिको अभावमा ट्रेडमार्क चोरीलगायत बौद्धिक सम्पत्तिको हनन हुने काम बढिरहेको छ । उद्योग व्यवसायका लागि बौद्धिक सम्पत्ति ज्यादै महत्त्वपूर्ण भए पनि र वैदेशिक लगानीकर्ताले यसबारेमा चासो राखे पनि नेपालले यस सम्बन्धमा सुधारका लागि उल्लेख्य काम गर्न सकेको छैन । नेपाल बौद्धिक सम्पत्ति संरक्षणका बारेमा भएका विभिन्न अभिसन्धिको पक्षधर राष्ट्र बनेको छ । तर, त्यसअनुसार ऐन र संरचना बनाउन भने सकेको छैन । नेपालको केही कम्पनीले अन्य देशका प्रसिद्ध ब्रान्डको नक्कल गरी दुरुस्तै सामान उत्पादन गरेर बजारमा ल्याएका छन् । ती सामान कुन नक्कली हुन् र कुन सक्कली हुन् भनेर छुट्ट्याउन सर्वसाधारण उपभोक्तालाई कठिन हुन्छ । कुनै पनि कम्पनीको ब्रान्ड आपैm मूल्य हुने सन्दर्भमा यसरी ब्रान्ड चोरी हुने भएपछि नेपालमा लगानी गर्न विदेशी कम्पनी अनिच्छुक हुनु स्वाभाविकै हो । भारतको प्रसिद्ध एमडीएच मसलाको नक्कल गरी त्यस्तै ब्रान्डमा उत्पादन गरिएको मसला बजारमा विक्री भइरहेको छ । नेपालमा पहिले दर्ता भएको आधारमा असली कम्पनीलाई नक्कली मानिएको छ भने नक्कल गर्ने कम्पनीले उन्मुक्ति पाएको छ । यस्ता कम्पनीहरू दर्जनौं छन् जसले अर्काको ब्रान्ड चोरेर सामान उत्पादन गरिरहेका छन् । यसरी नक्कली ब्रान्डमा सामान उत्पादन हुँदा गुणस्तरमा प्रश्न उठ्छ । देशको नाम नै नक्कली सामान उत्पादन गर्नेमा दरिन्छ । सरकारले पाउने राजस्वमा समेत यसले असर पार्छ । यसले समग्रमा उत्पादन प्रणाली र लगानीमा नै नकारात्मक असर पुर्‍याउँछ । अतः यसलाई रोक्न बलियो कानून र त्यसअनुसारको संयन्त्र तथा कार्यान्वयन जरुरी हुन्छ । यस्तो व्यवस्था नगरी राम्रा विदेशी कम्पनी नेपालमा आउँदैनन् । वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिने तर त्यसका लागि अत्यावश्यक मानिएको बौद्धिक सम्पत्ति संरक्षणमा भने बेवास्ता गर्ने नीति नै विरोधाभासपूर्ण देखिन्छ । नेपालमा बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धमा स्पष्ट कानून छैन । पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क सम्बन्धी ऐन २०२२ अनुसार बौद्धिक सम्पत्ति संरक्षणको काम गरिएको छ । त्यस्तै प्रतिलिपि अधिकार ऐन २०५९ ले पनि बौद्धिक सम्पत्ति संरक्षण गरेको छ । तर, यी दुवै ऐन निकै पुराना भएका छन् । तर, बौद्धिक सम्पत्ति संरक्षण ऐन ल्याउनेबारे छलफल भएको दशकौं बितिसकेको छ । उद्योग विभागले यसको मस्यौदा बनाएर अर्थ मन्त्रालयमा पठाएको बताए पनि त्यो निर्माणको प्रक्रिया अगाडि बढेको छैन । सरकारले राष्ट्रिय बौद्धिक सम्पत्ति नीति २०७३ तयार पारेको छ । तर, त्यसका लागि एकीकृत कानुन बनाउने छलफल भए पनि प्रक्रिया अगाडि बढेको छैन । नेपाल बौद्धिक सम्पत्ति संरक्षणका बारेमा भएका विभिन्न अभिसन्धिहरूको पक्षधर राष्ट्र बनेको छ । तर, त्यसअनुसार ऐन र संरचना बनाउन भने सकेको छैन । यसरी २–३ दशक भइसक्दा पनि यस क्षेत्रमा काम नहुँदा ब्रान्ड चोरी गर्ने देशका रूपमा चिनिने खतरा बढेको छ । किन आवश्यक कानून र संरचना बनाउने निष्क्रियता देखिइरहेको छ त ? यस प्रश्नले ट्रेडमार्क चोरी गर्नेहरू नै कतै कानून बनाउने क्षेत्रमा प्रभाव राख्न सक्ने हैसियतमा पुगेका त होइनन् भन्ने आशंका जन्माएको छ । यस्तै विवादमा परेका व्यवसायी नै उद्योग मन्त्री बनेको देखिएको हुँदा यस्तो आशंकाले मलजल पाउनु अन्यथा पनि होइन ।  नेपालको पेटेन्टसम्बन्धी कानून ५६ वर्ष पुरानो छ । त्यतिबेलाका प्रावधान अहिले असान्दर्भिक भइसकेका छन् । त्यतिबेला पेटेन्ट चोरी गर्दा तिर्नुपर्ने भनी तोकिएको जरीवाना रकम अहिलेको सन्दर्भमा ज्यादै न्यून हुँदा जानाजान ट्रेडमार्क चोरी भइरहेको छ । जरीवाना रकम ज्यादै कम भएकाले यस्तो चोरीलाई प्रोत्साहन मिलेको हो । त्यस्तै यस्तो चोरीको प्रारम्भिक मुद्दा हेर्ने निकायमा पर्याप्त र दक्ष जनशक्तिको अभावले यस्तो मुद्दाको फैसला ढिलो हुने गरेको छ । यसरी फैसलामा ढिला हुँदा नक्कल गर्ने कम्पनीले करोडौं कमाउने र सही कम्पनीले गुमाउने अवस्था रहन्छ । त्यसैले बौद्धिक सम्पत्ति संरक्षणका लागि नयाँ कानून र संरचना बनाउन ढिला गर्नु हुँदैन ।

कुबेरको ढुकुटीको कुञ्जी बौद्धिक सम्पत्ति

हामीसँग कुबेरको ढुकुटी छ तर समस्या के छ भने छ भन्ने कुरा पनि हामी सबैलाई जानकारी छैन, भएकासँग पनि त्यो खोल्ने कुञ्जी छैन । त्यो कुञ्जी हो बौद्धिक सम्पत्ति । अनि ताला कहाँ लागेको छ त ? ताला लागेको छ हाम्रा व्यावसायिक प्रतिष्ठानहरूमा जहाँ पुरातन उत्पादन प्रणाली हाबी छ, अनि प्राज्ञिक संस्थाहरूमा जहाँ अथाह सम्भावना हुँदाहुँदै माल पाएर पनि चाल नपाएको स्थिति हावी छ, अनि सरकारी संयन्त्रमा जहाँ अझैसम्म पनि भरपर्दो कानूनी र संस्थागत व्यवस्था हुन सकेको छैन । प्रस्तुत लेखमा यस कुञ्जीको प्रयोग व्यावसायिक प्रतिष्ठानमा केन्द्रित गर्ने प्रयत्न गरिएको छ । कुनै पनि उद्योग व्यवसाय स्थापना गर्नुभन्दा पहिले बौद्धिक सम्पत्तिको सृजना तथा उपयोगको विषयमा राम्रो सोचका साथ अगाडि बढ्नु लगानीकर्ताका लागि अपरिहार्य हुन्छ । बौद्धिक सम्पत्तिको प्रभावकारी संरक्षण र त्यसको व्यावसायिक उपयोेगको भरपर्दो पद्धति विकास गर्नु सरकारको पनि दायित्व हुन्छ । व्यावसायिक प्रतिष्ठान भन्नाले उद्योग व्यापार तथा अन्य आर्थिक कारोबार गर्ने संस्था भन्ने बुझिन्छ । मुनाफा आर्जन गर्ने उद्देश्यले आर्थिक लगानी गरिएका कारोबारहरू सबै यसैभित्र पर्छन् । यस्ता कारोबारमा मूल्य सृजना गर्ने तत्त्व बौद्धिक सम्पत्ति हो । सर्वप्रथम बौद्धिक सम्पत्तिका केही जरुरी र महत्त्वपूर्ण पक्षबारे यहाँ चर्चा गरिन्छ । बौद्धिक सम्पत्ति के हो भन्नेबारे पहिले नै धेरै चर्चा भइसकेको छ । तैपनि संक्षेपमा स्मरण गर्न सान्दर्भिक नै हुन्छ । बौद्धिक सम्पत्ति भनेको कसैले आफ्नो कुनै सृजनात्मक क्रियाकलापका लागि राज्य व्यवस्थाबाट प्राप्त गरेको कानूनी संरक्षण हो । व्यक्तिको यस्तो कानूनी अधिकारको तात्त्विक अर्थ हुन्छ । पेटेन्ट, औद्योगिक डिजाइन, ट्रेडमार्क, प्रतिलिपि अधिकार, व्यावसायिक गोपनीयता संरक्षण आदि जुनसुकै रूपमा स्थापित अधिकार भए पनि त्यसलाई बौद्धिक सम्पत्ति नै भनिन्छ । एकातिर यी सबै आफैमा बहुमूल्य अमूर्त सम्पत्ति हुन् र अर्को यिनलाई मूर्त सम्पत्तिमा रूपान्तरण गर्ने क्षेत्र व्यावसायिक प्रतिष्ठान हुन् । उद्योग व्यापारमा वस्तुतः दुई प्रकारको पूँजी लगानी हुन्छ– मूर्त पूँजी र अमूर्त पूँजी । विश्वमा औसत रूपमा औद्योगिक लगानीको ७० प्रतिशत अंश अमूर्त पूँजीले ओगटेको हुन्छ भने ३० प्रतिशत मात्र मूर्त पूँजीले ओगटेको हुन्छ । मूर्त पूँजीमा जमीन, भवन, मेशिनरी उपकरण, पूर्वाधारहरू, नगद तथा बैंक मौज्दात जस्ता पूँजी पर्छन् भने अमूर्त पूँजीमा श्रम, प्रविधि, योजना, उत्पादन रणनीति, व्यावसायिक सूचनाहरू, ख्याति र विभिन्न किसिमका बौद्धिक सम्पत्तिहरू पर्छन् । अमूर्त पूँजीमा सबैभन्दा बढी र महत्तम अंश बौद्धिक सम्पत्तिको हुन्छ । पुरातन उत्पादन प्रणालीमा वस्तुतः भौतिक पूँजी मात्र गणना गरिन्छ । तर, आधुनिक उत्पादन प्रणाली अवलम्बन गर्ने व्यावसायिक प्रतिष्ठानहरूमा मूर्तभन्दा अमूर्त पूँजी लगानीको महŒव धेरै बढी रहन गएको छ । अमूर्त पूँजीमा मूल्य अभिवृद्धिको हिसाबले बौद्धिक सम्पत्तिले चामत्कारिक भूमिका निर्वाह गर्छ । किनभने सृजनशीलता, नवीनता, मौलिकता र उपयोगिताको दृष्टिकोणबाट बौद्धिक सम्पत्तिको अग्रगण्य स्थान रहन गएको छ । उदाहरणको लागि आधुनिक पोषाकमा अलिकति नयाँ डिजाइन परिवर्तन गरिदिँदा युवाहरू दोब्बर मूल्य तिर्न तयार हुन्छन् । डिजाइन पनि एक प्रकारको बौद्धिक सम्पत्ति नै हो । बौद्धिक सम्पत्ति सेफमा वा लकरमा राख्ने वस्तु होइन । यो अत्यधिक मूल्यवान् भएको र खुला आकासमा (नेटमा) जो सुकै व्यक्तिको पहुँचमा रहेकोे हुँदा चोरी हुने वा दुरुपयोग हुने सम्भावना अत्यधिक बढी हुन्छ । जब कसैले एउटा नौलो वस्तु बजारमा ल्याउँछ र उपभोक्तालाई मुग्ध पार्छ अनि सहस्र प्रतिस्पर्धीले त्यसैको नक्कल वा दुरूपयोग गरी त्यस्तै वस्तु उत्पादन गर्न थाल्दछन् । एक त दुरुपयोग गर्नेले बौद्धिक सम्पत्ति सृजनाकोे लागत बेहोर्न नपर्दा त्यस्ता प्रतिस्पर्धीहरूले सक्कली उत्पादकलाई नै उछिन्ने सम्भावना रहन्छ भने अझ त्यसमा पनि उच्च स्केलमा उत्पादन, उच्च बजार पहुँच, उच्च वितरण सञ्जाल, उच्च व्यापार प्रवद्र्धन, राम्रो स्थान र स्रोतमा उच्च पहुँच भएको अवस्थामा उनीहरूले वास्तविक उत्पादनकर्तालाई सहजै पछार्न र निजलाई व्यवसायबाट नै हातधुने अवस्था सृजना गर्न सक्छन् । यस्तो अवस्थामा बौद्धिक सम्पत्तिको सृजना तथा उपयोग गरी नवीनतम प्रविधि प्रयोग गर्ने र नौलो वस्तु उत्पादन गर्ने सृजनशील व्यवसायीहरू निरुत्साहित हुने र बजार विचलन हुने अवस्था सृजना हुन सक्छ । अध्ययन, अनुसन्धान, सृजनशीलता र आविष्कारबाट कुनै नवीनतम बौद्धिक सम्पत्ति आर्जन वा स्थापित गर्न अत्यधिक मात्रामा शीप, श्रम र पूँजी र समय खर्च गर्नुपर्ने हुन्छ । बौद्धिक सम्पत्तिको उचित संरक्षण गर्ने पद्धति स्थापित नभएको अवस्थामा जो कोही प्रतिस्पर्धीले त्यसको दुरुपयोग गरी वास्तविक लगानीकर्तालाई जोखिममा पार्न सक्ने सम्भावना प्रस्टै देखिन्छ । हलुका पाराले बोल्ने र सतही रूपमा विचार गर्ने व्यक्तिले भन्न सक्छन्– उपभोक्तालाई कम मूल्यमा वस्तु उपलब्ध हुन्छ भने त्यो बौद्धिक सम्पत्ति अरूले चोरेर के भयो त ? यस्ता क्रियाकलाप यथार्थमा सम्बद्ध धनीको लागि मात्र होइन उपभोक्ता, समाज र देशका लागि पनि घातक हुन्छन् । एक त चोरीको माल, अझ त्यसमा पनि बौद्धिक सम्पत्तिको चोरी, कम मूल्यमा वस्तु प्रयोग गर्न पाउनुको के अर्थ ? हलो काटी मुंग्रो गर्नुको के प्रयोजन ? अतः कुनै पनि उद्योग व्यवसाय स्थापना गर्नुभन्दा पहिले बौद्धिक सम्पत्तिको सृजना तथा उपयोगको विषयमा राम्रो सोचका साथ अगाडि बढ्नु लगानीकर्ताका लागि अपरिहार्य हुन्छ । त्यस्तै बौद्धिक सम्पत्तिको प्रभावकारी संरक्षण र त्यसको व्यावसायिक उपयोेगको भरपर्दो पद्धति विकास गर्नु र संस्थागत आधार निर्माण गर्नु सरकारको पनि दायित्व हुन्छ । अन्यथा पुरातन उत्पादन पद्धतिबाट मुलुकको आर्थिक समृद्धि सम्भव छैन । प्राकृतिक स्रोतसाधन, श्रम बजार, भौतिक पूँजीको प्राचुर्य, तुलनात्मक लाभका क्षेत्र, सरकारी सुविधाजस्ता पक्षले उद्योग व्यापारको विकासका लागि अनुकूलता प्रदान गर्न त सक्छन् । तर, नवीनतम प्रविधि र मूल्य अभिवृद्धिको निर्णायक तत्त्व भने बौद्धिक सम्पत्ति नै हुन्छ । बौद्धिक सम्पत्ति अधिकार अन्तर्निहित प्रविधि खर्चिला पनि हुन्छन् । परम्परागत प्रविधि न्यूनतम लागतमा जो कसैले पनि प्राप्त गर्न सक्छन् । तर, त्यस्तो प्रविधिबाट उत्पादित वस्तु र सेवाले बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् र कालान्तरमा अत्यन्त खर्चिलो हुन्छ । नवीनतम प्रविधिमा बौद्धिक सम्पत्ति अधिकार अन्तर्निहित हुने भएकाले त्यसको उपलब्धता र संरक्षण महँगो भए तापनि उत्पादित वस्तु वा सेवाले बजार प्रतिस्पर्धा गर्न र अन्तरराष्ट्रिय बजार पाउन सक्छ तथा कालान्तरमा सस्तो पर्न जान्छ । प्रविधि अन्तरराष्ट्रिय बजारबाट पनि बढी मूल्य तिरेर प्राप्त गर्न सकिन्छ । आफ्नै प्रतिष्ठानभित्र वा प्राज्ञिक संस्थाका सृजनशील व्यक्तिको प्रयासबाट पनि विकसित गर्न सकिन्छ । आफ्नै मुलुकको सामाजिक, आर्थिक परिवेशमा शोध तथा विकास संस्था, साहित्यिक प्रतिष्ठान, औद्योगिक प्रतिष्ठान, सांस्कृतिक प्रतिष्ठान र विज्ञान तथा प्रविधि प्रतिष्ठानको प्रयासबाट सृजना वा विकास गर्न सकिन्छ । प्रविधि व्यावसायिक प्रतिष्ठानहरूले जेजसरी प्राप्त गरे तापनि बौद्धिक सम्पत्तिको प्रभावकारी संरक्षणविना त्यो निष्प्रभावी हुन्छ अथवा कामयाबी हुन सक्दैन । जानेमा श्रीखण्ड नजाने खुर्पाको बींड त हो । त्यसैले कुञ्जीको पहिचान गराैं र त्यसलाई कसरी घुमाउने भन्ने तरीका पनि जानकारी राखौं कुबेरको ढुकुटी हामी आफैसँग छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाजका उपाध्यक्ष हुन् ।

बौद्धिक सम्पत्ति संरक्षण समाजको औचित्य

मुलुकमा समान स्वार्थ वा उद्देश्य भएका नागरिकहरू परस्पर आबद्ध भई साझा चौतारीका रूपमा संघसंस्था खोल्न पाउनु लोकतान्त्रिक पद्धतिको एक सुन्दर पक्ष हो । बौद्धिक सम्पत्ति वैज्ञानिक, लेखक, साहित्यकार, कलाकारलगायत समस्त सृजनात्मक क्रियाकलापमा आफ्नो जीवन समर्पण गर्ने बौद्धिक वर्गहरू मात्र होइन लगानीकर्ता, उत्पादक, तथा वस्तु र सेवाका उपयोगकर्तालगायत नागरिकका लागि पनि विशेष महत्त्वको विषय रहेको छ । विश्वको मुहार परिवर्तनमा योगदान पुर्‍याउने सृजनशीलता र नवप्रवर्तनका वाहकहरूले साधना गर्ने, विचार सम्प्रेषण गर्ने र आआफ्ना अधिकारको संरक्षण देशको समुन्नतिमा योगदान पुर्‍याउने यस्तै व्यक्तिहरूको साझा चौतारीका रूपमा बौद्धिक सम्पत्ति संरक्षण समाज रहेको छ । अहिलेसम्म संस्थाका कार्यकारी सदस्यहरूको अर्थिक योगदान तथा कार्यक्रमका सहआयोजक साझेदारहरूको सहयोगबाट मुिश्कलले संस्था सञ्चालन भए तापनि आगामी दिनमा पान, म्यानलगायत संस्था जस्तै यसलाई पनि सरकारी अनुदानभित्र पार्न अपरिहार्य भएको छ । नेपालमा बौद्धिक सम्पत्तिको विकास, संरक्षण र संवद्र्धन गर्ने समेतका उद्देश्यले मिति २०६९ साल असार ३ गते बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल (इप्सन) स्थापना भएको हो । जनचेतना अभिवृद्धिका लागि विगत १० वर्षदेखि यस संस्थाले बौद्धिक सम्पत्तिका विभिन्न पक्षमा समसामयिक चेतनामूलक क्रियाकलापहरू, अन्तरक्रिया, तालीम, सेमिनार आदि सञ्चालन गर्दै आएको छ । बौद्धिक सम्पत्तिसम्बन्धी गतिविधिको निगरानीकर्ता र दबाबमूलक संस्थाका रूपमा पनि विभिन्न पहल गर्दै आइरहेको छ । मुलुकमा उद्योग व्यापार, कृषि, पर्यटन, प्रविधिजस्ता आधारभूत अर्थिक क्षेत्र र शिक्षा, स्वास्थ्य, संस्कृति, साहित्य, मनोरञ्जनजस्ता महत्त्वपूर्ण सामाजिक क्षेत्रको द्रुत विकासका लागि बौद्धिक सम्पत्तिको ताŒिवक प्रयोजन रहेको छ भन्ने तथ्य सम्बद्ध समुदाय र निकायलाई बोध गराउन संस्थाले अनवरत रूपमा पहल गरिरहेको छ । बौद्धिक सम्पत्तिअन्तर्गत प्रतिलिपि अधिकार, विभिन्न प्रकारका चि≈न, आविष्कार, औद्योगिक डिजाइन भौगोलिक संकेत, व्यावसायिक गोपनीयताजस्ता विषय समेटिएका छन् । प्रतिलिपि अधिकारभित्र साहित्यिक कार्य, कलात्मक कार्य, वैज्ञानिक कार्य, संगीत र विभिन्न प्रस्तुतिजस्ता विषय पर्छन् । बौद्धिक सम्पत्ति अधिकार भनेको कुनै स्रष्टाले सृजना गरेको कुनै बौद्धिक सम्पत्तिलाई राज्यले कानूनी संरक्षण दिनु हो । यस्तो संरक्षण पाउन स्रष्टाले आफ्नो बौद्धिक सम्पत्ति कानून दर्ता वा प्रकाशन गराउने समेतका शर्तहरू पूरा गर्नुपर्छ । यसका लागि जिम्मेवार सरकारी कार्यालयहरूमा उद्योग विभाग र प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय पर्छन् । यिनलाई व्यवस्थित गर्न हाल मुलुकमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ तथा प्रतिलिपि अधिकार ऐन, २०५९ क्रियाशील रहेका छैन । अन्तरराष्ट्रिय जगतमा बौद्धिक सम्पत्ति अधिकारलाई मानवाधिकारका रूपमा स्वीकार गरिएको छ । नेपालको संविधानले पनि यसलाई नागरिकको मौलिक अधिकारका रूपमा स्थपित गरेकोे छ । बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्नुपर्ने मूलभूत कारण सृजनशीलतालाई प्रोत्साहन गर्नु र व्यवस्थित रूपले यस्ता सम्पत्तिलाई अन्य आर्थिक तथा प्रविधिको क्षेत्रको अतिरिक्त खासगरी उद्योग व्यापारका क्षेत्रमा व्यापक रूपमा प्रयोग गरी मुलुकका सामाजिक तथा आर्थिक उद्देश्यहरू प्राप्त गर्नु हो भने बौद्धिक सम्पत्ति संरक्षण समाज यस्ता कार्यहरूको सहजीकरण गर्ने अभियन्ता पनि हो । यस संस्थाकोे बौद्धिक सम्पत्ति संरक्षण अभियानबाट वैज्ञानिक, अनुसन्धानकर्ता, लेखक, साहित्यकार, कलाकार, प्राविधिज्ञ, विभिन्न व्यवसायीजस्ता व्यक्तिको कानूनी अधिकार स्थापित हुने हुँदा उनीहरूले प्रत्यक्ष ढंगले फाइदा पाउन सक्छन् र थप नयाँ कुराहरू सृजनाका लागि लगानी गर्न सक्षम हुन्छन् । यस विशिष्ट ज्ञानलाई उद्योग व्यवसायहरूले आफ्नो उत्पादन प्रणालीका उपयोग गर्छन् र उपभोक्ताले पनि मनमोहक वा स्तरीय वस्तु र सेवाहरू बजारबाट उपलब्ध गर्न र सन्तुष्टि प्राप्त गर्न पाउँछन् । बौद्धिक सम्पत्तिको फलस्वरूप मुलुकमा रोजगारी सृजना हुने, विदेशी लगानी बढ्ने, नयाँ उद्योगहरू स्थापना हुने, प्रविधिको विकास हुने, मानवीय मूल्य र मान्यताको जगेर्ना हुने, जीवनस्तर बढ्ने र उपभोक्ताको हित संरक्षण हुने हुँदा मुलुकको समग्र आर्थिक तथा सामाजिक विकास र समुन्नतिमा ठूलो मद्दत पुग्छ । बौद्धिक सम्पत्तिको क्षेत्रमा आज हामीले भोग्नु परेका चुनौती तथा समस्याहरूमा जनचेतनाको कमी, अन्तरराष्ट्रिय मान्यताअनुसारको स्तरीय कानूनको अभाव, जिम्मेवारपूर्ण र सुविधायुक्त बौद्धिक सम्पत्ति कार्यालयको अभाव, नक्कल र संदिग्ध उत्पादन, पुरातन उत्पादन प्रणालीको बाहुल्य , उपयुक्त अध्ययन अनुसन्धान र कार्यगत रूपान्तरणको कमी, सृजनाशीलताको निम्ति सेवासुविधा र प्रोत्साहन कमी रहेका छन् । साथै थप चुनौतीहरूमा विदेशमा बौद्धिक सम्पत्ति संरक्षणका लागि अन्तरराष्ट्रिय पहुँच र खर्चको समस्या, स्वदेशी रोयल्टी संकलन समाजको विदेशी समाजसंग सहकार्यको थालनी नहुनु, दुर्बल संरक्षण स्तर र फितलो कार्यान्वयन विदेशी लगानी तथा प्रविधि हस्तान्तरणमा उदासीनता आविस्कार सम्बन्धमा बढी उदार, सामाजिक मूल्य मान्यता बौद्धिक सम्पत्ति सरोकारको कमी तथा प्रतिभा पलायनजस्ता विषय रहेका छन् । चुनौती तथा समस्याहरूको समधानका लागि सम्बद्ध निकायलाई घचघच्याउने र दबाब दिने काम पनि यसै समाजको कार्यक्षेत्रभित्र पर्छ । नेपाल विपो स्थापनासम्बन्धी स्टकहोम महासन्धि, औद्योगिक सम्पत्तिसम्बन्धी पेरिस महासन्धि र प्रतिलिपि अधिकारसम्बन्धी वर्न महासन्धिको सदस्य भइसकेको छ र विश्वव्यपार संगठनमा पनि आबद्ध भइसकेको छ । नेपालका लागि सान्निध्य अधिकार (रिलेटेड राइट) सम्बन्धी रोम महासन्धि, चिह्नको अन्तरराष्ट्रिय दर्ता सम्बन्धी मेड्रिड सन्धि, भौगोलिक संकेतको संरक्षण र अन्तरराष्ट्रिय दर्तासम्बन्धी लिस्बन सन्धि र पेटेन्टको अन्तरराष्ट्रिय दर्तासम्बन्धी पेटेन्ट सहयोग सन्धिहरूको तत्काल बढी राष्ट्रिय महŒव रहेकाले यिनको सदस्यता लिन ढिलो भएको छ । यसका लागि बौद्धिक सम्पत्ति संरक्षण समाजले सम्बद्ध सरकारी निकायलाई बरोबर अनुरोध र सहजीकरण गर्ने गरिरहेको छ । यसतर्फ शीघ्र पहला भएमा हाम्रो देशका बौद्धिक सम्पत्ति विदेशमा संरक्षण गर्न खर्च कम लाग्छ र प्रक्रिया पनि सरल हुन्छ । नेपालमा राणकालमा विसं १९९३ सालदेखि बौद्धिक सम्पतिसम्बन्धी छुट्टै पेटेन्ट डिजायन र ट्रेडमार्क कानून अस्तित्वमा आएकोबाट हाम्रो मुलुकमा बौद्धिक सम्पत्तिको लामो इतिहास रहेको तथ्य पुष्टि हुन्छ । तर, धेरै दशकसम्म यसको महत्त्वबोध भने हुन सकेन । विश्व व्यापार संगठनको सदस्यता पछि सरकारी तथा निजीक्षेत्रले यसतर्फ केही चासो दिन थालेको भए पनि विश्व व्यापार संगठनको स्थापनापछि मात्र बौद्धिक सम्पत्ति प्रणलीको श्रीगणेश गरेका मुलुकभन्दा पनि त्यति पुराने इतिहास बेकेको हाम्रो मुलुक पछाडि पर्नु नेपालीका लागि दुःखद अनुभूति हो । त्यसैले सरकारी क्षेत्रबाट भइरहेको प्रयासलाई सघाउ पुग्ने गरी सामाजिक क्षेत्रको सक्षम अभियन्ताको भूमिका निर्वाह गर्न सम्बद्ध विषयका प्रशासक, कानून व्यवसायी, प्राध्यापक, साहित्यकार, चिकित्सक, इन्जिनीयर, कलाकार, उद्योग व्यवसायी, कृषिविज्ञ आदि पेशागत क्षेत्रका व्यक्तिहरूको पहलबाट यो संस्था खडा गरिएको हो । हाल सरकारी निजी र सामाजिक क्षेत्रले राखेको सरोकार र चासोले पनि अब यस संस्थाको औचित्य र आवश्यकता पुष्टि हुन थालेको छ । अहिलेसम्म संस्थाका कार्यकारी सदस्यहरूको अर्थिक योगदान तथा कार्यक्रमका सहआयोजक साझेदारहरूको सहयोगबाट मुिश्कलले संस्था सञ्चालन भए तापनि आगामी दिनमा यस संस्थालाई बचाउन नेपाल जनप्रशासन संघ (पान), नेपाल व्यवस्थापन संघ (म्यान) लगायत संस्था जस्तै यसलाई पनि सरकारी अनुदानभित्र पार्न अपरिहार्य भएको छ । पूर्णरूपले मुलुकको सामाजिक क्षेत्रको विकासमा समर्पित र मुनाफसहित यस सामाजिक संस्थाहरूलाई नेपाल सरकारले उक्त संस्थाहरूलाई सालवसाली वार्षिक बजेट विनियोजन गर्ने गरेजस्तै यससंस्थालाई पनि आगामी आर्थिक वर्षदेखि सालवसाली वार्षिक बजेट विनियोजन गरी सामाजिक न्याय निर्वाह गर्न अनुरोध गरिन्छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाजका उपाध्यक्ष हुन् ।

कानूनी व्यवस्थाभित्र बौद्धिक सम्पत्ति

बौद्धिक सम्पत्तिका विधिलाई देहायअनुसारका तीन समूहमा राखी अध्ययन गर्न सकिन्छ, औद्योगिक सम्पत्ति, प्रतिलिपि अधिकार र उदीयमान नयाँ स्वरूपहरू । पेरिस महासन्धिद्वारा व्यवस्थित गरिएका बौद्धिक सम्पत्तिहरू जस्तै पेटेन्ट, उपयोगी नमूना, औद्योगिक डिजाइन, व्यापार चिह्न, सेवा चिह्न, व्यापारिक नाम, भौगोलिक संकेत, व्यावसायिक गोपनीयता र गैरप्रतिस्पर्धी क्रियाकलाप र नियन्त्रण समेतलाई औद्योगिक सम्पत्ति भनिन्छ । यिनीहरूको कानूनी संरक्षण प्रायः दर्ताबाट गरिन्छ । वर्न महासन्धिले व्यवस्थित गरेका बौद्धिक सम्पत्तिहरूमा प्रतिलिपि अधिकार र सान्निध्य अधिकार हुन् । यी अधिकार कुनै विचारका लागि नभएर मौलिक अभिव्यक्तका लागि प्रदान गरिन्छ । यिनीहरूको कानूनी संरक्षणका लागि दर्ता अनिवार्य गरिँदैन । उदीयमान नयाँ स्वरूपहरूअन्तर्गत स्टकहोम अभिसन्धि पछि विकसित भएका बौद्धिक सम्पत्तिहरू जस्तै एकीकृत सर्किट डिजाइन, बालीनालीका नयाँ जात परम्परागत ज्ञान, लोक संस्कृति, जैवी साधन र आनुवंशिक स्रोत आदि पर्छन् । व्यापार सरोकारका मात्र होइन, राष्ट्रिय सरोकार र जन सरोकार भएका तर वर्तमान कानूनले नसमेटेका अरू धैरै बौद्धिक सम्पत्ति छन् । तिनीहरूको संरक्षणको पनि कुनै कानूनी व्यवस्था भएको छैन । बौद्धिक सम्पत्तिसम्बन्धी कानूनी व्यवस्थाको कुरा गर्ने हो भने पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ कै अभ्यासमा छौं । यो अवस्थाबाट अगाडि टसमस हुन सकेका छैनौं । यी तीन बौद्धिक सम्पत्तिकोे सवालमा हामी राजा महेन्द्रको पालामा भन्दा अगाडि बढ्न सकेका छैनौं । सोही वर्ष जारी भएको प्रतिलिपि अधिकार ऐन, २०२२ स्थानमा भने प्रतिलिपि अधिकार ऐन, २०५९ कार्यान्वयनमा रहेको छ । कानूनी व्यवस्थाको स्तर जस्तोसुकै भए पनि जेनतेन मुलुकभित्र यी दुवै ऐनको सहायताबाट पेटेन्ट, डिजाइन, टे«डमार्क र प्रतिलिपि अधिकार तथा सान्निध्य अधिकार (नेबोरिङ राइट) को मात्र कानूनी व्यवस्था छ । ट्रिप्स सम्झौताअनुसार थप कार्यान्वयन गरिनुपर्ने भौगोलिक संकेत एकीकृत सर्किट डिजाइन, बालीनालीका नयाँ जात व्यावसायिक गोपनीयताजस्ता बौद्धिक सम्पत्तिको नाम मात्रको कानूनी व्यवस्था पनि हुन सकेको छैन । व्यापार सरोकारका मात्र होइन, राष्ट्रिय सरोकार र जन सरोकार भएका तर वर्तमान कानूनले नसमेटेका अरू धेरै बौद्धिक सम्पत्ति छन् । तिनीहरूको संरक्षणको पनि कुनै कानूनी व्यवस्था भएको छैन । परम्परागत ज्ञान, लोक संस्कृति, उपयोगी नमूना, जैवी साधन र आनुवंशिक स्रोत, अस्वस्थ प्रतिस्पर्धा निवारण, डिजिटल डाटा, डोमिन नाम, इ–कमर्श, इन्टरनेट आदि । यिनीहरूमा पनि औचित्य हेरी व्यक्ति वा समुदायको बौद्धिक सम्पत्ति सुनिश्चित हुनुपर्छ । यसका लागि पनि उचित कानूनी व्यवस्था हुन आवश्यक छ । अब आजको बाँकी छलफल विद्यमान कानूनले व्यवस्था गरेका बौद्धिक सम्पत्तिको परिचयमा केन्द्रित रहेको छ । प्रतिलिपि अधिकार विभिन्न साहित्यिक, वैज्ञानिक, सांगीतिक र कलात्मक रचनाका स्रष्टाहरूलाई प्रोत्साहित गर्न निश्चित अवधिका लागि दिइने एकलौटी कानूनी अधिकार हो । यस्ता रचनाहरूमा पुस्तक पुस्तिकाहरू, कविता, कथा, उपन्यास, नाटक श्रव्यदृश्य सामग्री विभिन्न कलाकौशल, वास्तुकलाका डिजाइन, फोटोग्राफी, चित्रकला, वैज्ञानिक लेख रचना, कम्प्युटर प्रोग्राम आदि पर्छन् र तिनमा रहने एकलौटी अधिकार भनेको स्रष्टाले आप्mनो चाहनाअनुसार रचनाको उत्पादन, पुनरुत्पादन, प्रसारण, संयोजन, अनुवाद, परिमार्जनजस्ता कामहरू गर्दा स्वीकृतिविना अरूलाई त्यस्ता काम गर्न निषेध गर्न सक्ने अधिकार हो । प्रतिलिपि अधिकार कुनै विचारका लागि नभएर मौलिक अभिव्यक्तिका लागि प्रदान गरिन्छ । प्रतिलिपि अधिकार र सान्निध्य अधिकारको अन्तरराष्ट्रिय संरक्षण वर्न महासन्धिद्वारा व्यवस्थित गरिएको छ । सान्निध्य अधिकारमा प्रस्तोताको अधिकार, ध्वनि अंकन उत्पादकको अधिकार र प्रसारण संस्थाहरूको अधिकार पर्दछन् । उक्त तीनै प्रकारका अधिकारसँग सम्बद्ध कार्य गर्दा प्रतिलिपि अधिकार निहित रचनामा आधारित भएर गर्नुपर्ने भएकाले सान्निध्य अधिकार भनिएको हो । ट्रिप्स सम्झौताले यसलाई सम्बन्ध जनित अधिकार (रिलेटेड राइट) भोको छ । जस्तो प्रस्तोताको अधिकार भनेको गायक, वाद्यवादक, नृत्यकार, अभिनयकर्ता जस्ता कलाकारको अधिकार हो भने यस्तो अधिकार कुनै कविता, गीत, नाटक, संगीत लेखनजस्ता प्रतिलिपि सामग्रीसँग आबद्ध वा सम्बन्ध स्थापित भएको हुन्छ । विनाप्रस्तोताको काम बन्दैन । प्रतिलिपि अधिकारविना सान्निध्य अधिकारको स्वतन्त्र अस्तित्व दुर्लभ हुन्छ । ट्रेडमार्क (व्यापार चिह्न) विस्तृत क्षेत्र समेट्नका लागि यसलाई केवल चिह्न (मार्क) मात्र पनि भन्न सकिन्छ । चिह्न भन्नाले उद्योग ब्यापार तथा सेवा कार्यमा कुनै निश्चित विषयको पहिचानका लागि प्रयोग गरिने जुनसुकै चिह्नलाई समेत जनाउन सक्छ । ऐनले ट्रेडमार्क भन्नाले कुनै व्यावसायिक व्यक्ति वा संगठनले उत्पादन वा विक्रीवितरण गर्ने वस्तुलाई अरूको भन्दा बेग्लै रूपमा पहिचान गराउन स्पष्ट देखिने गरिने प्रयोग गरिने संकेत वा तिनको मेल सम्झनुपर्छ भनेको छ । यस्ता संकेतमा व्यक्तिगत नाम, शब्द, अक्षर, अंक, चित्र, ठोस आकृति, रंगहरू, लोगो वा यिनीहरूको कुनै संयोजन हुन सक्छ । जस्तो, नेपालको कानूनअनुसार ट्रेडमार्क शब्दले वस्तु र सेवा चिह्न दुवैलाई समेटेको छ । प्रायःजसो मुलुकमा ट्रेडमार्क भन्नाले वस्तुमा प्रयोग हुने चिह।्न जनाउँछ भने सेवा चिह्नले सेवा कार्यमा प्रयोग हुने चिह्न जनाउँछ । जस्तै टोक्ला चिया ट्रेडमार्क हो भने नेपाल दूरसञ्चारले सञ्चार सेवाका प्रयोग गर्ने शंख सेवा चिह्न हो । बौद्धिक सम्पत्ति विधामा चिह्नको कुरा गर्दा समूहचिह्न, सुपरिचित चिह्न, प्रमाण चिह्नलाई र व्यावसायिक नामलाई पनि बिर्सनु हुँदैन । ऐनले यस्ता महत्त्वपूर्ण चिह्न संरक्षणको व्यवस्था गर्न सकेको छैन । ट्रिप्सको मान्यताअनुसार कुनै पनि चिह्नलाई संरक्षणका शर्त पूरा भएसम्म सदाका लागि संरक्षण दिनुपर्छ । औद्योगिक डिजाइन भन्नाले नाङ्गो आँखाले हेरेर मूल्याङ्कन गर्न सकिने कुनै पनि समतलीय वा ठोस आकृतिको रूपमा रहेको र औद्योगिक प्रयोजन र नवीनता भएको औद्योगिक वस्तुको स्वरूप हो । त्यस्ता औद्योगिक डिजाइनहरू धेरै थरीका विधि अपनाएर तय भर गर्न सकिन्छ । जस्तै रेखाहरूको संयोजन वा रंगहरूको संयोजनबाट, चित्र कोरेर, छापेर वा फोटो खिचेर, रंग र रेखा दुवैको संयोजनबाट, कुनै सामग्री जडेर, ढालेर वा बुनेर, माटो, ढुंगा, काठ वा धातुजस्ता ठोस पदार्थमा कुँदेर आदि । ट्रिप्सको मान्यताअनुसार औद्योगिक डिजाइन संरक्षण कम्तीमा १० वर्षलाई दिनुपर्छ । हाम्रो ऐनमा बढीमा १५ वर्षको लागि संरक्षण दिन सकिने व्यवस्था छ । यसले ग्राहकहरूलाई लोभ्याएर बजारमा सामानको माग सृजना र विक्री प्रवद्र्धन गर्नमा औद्योगिक डिजाइनको ठूलो हात हुन्छ । पेटेन्ट गर्ने सामग्री नै आविष्कार हो । आविष्कार भन्नाले प्रविधिको क्षेत्रमा कुनै आविष्कारकले पत्ता लगाएको खास समस्याको व्यावहारिक समाधान दिन सक्ने प्राविधिक उपाय हो । प्रविधिक हिसाबले नवीनता, उपयोगिता, र आविष्कारको चरण भएका र कानूनी दृष्टिमा उपयुक्त रहेका आविष्कार मात्र पेटेन्ट स्वीकृति दिइने विश्वव्यापी मान्यता छ । हाम्रो ऐनमा पूर्ण रूपमा यस सिद्धान्तको पालना नभए तापनि पेटेन्ट कानून नै छैन भन्न मिल्दैन । मुलुकमा आविष्कार र पेटेन्टको विकास नभई प्रविधिको विकास हुँदैन । प्रविधिको विकासका लागि पेटेण्न्टको विशेष महत्त्व रहन्छ । ट्रिप्सको मान्यताअनुसार पेटन्ट संरक्षण कम्तीमा २० वर्षलाई दिनुपर्छ । हाम्रो ऐनमा बढीमा २१ वर्षका लागि संरक्षण दिन सकिने व्यवस्था छ । यसरी पाँच प्रकारका बौद्धिक सम्पत्तिहरू मात्र वर्तमान कानूनमा समेटिएको छ । तिनको विषयवस्तु र दायरा पनि अधुरो, अपुरो छ । अपर्याप्त रहेको हुँदा भएको कानून पनि अन्तरराष्ट्रिय स्तरको छैन । तर, बौद्धिक सम्पत्तिको संरक्षणको दायरा भने अन्तरराष्ट्रिय स्तरको हुने हुँदा ऐन कार्यान्वयनको अवस्था ज्यादै कमजोर रहेको छ । फेरि राष्ट्रिय सरोकार र जनसरोकार भएका तर वर्तमान कानूनले नसमेटेका अरू धैरै बौद्धिक सम्पत्तिहरू छन् । तिनीहरूको संरक्षणको पनि कुनै कानूनी व्यवस्था भएको छैन । त्यसैले नेपालले बौद्धिक सम्पत्ति कानूनतर्फ धेरै सुधार गर्न बाँकी छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन्  ।

बौद्धिक सम्पत्ति विवाद र भन्सार नाकाको कार्यविधि

बौद्धिक सम्पत्ति अधिकार उल्लंघन विवाद विभिन्न व्यक्तिबीचको सम्पत्ति लेनदेनसँग सम्बद्ध हुने भएकाले सामान्यतया देवानी कार्यविधि नै आकर्षित हने कुरा विगत अंकमा चर्चा भइसकेको छ । ट्रिप्स सम्झौतामा यसै प्रकृतिको मान्न सकिने अर्को तत्कालीन कार्यविधि पनि उल्लेख गरिएको छ । ट्रिप्स सम्झौतामा भनिएको छ– मुलुकको न्यायिक निकायसँग बौद्धिक सम्पत्ति अधिकार उल्लंघन भएको अवस्थामा तत्कालै गर्न सकिने कार्यवाहीको विकल्प हुनुपर्छ । यस्तो विकल्प दुई अवस्थामा आवश्यक पर्न सक्छ– पहिलो मुलुकभित्र कुनै एक व्यक्तिले अर्को यक्तिको बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गर्न लागेको सुराक पाउँदा र दोस्रो त्यस्ता संदिग्ध सामानहरू सीमा नाकाबाट मुलुकभित्र प्रवेश गर्दै छन् भन्ने सुराक पाउँदा । पहिलो अवस्थामा अदालतले दिनसक्ने विभिन्न विकल्प छन् । तिनको चर्चा पहिले नै देवानी कार्यविधिअन्तर्गत गरिसकिएको छ । दोस्रो अवस्थामा अपनाइने यो तत्कालीन कार्यविधि भनेको भन्सार नाकाको कार्यविधि हो । यदि त्रुटिपूर्ण ढंगले उजुरीकर्ताले सामान रोक्का राखेको रहेछ भने भन्सारले सामानको धनी, आयातकर्तालगायत कानूनमा व्यवस्था गरिएको रहेछ भने भन्सार कार्यालयलाई समेत क्षतिपूर्ति भराउनुपर्छ । यो सीमा नाकामा हुने सामानको चेकजाँच सम्बन्धमा भन्सार अधिकृतले प्रयोग गर्ने अधिकारसम्बन्धी कार्यविधि हो । यस विधिलाई मुलुकको अन्तरराष्ट्रिय ट्रान्जिट नाकामा रहने भन्सार अधिकृतले कानूनप्रदत्त अधिकार प्रयोग गरी संदिग्ध मालसामान रोक्का राख्न सक्छन् । सम्बद्ध उजुरीकर्ताले आफ्नो बौद्धिक सम्पत्ति अधिकार हनन भएको विश्वस्त प्रकरणसहित आवेदन गरेमा र भन्सार अधिकृतलाई पनि विपक्षीले गम्भीर क्षति पुराउँदै छ भन्ने विश्वास लागेमा निजले आफ्नो अधिकार प्रयोग गरी सामान रोक्न सक्छन् । यो कार्यविधि ट्रिप्स सम्झौताको धारा ५१ देखि ६० सम्म वर्णन गरिएको छ । भन्सार अधिकृतलाई पहिलोपटक १० दिन र थप १० दिन गरी बढीमा २० दिनसम्म सामान रोक्का राख्न सक्ने अधिकार हुन्छ । यो तत्कालीन क्षति रोक्ने र अदालती कार्यवाहीलाई सुदृढ गर्ने उपाय हो । यसको मुख्य उद्देश्य खासगरी ट्रेडमार्क र प्रतिलिपि अधिकार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकार उल्लंघनका घटनालाई तत्काल निस्तेज पार्नु हो भने अन्तर्निहित उद्देश्यमा सम्बद्ध उजुरीकर्ताको जानकारीका लागि विभिन्न सूचना प्राप्त गर्नु, संदिग्ध सामान उत्पादन भएको मुलुक, उत्पादन गर्ने व्यक्ति वा कम्पनी, यातायातको साधन र रूट, अभिलेख विवरण, क्षतिको आकलन आदि अदालती कार्यवाहीका लागि चाहिने आधार प्रमाण जुटाउनु हो । उजुरीकर्ताले थप चाल्नुपर्ने कदमको रूपरेखा तयार पार्न पनि भन्सार नाकाको कार्यवाही उपयागी हुन्छ । सम्बद्ध उजुरीकर्ताले खास गरी ट्रेडमार्क चोरी (काउन्टरफिट) जाली सामान उत्पादन र प्रतिलिपि अधिकार चोरी (पाइरेसी) अर्थात् अपराधी कार्यको विश्वसनीय आधारसहित भन्सार अधिकृतसमक्ष आवेदन दिनुपर्छ । साथमा बौद्धिक सम्पत्तिको पूर्ण विवरणको छायाकपी र भए विद्युतीय अभिलेख पनि उपलब्ध गराउनुपर्छ । यसैको सहायताले नै कार्यालयले सक्कली र नक्कली सामान पहिचान गर्न समर्थ हुन्छ । साथै पहिचानको लागि उक्त विवरण मुलुकका सबै भन्सार नाकामा पठाउन समर्थ हुन्छ । यसबाट सबै नाकाहरू त्यस प्रकारका वस्तुहरूप्रति सजग हुन्छन् । यसरी भन्सार नाकाको कार्यवाहीले बौद्धिक सम्पत्तिको धनीलाई थोरै लागतमा ठूलो सम्भावित क्षतिबाट जोगाउँछ । यो प्रावधान आकर्षित गराउन उजुरीकर्ताले भन्सार अधिकृतलाई विश्वास लाग्ने आधार र तथ्य प्रस्तुत गर्न सक्नुपर्छ । यो कार्यविधि अपनाउँदा उजुरीकर्ताले पालना गर्नुपर्ने अर्को सर्त धरौटी रकम दाखिला पनि हो । कहिलेकाहीँ उजुरीकर्ताले यो सुविधाको दुरुपयोग गरी आफ्ना प्रतिस्पर्धीको उछितो गर्न सक्ने वा अरू कुनै दुरुपयोग गर्न सक्ने सम्भावनालाई समेत दृष्टिगत गरी सुरक्षाका निम्ति वा क्षतिपूर्ति भराउन भनेर यो व्यवस्था गरिएको हो । भन्सारले सामान रोक्का गरेपछि यसको जानकारी अविलम्ब आयातकर्ता र आवेदकलाई दिनुपर्छ । आवेदकलाई सूचना गरेको १० दिनसम्म पनि अदालती कार्यवाही नचलाएको अवस्थामा वा चलाएको भए पनि अदालत वा प्रशासनिक निकायमा चलेको कार्यवाही लम्बिएमा रोक्का राखेको सामान भन्सारले फुकुवा गरिदिनुपर्छ । तर, यदि विपक्षीले गरेको पुनरावेदनको सुनुवाइबाट कुनै कुरा फरक पर्न गएमा वा पुनरावेदन खारेज भएमा वा वादीको दाबी उचित ठहरेमा २० कार्य दिन वा कुल अवधि ३१ दिनमा जुन बढी हुन्छ त्यति दिनसम्म सामान रोक्का अवधि थप गर्न सकिनेछ । यदि त्रुटिपूर्ण ढंगले उजुरीकर्ताले सामान रोक्का राखेको रहेछ भने भन्सारले सामानको धनी, आयातकर्तालगायत कानूनमा व्यवस्था गरिएको रहेछ भने भन्सार कार्यालयलाई समेत क्षतिपूर्ति भराउनुपर्छ । बौद्धिक सम्पत्ति बहुमूल्य र अमूर्त प्रकृतिको भएकाले अपराधी प्रवृत्तिका व्यक्तिले अवाञ्छित लाभ प्राप्त गर्न गैरकानूनी हर्कतको सहारा लिइरहन्छन् । वैदेशिक व्यापारको क्रममा मात्र हैन मुलुकभित्र बाटै पनि मुलुक बाहिर यसका जालहरू फैलाइएका हुन्छन् । जस्तो २०५८ सालमा उद्योग विभागको अनुरोधमा भन्सार नाकाबाट भएको कार्यवाहीको उदाहरणका रूपमा मलहोत्रा सेविङ प्रडक्ट, भारत वि.प्रवीण स्टोर काठमाडौंको बीचको विवादमा यस स्तम्भकारकै प्रशासनिक पहलमा भएको कार्यवाही प्रस्तुत गर्न सकिन्छ । यसमा वादीको नाममा दर्ता रहेको र नेपालको बजारमा प्रचलनमा रहेको जिलेन्ट ट्रेडमार्क लागेको दारी फाल्ने पत्ती र रेजरको हुबहु नक्कल उतार गरी विपक्षीले चीनको खासाका व्यवसायीसँग उत्पादन गराई नेपालको बजारमा फेरि अर्को नक्कली ब्रान्डको वस्तु चलाएको थियो । उद्योग विभागले भन्सार विभाग तथ भन्सार कार्यालयसँग पत्राचार गरी सामान रोक्न अनुरोध गरी गैरकानूनी धन्दा बन्द गराएको थियो । त्यति बेला ट्रिप्सको प्रावधान नै नभए तापनि अन्य प्रचलित कानूनको सहायताले दर्ता रहेको ट्रेडमार्कलाई संरक्षण दिन यो कार्यविधि लागु गरिएको थियो । बौद्धिक सम्पत्ति अधिकारको संरक्षणमा ट्रिप्स सम्झौताको गहन भूमिका रहेको छ । विगत साढे २ दशकसम्म यस सम्झौताको सर्वाधिक चर्चाको विषय बौद्धिक सम्पत्ति अधिकारको प्रचलन (इनफोर्समेन्ट) नै रह्यो (लेखमा प्रचलनको ठाउँमा कतै कतै कार्यान्वयन शब्द पनि प्रयोग भएको छ । बढी प्रयुक्त हुने पद पाठक वर्गले सुझाउनु हुने नै छ) । प्रस्तुत विषयमा केन्द्रित रहेर अभियान राष्ट्रिय दैनिकका छओटा अंकमा विभिन्न पक्षमा छलफल गरिसकिएको छ । छलफलका प्रमुख विषयमा बौद्धिक सम्पत्ति अधिकार उल्लंघन तथा कारण, अधिकार प्रचलन गराउने निकाय र विधिहरू, अधिकारको कार्यान्वयन र चुनौतीहरू, बौद्धिक सम्पत्ति अधिकार उल्लंघनका प्रभावहरू, विवाद समाधानका लागि देवानी कार्यविधि, फौजदारी कार्यविधि र अन्त्यमा भन्सार नाकाको कार्यविधिबारे चर्चा गर्दै यस विषयलाई पूर्ण विराम दिइएको छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

बौद्धिक सम्पत्ति अधिकार

केही अन्तरराष्ट्रिय सन्धिसम्झौताद्वारा निर्देशित विधिअनुसार बौद्धिक सम्पत्तिलाई अन्तरराष्ट्रिय रूपमा संरक्षण प्रदान गरिन्छ । यस्तो अधिकार प्रचलन (इनफोर्स) गराउने प्रमुख निकाय अदालत नै हो । तर, कुनै पनि अदालतको क्षेत्राधिकार विश्वव्यापी हुँदैन । हरेक अदालतको अधिकार आफ्नो मुलुकभित्र मात्र सीमित हुन्छ । जिज्ञासा हुन सक्छ– त्यसोभए अन्तरराष्ट्रिय संरक्षण कसरी उपलब्ध हुन्छ ? विश्वका सबैजसो राष्ट्र पेरिस महासन्धि, वर्न महासन्धि वा विश्वव्यापार संगठनजस्ता कुनै संगठनसँग आबद्ध भएका हुन्छन् । ती सम्झौतामा भएको प्रावधानअनुसार सदस्य राष्ट्रको अदालतले आआफ्नो मुलुकको क्षेत्राधिकारभित्र बौद्धिक सम्पत्ति अधिकार प्रचलन गराउँछन् । जस्तो नेपालमा कुनै भारतीय नागरिकको बौद्धिक सम्पत्ति अधिकार कसैले उल्लंघन गर्‍यो भने नेपालमा उसले यहाँकै कानूनअनुसार मुद्दा दायर गरी अधिकार प्रचलन गराउनुपर्छ । बौद्धिक सम्पत्ति अधिकारको समुचित कार्यान्वयनको अभावमा कतिपय परम्परागत ज्ञान र जैवी साधन पलायन भइरहेका छन् । बौद्धिक सम्पत्तिलाई एक मूल्यवान् सम्पत्तिको श्रेणीमा राख्न योगदान पुर्‍याउने आधारभूत पक्ष नै बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी संरक्षण अर्थात अधिकारको प्रचलन (इनफोर्समेन्ट) हो । अल्पविकसित र विकासोन्मुख राष्ट्रमा यही पक्ष सबैभन्दा बढी पछाडि परेको छ । यसै कारण बौद्धिक सम्पत्तिले सम्बद्ध स्रष्टा र राष्ट्रका निम्ति वाञ्छित योगदान पुर्‍याउन सकेको छैन । अधिकारको कार्यान्वयन पक्ष अतिकमजोर भएकाले ट्रिप्स सम्झौताको २१ दफा भएको परिच्छेद तीन पूर्णरूपले यसै विषयमा केन्द्रित भएको छ भने परोक्ष रूपले विचार गर्दा समग्र ट्रिप्स सम्झौताको अन्तिम उद्देश्य बौद्धिक सम्पत्ति अधिकारको प्रचलन नै हो । बौद्धिक सम्पत्ति अधिकारको प्रत्याभूति कानून र अदालतले गर्छ । यद्यपि अधिकारको प्रचलनमा योगदान पुराउने अन्य सहयोगी निकायमा बौद्धिक सम्पत्ति कार्यालयहरू, भन्सार कार्यालय, प्रहरी र स्थानीय प्रशासनसमेत पर्छन् । यदि कसैले बौद्धिक सम्पत्तिको चोरी गर्‍यो भने र त्यसलाई तत्काल रोकथाम गरिएन भने स्रष्टा वा धनीलाई अपूरणीय क्षति हुने भएकाले न्यायदिने र अधिकार प्रचलन गराउने काम अत्यन्त छिटो छरितो हुनुपर्छ र कम खर्चिलो पनि हुनुपर्छ । अधिकार प्रचलनमा क्रियाशील रहने निकायको बीचमा द्रुत सञ्चार तथा पारस्परिक सहयोग र समन्वय हुनुपर्छ । कारबाही न्यायोचित रहनुपर्छ र अनावश्यक ढिलासुस्ती र रोकावट हुनु हुँदैन । कारबाहीमा पक्षहरूलाई न्यायिक पुनरवलोकन गर्ने वा पुनरावेदन सुन्ने अवसर भने दिनुपर्छ । भरसक आपराधिक अभियोगमा कारबाही गर्ने अवस्था नै आउन दिनु हुँदैन । यसका लागि जनसमुदायबीच बौद्धिक सम्पत्तिप्रति जनचेतना बढाउने र यसको उचित सम्मान गर्ने संस्कार निर्माण गरी शुरूदेखि नै सुरक्षात्मक उपायहरू अपनाउनुपर्छ । बौद्धिक अधिकारको प्रचलन सम्बन्धमा विश्व बौद्धिक सम्पत्ति संगठनले अल्पविकसित तथा विकासोन्मुख राष्ट्रमा देहायका चुनौतीहरूको पहिचान गरेको छ । ती चुनौती हाम्रो मुलुकको सम्बन्धमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ । पहिलो कुरा बौद्धिक सम्पत्ति अधिकार प्रचलनमा प्रारम्भिक आवश्यकता भनेको अन्तरराष्ट्रिय स्तरको बौद्धिक सम्पत्ति कानून हो । हाम्रो मुलुकमा त्यो नै नभएपछि त्यसको कार्यान्वयन कमजोर नहुने कुरै भएन । दोस्रो बौद्धिक सम्पत्ति अधिकार कार्यान्वयन गर्ने निकाय धेरै छन् । तर, त्यही नै समस्या नभए पनि बौद्धिक सम्पत्ति अधिकारतर्फ केन्द्रित प्रयास र सरोकार कम छ । तेस्रो बौद्धिक सम्पत्ति अधिकार संरक्षणसम्बधी क्रियाकलापको कार्यान्वयन धेरै निकायबाट हुन्छ । तर, पारस्परिक रूपमा समन्वयात्मक ढंगले काम हुँदैन । चौथो भन्सार नाकाबाट हुनुपर्ने कारबाही अपर्याप्त रहेको छ र सम्बद्ध कर्मचारीमा बौद्धिक सम्पत्तिबारे चाहिने ज्ञान र शीपको न्यूनता रहेको छ । पाँचौं बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी विवाद वा मुद्दाहरू लामो समयसम्म थन्किइरहेका छन् र सम्बद्ध प्रशासनिक तथा न्यायिक अधिकारीहरूमा यस विषयको ज्ञान र शीपको अभाव पनि देखिन्छ । फेरि बौद्धिक सम्पत्ति र यसको संरक्षणसम्बन्धी जनचेतना ज्यादै न्यून रहेको छ । प्रत्यक्ष असर पर्ने उपभोक्ता र आम जनस्तरमा यस विषयमा सरोकार नरहँदा बौद्धिक सम्पत्तिको दुरुपयोगबाट उत्पादन भएका वस्तु वा सेवाबाट केकस्तो सार्वजनिक क्षति हुन्छ र स्वास्थ्यमा केकस्तो हानिनोक्सानी पुग्छ भन्ने कुरामा सजग छैनन् । ट्रिप्स सम्झौताले ट्रेडमार्क र प्रतिलिपि अधिकारको गम्भीर अपराधमा फौजदारी दायित्वको व्यवस्था गरे पनि हाम्रो ट्रेडमार्क कानूनमा सो प्रावधान नै नभएको र प्रतिलिपि अधिकार कानूनमा भए तापनि त्यस्तै अपराधीहरूले गल्ती नदोह¥याउन पर्याप्त हुने पर्याप्त सजायको व्यवस्था नहुँदा प्रभावकारिता न्यून रहेको छ । यी चुनौतीबाहेक नेपालमा बौद्धिक सम्पत्ति अधिकार प्रचलन र संरक्षणका धेरै चुनौती रहेका छन् । यहाँ बौद्धिक सम्पत्ति अधिकारको व्यापक उल्लंघन भइरहेका छ । जस्तो विद्युतीय डिस्क, सफ्टवेरलगायत प्रतिलिपि अधिकार र ट्रेडमार्कको चोरी व्यापक छ । पेटेन्ट र औद्योगिक डिजाइनहरूको सृजना र दर्ता पनि कम छ र छिटपुछ भएका पनि सम्बद्ध निकायको ढिलासुस्ती र हेलचेक्र्याइँले तुहिएर गएका छन् । धेरै किसिमका बौद्धिक सम्पत्तिको संरक्षण सम्बन्धमा नेपालमा कानूनी प्रावधान नै छैन । जस्तै भौगोलिक संकेत, व्यापारिक गोप्यता, इन्टेग्रेटेड सर्किटको लेआउट डिजाइन, प्लान्ट भेराइटी संरक्षण, परम्परागत ज्ञानको संरक्षण आदि विषयहरू वर्तमान कानूनमा समेटिएका छैनन् र विद्यमान पेटेन्ट, डिजाइन, ट्रेडमार्क तथा प्रतिलिपि अधिकारसम्बन्धी कानूनमा अन्तरराष्ट्रिय स्तरअनुसारका पर्याप्त प्रावधानहरू समेटिएका छैनन् । बौद्धिक सम्पत्तिसम्बन्धी संस्थागत संरचनाहरूको नाममा राष्ट्रिय बौद्धिक सम्पत्ति कार्यालयसम्म पनि खडा गर्न नसकेको अवस्था छ र विद्यमान संस्थागत संरचना पनि ज्यादै कमजोर रहेको छ । बौद्धिक सम्पत्ति विषयको जनशक्तिको पनि अभाव रहेको अवस्था छ । बौद्धिक सम्पत्ति अधिकार संरक्षणको न्यूनताले विदेशी लगानी प्रतिकूल ढंगले प्रभावित भएको र लगानीकर्तालाई आकर्षण गर्न नसकिरहेको अवस्था छ । एकातिर बौद्धिक सम्पत्ति अधिकार संरक्षणको यति नाजुक अवस्था छ भने अर्कोतिर विश्व व्यापार संगठनको प्राविधिक सहयोगअन्तर्गत अतिकम विकसित मुलुकलाई प्राप्त हुनसक्ने सुविधा सहुलियतलाई आफ्नो क्षमता अभिवृद्धिका लागि सदुपयोग गर्ने हुति पनि सम्बद्ध सरकारी निकायमा हुन सकेन । बौद्धिक सम्पत्तिको प्रवर्द्धनका लागि सेवा सुविधा र सहुलियतको न्यूनता रहेको छ र औद्योगिक प्रतिष्ठानहरूको उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न बौद्धिक सम्पत्तिको व्यावसायिक उपोग र त्यसमा आधारित सृजनशीलता र नवीनतम क्रियाकलाप न्यून रहेका छन् । बौद्धिक सम्पत्ति अधिकारको समुचित कार्यान्वयनको अभावमा कतिपय परम्परागत ज्ञान र जैवी साधन पलायन भइरहेका छन् । केही अन्तरराष्ट्रिय सन्धिको सदस्यता नलिँदा तथा कानूनी सुधार नगर्दा स्वदेशी प्रतिभाहरूका लागि अन्तरराष्ट्रिय संरक्षणमा कठिनाइ परिरहेको छ । विद्यमान बौद्धिक सम्पत्ति अधिकार प्रचलन वा संरक्षणको अवस्था सन्तोषजनक मान्न सकिने छैन । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।