विराटनगर । जापान बसेर आएका एक युवकले ४ लाखसम्म कमाइ हुने काममा जापान पठाइदिन्छु भन्दै ४० जनाबाट ३ करोड रुपैयाँ उठाएर फरार भएका छन् । मोरङको सुनवर्सी नगरपालिका–६ पटियापाडाका अजय राजवंशीले जापान पठाइदिने भन्दै पूरै गाउँलाई नै ठगेर भागेपछि पीडितहरूले रकम फिर्ताको माग गर्दै पत्रकार सम्मेलन गरेका छन् । ठगिनेहरू जिल्लाको रंगेली नगरपालिकाका समेत छन् ।
पाँच वर्ष जापान बसेर फर्किएका अजयले चितवन घर बताउने राजेन्द्र अधिकारीको योजना अनुसार पटियापाडाका दर्जनौं व्यक्तिबाट करोडौं रकम लिएर फरार भएको पीडितहरूले बताएका छन् । ठगीको नाइके राजेन्द्र अहिले पनि जापानमै रहेको पीडितहरूले बताएका छन् ।
अजय र राजेन्द्र जापानमा सँगै काम गर्ने गरेको खुलेको छ । राजेन्द्रले अजयमार्फत मोरङका सुनवर्सी तथा रंगेली नगरपालिका, कटहरी गाउँपालिका र झापाको कनकाईलगायत ठाउँका युवाबाट प्रतिव्यक्ति १८ लाख रुपैयाँसम्म असुलेका थिए ।
नाताले दाइ पर्ने (फुपूको छोरा) अजयले जापान पठाइदिने भन्दै आफूलाई ठगी गरेको रंगेली–९ का हरि राजवंशीले बताए । कतारमा काम गरिरहेको समयमा अजयले नै बोलाएर आफू नेपाल आएको उनले सुनाए ।
पीडितहरूले ठगी गिरोहका मुख्य नाइके राजेन्द्र अधिकारीसहित ज्योति घले, विद्याकुमारी राजवंशी, मिनचिरा चर्मकार, कर्णकुमार दवाडी, रञ्जितकुमार राजवंशी र अनुराधा राजवंशीको बैंक खातामा पनि पैसा जम्मा गरेको बताएका छन् । उनीहरूको नाममा आधा दर्जन बैंकमा खाता रहेको बताइएको छ ।
वैदेशिक रोजगारीका लागि दुबई जान लागेका सुनवर्सी–४ का सञ्जय राजवंशीले राजेन्द्रसहितका व्यक्तिलाई तीनपटक गरी १६ लाख रुपैयाँ बैंकमार्फत दिएको बताए ।
‘जापानबाट भ्याकेन्सी आएको छ भनेर हल्ला भयो, मैले त दुबईका लागि अन्तरवार्ता पनि दिइसकेको थिएँ,’ उनले भने, ‘जापान नै जान पाउने भनेपछि दुबईको प्रक्रिया बन्द गरेर बैंकबाट ऋण निकालेर १६ लाख रुपैयाँ तिरेको थिएँ, भविष्य राम्रो होला भन्ने सोचेको थिएँ, पछि मात्रै ठगिएको थाहा भयो ।’
ठगीमा परेको थाहा पाएपछि उनीसहितका पीडितले पुस २० गते जिल्ला प्रशासन कार्यालय मोरङमा अजयसहितका चार जनाविरुद्ध उजुरी दिएका छन् । उजुरीमा किटान गरिएकाहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट टोली परिचालन भएको बताइएको छ ।