नारायणी नदी तटबन्ध : रकम अभावले प्रभावित

वर्षा सुरु भएपछि नारायणी नदी किनारमा बस्ने बासिन्दाको चैन गुम्छ। नारायणी नदीको उचित तटबन्ध हुन नसक्दा तटीय क्षेत्रका बासिन्दा जाग्राम बस्न बाध्य छन्। नारायणी तटबन्धबाट नवलपरासीपूर्र्वमा मात्रै ९० हजार बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित छन्। चितवनतर्फ तीन लाखभन्दा बढी प्रभावित छन्। नारायणी तटबन्धका लागि सरकारले पूर्वी नवलपरासी र चितवन जिल्लामा अर्बौं रकम लगानी गरेर तटबन्धको काम सुरु गरेको पनि वर्षौं भइसक्यो तर पनि समयमा रकम निकासा नहुँदा तटबन्ध अलपत्र परेको छ। नारायणी नदीका कारण गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका हरेक वर्षामा प्रभावित हुने गर्छन्। गैँडाकोट नगरपालिकाका नगर प्रमुख मलनभक्त अधिकारीले गैँडाकोटको वडा नं १ देखि ९ सम्म तटबन्ध सुरु गरिए पनि रकम अभावले अगाडि बढ्न नसकेको बताउनुभयो।

सम्बन्धित सामग्री

नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण शुरू

वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण शुरू गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आब्हान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आव्हान गर्ने गरी काम अघि बढाइएको छ ।  सिँचाइ विभागका महानिर्देशक शुशिलचन्द्र आचार्यका अनुसार दुई साताभित्र सबै खण्डको बोलपत्र आव्हान भइसक्ने छ । उनका अनुसार पहिलो खण्ड भरतपुर महानगरपालिका वडा नं २६ र २७ मा पर्ने पाँच किलोमिटर ६७२ मिटरको बोलपत्र भइसकेको छ ।  नारायणी नदी तटबन्ध व्यवस्थापन आयो...

नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै

चितवन । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म १ अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन । नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरमार्फत काम हुँदै आएको छ । यस आयोजनाले नारायणी नदीको तटबन्धलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ । बजेटको अभावले सोचेजस्तो काम हुन भने सकेको छैन । नारायणी नदीले चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका एवं विनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तररूपमा लागिपरेको बताइन् । उनका अनुसार नदी तटबन्धनका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजनालाई सिँचाइ विभागले स्वीकृत गरी अर्थ मन्त्रालय पठाएको छ, जसमा चितवन र नवलपरासीतर्फ तटबन्धनका लागि  २३ अर्ब ५८ करोड ४३ लाख खर्च लाग्ने प्रस्तावित लागत आएको उनले जानकारी दिइन् । पहिलो चरणमा पाँच अर्बको कामका लागि बहुवर्षीय खरीद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल रहेको छ । मन्त्रालयबाट केही दिनमा नै स्वीकृति हुने जानकारी आफूले प्राप्त गरेको दाहालले बताइन् । वर्षात्को समयमा ठूलो जोखिम निम्तिने गरेपछि महानगरपालिकाले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै आएको थियो । केही दिनअघि सोही क्षेत्रका सांसद एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा अर्थमन्त्री र सचिवले सार्वजनिक कार्यक्रममा तटबन्धको काम तत्काल अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको प्रमुख दाहालले बताइन् । अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भएलगत्तै बहुवर्षीय खरिद कार्य गर्न तयारी गरेको नारायणी नदी व्यवस्थापन आयोजनाले बताएको छ । आयोजना प्रमुख रवीन्द्रबहादुर थापाले एक दुई दिनमा अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको पत्र दिने जानकारी आफूले पाएको उल्लेख गरे । कार्यालयका सिनियर डिभिजनल इञ्जीनियर दिनेश पौडेलका अनुसार गुरुयोजनाअनुसार चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि नौ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । रासस

तटबन्ध निर्माणपछि सौराहा कटानमुक्त

हरेक वर्षजसो डुबान र कटानको चपेटामा पर्ने पर्यटकीय क्षेत्र सौराहाले यस वर्षबाट कटानको समस्या झेल्नु नपर्ने भएको छ । राप्ती खोलामा गरिएको तटबन्धले सौराहाको कटानको समस्या समाधान गरेको नारायणी नदी तटबन्ध कार्यक्रमका इन्जिनियर प्रकाश लम्सालले बताउनुभयो । नारायणी नदी तटबन्ध कार्यक्रम चितवनले विगत लामो समयदेखि राप्ती खोला र नारायणी नदी नियन्त्रणको काम गरिरहेको छ ।