बीमा बजारमा अब फरक प्रकारको चेतना ल्याउन आवश्यक छ

हालै युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएकी उपासना पौडेल नेपाली बीमा बजारका लागि नयाँ व्यक्ति हुन् । भारतीय बीमा बजारमा लामो समय काम गरेकी पौडेलसँग नेपाली बीमा बजारको अनुभव भने छोटो छ । यस अवस्थामा उनले कम्पनीलाई कसरी अगाडि बढाउँदै छिन् ? प्रस्तुत छ, यस्तै समसामयिक विषयमा आर्थिक अभियानका मिलन विश्वकर्माले पौडेलसँग गरेको कुराकानीको सार : नेपालको बीमा क्षेत्रमा यसअघि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महिला थिएनन् । त्यो अवस्थामा तपाईं युनाइटेड इन्स्योरेन्सको सीईओमा नियुक्त हुनुभएको छ । कस्तो लागिरहेको छ ? यस कम्पनीको सीईओ भएर आउँदा एकदम उत्साहित भएको छु । तर, उत्साहसँगै जिम्मेवारी पनि बढेको महसुस भएको छ । महिला भएको हुनाले बजारले के गर्न सक्ला भन्ने पनि हुन सक्छ । यसमा महिला/पुरुषले यसमा खास अर्थ त राख्दैन । तर, केही फरक भने हुन्छ । यद्यपि, महिला भएको कारण हाम्रो आवाज सुनिन्छन् । तर, काम गर्ने मामलामा महिला/पुरुषलाई आधार बनाउनु हुँदैन । काम गर्न सक्नेलाई स्थान दिनुपर्छ । नेपालमा यस्तो संस्कार बल्ल शुरू हुन खोजेको छ । अहिले भारतका ठूला बैंक तथा बीमा कम्पनीहरूमा महिलाले पनि नेतृत्व गरेका छन् । तर, केही समयअघि त्यहाँ पनि महिलाको सहभागिता न्यून थियो । धेरै लामो समयपछि त्यहाँको बजारमा महिलाहरू नेतृत्वमा आएका हुन् । म भारतीय बीमा बजारमा २०१२ मा प्रवेश गरेको हुँ । त्यस बेला त्यहाँ महिला नेतृत्व अत्यन्त कम थियो । तर, अहिले त्यहाँ महिलाहरू नेतृत्वमा आइसकेका छन् । अब नेपालमा पनि त्यो परिवर्तन आउँदै छ । केही समयअघि युनाइटेडमा महिला कर्मचारी संख्या कम थियो । तर, अहिले कुल कर्मचारीमा महिला कर्मचारीको हिस्सा ३५ प्रतिशत पुगिसकेको छ । नेतृत्व तथा विभागीय प्रमुखहरूमा त महिलाको संख्या ५० प्रतिशतभन्दा बढी छ । यद्यपि, हामीले महिला नै भएर उनीहरूलाई स्थान दिएका भने होइनौं । महिलाले एकदम प्रतिबद्ध एवं समर्पित भएर काम गर्छन् । त्यसैले, महिलालाई महिलाको रूपमा मात्र हेर्नु हुँदैन । अझ भनौं, काम गर्ने मामलामा महिला/पुरुष भनेर भन्नु हुँदैन । बीमा क्षेत्रमा प्रवेश गरेर छोटो समयमै व्यवस्थापकीय रूपमा एक कम्पनीको नेतृत्व गर्दै हुनुहुन्छ । यहाँसम्मको यात्रा कस्तो रह्यो ? मैले ब्याचलरसम्म नेपालमै पढेको हुँ । मास्टर डिग्री भने भारतको दिल्ली युनिभर्सिटी फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजमा गरेको हुँ । त्यो कलेज भारतको उत्कृष्ट ५ भित्र पर्छ । त्यसकारण मलार्ई त्यहाँ जागिर खोज्दै हिँड्नु परेन । त्यहाँ राम्रा कलेजहरूमा कम्पनीहरू आफै इन्टर्नशिपको अवसर लिएर आउने गर्छन् । सोही क्रममा मैले त्यहाँको एक म्यानुफ्याक्चरिङ कम्पनी कुम्मिन्स इन्डिया लिमिटेडमा जोडिने अवसर पाएँ । त्यहाँ मेरो कार्यसम्पादनलाई मूल्यांकन गर्दै कम्पनीले पूर्णकालीन रूपमै काम गर्ने अवसर दियो । यसै क्रममा नेपालीसँग नै मेरो विवाह पनि भयो । थप करिअरका लागि म २०१२ मा मुम्बई गए । त्यहाँ गएर जागिर खोज्ने क्रममा आईसीआईसीआई नामक निर्जीवन बीमा कम्पनीमा जोडिएँ । त्यही कम्पनीबाट बीमा क्षेत्रमा मेरो प्रवेश भएको हो । त्यस कम्पनीमा ६ महिना मात्र काम पाएमा पनि धेरै राम्रो हुने थियो । तर, त्यहाँ पनि मैले राम्रै कार्यसम्पादन गर्न सकेँ । त्यहाँ कार्यसम्पादनको आधारमा ३/३ वर्षमा मात्र कर्मचारीको प्रमोसन हुन्थ्यो । तर, मेरो १/१ वर्षमै प्रमोसन हुन्थ्यो । त्यहाँ काम गर्दा मेरो व्यक्तिगत जीवनलाई पनि धेरै फाइदा गर्‍यो । म त्यहाँ म्यानेजमेन्ट तहबाटै सेवा शुरू गरेको थिएँ । त्यसको प्रभावले नै मलाई अहिले युनाइटेड इन्स्योरेन्सको सीईओ हुन मद्दत पुगेको हो । त्यस कम्पनीमा काम गर्दा गर्दै म फेरि भोडाफोन नामक टेलिकम कम्पनीमा जोडिन पुगेँ । त्यहाँ काम राम्रो गरे पनि उत्साह भने भएन । त्यहाँ ६ महिनाजति काम गरेर म बीमा बजारमै फर्किएँ । त्यसपछि मैले आईसीआईसीआईसँग मर्ज हुन लागेको भारतीय एक्सा नामक बीमा कम्पनीमा काम शुरू गरेँ । तर, भारतमा लामो समयसम्म बस्न मन भएन । अन्ततः हामी (श्रीमान् समेत)ले २०१९ डिसेम्बरमा नेपाल आउने निर्णय गर्‍यौं । नेपाल आएर सानिमा जनरल इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम शुरू गरेँ । त्यसपछि युनाइटेड इन्स्योरेन्समा डीसीईओ रूपमा नियुक्त भएर डेढ वर्षअघि आएको हुँ । लामो समय भारतीय बीमा बजारमा काम गर्नुभयो । अहिले नेपाली बीमा बजारमा सक्रिय हुनुहुन्छ ? नेपाल र भारतीय बीमा बजारमा महिला सहभागिता, पहु“च, प्रविधि लगायतको अवस्था कस्तो छ ? भारतमा अहिले महिला कर्मचारीको हिस्सा बढी नै छ । त्यहाँ कम्पनीमा ३५ प्रतिशत महिला कर्मचारी हुनुपर्ने प्रावधान पनि छ । त्यसको कारणले पनि त्यहाँ अहिले महिला कर्मचारीको हिस्सा राम्रो छ । तर, उनीहरूले महिला नै भएर जागिर पाएका भने होइनन् । काम गर्न सक्ने भएर नै पाएका हुन् । तर, नेपालमा भने महिलाको सहभागिता कम नै छ । तर, विस्तारै बढ्दै गएको पनि देखिन्छ । तर, महिलाले काम भने गर्न सक्नुपर्छ । अहिले यहाँ महिलाको हिस्सा ३५ प्रतिशत हुनुपर्छ भनियो भने काम गर्ने सक्ने मान्छे पाउन गाह्रो हुन्छ । त्यो कोटा परिपूर्ति गर्दा प्रभावकारिता पनि घट्न सक्छ । महिला कर्मचारीको हकमा विस्तारै विकास हुन्छ जस्तो लाग्छ । हाम्रो कम्पनीमा त भइपनि सक्यो । केही समय यहाँ १० प्रतिशत महिला कर्मचारी थिए । अहिले त्यो ३०÷३५ प्रतिशत पुगेको छ । विभागीय प्रमुखहरूमा त ५० प्रतिशतभन्दा बढी छ । अरूले शुरू नगरे पनि हामीले शुरू गरेका छौं । अब यसको नतीजा कस्तो आउँछ, त्यो पनि विस्तारै देखिन्छ । नतीजा राम्रै आयो भने अन्य कम्पनीले पनि यस्तो अभ्यास गर्न सक्छन् । कम्पनीले राम्रो व्यवसाय गर्दै गयो भने महिलामैत्री कार्यालय पनि बनाउँछौं । तर, अहिले कम्पनीसँग पर्याप्त पूँजी नहुँदा त्यो गर्न सकिएको छैन । निकट भविष्यमा हुन सक्छ । नेपालका कम्पनी महिलामैत्री भने छैनन् । भारतमा यस्ता कम्पनीहरूमा ‘चाइल्डकेयर सेन्टरहरू’ पनि छन्, ता कि बच्चा भएका महिला कर्मचारीले पनि कार्यालयमा आएर काम गर्न सकून् । बच्चा हेर्नकै लागि जागिर छोड्न नपरोस् । तर, नेपालमा त्यस्तो संस्कृतिको विकास भएको छैन । करियर राम्रो भएका महिला साथीहरू पनि बच्चा हेरचाह गर्नकै लागि जागिर छोडेका विभिन्न उदाहरण छन् । परम्परागत मान्यतालाई ध्यानमा राखेर बच्चा हेरचाह गर्न श्रीमतीलाई नै जागिर छोड्न लगाइन्छ । यस अवस्थामा महिलामैत्री कार्यालय बनाउन आवश्यक छ । साथै, हामी विमन ब्रान्च नै बनाउने योजनामा छौं । महिलाले मात्र काम गर्ने तथा महिलासम्बन्धी बीमा गर्नेगरी विमन ब्रान्च स्थापना गर्ने योजनामा छौं । बजारका कुरा गर्दा हामी भारतीय बीमा बजार भन्दा पछाडि नै छौं । म सन् २०१२ मा भारतीय बजारमा प्रवेश गरेको हुँ । त्यसबेला त्यहाँ म्यानुअल रूपमै बीमा पोलिसी जारी गरिन्थ्यो । तर, केही वर्षमै त्यहाँ त्यो अवस्था अन्त्य भयो । सूचनाप्रविधिमा एकदम राम्रो परिवर्तन आयो । तर, नेपाली बीमा बजार यस मामलामा अझै पछाडि छ । अब प्रविधिको विकास गर्न सकियो भने राम्रो हुन्छ । कम्पनीहरूको खर्च पनि घट्छ । त्यसरी बचेको पैसा अन्य क्षेत्रमा लगानी गरेर फाइदा कमाउन सकिन्छ । त्यसकारण अब नेपाली बजारलाई डिजिटाइजेशन गर्न आवश्यक छ । अबको केही वर्षमै त्यो पूरा हुने देखिन्छ । केही समय पहिला यस कम्पनीको व्यावसायिक गतिविधि त्यति राम्रो थिएन । तर, अहिले राम्रो देखिएको छ । यसका कारण के के हुन् ? कम्पनीको ग्रोथ राम्रो थिएन नै । त्यसैले नै म य यहाँ आएको हुँ । मलाई मेहनत गर्न, चुनौती लिन मन लाग्छ । कम्पनीलाई राम्रो बनाउने चुनौती लिएरै म यहाँ आएको हुँ । २७ वर्ष पूरा गरेको कम्पनी अहिले जुन स्थानमा हुनुपर्ने थियो, त्यो स्थानमा छैन । बजारको हामीप्रतिको धारणा पनि त्यति राम्रो छैन । हामी बजारमा त्यति भिजिबल नै थिएनौं । यस अवस्थामा कम्पनीलाई माथि उकास्न निकै चुनैतीपूर्ण छ । त्यस चुनौतीलाई सामना गर्नेगरी केही रणनीति पनि बनाएर अगाडि बढेका छौं । युनाइटेड स्थापनाको आधारमा पाँचौं र पुरानो कम्पनी पनि हो । त्यो हिसाबले पहिला हामीसँग ठूला पोर्टफोलियो कारोबार गर्ने ग्राहक पनि थिए । तर, विस्तारै उनीहरूले हामीसँग कारोबार गर्न छाड्दै गए । सामान्यतया कम्पनीप्रति सकारात्मक र नकारात्मक दुवै धारणा भएका ग्राहक हुन्छन् नै । तर, हाम्रोमा नकारात्मक धारणा भएका ग्राहक हावी भएर समस्या भएको हो । त्यो अवस्थामा हामीले ग्रोथ बढाउनुभन्दा पनि हामीप्रति ग्राहको धारणा परिवर्तन गर्नुपर्ने मुख्य चुनौती छ । त्यसैले हामीले लागो नै परिवर्तन गरेर कम्पनीलाई रिब्रान्डिङ गर्दै गएका छौं । यो नेपाली बजारमा नयाँ अभ्यास हो । लोगो परिवर्तन गरेपछि हामीलाई बजारमा जान धेरै सजिलो पनि भएको छ । अहिले बजारमा पुरानो छवि करीब हटेको अवस्था छ । साथै, हाम्रो टिम समेत नयाँ छ । त्यसले गर्दा पनि हामीलाई काम गर्न सहज भएको छ । हामीप्रति नकारात्मक धारणा बनाएका ग्राहक पनि सानो सानो बीमा लिएर आउन थालेका छन् । यस्तै, म आएपछि कम्पनीको आन्तरिक व्यावसायिक रणनीति पनि बनायौं । नाफा दिन नसक्ने शाखा बन्द गर्ने, काम गर्न नसक्ने कर्मचारीलाई आन्तरिक रूपमै प्लेसमेन्ट गर्ने काम पनि गरेका छौं । हामीले व्यवसाय विस्तारको मामलामा काठमाडौंभन्दा बाहिरको शहरलाई प्राथमिकता दिएका छौं । अहिले काठमाडौंको बजार ‘अकुपाई’ भइसकेको छ । त्यसैले हामी काठमाडौं बाहिर व्यवसाय विस्तारका लागि आक्रामक रूपमा लागेका छौं । नारायणगढ, हेटाैंडा, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर जस्ता शहरलाई बढी प्राथमिकतामा राखेका छौं । पछि अन्य ठाउँमा पनि व्यवसाय विस्तार गर्नेछौं । विस्तारै काठमाडौंको मार्केटलाई रिभाइव गर्छाैं । हामीले कम्पनीको आन्तरिक कामलाई पनि अटोमेशन गरेका छौं । इन्टरनेट, प्रविधिबाट गर्न सक्ने जति सबै कामलाई अटोमेशन गरेका छौं । पहिला १५ दिनमा गरिने काम अहिले एक दिनमै हुन्छ । यस्तै, हामीले महिलालाई लक्षित गरेर घरदेखि नै काम गर्ने परिपाटी विकास गरेका छौं । अहिले यो कम्पनीमा काम गरिरहेका कर्मचारी छाडेर जान चाहँदैनन् । तर, हामी नयाँ इन्नोभेशन गर्ने अवस्थामा अझै पुग्न सकेको छैनौं । हामीले पहिले बिग्रेका कामलाई नै सुधार गर्दै गएका छौं । समग्रमा अहिले हामी दाबी भुक्तानीमा बढी ध्यान दिएका छौं । यसलाई राम्रो गर्न सकियो भने व्यवसाय बढाउन समस्या हुँदैन । त्यसपछि हामी इन्नोभेशनमा पनि जानेछौं । हामीले अधिकारलाई पनि विकेन्द्रित गरेका छौं । सीईओ भए पनि मैले सबै अधिकार लिएको छैन । केही अन्य साथीहरूलाई पनि विभिन्न विषयमा निर्णय गर्न सक्ने अधिकार दिइएको छ । त्यसले गर्दा उहाँहरूलाई पनि जिम्मेवारी बोध हुन्छ र कम्पनीलाई अगाडि बढाउन सहज हुन्छ । कम्पनीले लामो समयदेखि शेयरधनीलाई लाभांश दिन सकेको छैन । अब हामी हरेक लाभांश दिनेगरी हामी काम गर्छाैं । यस्तै, हामीले कर्मचारीमा पनि लगानी गर्न आवश्यक छ । उनीहरूमा लगानी गर्न सकिएन भने कम्पनी अगाडि बढ्न सक्दैन । अहिले कम्पनीको व्यावसायिक गतिविधि राम्रो छ भन्नुभयो । अबको २–४ वर्षमा कम्पनीलाई कस्तो रूपमा देख्न सकिन्छ ? इच्छाशक्ति त नम्बर एक नै बनाउने हो । तर, उत्कृष्ट पाँचसम्म पुग्न सकिन्छ जस्तो लाग्छ । पहिला हामी १८औं स्थानमा थियौं । अहिले १३ नम्बरमा आएका छौं । गत वैशाखको मात्र व्यवसायलाई आधार मान्ने हो भने हामी छैटौं स्थानमा छौं । त्यसअनुसार कम्पनी छिट्टै माथि आउने देखिन्छ । यो वर्ष अर्ब क्लबमा पुग्ने लक्ष्य थियो । तर, कोरोनाका कारण त्यसमा चुनौती देखिएको छ । अहिले व्यवसायमा ६२ प्रतिशतको वृद्धिदर देखिएको छ । तर, यो सधैं कायम रहँदैन । तर, बजार १२/१३ प्रतिशतको वृद्धिदरमा अगाडि बढ्दा हामी २० प्रतिशतसम्मको वृद्धिमा अगाडि बढ्छौं । पहिला युनाइटेड इन्स्योरेन्समा काम गर्न सहज थिएन भन्ने सुनिन्थ्यो । अहिले कस्तो अवस्था छ ? त्यस्तो मैले पनि सुनेको थिएँ । तर, मैले यहाँ डीसीईओदेखि काम गर्दा त्यस्तो महसुस गरिनँ । यहाँ हामी पारिवारिक वातावरणमै काम गर्छाैं । सञ्चालक समितिको काम भनेको सञ्चालन गर्ने र हामीलाई बीमा समितिको दायरामा रहेर विभिन्न निर्देशन दिने हो । तर, हाम्रो कम्पनीको अध्यक्षज्यू, हाम्रो प्रवर्द्धक समूह र सञ्चालक समितिबाट व्यवसाय बढाउन धेरै सहज वातावरण प्राप्त भएको छ । बोर्ड र म्यानेजमेन्ट टीम बीच एकदम राम्रो सहकार्य छ । कर्मचारी र म्यानेजमेन्ट टीमबीचको सहकार्य पनि राम्रो छ । त्यसैले हामी पछिल्लो समय कम्पनीको गतिविधि राम्रो बनाउन सफल भएका छौं । अब नेपाली बीमा बजार कसरी अगाडि बढ्नुपर्छ होला ? अहिले आममानिसमा बीमाको जागरण आइसकेको छ । कोरोना बीमाको दाबी भुक्तानीको विषयलाई नकारात्मक वा सकारात्मक कुुन रूपमा हेर्ने, आफ्नो ठाउँमा छ । बीमा कम्पनीले दाबी भुक्तानी दिएका नै छन् । कोरोना बीमाको कारण गाउँ गाउँमा बीमाको पहुँच तथा सचेतना बढेको छ । यो सकारात्मक पक्ष हो । त्यसअनुसार अब बीमा जागरण आइसकेको छ । अब नयाँ नयाँ प्रडक्ट ल्याउने, बीमाको फरक जागरण दिने काम गर्नुपर्छ । अहिले मोटर बीमामा थर्ट पार्टीको मात्र बीमा हुन्छ । तर, मोटरसाइकल दुर्घटना भएर बिग्रिँदा पनि बीमाले कभर गर्छ भन्नेबारे धेरैलाई थाहा छैन । यस्ता विषयमा पनि सचेतना ल्याउन आवश्यक छ । यसैगरी नयाँ नयाँ प्रडक्ट पनि ल्याउनुपर्छ । विशेषगरी ग्याजेट्स बीमालाई प्रवर्द्धन गर्नुपर्छ । नेपालमा अहिले मोबाइलको प्रयोग व्यापक छ । तर, त्यो खसेर फुट्दा, कुनै पाटपुर्जा बिग्रिँदा ठूलो रकम खर्च हुने गरेको छ । त्यसको बीमा गरेको भए ग्राहकको पैसा खर्च हुने थिएन, बीमाले भुक्तानी गर्ने थियो । अब यस्तै प्रकारका बीमाहरू प्रचलनमा ल्याउनुपर्छ । साथै, ४ वर्षअघि ७ प्रतिशत रहेको बीमाको पहुँच अहिले करीब २४ प्रतिशत पुगेको छ । यो ठूलो उपलब्धि हो । अब त्यो ५० प्रतिशत पुग्न कुनै समस्या हुँदैन । तपाईंहरू पनि कुनै नयाँ प्रडक्ट ल्याउने तयारीमा हुनुहुन्छ कि ? विशेषगरी हामीले महिलामा हुने क्यान्सरलाई लक्षित गरेर एउटा बीमा पोलिसी बनाउने तयारी गरेका छौं । यस विषयमा काम भइरहेको छ । यसका अलावा अन्य योजनाहरू पनि बनाउने तयारी छ ।

सम्बन्धित सामग्री

विकासका लागि मानव पूँजी निर्माण : तालीमलाई श्रम बजारसँग बलियोसित जोड्न आवश्यक

देशको विकासको पहिलो पूर्वशर्त भनेको उत्पादन बढाउनु नै हो । देशभित्र जेजे उत्पादन हुन्छ, त्यसको वृद्धि नगरी विकासको सिँढी चढ्न सकिँदैन । त्यसैले सरकारले अर्थतन्त्रका तीन क्षेत्र कृषि, उद्योग र सेवाक्षेत्रको उत्पादन बढाउने लक्ष्य नै तोकेको हुन्छ । यसैलाई आर्थिक वृद्धिदर भनिन्छ । यसरी उत्पादन बढाउन उत्पादनका साधनलाई तिखार्नुपर्छ । अझ सबल बनाउनुपर्छ । त्यस्ता उत्पादनका साधन भूमि, पूँजी, श्रम र उद्यमशीलता हुन् । मानव पूँजी निर्माणको अर्थ देशमा स्वस्थ, शिक्षित र शीपयुक्त जनशक्ति थप गरी श्रमको उत्पादकत्व बढाउनु हो । श्रमको उत्पादकत्व बढेमा अन्य साधनको पनि उत्पादकत्व बढ्छ । यसरी उत्पादकत्व बढेपछि आर्थिक वृद्धि गर्न सकिन्छ । विश्वभर नै आर्थिक वृद्धि भएपछि देशको विकास भएको छ । यसरी हेर्दा विकासका लागि देशको श्रमशक्ति वा मानव पूँजीको विकास गर्नु जरुरी छ । पूर्वीय वैदिक संस्कृतिमा मानवलाई भगवान्को उत्कृष्ट सृजना मान्दै यसमा उच्चस्तरको चेतना विकास गरी भौतिक र आध्यात्मिक उन्नति गर्न सकिने स्पष्ट गरिएको छ । वास्तवमा संसारको सबै विकासको कारक तत्त्व मानव चेतना नै हो । मानव पूँजीको विकासमा पछाडि परेका देशहरू समग्र विकासमा पछाडि छन् । उनीहरूको आर्थिक वृद्धिदर पनि कम हुने गरेको अध्ययनहरूले देखाएका छन् । यस आलेखमा नेपालको सन्दर्भमा मानव पूँजी निर्माणका प्राथमिक क्षेत्रहरूको बारेमा चर्चा गरिएको छ ।  शिक्षा मानव पूँजी निर्माणको पहिलो आधार हो । शिक्षाले चेतनाको आँखा खोलेर व्यक्तिको सर्वाङ्गीण विकासमा योगदान गरेको हुन्छ । यसले देशको विकासका लागि विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आपूर्ति सुनिश्चित गर्छ । शिक्षाबाट प्राप्त हुने ज्ञान, शीप, क्षमता, दक्षता र उद्यमशीलताबाट मानवले देशको विकासमा योगदान गर्न सक्छ । भन्ने पनि गरिएको छ कि पढेका व्यक्तिको काम गर्ने तरीका नै फरक हुन्छ । उनीहरूको उत्पादकत्व बढी हुन्छ । शिक्षित व्यक्तिहरूले अरूलाई पनि शिक्षित बनाउन सक्छन् । यही तथ्यलाई आत्मसात् गरी नेपालले विगतमा शिक्षालाई विकासको प्राथमिकता प्राप्त क्षेत्रका रूपमा लिएको छ । शिशु कक्षादेखि उच्च शिक्षासम्ममा जनताको पहुँच बढाउने प्रयास गरिएको छ । दूरदराजसम्म स्कूलकलेज स्थापना गरी शैक्षिक जनशक्तिको व्यवस्था गरिएको छ ।  देशको उत्पादन र उत्पादकत्व बढाउन शिक्षा, स्वास्थ्य, शीप विकास र सदाचार निर्माणमार्फत श्रमको उत्पादकत्व थप बढाउनु अहिलेको आवश्यकता हो । नेपालले यस दिशामा केही उपलब्धि प्राप्त गरेको भए तापनि थप ठोस र योजनाबद्ध पहल जरुरी छ ।  जनतामा पनि शिक्षाको महत्त्वका बारेमा चेतना बढेको छ । आफ्ना सन्तानलाई राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्नुलाई अभिभावकहरूले आफ्नो कर्तव्यको रूपमा लिएका छन् । विद्यालयमा भर्नादर बढेर ९५ प्रतिशतको हाराहारीमा पुगेको छ, साक्षरता दर पनि बढ्दै गएको छ, विद्यालय छाड्ने दरमा पनि कमी हुँदै गएको छ, उच्च शिक्षामा पनि भर्नादर बढेको छ । पछिल्लो समयमा उच्च शिक्षाका लागि विदेश जाने क्रम पनि बढेको छ । तल्लो तहको जागीरका लागि पनि माथिल्लो शैक्षिक उपाधि प्राप्त गरेका व्यक्तिले आवेदन गर्ने गरेको पाइन्छ । यसले देशको शैक्षिक अवस्थामा सुधार भएको संकेत मिल्छ । तर, परिमाणात्मक सूचकमा सुधार भए तापनि समग्र शैक्षिक गुणस्तरमा सुधार गरी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने र देशको विकासमा योगदान गर्न सक्ने जनशक्ति तयार गर्ने चुनौती कायमै देखिन्छ ।  स्वास्थ्य मानव पूँजी निर्माणको अर्को आधारभूत पक्ष हो । स्वास्थ्यलाई मानवको वास्तविक धनको पनि धन मानिएको छ । स्वस्थ शरीरमा नै बलियो तथा स्पष्ट मस्तिष्क र आशा एवम् उत्साहको भावना रहन सक्छ । यसको अर्थ स्वस्थ व्यक्तिले नै शिक्षा प्राप्त गर्न सक्छ र मेहनत गरी आफ्नो क्षमतालाई निखार्न सक्छ । स्वस्थ व्यक्तिले नै उत्पादनमा सहभागी भई व्यक्तिगत आय आर्जन गर्दै देशको विकासमा योगदान गर्न सक्छ । उसको उत्पादन गर्ने क्षमता अर्थात् उत्पादकत्व पनि बढी हुन्छ । वास्तवमा स्वस्थ हुनुको अर्थ बढी काम र उत्पादन गर्नु नै हो । नेपालले स्वास्थ्य क्षेत्रको विकासका लागि विगत लामो समयदेखि लगानी गरेको छ । यसैको फलस्वरूप आधारभूतलगायत स्वास्थ्यका धेरै सूचकमा सुधार भएको छ । दूरदराजका गाउँहरूमा पनि स्वास्थ्य सेवा पुगेको छ, औसत आयु बढेर ७२ वर्ष पुगेको छ र ७०–८० वर्षमा पनि काम गर्ने वृद्धहरूको संख्या बढेको छ । कुपोषण घटेको देखाउने पोषणका सूचकमा पनि सुधार हुँदै गएको अवस्था छ । विशेषज्ञ स्वास्थ्य सेवाको पनि विस्तार हुँदै गएको छ । स्वास्थ्य बीमा कार्यान्वयन गरिएको छ । रोगको संख्या बढे तापनि स्वास्थ्य चेतनामा पनि वृद्धि भएको छ । स्वस्थ रहन जीवनशैलीमा पनि परिवर्तन हुँदै गएको छ । यसबाट नागरिकको उत्पादकत्वमा सुधार भई मानव पूँजी निर्माणमा नि:सन्देह योगदान मिलेको छ । तर, सुधारका लागि थप काम गर्नुपर्ने जरुरी पनि उत्तिकै छ । मानव पूँजी निर्माणका लागि शिक्षा र स्वास्थका साथै व्यावसायिक तथा शीपमूलक तालीमको पनि अपरिहार्यता रहन्छ । यस्ता तालीमले सम्बद्ध क्षेत्रमा काम गर्ने कौशल र दक्षता अभिवृद्धि गर्छ । यसबाट जनशक्तिको उत्पादकत्व बढ्छ । सरकारले विभिन्न विषयका तालीम प्रदान गर्न प्रशिक्षण केन्द्रहरू खोलेको छ । यसबाट देशमा तालीम प्राप्त व्यक्तिको संख्या बढेको छ र उत्पादनमा पनि योगदान मिलेको छ । तर, देशमा तालीमलाई व्यवस्थित गर्न यसको पाठ्यक्रम, तालीम प्रवाह, शीप परीक्षण र स्तरीकरणका क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ । सरकारी संयन्त्रभित्र तालीममा दोहोरोपन र अव्यवस्था छ । उपलब्ध बजेट रकमअनुसारका तालीम कार्यक्रम तयार गरी तालीम प्रदान गर्ने गरिएको छ । अधिकांश तालीम प्रभावकारी छैनन् । तालीम र श्रम बजारलाई बलियोसित जोड्न सकिएको छैन । देशमा वर्षेनि लाखौं व्यक्तिले तालीम प्राप्त गर्छन् । तर, विकासका संवाहकका रूपमा रहेका हाम्रा उद्योग कारखाना र विकास आयोजनाहरू शीपयुक्त जनशक्ति नपाएर बन्द हुने वा विदेशी जनशक्तिमा निर्भर हुनु परेको अवस्था छ । दर्जनौं तालीम लिएर पनि बेरोजगार रहेका व्यक्तिहरू भेटिन्छन् । यसबाट तालीममा गरिएको खर्चबाट मानव पूँजी निर्माण नभई स्रोतको दुरुपयोग भएको स्पष्ट हुन्छ ।  मानव पूँजी निर्माणका लागि स्वस्थ, शिक्षित र शीपयुक्त जनशक्तिका साथै सदाचारी मानवको आवश्यकता पर्छ । सदाचार भनेको असल आचरण हो । यस्तो आचरण धर्म, नैतिकता, आत्मा, परमात्मा, समाज, संस्कृति, कानून र व्यावसायिकताको कसीमा उत्रिनुपर्छ र यी सबैप्रति उत्तरदायी बन्नुपर्छ । राजनीति, प्रशासन, न्याय, निजीक्षेत्र, नागरिक समाज, दातृ निकाय, आम नागरिक अर्थात् समाजका सबै पात्रमा सदाचार भएमा मात्र देश विकासका लागि मानव पूँजी निर्माणले साकार स्वरूप ग्रहण गर्न सक्छ । देशको राजनीतिमा हराउँदै गएको नैतिकता, नीतिहीनता र नीतिगत भ्रष्टाचार, शासनका सबै क्षेत्रमा निहित भ्रष्टाचार र अनियमितता, समाजमा घट्दै गएको इमानजमान, व्यावसायिक क्षेत्रमा बढेको निहित स्वार्थ र नाफाखोरी, विभाजित नागरिक समाज, बढ्दो सांस्कृतिक विचलन तथा नास्तिकता र व्यक्तिगत अनुशासनहीनताले सदाचारलाई चुनौती दिएको छ । यसले गर्दा आमनागरिकमा काम गर्ने जाँगर मरेको छ । सामाजिक प्रदूषण बढेको छ । यसबाट देशको उत्पादन र उत्पादकत्वमा प्रतिकूल प्रभाव परेको छ । विकासका लागि लगानी भड्किएको छ । युवा पलायन बढेको छ । कानूनी राज्यको स्थापनाका साथै वैदिक मूल्यमान्यताको पुन: स्थापनाबाट यस्ता चुनौतीलाई चिर्न सकिनेछ । यसबाट मानव पूँजी निर्माणका सबै आयामलाई सार्थक बनाउन सक्ने देखिन्छ ।  अन्त्यमा, मानव साधन उत्पादनको जीवन्त पूँजी हो । यसले उत्पादनका अन्य साधनलाई पनि गतिशील र चलायमान गराउँछ । मानव साधनको गुणस्तरले अन्य साधनको गुणस्तरलाई पनि निर्धारण गर्छ । देशको उत्पादन र उत्पादकत्व बढाउन शिक्षा, स्वास्थ्य, शीप विकास र सदाचार निर्माणमार्फत श्रमको उत्पादकत्व थप बढाउनु अहिलेको आवश्यकता हो । नेपालले यस दिशामा केही उपलब्धि प्राप्त गरेको भए तापनि थप ठोस र योजनाबद्ध पहलको जरुरी छ । यही नै देशको विकासका लागि मानव पूँजी निर्माण गर्नु हो । वास्तवमा मानव पूँजी निर्माण दिगो विकासको साधन र साध्य दुवै हो । लेखक योजना आयोगमा कार्यरत छन् ।

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : बीमालाई शैक्षिक पाठ्यक्रममै समेटौं

मुलुकको आर्थिक विकासमा बीमाक्षेत्रबाट प्रत्यक्ष र अप्रत्यक्ष गरेर दुई किसिमको फाइदा हुन्छ । निर्जीवन बीमाले उद्योग, मोटर, कलकारखानालगायत सबैको जोखिमको सुरक्षण प्रदान गर्छ भने जीवन बीमाले व्यक्तिको जोखिम वहन गर्नुका साथै भविष्यमा आइपर्ने संकटको आर्थिक सुरक्षा प्रदान पनि गर्छ । बीमाले उद्योगहरूमा हुन सक्ने जोखिम र आर्थिक भार न्यूनीकरण गर्छ, जसकारण उद्योगीहरू निर्धक्क भएर उद्योगमा लगानी गरी उद्योग सञ्चालन गर्न सक्छन् । यस्तै बीमाले व्यक्तिको सम्पत्तिको पनि सुरक्षा गर्छ, जसले मुलुकको आर्थिक विकासमा मद्दत गर्छ । जीवन तथा निर्जीवन बीमकले बीमा गरेबापत बीमितहरूबाट प्रिमियम संकलन गर्छन् । उक्त प्रिमियम जीवन बीमाको झन्डै डेढ खर्ब र निर्जीवनको ३० अर्बदेखि ३५ अर्ब रुपैयाँ हाराहारी छ । अर्थात् जीवन र निर्जीवन दुवै किसिमको बीमा गरेर वार्षिक २ खर्ब रुपैयाँ हाराहारी प्रिमियम संकलन हुन्छ । त्यसैले बीमा कम्पनीहरूले संकलन गरेको प्रिमियमले देशलाई आवश्यक पर्ने लगानी जुटाउन मद्दत गर्छ । बीमाले गाउँघरमा छरिएर रहेको बचत परिचालन गरी उक्त बचत बैंक तथा वित्तीय संस्थाको औपचारिक प्रणालीमा ल्याउन मद्दत गर्छ र बचत कर्जामार्फत लगानी हुन्छ । यसरी बीमाले अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्‍याउँछ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा बीमाक्षेत्रको ३ प्रतिशत हाराहारी योगदान रहेको छ । हाम्रो जस्तो मुलुकमा वैदेशिक लगानी आवश्यक हुन्छ । लगानीका लागि स्रोत चाहिन्छ । आफ्नै स्रोत हुँदा मुलुकलाई फाइदा हुन्छ । तर, हाम्रो गार्हस्थ्य स्रोतले लगानीको माग पूरा गर्न सक्दैन । त्यसैले हामीले बाह्य स्रोत खोज्नुपर्छ । बीमाक्षेत्रबाट वार्षिक २ खर्ब स्रोत संकलन हुन्छ र उक्त स्रोत देश विकासमा प्रयोग गर्न सकिन्छ । बीमाले असंगठित क्षेत्रको पैसा संगठित क्षेत्रमा ल्याएर राष्ट्रिय अर्थतन्त्रमा सघाउ पुर्‍याउँछ । विगतको तुलनामा नेपालमा बीमाक्षेत्रको विकास धेरै भइसकेको छ । म २०७३ सालमा समितिको अध्यक्ष हुँदा बीमाको पहुँच ७ प्रतिशत थियो । मैले २०७७ सालमा प्राधिकरणबाट छोड्ने बेला बीमा पहुँच २८ प्रतिशत हाराहारी पुगेको थियो । अहिले ४४ प्रतिशत पुगिसकेको छ । यो पहुँच निकट भविष्यमा ७५ देखि ८० प्रतिशतसम्म पुग्ने देखिन्छ । मानिसका आफ्ना आधारभूत आवश्यकता नै पूरा भएका छैनन् भने उसले पहिलो प्राथमिकता खान, लगाउन र बस्नलाई नै दिन्छ । त्यसपछि बचत भयो भने बीमा गर्ने हो । यद्यपि नेपालमा बीमाको विकास र विस्तार भइरहेको छ । जीवन बीमातर्फ बीमा गर्दा जोखिम पनि बेहोर्ने र बीमालेख परिपक्व भएपछि पैसा पनि फिर्ता पाउने भएकाले आकर्षण भएको पाइन्छ । त्यसैले निर्जीवन बीमाको तुलनामा जीवन बीमाको पोलिसी धेरै विक्री भएको छ । तर, निर्जीवन बीमातर्फ भने सम्पत्तिको बीमा गर्ने चलन अहिले पनि छैन । निर्जीवन बीमाको व्यापक रूपमा प्रचार गरेर सबै स्थानीय तहहरूले निर्जीवन बीमालाई अनिवार्य गर्नु आवश्यक छ । निर्जीवन बीमा गर्दा अप्रत्यक्ष रूपको कुनै फाइदा हुने नीति बनाएर भए पनि स्थानीय सरकारले बीमा प्रोत्साहन गर्नुपर्छ । यस्तै केन्द्र र प्रदेश सरकारले पनि सबैभन्दा पहिला आफ्नो सम्पत्तिको बीमा गर्नुपर्छ । मोटर बीमालाई अनिवार्य गरेपछि यो बीमा बढेको छ । त्यस्तै सम्पत्तिको पनि अनिवार्य बीमा गर्ने व्यवस्था गरिनुपर्छ । सम्पत्तिको बीमा गरेपछि क्षति भएमा बीमाले रक्षावरण गर्छ । सरकारले दायित्व वहन गर्नु पर्दैन । नेपालमा लघु बीमा नयाँ अवधारणा भएकाले बीमा प्राधिकरणले अन्तरराष्ट्रिय अभ्यासअनुसार लघु बीमा कम्पनीहरूको मर्म बुझेर काम छुट्ट्याउने हो भने नयाँ लघु बीमा कम्पनीले बीमाको दायरा थप विस्तार गर्न मद्दत गर्छन् । त्यसैले प्राधिकरणले अध्ययन गरी मापदण्ड बनाएर लघु बीमा कम्पनीलाई हाल सञ्चालनमा रहेका जीवन र निर्जीवन कम्पनीको भन्दा फरक क्षेत्र छुट्ट्याउन आवश्यक छ । राष्ट्र बैंकले पनि लघुवित्त कम्पनीहरूले काम गर्ने क्षेत्र छुट्ट्याएको छ । त्यसैगरी प्राधिकरणले पनि लघु बीमा कम्पनीले काम गर्न पाउने दायरा छुट्ट्याउनुपर्छ । त्यसो भएमा बीमाक्षेत्रको विकास र विस्तारमा थप मद्दत पुग्छ । तर, लघु बीमाले पनि अन्य बीमा कम्पनीले झैं मोटर बीमा जस्तो नै गर्ने हो भने त्यसको प्रभावकारिता हुँदैन । त्यसो भएमा भविष्यमा मर्जको नीति लिनुपर्ने पनि हुन सक्छ । नेपालमा कति प्रतिशतले बीमा गरेका छन् भन्ने विषयले सजिलैसँग बीमा सचेतनाको आकलन गर्न सकिन्छ । बीमाको पहुँच २०७३ सालसम्म ७ प्रतिशत मात्र थियो । अहिले ४४ प्रतिशत हाराहारी पुगेको छ । यसले नागरिकमा बीमाको सचेतना बढेको छ । प्राधिकरणले विगत केही समयदेखि स्थानीय सरकारसँग सहकार्य गरेर मुलुकभर नै सचेतनाको कार्यक्रम गरिरहेको छ, जसका कारण सचेतना बढेको छ । तर, नेपालमा विद्यालय/कलेजहरूमा बैंक पढाइन्छ, बीमा पढाइँदैन । अन्तरराष्ट्रिय अभ्यास हेर्दा विद्यालय/कलेजहरूमा बीमा पढाइन्छ । त्यसैले बीमा सचेतना बढाउन विद्यालय तहदेखि नै बीमाबारे पढाउन आवश्यक छ । चिरञ्जीवी चापागाईं (चापागाईं नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष हुन्)

राम्रो सेवा दिने बीमा कम्पनीलाई बजारमा अवसर प्रशस्त छन् [अन्तर्वार्ता]

पछिल्ला वर्षहरूमा नेपालमा बीमाको पहुँच बढ्दै गएको छ । बीमा कम्पनी तथा शाखा संख्या विस्तार, सरकारको प्रोत्साहन, नियामकीय नीतिलगायत कारण बीमाको दायरा बढेको हो । यद्यपि अर्थतन्त्र मन्दी उन्मुख बन्दाको असर अन्य व्यावसायिक क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि परेको छ । प्रस्तुत छ, जीवन बीमा व्यवसायको वर्तमान अवस्था, आर्थिक सुस्तीको असर, बीमा प्रडक्ट लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले जीवन बीमक संघ नेपालका अध्यक्ष एवं सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलसँग गरेको कुराकानीको सार : अहिले जीवन बीमा व्यवसायको अवस्था कस्तो छ ? विगतका ५–७ वर्षमा नेपालमा बीमाको पहुँचमा निकै वृद्धि भएको देखिन्छ । अहिले झन्डै ४५ प्रतिशत नागरिक बीमाको पहुँचमा छन् । कोरोना महामारीमा पनि बीमा क्षेत्रको विकास र विस्तार रोकिएको थिएन । अहिले भने मन्दीको केही प्रभाव देखिएको छ । समग्र बीमा क्षेत्रलाई नै असर गरेका बेला सिटिजन लाइफ पनि यसबाट अलग छैन । बीमाको पहुँच विस्तार हुनुमा के के कारण छन् ? बीमाको दायरा बढ्नुमा कम्पनीको संख्या, सचेतना र सरकारको सक्रियता मुख्य कारण छन् । बीमा ऐनमै बीमा विकासको कार्यक्रम गर्नुपर्ने भनिएको छ । विगतमा भन्दा अहिले बीमाको सचेतना बढेको छ । तर विद्यालय तहदेखि नै बीमाबारे पढाउन आवश्यक छ । यस्तै नेपालमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बीमा अनिवार्य गरिएको छ । कर्जा लिनेहरूले पनि लघुबीमा गर्नुपर्ने भएकाले बीमा छोटो समयमै धेरै मानिसको पहुँचमा पुगेको छ ।  अहिले बीमालेख त्याग गर्नेहरू बढेका देखिन्छन् । कारण के होलान् ? बीमालाई बचतको रूपमा पनि लिने गरिन्छ । त्यसैले स्रोतहरू खुम्चिँदा आर्थिक आवश्यकता पूर्ति गर्न बीमितले बीमालेख त्याग गरेको पाइन्छ । अर्थतन्त्रको मन्दी उन्मुख अवस्थाका कारण विगत वर्षको तुलनामा अहिले बीमालेख त्याग गर्नेको संख्या बढेको देखिए तापनि ६५० अर्ब रुपैयाँको पोर्टफोलियोमा १२–१४ अर्ब बराबरको बीमालेख त्याग हुनु धेरै रकम होइन ।  नेपालमा जीवन बीमामा के कस्ता प्रडक्ट छन् ? दक्षिण एसियाका सबैजसो मुलुकमा एउटै किसिमका प्रडक्ट भएको पाइन्छ । बचतसँग सम्बन्धित बीमाका प्रडक्ट धेरै छन् । नेपालमा बीमालेख परिपक्व हुँदा बचत रकमका साथै बोनस पनि आउने किसिमका प्रडक्ट छन् । सिटिजन लाइफमै यस्ता प्रडक्ट ९ प्रकारका छन् । बीमा क्षेत्रभन्दा अन्य क्षेत्रमा लगानी गर्दा बढी प्रतिफल पाइन्छ भनिन्छ नि ? यसमा व्यक्तिको आवश्यकता र बुझाइले पनि फरक पार्छ । कतिपय व्यापारीले जोखिम न्यूनीकरणका लागि बीमा गर्छन् भने जागीर गर्नेहरूले अनिवार्य बचतका लागि समेत बीमा गर्छन् । लगानीका विभिन्न उपकरणमध्ये बीमा पनि एक हो । बीमाले लगानीलाई विविधीकरण गर्न मद्दत गर्छ । बीमाबाट पनि बजारका अन्य क्षेत्रले दिने बराबरको प्रतिफल पाउन सकिन्छ । सञ्चालनमा रहेका बीमा कम्पनीलाई नयाँ लघु बीमा कम्पनीको प्रवेशले कस्ता चुनौती थपिएका छन् ? नयाँ कम्पनीको प्रवेशसँगै पक्कै पनि चुनौती थपिएको छ । तर उहाँहरू भर्खरै आउनुभएकाले कसरी अगाडि बढ्नुहुन्छ, हेर्न बाँकी नै छ । बजार सबैलाई खुला भएकाले अवसर र चुनौती सबैलाई उत्तिकै छ । नयाँ कम्पनीले ल्याउने प्रडक्ट, दिने सेवा र भुक्तानीमा धेरै कुरा निर्भर हुन्छ । तर राम्रो सेवा दिने बीमा कम्पनीहरूलाई बजारमा अवसर प्रशस्त छन् । प्राधिकरणले निर्धारण गरेको चुक्तापूँजी कसरी पुर्‍याउने योजना छ ? कम्पनीका भावी योजना के के छन् ? सिटिजन लाइफले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आइपिओ निष्कासन गर्दै छ । आइपिओ र कम्पनीको नाफाले प्राधिकरणले निर्धारण गरेको ५ अर्ब रुपैयाँ चुक्तापूँजी सजिलैसँग पुग्छ । अबका केही वर्षमा विभिन्न रणनीति बनाएर कम्पनीलाई विश्वासिलो ब्राण्ड बनाउने योजना छ । यस्तै लगानीकर्ताका लागि उच्च प्रतिफल दिने, अभिकर्ता र युवालाई कामका लागि आकर्षक कम्पनी बनाउने र गुणस्तरीय सेवा एवं उत्कृष्ट प्रडक्ट ल्याउने योजना छन् ।  सिटिजन लाइफको आइपिओमा लगानीकर्ताले किन लगानी गर्ने ? सिटिजन लाइफले दीर्घकालीन लगानीकर्तालाई उचित प्रतिफल दिन्छ । कम्पनीको वित्तीय अवस्था अन्य प्रतिस्पर्धी कम्पनीको भन्दा राम्रो छ । कम्पनीको रिजर्भमै १ अर्ब रुपैयाँभन्दा बढी छ । कम्पनीको ९० प्रतिशतभन्दा बढी लगानी दीर्घकालीन प्रतिफल आउने क्षेत्रमा भएकाले राम्रो प्रतिफल दिनेमा लगानीकर्ता ढुक्क हुनुभए हुन्छ । सर्वसाधारणले कुन प्रकारको बीमा गर्दा फाइदा हुन्छ ? बजारमा बीमाका विविध किसिमका प्रडक्ट भएकाले आफ्नो आवश्यकता र प्राथमिकता हेरेर बीमालेख छनोट गर्नुपर्छ । जस्तै, कुनै व्यक्तिलाई पेन्सनको आवश्यकता छ भने पेन्सन प्रडक्ट लिनुपर्छ । बीमा कम्पनीको सेवाबारे गुनासो पनि सुनिन्छ । अहिले सेवाको गुणस्तरमा केही सुधार भएको छ ? अहिले जीवन बीमा कम्पनीहरूमा त्यस्तो समस्या खासै छैन । विगतमा जस्तो दाबी भुक्तानीमा पनि समस्या छैन । बीमा कम्पनीहरूको सेवाको गुणस्तरमा पहिला भन्दा धेरै सुधार भएको छ । प्राधिकरणका अनुसार कम्पनीहरूले हजारौं संख्यामा भुक्तानी गर्दा २००–३०० गुनासो मात्र प्राधिकरणमा पुग्ने गरेको छ । विगतको तुलनामा समग्र बीमा व्यवसायमा धेरै नै सुधार भए तापनि थप सुधार गर्न सकिने ठाउँ प्रशस्त छन् ।

नेपालमा ब्रोकर कम्पनी बढाउन आवश्यक छ ? यसो भन्छन् विज्ञहरू

काठमाडौं । नेपालमा १०० ओटा ब्रोकर कम्पनी आवश्यक रहेको भन्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको अभिव्यक्ति पूँजी बजारमा चासो राख्नेहरूबीच चर्चाको विषय बनेको छ । गत बुधबार एक कार्यक्रममा उनले थप प्रतिस्पर्धाका लागि १०० ओटा ब्रोकर कम्पनी आवश्यक रहेको धारणा राखेका थिए ।  अहिले नेपालमा ५० ओटा स्टक ब्रोकर कम्पनी छन् । यसो त पछिल्लो समय पूर्ण अनलाइन प्रणालीबाट शेयर कारोबार हुने गर्दछ । के साँच्चिकै नेपालमा सय ओटा ब्रोकरको आवश्यकता छ त ? भन्ने प्रश्न आइरहेको छ । प्रविधिको विकासले धेरैजसो काम सिस्टमबाटै गर्ने मिल्ने भएकाले पनि यस्ता प्रश्न उठेका हुन् । साथै सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरूमा पनि पछिल्लो समय कम कर्मचारी भए पनि हुने अवस्था सिर्जना भएको छ ।   अधिवक्ता तथा धितोपत्रविज्ञ ज्योति दाहाल थप ब्रोकरको आवश्यक नरहेको र अहिलेकै ब्रोकरको संख्या नै धेरै भएको बताउँछन् ।  उनले भने, ‘भएकै ब्रोकरले राम्रो र स्तरीय सेवा सुविधा दिए पुग्छ ।’ यसरी हेर्दा थप ब्रोकरको आवश्यकता नेपालमा रहेको देखिँदैन । उनले थपे, ‘विगतमा पनि वाणिज्य बैंकको संख्या ३२ थियो । पछिल्लो समय मर्जर गरेर घटाउन थालिएको छ । बीमा कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् । ब्रोकर कम्पनी मात्रै किन बढाउनुपर्‍यो ?’  तर, अन्तराष्ट्रिय पूँजीबजारविज्ञ मुक्ति अर्याल धारणाचाहिँ फरक छ । अर्याल थप ब्रोकर आवश्यक रहेको बताउँछन् । उनका अनुसार शेयर बजार विकास र विस्तारको लागि थप ब्रोकरका आवश्यकता, धेरै पहिलेदेखिको हो । सय वा दुई सय कति ब्रोकर कम्पनी चाहिने हो भन्ने कुराको निर्धारण बजारले नै गर्ने विज्ञ अर्यालको भनाइ छ ।  ब्रोकर एसोसिएशनका अध्यक्ष धर्मराज सापकोटा पूँजी बजारका मुद्दा राम्रोसँग अध्ययन गरेर मात्रै दीर्घकालीन नीति बनाउनुपर्ने बताउँछन् । ‘हामी ब्रोकरहरूलाई नयाँ ब्रोकर आउँदा अफ्ठेरो लाग्नु स्वाभाविक नै हो,’ उनले भने, ‘नियामकले चाहिँ क्यापिटल मार्केटका इस्युमा राम्रोसँग अध्ययन गरी त्यसको निष्कर्षअनुसार दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्दछ ।’  ब्रोकर एसोर्सिशनका अध्यक्ष सापकोटाका अनुसार नेपालमा सूचीकृत कम्पनीको संख्या थोरै हुनाले सेक्टरको विविधता पनि छैन । त्यसैले आवश्यक ब्रोकरको आवश्यक संख्या अनुमानका आधारमा भन्न सकिने अवस्था छैन ।  पछिल्लो समय शाखा विस्तार भइरहेकाले पनि ब्रोकरको पहुँच सबै ठाउँमा विस्तार हुने  सापकोटाको भनाइ छ ।  लगानीकर्ता नवराज दाहाल नेपालमा थप ब्रोकरको आवश्यकता नरहेको धारणा राख्छन् । ‘हामीलाई क्वान्टिटीभन्दा पनि बढी क्वालिटी चाहिएको छ,’ उनले भने । दाहालका अनुसार अहिलेको संख्या पनि धेरै छ । संख्यात्मक कमीको अवस्था होइन । सीमित ठाउँमा मात्रै ब्रोकरहरू बसेर सबै ठाउँमा सेवा विस्तार हुन नसकेको हो । अहिले ब्रोकरहरूले सेवा विस्तार गर्नुपर्ने खाँचोचाहिँ रहेको उनको भनाइ छ ।

बैंकिङ बुझाउन बीमा कम्पनीले जस्तै अभिकर्ता राख्नुुपर्ने देखिन्छ

साढे ३१ वर्ष बैंकिङ क्षेत्रको अनुभव बटुलेकी वर्षा श्रेष्ठ २०१८ देखि नेपालकै पहिलो क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालमा व्यवसाय प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन् । शिक्षाले स्वास्थ्यकर्मी तर पेशाले बैंकर श्रेष्ठले नबिल बैंकबाट आफ्नो करीअर शुरू गरिन् । यससँगै क्लिन इनर्जी डेभलपमेन्ट बैंकमा महाप्रबन्धक (जीएम) को जिम्मेवारीसम्म सम्हालेर बैंकिङ क्षेत्रबाट अवकाश लिइन् । प्रस्तुत छ, बैंक तथा वित्तीय क्षेत्रमा श्रेष्ठको करीयर, महिला उद्यमीका व्यावसायिक चुनौती, नेपालमा रेटिङ एजेन्सीको अवस्था लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार : तपाईं लामो समय बैंकिङ करीअरमा रहनुभयो । अहिले नेपालकै पहिलो क्रेडिट रेटिङ एजेन्सीमा नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । यस क्रममा महिला उद्यमीलाई कस्ता चुनौती देख्नुभयो ? अहिले मैले काम गरिरहेको एजेन्सी जस्तो महिलाले नेतृत्व गरेको कुनै पनि रेटिङ कम्पनी नेपालमा छैन । जब म बैंकमा काम गर्थें, त्यो बेलाको महिला उद्यमीहरूको अवस्था र अहिलेको अवस्थामा धेरै फरक पाएको छु । पहिले महिलाले गर्ने व्यवसायमा व्यावसायिकीकरण थिएन । बैंकबाट ऋण लिएर व्यवसाय बढाउन सकिने जानकारी पनि महिला उद्यमीमा कम थियो । म क्लिन इनर्जी डेभलपमेन्ट बैंकमा हुँदा महिला उद्यमी कर्जा शीर्षकको स्किम ल्याएका थियौं । त्यस बेला १५ देखि १६ प्रतिशतसम्मको ब्याजदरमा कर्जा प्रवाह भइरहेको थियो । तर हामीले महिला उद्यमीका लागि १० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न शुरू गर्‍यौं । त्यतिबेला तथ्यांकहरू थिएनन् । आईएफसीले बाहिरबाट मान्छे ल्याएर हामीसँग मिलेर केही ठाउँमा पठाएर केही तथ्यांक संकलन गरिदिएको थियो । अहिले महिला उद्यमीहरू व्यावसायिक बन्दै भएपछि त्यसको व्यवस्थापनका लागि आवश्यक ज्ञानको भने कमी रहेको छ । आफ्नो व्यवसायको यथार्थ वित्तीय विवरण बनाउनेदेखि सरकारले के सुविधा दिएको छ भन्नेमा महिला उद्यमीलाई अझै पनि थाहा नभएको अवस्था छ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरताका लागि धेरै रकम खर्च गरिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरू पनि वित्तीय साक्षरता अभियान चलाइरहेको बताउँछन् । यतिले मात्र पुगेन कि उहाँहरूको तरीका मिलेन ? गाउँघरमा गएर वित्तीय साक्षरता अभियान चलाउँदा बैंक तथा वित्तीय संस्थाहरूलाई खर्च बढी र प्रतिफल कम भएको देखिन्छ । महिला उद्यमीलाई बैंकहरूबाट कर्जा लिन धेरै बाधा छन् । राष्ट्र बैंकदेखि बैंक तथा वित्तीय संस्थासम्मले वित्तीय साक्षरता अभियान चलाइरहेका छन् । सरकारले पनि हरेक वर्ष महिलाका क्षेत्रमा धेरै काम गरिरहेको छ । तर त्यसको प्रभावकारिता भने सोचे अनुसार देखिएको छैन । जति पनि महिला उद्यमी गाउँघरमा हुनुहुन्छ, उहाँहरू बैंकसम्म आएर कर्जा लिने प्रक्रिया पूरा गर्ने क्षमता पनि छैन । अझ भन्नुपर्दा त्यससम्बन्धी ज्ञान नै छैन । त्यसैले विद्यालय शिक्षामै यो विषय राख्नुपर्छ जस्तो लाग्छ । गाउँ गाउँ पुगेका बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरता सम्बन्धी अभियानलाई तीव्रता दिनुपर्‍यो । तर, बैंकहरूले ग्रामीण क्षेत्रमा गएर किन सेवा दिन सक्दैनन् भन्ने कुरा सरकारले पनि बुझिदिनुपर्‍यो । कागजमा मात्र खर्च गरेको देखाएर भएन । लक्षित वर्गले वित्तीय साक्षरतासम्बन्धी कति सेवा पाए भनेर पनि हेर्नुपर्‍यो । बीमाको क्षेत्रमा अहिले जसरी प्रचारप्रसार भएको छ, त्यसरी नै बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता सम्बन्धी चेतना फैलाउन जरुरी छ । यसका लागि बीमा कम्पनीहरूले अभिकर्ता राखेजस्तै बैंकको विषयमा बुझाउन अभिकर्ता नै राख्नुुपर्ने देखिन्छ । तपाईं जस्तै व्यावसायिक रूपमा सफल हुन अरू थुप्रै संस्थाहरूमा काम गरिरहेका महिलालार्ई माथि आउन के चुनौती देख्नुुहुन्छ ? मलाई चुनौती भन्ने कुरा व्यक्तिगत लाग्छ । मसँग त ब्याचलर डिग्री पनि छैन । म मेडिकल असिस्टेन्ट पढेर बैंकिङ क्षेत्रमा प्रवेश गरेकी हुँ । मेडिकल विद्यार्थी भएर बैंकमा आउँदा मैले धेरै मेहनत गर्नु त पर्‍यो नै । जुन क्षेत्रमा प्रवेश गर्ने हो, त्यसको ज्ञान राख्न जरुरी नै छ । छोरीलाई आफ्नो करीअर विकास गर्न धेरै गाह्रो पनि छ । तर, त्यसलाई व्यवस्थापन गर्न सक्नुपर्छ जस्तो लाग्छ । केही गर्न अवसर सृजना चाहिं अवश्य हुनुपर्दछ । मलाई मेरो बुवा, आमा, दाजु र दिदीले धेरै सहयोग गर्नुभएकाले म यो स्थानमा आउन सफल भएकी हुँ । घरमा अनुकूल वातावरण चाहियो र छोरीमा गर्ने इच्छाशक्ति पनि हुनुपर्‍यो । त्यसैगरी घरमा बुवाआमा र आफन्तलाई सम्झाउन/ बुझाउन सक्ने खुबी पनि हुनुप¥यो । विवाह गरेपछि महिलालाई धेरै जिम्मेवारी आउँछन् । तर, महिलाले म छोरी मान्छे, म केही गर्न सक्दिनँ भन्ने मनस्थिति हटाउनुपर्‍यो ।  गाउँघरमा गएर वित्तीय साक्षरता अभियान चलाउँदा बैंक तथा वित्तीय संस्थाहरूलाई खर्च बढी र प्रतिफल कम भएको देखिन्छ । तपाईंको व्यावसायिक जीवनमा त्यस्ता स्मरणयोग्य चुनौतीहरू पनि आए होलान्, सम्झनलायक केही छन् कि ?   मैले मेरो करीअर क्यास काउन्टरबाट शुरू गरेकी हुँ । कहिलेकाहीं काम गर्दागर्दै राति ११–१२ पनि बज्थ्यो । यो एउटा ठूलो चुनौती हो । रातिसम्म काम गर्दा घरमा बुवाआमालाई तनाव हुन्थ्यो । एक त घरको हुर्के–बढेकी छोरी अबेरसम्म घर नआउँदा उहाँहरूमा त्रास/ आशंका बढ्थ्यो । हरेक दृष्टिले डर हुन्थ्यो । कहिलेकाहीँ हाम्रो अफिसका पुरुष कर्मचारीहरू ग्राहककोमा गएर क्यास ल्याउनुपर्ने हुन्थ्यो । तर, म शाखा प्रबन्धक हुँदा पुरुष कर्मचारी नभएको अवस्थामा म आफै पनि जाने गरेको थिएँ । धेरै कुरामा चुनौतीपूर्ण भनेर मैले अनुभव गरिनँ । मैले काम गर्दा जहिल्यै पनि १०० प्रतिशत दिने प्रयास गर्थें । काम गर्नेलाई धेरै काम दिइन्छ । मलाई पनि धेरै जिम्मेवारी दिइन्थ्यो । कतिपयले ‘किन तिमीले यति धेरै गरेको’ भनेर पनि भन्थे । तर, म काममा रमाउँथें । खुट्टा तान्ने जुन ठाउँमा पनि हुन सक्छन् । तर, म्यानेजमेन्टले के सही, के गलत भनेर छुट्याउनुपर्छ । काम आफ्ना लागि होइन, संस्थाका लागि गर्ने हो । काम गर्नेलाई कसैले रोक्न सक्तैन । यति गर्न सकियो भने आफ्नो विकास हुन्छ । आफ्ना लागि मात्र काम गर्नेको वृद्धि–विकास हुँदैन ।  उद्यमीहरू पनि आफ्नो सीमिततामा मात्र बस्नु हुँदैन । जे गर्दै हुनुहुन्छ, त्यसमा एक कदम अगाडि बढ्न सक्नुपर्छ । बैंकले दिने सेवा सुविधाको बारेमा पनि जानकारी लिनुपर्छ । यसो गर्न सकियो भने आफ्नो व्यवसायमा वृद्धि हुन्छ । राज्यले दिने सेवासुुविधामा पनि उद्यमीहरूले ध्यान दिनुपर्छ । त्यसबाट आफ्नो व्यवसाय एक कदम भए पनि अघि बढाउनुपर्छ ।  तपाईं इक्रा नेपालमा व्यवसाय प्रमुखको रूपमा हुनुहुन्छ । कम्पनीले के - के काम गरिरहेको छ ?  इक्रा नेपाल क्रेडिट रेटिङ एजेन्सी हो । इक्रा लिमिटेड कम्पनी भारतमा छ । यसैको सहायक कम्पनी हो यो । इक्रा नेपालमा आएको १० वर्ष भयो ।  यसले कम्पनीहरूको रेटिङ गर्छ । अहिलेसम्म इक्रा नेपालले ५२४ कम्पनीको रेटिङ गरिसकेको छ । कम्पनीहरूले रेटिङ गराउनुपर्ने नियम आएको धेरै वर्ष भएको छैन । ८–१० वर्ष मात्र भएको छ । कुनै पनि कम्पनीले आईपीओमा जानुपर्‍यो, कुनै वित्तीय उपकरण वा बण्डहरू ल्याउनुपर्‍यो भने त्यसकोे रेटिङ गर्नुपर्ने हुन्छ । बैंकबाट ५० करोड रुपैयाँ वा सोभन्दा बढी कर्जा लिएका संस्थाले अनिवार्य रेटिङ गर्नुपर्ने व्यवस्था छ । कतिपयले बैंकबाट पैसा लिएको हो, सबै किन थाहा हुनुपर्‍यो भन्नुहोला, तर बैंकमा हुने पैसा सर्वसाधारणको हो । ऋण कस्तो संस्थाले लगेको छ भन्ने कुरा त सबैलाई थाहा हुनुपर्‍यो नि ।  हामीले आईपीओ निष्कासन गर्न लागेको कुनै पनि कम्पनीको इस्युअर रेटिङ भनेर गर्छाैं । त्यसमा कम्पनीको वित्तीय सूचक कस्तो छ भनेर सबै उल्लेख गरिएको हुन्छ । कम्पनीको भविष्य कस्तो छ भनेर पनि हामीले त्यहाँ उल्लेख गरिदिएका हुन्छौं । त्यहाँ हाम्रो विचार मात्र हुन्छ । यस कम्पनीमा लगानी गर्नुहोस् भनेर भनेका हुँदैनौं । वित्तीय विवरण बनाउनेदेखि सरकारले के सुविधा दिएको छ भन्नेमा महिला उद्यमीलाई अझै पनि थाहा नभएको अवस्था छ । तपाईंले काम गरेको क्लिन इनर्जी विकास बैंक जलविद्युत् कम्पनीहरूको विकास गर्छु भनेरै आएको थियो । अहिले झन्डै ३० प्रतिशत जलविद्युत् कम्पनीको बाहिर देखिएको जस्तो स्थिति छैन भनिन्छ । इक्राले त थुप्रै जलविद्युत् कम्पनीको रेटिङ पनि गरिसक्योे होला । अहिले जलविद्युत् कम्पनीहरूको अवस्था कस्तो छ ?  जलविद्युत् भन्नेबित्तिकै ठूलो लगानी हुन्छ । त्यही भएर प्रायःजसो जलविद्युत्को रेटिङ गर्नैपर्ने हुन्छ । किनभने जलविद्युत् कम्पनीहरूले बैंकबाट ऋण लिएका हुन्छन् । हामीले पनि धेरैको रेटिङ गरेर धेरैको रिपोर्ट सार्वजनिक पनि भइसकेको छ । ट्रिपल ए रेटिङ भएको कम्पनी नेपालमा स्ट्याण्डर्ड चार्टर्ड बैंक मात्र हो । यो बाहेक कुनै पनि कम्पनले ट्रिपल ए रेटिङ पाएका छैनन् । ए रेटिङ पाउन कुनै पनि जलविद्युत् कम्पनीलाई धेरै गाह्रो छ । कतिपय जलविद्युत्को ट्रान्समिशन लाइन नै नभएको अवस्था छ । लागतको कुरा पनि आउँछ । ती कम्पनीको भविष्यको कुरा पनि आउँछ । यी सबै कुराको विचार गर्दा अहिलेको रेटिङलाई पनि नराम्रो भन्न चाहिं सकिँदैन । किनभने जलविद्युत् नबनीकन नै हामीले रेटिङ गरिरहेका हुन्छौं । बैंकले ऋण दिने भएपछि रेटिङ माग्छ । अहिले निर्माणकै अवस्थामा भएका जलविद्युत् कम्पनीहरू सबै पूरा भएपछि रेटिङमा सुधार आपैm हुन्छ । कतिपय जलविद्युत् कम्पनी ट्रिपल बी रेटिङ पाउने छन् । ट्रिपल ए रेटिङ भएको कम्पनी नेपालमा स्ट्याण्डर्ड चार्टर्ड बैंक मात्र हो । इक्रा नेपालको व्यापारको विकास कस्तो छ ?  अहिलेको अवस्थामा इक्राको व्यापार विकास राम्रै छ । म आउँदा अफिस सानो थियो । कर्मचारीको संख्या पनि एकदमै कम थियो । अहिले हामीसँग कामको चाप बढेको छ । त्यही अनुसार हामीले २६ जना कर्मचारी राखेर आफ्नो सेवा दिइरहेका छौं । व्यापार पनि बढ्दै गएको छ । हाम्रो व्यापार नियामककै कारण आउने हो । जस्तै– राष्ट्र बैंकले रेटिङ गराउनुपर्ने व्यवस्था गरेको छ । त्यसबाट हामीलाई व्यापार आउने हो । एकपटक रेटिङ गराएपछि पुनः नवीकरण चाहिँ गराउनुपर्ने हुन्छ । ऋण ५० करोडभन्दा तल नआएसम्म नवीकरण गराउनुपर्ने व्यवस्था छ । त्यसैगरी कुनै पनि कम्पनीले रेटिङ गराउँदा ३ वर्षलाई नेपाल धितोपत्र बोर्डले अनिवार्य गर्नुपर्छ भनेको छ । यसले गर्दा पनि हाम्रो व्यापार धेरै राम्रो छ । व्यापार जस्तै प्रतिस्पर्धा पनि त्यत्तिकै छ । यसअघि केयर रेटिङ र इक्राको मात्र प्रतिस्पर्धा थियो । अब अर्काे रेटिङ कम्पनी पनि थपिएको छ । यसले गर्दा पनि प्रतिस्पर्धा बढेको छ । केयर रेटिङ आएको ३–४ वर्ष भयो । प्रतिस्पर्धा भनेको शुल्कमा हुने हो । रेटिङको गुणस्तरमा कुनै पनि रेटिङ कम्पनीले सम्झौता गर्न मिल्दैन ।  बैंकहरूले ग्रामीण क्षेत्रमा गएर किन सेवा दिन सक्दैनन् भन्ने कुरा सरकारले पनि बुझिदिनुपर्‍यो । रेटिङ कम्पनीको विषयमा उठ्ने प्रश्नहरू पनि छन् । जुन संस्थाको रेटिङ गर्ने हो, त्यसैले भुक्तानी गर्ने हुनाले आफैलाई दानापानी दिने संस्थाको रेटिङ गर्दा सही रेटिङ गर्दैन भन्ने आरोप पनि लाग्ने गरेका छन् नि ?  त्यो आरोप भनेको गलत हो । किनभने हाम्रो रेटिङमा ‘सेप्रेसन पोलिसी’ हुन्छ । हाम्रो एउटा रेटिङ टिम हुन्छ भने अर्काे बिजनेश टिम हुन्छ । हामीलाई कतिसम्म फी लिन पाउने भनेर बोर्डले नै अधिकतम सीमा तोकिदिएको छ । बिजनेश टिमको कुनै पनि सदस्यले फी नेगोसिएशन गरेर ल्याउने गर्छ । त्यो फाइल रेटिङ टिममा जान्छ । त्यसपछि मात्र उहाँहरूको कनेक्सन हुन्छ । यसो गर्दा रेटिङ टिमलाई मैले कति फी लिएँ भनेर थाहा नै हुँदैन । रेटिङ टिमले पनि त्यो कम्पनीको रेटिङ गरिसकेपछि तथा कस्टमरले स्वीकार गरिसकेपछि मात्र त्यो टिमले बोर्ड र राष्ट्र बैंकमा विवरण पठाउँछ । त्यसपछि हाम्रो वेबसाइटमा राख्छ । त्यसपछि मात्र व्यापार टिमलाई थाहा हुन्छ । रेटिङ गराउनु र अडिट गराउनुमा फरक छ । किनभने अडिटले गर्दा यो नियम अनुसार यो भएन भनेर मात्र औंल्याइन्छ । रेटिङ गर्दा कम्पनीका उपलब्धि, सुधार गर्नुपर्ने कुरा सबै औंल्याइदिएका हुन्छौंं । यसरी एउटा कम्पनीको मात्र रेटिङ गरिरहँदा हाम्रो देशमा खास किसिमका कम्पनी के कति छन्, ती सबै कुराको अध्ययन गरेका हुन्छौं । यी सबै सूचनाहरू हामीलाई चाहिन्छ । त्यो खास कम्पनीको जुन रेटिङ गरिरहेका छौं, त्यसको अवस्था के छ ? त्यसको हैसियत कस्तो छ ? यो सबै विषयलाई हामीले हेरेका हुन्छौं । यो मात्र नभएर हाम्रो रेटिङको कमिटी हुन्छ । यो कमिटी नेपालभन्दा बाहिर हुन्छ । त्यो कमिटीले पनि अध्ययन गरेको हुन्छ ।  रेटिङ कम्पनीहरूलाई चुनौती चाहिं के-  के छन् ? हाम्रा जति पनि ग्राहक कम्पनी छन्, ती कम्पनीहरू सूचना दिन उपयुक्त सिस्टममा आएका छैनन् । किनभने जुन किसिमको सूचना हामीलाई चाहिन्छ, त्यो अरूभन्दा फरक छ । नेपालका कम्पनीहरूले सहजै उपलब्ध हुनेगरी सूचना नै राखेका हुँदैनन् । कुनै कुनै कम्पनीहरूले चाँडै नै दिएका पनि छन् । शुरूमा हामीलाई आवश्यक सूचना लिन निकै कठिन हुन्छ । तर, विस्तारै नवीकरण गर्दै गएपछि हामीलाई सूचना लिन सहज हुँदै गएको पनि छ । कतिपय कम्पनीहरू रेटिङ गरेपछि सबै कुरा सार्वजनिक हुन्छ, प्रचारप्रसार हुन्छ । हाम्रो सबै सूचना किन लिनुभएको भन्ने पनि गर्नुहुन्छ । यो त अन्तरराष्ट्रिय अभ्यास पनि हो । रेटिङ गराउन थालेपछि भने सूचना सहज रूपमै दिनुहुन्छ ।  महिलाले म छोरी मान्छे, म केही गर्न सक्दिनँ भन्ने मनस्थिति हटाउनुपर्‍यो ।  तपाईंहरूले वेबसाइटमा सार्वजनिक गरिदिने भएकाले पनि त कतिपय कम्पनीले रेटिङ गराउन नचाहने होलान् नि ?  रेटिङ गराउन सबैले चाहँदैनन् । नियमले गर्दा मात्र अहिले रेटिङ गर्न  थालेका छन् । बैंकहरूले पनि अहिले ऋण दिने बेलामा रेटिङ खोज्ने गरेका छन् । यसले पनि पछिल्लो समय रेटिङ गराउनेको संख्या बढेको छ । पहिले ५० करोड ऋण लिने कमै भेटिन्थ्यो भने अहिले सामान्य जस्तो भएको छ । ५० करोड ऋण लिने अहिले धेरै ग्राहक छन् । कन्स्ट्रक्सन कम्पनीहरूको फन्डेड त थोरै हुन्छ । तर नन्फन्डेड बैंक ग्यारेन्टी अर्बौंको चाहियो । त्यसका लागि पनि रेटिङ गराउनुपर्ने बाध्यता छ ।  अन्तरराष्ट्रिय रेटिङ एजेन्सी र हाम्रो रेटिङ एजेन्सीमा काम गर्ने तरीका केही फरक छ कि उस्तै हो ? हामीले अन्तरराष्ट्रिय अभ्यास अनुसार नै रेटिङ गरेका हुन्छौं । तर, रेटिङबापत लिने शुल्क भने हाम्रोमा कम छ । नेपाली कम्पनीले अन्तरराष्ट्रिय रेटिङ गराए डलरमा शुल्क तिर्नुपर्ने हुन्छ । त्यस्ता रेटिङ कम्पनीलाई नेपाली कम्पनीका बारेमा केही पनि थाहा हुँदैन । नेपालको ‘सोभरेन रेटिङ’ नै भएको छैन । विदेशी लगानी प्रवद्र्धनका लागि यो रेटिङ अत्यन्त जरुरत छ । यो रेटिङ नेपालमा भएका कम्पनीबाट भएको छैन । अन्तरराष्ट्रिय रेटिङ कम्पनीबाटै हुने गरेको छ । हामीले थाहा पाएअनुसार मुडिस, फिच, एस एन्ड पीलगायत दुई/ चारओटा शीर्षस्थ रेटिङ कम्पनीले गर्ने गरेका छन् ।  निर्माणकै अवस्थामा भएका जलविद्युत् कम्पनीहरू सबै पूरा भएपछि रेटिङमा सुधार आफै हुन्छ ।  रेटिङ सम्बन्धी भन्नैपर्ने कुरा केही छन् ?  रेटिङको गुणस्तरमा सम्झौता हुँदैन । यो महत्वपूर्ण कुरा हो । नेपालमा अहिले तेस्रो रेटिङ कम्पनी थपिएको छ । रेटिङ क्षेत्रमा हाम्रो सहयात्रा हुन सक्छ । इक्रा नेपाल जसको सहायक कम्पनी हो, त्यो भरपर्दो र गुणस्तरमै केन्द्रित भइरहेको छ । हामीलाई निरन्तर रूपमा सहयोग नै भइरहेको छ । भोलिका दिनमा कुनै पनि रेटिङ कम्पनी विविध कारणले बन्द हुने अवस्था आउनु चाहिं राम्रो होइन । हामी जुन कम्पनीको सहायक कम्पनी हौं, त्यो कम्पनीको शेयर हिस्सा ५१ प्रतिशत छ । यो कम्पनी आउनुमा पनि पहिलेका प्रमुखहरूको देन रहेको छ । नत्र नेपालमा बिजनेश नै थिएन ।  हामीले भारतकोे इक्रा लिमिटेडलाई प्रत्येक वर्ष हाम्रो नाफाबाट ५ प्रतिशत रोयल्टी दिने गरेका छौं । त्यस्तै लाभांश पनि राम्रो दिएका छौं । अन्तिम वर्ष २०१ प्रतिशत जति बोनस शेयर र नगद लाभांश दिएका छौं । यस वर्ष पनि ५१ प्रतिशत दिएका छौं । हाम्रा जति पनि ग्राहक कम्पनी छन्, ती कम्पनीहरू सूचना दिन उपयुक्त सिस्टममा आएका छैनन् । विदेशी संयुक्त लगानीका कम्पनीलाई बाहिर पैसा लैजा धेरै गाह्रो छ भन्ने गुनासो पनि छ । त्यो अनुभव इक्रालाई भयो कि भएन ?  हामीलाई भएको छैन । कम्पनी सानो छ । चुक्तापूँजी पनि कम छ । कम्पनी पहिले २ करोड रुपैयाँमा सञ्चालनमा आएको हो । अहिले बढाएर ६ करोड रुपैयाँ पुर्‍याएका छौं । हामीलाई त्यतिधेरै प्रेसर छैन । कर तिरेको सबै कागजात देखाएपछि यसमा धेरै समस्या छैन ।  (विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

बीमामा अनुदानको ब्यबस्था गर्न सुदूरपश्चिम सरकारसँग अध्यक्ष सिलवालको आग्रह

बीमा समितिको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूप अनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानूनी व्यवस्थाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा बीमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा प्रशन्नता प्रकट गर्दै बीमा बारेका फरक फरक बुझाईमा एकरूपता कायम गर्न बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालनलाई व्यापकता दिनुपर्ने बताए ।सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामेश्वर दंगालले विभिन्न प्रकोपका कारण हुने हानी नोक्सानीबाट आइपर्ने आर्थिक नोक्सानी कम गर्नका लागि सरकारले नै अनुदान दिएर बीमा गर्ने व्यवस्था गर्नुपर्ने बताए ।प्रमुख सचिव दंगालले बीमा समितिको प्रादेशिक कार्यालय र प्रदेश सरकारबीच आपसी समन्वयका लागि नीति बनाउनुपर्ने उल्लेख गर्दै बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेतृत्व लिन प्रदेस सरकार तत्पर रहेको बताए ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश सरकार जनताको नजिकको सरकार भएकाले जनतालाई बीमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवम् अनुदानको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले बीमाको पहुँच विस्तारका लागि आवश्यक समन्वय गर्न प्रदेश सरकारले सम्पर्क व्यक्ति तोक्नु्पर्ने र प्रदेश बीमा नीति समेत बनाउनुपर्ने बताए ।उनले बीमा समितिले समितिको प्रादेशिक कार्यालयलाई अधिकार सम्पन्न बनाउने जानकारी दिदै बीमा कम्पनीहरूलार्इं पनि आ–आफ्ना शाखा कार्यालयहरूलाई अधिकार प्रत्योजन गर्न आग्रह गरे  ।कार्यक्रममा बीमा सम्बन्धी जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्दै बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले बीमा दाबी भुक्तानीलाई छिटोछरितो रूपमा सहज बनाउन जोड दिँदै आएको र बीमा कम्पनीहरुमा सुशासन कायम गर्न नियमनलाई सघनरुपमा अगाडि बढाइएको जानकारी दिए ।उनले प्रदेश सरकारहरूसँगको समन्वयमा बीमा समितिले नीति निर्माण र  निर्देशनहरू तयार गरी सोही अनुसार कार्यान्वयनमा लैजाने उल्लेख गर्दै बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहहरुमा बीमा सचेतना कार्यक्रम संचालन गर्दै आएको बताए ।कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले बीमा दाबी भुक्तानी दिन ढिलाई गर्ने गरेको, बीमा भुक्तानी माग गर्ने प्रक्रिया झन्झटिलो रहेको, माछा बीमा गर्न समस्या देखिएको, ग्रामीण क्षेत्रका विपन्न बर्ग बीमा बारे बेखबर रहेको लगायतका धारणा राखेका थिए ।अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री र प्रदेश मन्त्रालयका सचिवहरु, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कैलालीका प्रमुख जिल्ला अधिकारी, बीमा कम्पनीहरु मेट लाइफ र नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको बीमा समितिले जनाएको छ।

दुर्घटना बीमाका लागि छुट्टै निर्देशिका

काठमाडौं । दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन । कम्पनीहरूले समितिबाट छुट्टै स्वीकृति लिएर तथा अन्य पोलिसीमा जोडेर दुर्घटना बीमाको कारोबार गर्दै आएका थिए । समितिले अहिले आएर यस सम्बन्धमा आवश्यक मापदण्ड नै बनाएर निर्देशिका नै जारी गरेको हो । समितिका सूचना अधिकारी निर्मल अधिकारीले दुर्घटना बीमासम्बन्धी पहिलो पटक निर्देशिका जारी गरिएको बताए । ‘पहिलेदेखि नै दुर्घटना बीमाको कारोबार त हुदैं आएका थियो । तर, त्यसलाई सम्बोधन गर्ने कुनै निर्देशिका तथा मापदण्ड थिएन,’ उनले भने, ‘कम्पनीहरूले विभिन्न वैकल्पिक माध्यमबाट यसको कारोबार गर्दै आएका थिए । त्यसपछि अहिले आएर छुट्टै निर्देशिका नै जारी गरेका हौं । अब दुर्घटना बीमाको कारोबार थप सहज हुने अपेक्षा गरेका छौं ।’ समितिले निर्जीवन बीमा कम्पनीहरूका लागि उक्त निर्देशिका जारी गरेको हो । अब निर्जीवन बीमा कम्पनीहरूले नयाँ निर्देशिकाअनुसार नै यस्तो बीमाको कारोबार गर्नुपर्नेछ । समितिले निर्देशिकामार्पmत व्यतिगत तथा सामूहिक रूपमा समेत दुर्घटना बीमा गर्न पाउने व्यवस्था गरेको छ । कुनै समूहमा आबद्ध व्यक्तिहरूको मात्रा सामूहिक रूपमा यस्तो बीमा गर्न सकिनेछ । बीमा गर्ने उद्देश्यले नै छुट्टै समूह स्थापना भने गर्न नपाइने बताइएको छ । व्यक्तिगत दुर्घटना बीमा गर्दा प्रतिहजार २ रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ । त्यसअनुसार कुनै एक जना व्यक्तिले रू. १ लाखको दुर्घटना बीमा गर्दा रू. २०० प्रिमियम तिर्नुपर्ने देखिन्छ । सामूहिकतर्फ भने २५ जनासम्मको बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ नै शुल्क लाग्नेछ । २६ देखि १०० जनासम्मको बीमा गर्दा भने प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ७५ पैसा र १०० जनाभन्दा बढीको बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ५० पैसा बीमाशुल्क लाग्नेछ । बीमाशुल्कमा कुनै छूट दिन नमिल्ने व्यवस्था पनि गरिएको छ । तर, ग्राहक अभिकर्ता मार्फत नभएर आफै कम्पनीमा गएर बीमा गरेमा ५ प्रतिशतसम्म छूट दिन सकिने व्यवस्था गरिएको छ । यसरी छूट दिँदै गर्दा पनि हूलदंगा र आतंकवादको बीमाशुल्कमा भने छूट दिन नपाइने निर्देशिकामा उल्लेख छ । समितिले यस्तो बीमामा न्यूनतम बीमादर पनि लागू गरेको छ । बीमाशुल्क गणना गर्दा प्रति बीमालेख १०० रुपैयाँभन्दा कम शुल्क लिन पाइने छैन । लघुबीमाअन्तर्गत गरिने बीमामा यो व्यवस्था लागू नहुने बताइएको छ । समितिले पर्वतारोहण बीमामा बीमांकको शून्य दशमव ७५ प्रतिशत बराबरको थप बीमाशुक लिन पाइने व्यवस्था पनि गरेको छ । यसैगरी कावा खाने तेल, घोडदौड, बन्जी जम्पिङ, प्यारा ग्लाइडिङ वा मोटरसाइक दौडका कारण भएको दुर्घटना, पोलो, शिकार, स्कुवा ड्राइभिङ, निशानवाजीका लागि पनि बीमांकको शून्य दशमलव ५ प्रतिशत बराबरको थप बीमाशुल्क लिनुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो बीमाको अवधिमा कम्तीमा १ महीनादेखि १ वर्षसम्मको रहेको छ । बीमालेखको अवधिअनुसार बीमाशुल्क फरक फरक अनुपात हुने पनि बताइएको छ ।

बीमा दाबी भुक्तानीमा निकटताको सिद्धान्त

फारसी भाषाबाट आएको ‘बीमा’ शब्दको अर्थ ‘जिम्मेवारी लिनु’ भन्ने हुन्छ । बीमा शब्द फारसी भए पनि यसको अभ्युदय वैदिककालदेखि प्रचलनमा रहेको शास्त्रीय मत छ । ‘योगक्षेमं वहाम्यहम्’ (श्रीमद्भगवत गीता, अध्याय ९ को २२औं श्लोकको अंश) लाई बीमाका रूप मानिएको छ । बीमा जोखिम निर्वहन र क्षतिको न्यूनीकरणका लागि गरिन्छ । यस्ता बीमा जीवन र निर्जीवन गरी २ किसिमका हुन्छन् ।   जीवन बीमामा क्षतिको न्यूनीकरण र जीवनको क्षतिपूर्ति हुँदैन जोखिम निर्वहन मात्र हुन्छ । जीवनबाहेकको बीमामा दुवै (क्षतिको न्यूनीकरण र क्षतिपूर्ति) हुन्छ । भविष्यमा घट्न सक्ने भनेर अनुमान गर्न सकिने घटना (आगलागी, दुर्घटना आदि) बाट क्षति नहोस् र भए पनि त्यस्ता क्षतिको पूर्ति होस् भनेर बीमा गरिन्छ । एकभन्दा बढी कारणबाट कुनै सम्पत्तिको क्षति हुन्छ भने त्यहाँ विवादरहित तवरले दाबी भुक्तानी हुनसक्ने अवस्थाको विद्यमानता हुँदैन । यस्तो अवस्था आएमा न्यायिक निकायबाट विवादको निरोपण हुन्छ । परमविश्वास र क्षति न्यूनीकरण बीमाको एउटा सिद्धान्त क्षतिको न्यूनीकरण पनि हो । चिजवस्तु (निर्जीवन) वा जीवनको बीमा हुनका लागि त्यसमा हित जोडिएको र अस्तित्वमा हुन जरुरी छ । यस्तो वस्तु अस्तित्वमा हुँदा त्यसबाट फाइदा र नहुँदा हानि हुनुपर्छ । उदाहरणका लागि घर हुँदा वासको प्रबन्ध हुने भएकाले यो फाइदा भयो भने घर आगलागी वा भूकम्प आदिले क्षति वा नष्ट हुँदा हानि वा बेफाइदा हुन्छ । निर्जीवन बीमामा वस्तुको अस्तित्व दुवै अवस्था (बीमा गर्दा र हानि दाबी गर्दा) मा देखिनुपर्छ । अपवादका रूपमा जीवन बीमामा दाबी भुक्तानी गर्दा बीमितको अस्तित्व हुँदैन । जीवन र निर्जीवन बीमाको हितको मूलभूत फरक यही हो । बीमा जोखिम निर्वहन र बचत दुवै हो । निर्जीवन बीमाको हकमा जोखिम निर्वहन मात्र हुन्छ भने जीवन बीमाको हकमा दुवै हुन्छ । जीवन बीमामा जोखिम निर्वहन निर्जीवन बीमामा जस्तो निरपेक्ष हुँदैन । बीमा मूलतः यही दुईओटा लाभका लागि गरिन्छ । यसैलाई विभिन्न प्रकारले उपयोगमा ल्याइन्छ । बीमा कहिले, कसरी गर्ने यसका आफ्नै विधि र प्रक्रिया हुन्छ । बीमा निश्चित सिद्धान्तमा अडेको छ । कुनै पनि चिजवस्तु सिद्धान्तविहीन हुँदैन । बीमा परम सदविश्वासको सिद्धान्तमा आधारित रहेर गरिन्छ । यो बीमाको पहिलो सिद्धान्त हो । बीमाको शुरुआत यहीँबाट हुन्छ । यसरी दुवै पक्ष (बीमक र बीमित) ले आपसमा विश्वास कायम गरी गरेको बीमाबाट दुवै पक्षका लागि करारीय दायित्व सृजना हुन्छ । दाबीको योग्यता निर्धारण बीमा गरेपछि निश्चित अवधिभित्र कुनै अप्रिय घटना घटेमा त्यसको दायित्व बीमकले निर्वहन गर्नुपर्छ । जुन सम्भावित घटनाविरुद्ध बीमा गरिन्छ कहिलेकाहीँ ठ्याक्कै त्यस्तै घटना हुँदैन । घटना हुनुमा अन्य कारण पनि विद्यमान हुनसक्छन् । एकभन्दा बढी कारण भएको अवस्थामा सबैभन्दा नजिकका कारण खोजी गरिन्छ र दाबीका लागि योग्यता निर्धारण गरिन्छ । बीमा दाबीमा यसैलाई ‘निकट’ वा ‘समीपस्थ’ वा ‘काउसा प्रोक्सिमा’ वा ‘प्रोक्सिमेट कज’ भनिन्छ । बीमा गरेपछि कुनै हानि भएमा क्षतिपूर्ति प्राप्त हुन्छ । तर, यस्तो दाबी वा क्षतिपूर्ति प्राप्त गर्न जुन कारणबाट हानि हुन सक्ने पूर्वानुमान गरिएको थियो । सोही कारण वा त्यसको निकटता विद्यमान हुनुपर्छ । ‘अग्नि बीमा’ गरिएको घर ‘भूकम्प’बाट विद्युतीय प्रणालीमा खराबी (विद्युत शट) भई आगलागीबाट क्षति भएको अवस्थामा बीमा दाबी गर्न सकिँदैन । तर, आगलागीपश्चात् खण्डहर बनेको घरको पर्खाल (गाह्रो) भत्काउँदा सँगै जोडिएको अर्को घरमा क्षति पुग्यो भने यसमा ‘अग्नि’ निकट कारण बन्छ र बीमा दाबी गर्न सकिन्छ । अग्निका कारण क्षति भएको घरको पर्खाल (गाह्रो) भत्काइनुअघि भूकम्प आई ढल्दा नजिकको घरलाई क्षति पुग्दा अग्निबीमा दाबी गर्न सकिने अवस्था रहँदैन किनकि यसमा अर्को घरलाई क्षति पु¥याउने निकट कारण भूकम्प हो । यस्तो अवस्थामा भएको क्षति तिर्न बीमक बाध्य हुँदैन । जीवन बीमाको हकमा भने निकटताको सिद्धान्तले खास काम गर्दैन  किनभने जुनसुकै तवरले हुनसक्ने जीवनको क्षति (मृत्यु, अंगभंग) विरुद्ध बीमा गरिएको हुन्छ । तर, व्यक्तिगत दुर्घटना बीमा गरिएको अवस्थामा भएको दुर्घटना मृत्युको सम्बन्धमा निकटतम कारणको खोजी गरिन्छ । सवारी चलाइरहेको अवस्थामा ह्दयाघात भई सवारी दुर्घटना गराई मृत्यु हुँदा मृत्युको जिम्मेवार दुर्घटनालाई होइन, ह्दयाघातलाई लिइन्छ र बीमा दाबी अस्वीकार हुन्छ । व्याख्या गर्ने अधिकारी कुनै व्यक्ति लडेर खुट्टा मर्केका कारण अस्पताल लगिन्छ, संयोगवश उसको शøया हैजाको रोगीसँग पर्छ र हैजा सरेर मृत्यु हुन्छ । यस घटनामा मृत्युको समीपस्थ कारण ‘लडेर भएको खुट्टा मर्काइ’ हुँदैन र ‘हैजा’ मूल कारण बन्छ । यस्तो अवस्थामा बीमा दाबी गर्न सकिँदैन । नलडेको भए अस्पताल जानुपर्ने पनि थिएन, हैजा पनि सर्ने थिएन र मृत्यु पनि नहुन सक्थ्यो भन्ने आधार लिइन्छ । यसरी लडेको व्यक्तिलाई एम्बुलेन्सद्वारा अस्पताल लाँदै गर्दा एम्बुलेन्स ट्रकसँग ठक्कर खाएर मृत्यु भएमा पनि मृत्युको समीपस्थ कारण ‘लड्नु’ बन्दैन । बीमा दाबीको प्रसँग आउन सक्ने घटना भएपछि समीपस्थ कारण पत्ता लगाउन घटनाक्रमको शृंखलालाई नजिकबाट अध्ययन गर्नुपर्छ । प्रथम दृष्टिमै समीपस्थ कारण पत्ता लाग्न नसक्ने हुन्छ । समीपस्थ वा निकट कारण के हो भन्ने विवादको निरोपण सामान्यतया अदालती व्याख्याको विषय बन्छ । समुुद्री खतरा (समुद्री आँधी आदि) विरुद्ध बीमा गरिएको एउटा पानीजहाज जर्मन पनडुब्बीद्वारा समुद्री हमला (टारपिडो) गरिएपछि डुब्ने अवस्थामा पुगेको बेला चक्रवात आँधीबेहरी आएर डुब्यो । यसमा क्षतिको समीपस्थ कारणका रूपमा चक्रवात आँधीबेहरीलाई भन्दा  टारपिडोलाई जिम्मेवार ठहर गरिएको थियो । (लिल्यान्ड शिपिङ कम्पनीविरुद्ध नोर्विच युनियन फायर इन्स्योरेन्स सोसाइटी, १९१८) नेपालको अदालती अभ्यास समीपस्थ कारणको आधारमा दाबी भुक्तानी विवादित विषय हो । एकभन्दा बढी कारणबाट कुनै सम्पत्तिको क्षति हुन्छ भने त्यहाँ विवादरहित तवरले दाबी भुक्तानी हुनसक्ने अवस्थाको विद्यमानता हुँदैन । यस्तो अवस्था आएमा न्यायिक निकायबाट विवादको निरोपण हुन्छ । नेपालमा एउटा मुद्दामा ‘समीपस्थ सिद्धान्त बीमा दाबीमा महत्त्वपूर्ण र सुरक्षा तथा क्षतिको कारणको सम्बन्ध निकट हुन आवश्यक हुन्छ’ भन्ने व्याख्या सर्वोच्च अदालत (हरिशंकर ठाकुरविरुद्ध राष्ट्रिय बीमा संस्थान, निर्णय नं. ७८४७ नेपाल कानून पत्रिका, २०६४ अङ्क ५) ले गरेको छ । यस विवादमा ७/८ जनाको समूहले हरिशंकर ठाकुरको गोदामसमेत कब्जा गरी ३ हजार ५ सय ८० बोरा धान जबरजस्ती लुटी लगेको बेहोरा प्रहरी र स्थानीय निकायले प्रमाणित गरे पनि विपक्षी राष्ट्रिय बीमा संस्थानले बीमा दाबी भुक्तानी गरेन ।  वादीको उजुरीबमोजिम बीमा समितिले दाबी भुक्तानी गर्न आदेश दियो । उक्त आदेशविरुद्ध संस्थानले पुनरावेदन अदालतमा गरेको पुनरावेदनमा पनि समितिकै आदेश सदर गरेपछि यो विवाद सर्वोच्च अदालतमा पुगेको थियो । अग्निबीमा मात्र गराएको भए पनि पछि अन्तरिम कभर नोटमार्पmत अग्नि अतिरिक्त हुलदंगा, द्वेषपूर्ण कार्य र आतंकवादबाट बीमित (सम्पत्ति) को क्षति भएमा थप सुरक्षण प्रदान गरिनेछ भन्ने बेहोराबाट अग्निका कारण भएको क्षति मात्र बेहोरिने भनी अर्थ गर्न मिल्ने देखिँदैन भन्ने निर्णय सुनाएको थियो । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।