कृषि कर्जा मेलामा बैंकर्सको सुझाव : आत्मनिर्भर अर्थतन्त्रको लागि सवैको सकारात्मक पहल आवश्यक

चैत ११, काठमाडौं । विभिन्न बैंक तथा वित्तीय क्षेत्रसँग सम्वद्ध बैंकर्सहरुले  आत्मनिर्भर अर्थतन्त्रलाई अगाडि बढाउन सवै पक्षको सकारात्मक पहल आवश्यक रहेको बताएका छन् ।  चितवनमा बिहीवार आयोजित  नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला  अन्तरगत कृषि कर्जा सम्वन्धि कार्यशाला तथा सम्वादमा नेपाल राष्ट्र बैंकका कार्यकारी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले वित्तीय क्षेत्रमा बुझाइमा समस्या रहेको भन्दै एकअर्कामा आक्षेप लगाउने प्रवृत्ति रहेको बताए । उनले नीति बनाउने निकायले बनाएर मात्रै नहुने बरु कार्यान्वयन गर्ने बैंक वित्तीय संस्थालगायत सवैपक्ष इमानदार हुनुपर्ने बताए । आत्मनिर्भर अर्थतन्त्रमा अगाडि बढ्ने हो भने सबैले सकारात्मक पहल गर्नुपर्ने  भन्दै उनले कृषि कर्जाको नीतिमा नभई कार्यान्वयनमा समस्या देखिएको बताए । उनले सहुलियतपूर्ण कर्जाले स्टार्टअपलाई प्रवर्द्धन गर्ने परिकल्पना गरेको र यसको अवधि पाँच वर्ष राखिएको बताए । ‘स्टार्टअपलाई प्रवर्द्धन गर्ने परिकल्पना सहुलियतपूर्ण कर्जा कार्यविधिले गरेको छ । पाँच वर्षमा व्यवसाय सस्टेन गर्न ब्याजमा अनुदान दिने परिकल्पना हो’, उनले भने, ‘पाँच वर्षपछि नयाँले फेरि त्यो सुविधा पाउँछन्, पाँच वर्षको सदुपयोगिता हेरेर समीक्षा हुन्छ ।’ नीतिगत सम्बोधनमा राष्ट्र बैंक कहिल्यै पछि नपर्ने पनि उनले बताए । एउटा उद्देश्यमा कर्जा लिएर अर्कोतर्फ लगानी गर्ने प्रवृत्ति रोक्नुपर्ने उनको भनाइ छ । बैंकर्स संघका अध्यक्षसमेत रहेकारहेको  कृषि विकास बैंकका प्रमुख कार्यकरी अधिकृत(सीईओ) अनिल उपाध्यायले  जबसम्म कृषि बीमा कम्पनी हुँदैन तबसम्म कृषि क्षेत्र अगाडी बढ्न नसक्ने बताए ।  उनले कृषिमा  उत्पादनमा खाडल रहेपनि कर्जा र अनुदानको मात्रै बहस हुने गरेको बताए ।   ‘कृषिमा कर्जा र अनुदानको मात्रै बहस भयो । उत्पादनको बहस भएन । खाडल उत्पादनमा छ’, उनले भने, ‘किसानले सजिलोसँग कर्जा पाएनौं भन्ने र बैंकले दिन सकिएन भन्ने मात्रै छ तर, किन भन्ने प्रश्नको जवाफ छैन ।’ उनले कृषि क्षेत्र अहिलेको वित्तीय बजारको ब्याजदरले सस्टेन हुनसक्छ रु भन्दै प्रश्न पनि गरे ।  अब साना किसानलाई गर्ने रेस्पोन्स र व्यावसायिक किसानलाई गर्ने रेस्पोन्सको नीति फरक हुनुपर्ने बताउँदै उनले अनुदान साना किसानलाई मात्रै दिएर कृषिमा पृथक सोच बनाउनुपर्ने बताए ।  कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेसरी शाहले मूल्य शृंखला कुनै एक निकायले मात्रै गर्न नसक्ने भन्दै सबै ठाउँमा आउनुपर्ने बताए । उनले किसानलाई बिउ, मल,  पानी, बजार चाहियो, यो सबै बैंक, राष्ट्र बैंक र मन्त्रालयले एक्लै गर्न सक्दैन । सबै एक ठाउँ आएर गर्ने हो भने सम्भव रहेको बताए । ।  कृषिमा प्रविधि अत्यावश्यक भएको बताउँदै उनले त्यो साना किसानको पहुँचबाहिर रहेको बताए ।  कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले उत्पादनलाई बजारसँग जोड्ने विषयमा समस्या रहेको बताइन् ।  साना किसान मात्रै भएकाले प्रतिस्पर्धी हुन नसकेको बताउँदै उनले निजी क्षेत्रबाट कृषिमा जुन रूपमा लगानी आउनुपर्ने त्यो रूपमा आउन नसकेको बताइन् । उनले बैंकिङ क्षेत्रमा कृषि विशेषज्ञ नभएको भन्दै बैंकमा कृषि विशेषज्ञसहितको इकाइ चाहिनेमा जोड दिइन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव राजेन्द्र मिश्र उद्यमी सफल हुन  लगानी चाहिने, लगानीको लागि कर्जा चाहिन र व्यवसायी सफल भयो भने सबै क्षेत्र सफल हुने बताए ।   बीमा समितिका निर्देशक सुशील सुवेदीले कृषि बीमामा सरकारले सधैं अनुदान दिन नसक्ने बताए ।  कृषि बीमामा प्रोडक्टको पनि समस्या रहेको उनले उल्लेख गरे । उनले भने, ’कृषिमा बीमा प्रोडक्टमा पनि समस्या छ । धेरैको बालीको बीमा पोलिसी भए पनि केहीमा पोलिसी छैन । पोलिसी भए पनि समय सापेक्ष छैन । कतिपय बालीमा सबैथोक छ । तर, जानकारी छैन ।’ मुक्तिनाथ विकास बैंकका सीईओ प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले कृषिमा ‘बेन्चमार्क’ राखेर काम गर्न सकिने बताए ।  कृषक कार्यशालामा किसानहरुले  कृषि कर्जा पुर्ण रुपमा ओभरड्राफ्टमा पाउनुपर्ने, अनुदानको कषि कर्जाको अवधि र कर्जा लिमिट बढाउनुपर्ने कुरा उठाएका थिए ।  उनीहरुले कृषिको लागि लिएको कर्जा दुरुपयोग भएको भन्दै  बैंकले गैर किसानलाई कृषिको नाममा कर्जा दिन बन्द गर्नुपर्ने माग राखे ।   कार्यक्रममा नबिल बैंकका प्रमुख व्यवसाय अधिकृत ज्ञानेन्द्र  प्रताप शाखा, कृषि विकास बैंकका विभागिय प्रमुख चन्द्र सिंह थापा, एनएमबी लघुवित्तका प्रमुख कर्यकारी अधिकृत आनान्द पाण्डेले कृषक कार्यशालाबाट कृषकले उठाएको प्रश्नको जवाफ दिएका थिए ।   उक्त मेला आगामी चैत १२ गतेसम्म आयोजना हुनेछ  ।  कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको हो ।  आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको कृषि कर्जा मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक र कृषि विकास बैंक  रहेको छ ।