मुक्तिनाथ र पोखराको बाटैमा पर्ने बागलुङमा किन आउँदैनन् पर्यटक ? स्थानीय भन्छन् 'बत्तीमुनिको अध्याँरो'

गलकोट । नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ । तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन् ? यसको खोजी र लेखाजोखा कसैसँग छैन ।    पोखरा आएका धेरै पर्यटक एकदेखि डेढ घण्टाकै दूरीका अन्य जिल्लामा कमै मात्रै पुग्ने गरेका छन् । त्यसो त यो दूरीका जिल्ला र स्थानमा पनि पर्यटक लोभ्याउने अधिक सम्भावना रहेकै छन् । यसो भए पनि संरचनाअर्थात् पर्यटन पूर्वाधारको भने अभाव छ । पोखरा आएका विदेशी पर्यटकलाई पश्चिमका बागलुङ, पर्वत, म्याग्दीसम्म ल्याउन आवश्यक प्रचारप्रसार एवं सूचना र पर्यटन पूर्वाधारको खाँचो देखिन्छ ।  पोखराबाट बढीमा दुई घण्टामा बागलुङ पुग्न सकिने भए पनि विदेशी पर्यटकको आगमन भने शून्यजस्तै छ । विभिन्न पर्यटन व्यवसायीको पहलमा आएका विदेशी पर्यटकको समूहबाहेक अन्य विदेशी पर्यटक आफैँले खोजेर सूचना प्राप्त गरेर यहाँ आउने गरेका छैनन् । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा सिधै हेलिकप्टरमार्फत विदेशी पर्यटक पुग्दा जिल्लामा पर्यटक आगमनको आभास नै हुँदैन । त्यस्तै अरु कुनै प्याकेज कार्यक्रममा आए भने पनि बाटो मात्र हिँड्छन्, यहाँ बास बस्दैनन् । बागलुङमा विदेशी पर्यटक भित्र्याउन पर्यटकीय पूर्वाधार, आतिथ्यता कार्यक्रम, सूचना प्रणालीलगायतको अभाव छ । यी क्षेत्रमा आवश्यक मात्रामा सुधार गर्न सकिएमा पर्यटक यहाँ ल्याउन सकिने यहाँका स्थनीय पर्यटन व्यवसायी तथा जानकार बताउँछन् ।    पोखरा आएका पर्यटक किन आउदैनन् बागलुङ ? बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्याउन हालसम्म संस्थागत पहल नथालिएका कारण विदशी पर्यटक नआएको पर्यटन व्यवसायीको भनाइ छ । बागलुङमा पहिलोपटक विदेशी पर्यटक भित्र्याउन पहल गरेका पर्यटन व्यवसायी महादेव शर्माले पोखरा भित्रिने पर्यटक अधिकांश पोखरा आसपासका क्षेत्रमा आउन नसक्नु भनेको अन्य जिल्लाले नै विदेशी पर्यटक भित्र्याउन पहल नगरेको हो भन्न सकिने बताए ।  “व्यक्तिगत पहलमा कति पर्यटक आउलान्, मैले भेगन समूहका विदशी पर्यटक बागलुङ ल्याउन थालेको छु, तर यहाँका स्थानीय पालिकाले पहल थाल्न पर्‍यो, निजी क्षेत्रले साझेदारी गर्न पर्‍यो र बागलुङका पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको नजर नपर्नु नै पहिलो कारण देख्छु”, शर्माले भने, “धार्मिक पर्यटक भित्र्याउन बागलुङमा सहज देख्छु पोखराबाट मुक्तिनाथ जाने वा त्यहाँ पुगेका भारतीय पर्यटक बढी बागलुङ आउने सम्भावना छ, त्यसका लागि आश्रम र सुविधा सम्पन्न शाकाहारी होटल स्थापना गर्न आवश्यक छ ।” बागलुङमा पर्यटक भित्राउने निजी क्षेत्रको एउटा साझेदार संस्था नहुँनु, प्रचारप्रसारको कमी र बागलुङको महत्व विश्वसामु चिनाउन नसक्नुका कारण बागलुङमा विदेशी पर्यटक आकर्षित हुन नसकेको पाइएको छ ।  “पोखरा आएको विदेशी पर्यटक बागलुङमा किन र के का लागि जाने भन्ने त हुन पर्‍यो, यहाँको कला संस्कृति हेर्न हो अथवा ग्रामीण पर्यकीय क्षेत्रमा घुम्न, बागलुङमा तीन दिन हिँड्न सक्ने राम्रो पदमार्गको रुट अहिले सम्म रेखाङ्कन छैन”, उनले भने, “मैले बागलुङ बजा देखि भकुण्डै हुँदै सिगानाको बौडैचौरदेखि बौरसम्मको दुई दिने पर्यटकीय पदमार्गको रुट बनाएर विदेशी पर्यटक पुर्‍याएको छु, तर पालिकाले विदेशी पर्यटक ल्याउन कुनै चासो दिएको देखिँदैन ।” यहाँ पर्यटनमा पूर्वाधारका क्षेत्रमा निजी क्षेत्रको लगानी कम देखिन्छ । पर्यटक आए पनि यहाँ बस्ने र घुम्ने ठाउँहरु पनि कमै छन् । उनीहरुको बसाई लम्ब्याउन सकिने खालका पूर्वाधार नहुँदा पर्यटकको आकर्षण बढ्न नसकेकाले पर्यटक बागलुङ आउन नसकेको स्थानीय राम शर्माले बताए ।  बागलुङको पुरानो संस्कृतिको रुपमा रहेको हनुमान नाच, लाखे नाच, घाटु नाच र शालैजोलाई समय समयमा प्रदर्शन गर्न सकेमा यसबाट स्वदेशी मात्र नभएर विदेशी पर्यटकलाई ल्याउन सकिने शर्माको भनाइ छ ।   सूचना केन्द्र नहुँदा अलमलमा पर्यटक बागलुङमा भित्रिने विदेशी पर्यटक मात्रै होइन स्वदेशी पर्यटकसमेत अलमलमा पर्ने गरेका छन् । बागलुङ जिल्लाको प्रवेशद्वारमा डिजिटल सूचना केन्द्र राख्न नसक्दा बागलुङ आएका पर्यटक अलमलमा पर्ने गरेको पाइन्छ । बागलुङ जिल्लाको कालिका मन्दिर कहाँ छ, पर्यटकीय गन्तव्य पञ्चकोट कहाँ छ, भन्ने विवरणको सूचना केन्द्र स्थापना गरेर राख्न सकिने भए पनि हालसम्म पर्यटक सूचना केन्द्र नहुँदा पर्यटक अलमलमा पर्ने गरेको बागलुङ जिल्लाको होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारी बताउँछन् ।   “अहिले डिजिटल जमाना आइसक्यो, यहाँका होटल पुरानै अवस्थाका छन्, गुगल तथा डिजिटल म्यापमा यहाँका होटल देखिँदैनन्, विदेशी पर्यटकले इन्टरनेट खोजेर गन्तव्य पहिल्याउने भइसके, जिल्ला सदरमुकामस्थित एक दर्जन होटल मात्रै विदेशी पर्यटक राख्न सक्ने अवस्थाका छन्”, राजभण्डारीले भने, “होटल स्तरोन्नति हुन आवश्यक छ, बागलुङ प्रवेशद्वारमा पर्यटकीय सूचना केन्द्र राख्न बागलुङ नगरपालिकालाई सुझाव दिएका छौँ ।” अब होटलहरु अनलाइनबाटै बुकिङ गर्न सकिने र प्रविधि मैत्री हुनसकेमा मात्रै विदेशी पर्यटकको रोजाइमा पर्नसक्ने बताउँदै राजभण्डारीले विदेशी पर्यटकहरु जिल्लामा ल्याउन भौतिक पूर्वाधार, आतिथ्यतामा लगानी र प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । जिल्ला सदरमुकाम बागलुङ बजारमा चार सय विदेशी पर्यटक एक रातमा बस्न सक्ने क्षमता रहेको होटल व्यवसायी सङ्घ बागलुङले जनाएको छ । बागलुङ जिल्लामा दुई हजार पाहुना राख्ने क्षमता भएपनि पर्यटकका लागि चार सय मात्रै क्षमता रहेको हो ।  मुस्ताङ जाने विदेशी पर्यटकको छायाँमा बागलुङ     भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ वैशाख २९ गते मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शनपश्चात् अहिले मुक्तिनाथमा भारतीय पर्यटकको लर्को छ तर मुक्तिनाथ पुगेका भारतीय पर्यटकको १५ प्रतिशत पर्यटक मात्रै बागलुङ कालिका मन्दिरलगायत अन्य धार्मिक क्षेत्रको भ्रमणमा आउने गरेको पाइएको छ ।  बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार पछिल्लो समय मुस्ताङ पुग्ने भारातीय पर्यटक बागलुङ आउन थालेपनि तेस्रो मुलुकका पर्यटकहरु मुस्ताङबाट सोझै फर्कने गरेकोे बताए । भारतीय पर्यटक मुक्तिनाथ भ्रमणपश्चात् बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालग्राम सङ्ग्रहालय दर्शनका लागि समेत पुग्ने गरेको पाइएको छ तर मुस्ताङ पुगेर बागलुङ आएका पर्यटक एक रातसमेत बागलुङमा नबसी सिधै पोखरा पुग्ने गरेको बागलुङका होटल व्यवसायीहरु भनाई छ ।  उता भारातीय पर्यटक अधिकांशले शाकाहारी खाना मन पराउने भएकाले बागलुङमा शाकाहारी खानाका होटल नहुँदा पनि समस्या उत्पन्न भएको हुनसक्छ । मुस्ताङ पुग्ने विदेशी पर्यटकलाई बागलुङमा ल्याउनका लागि प्रवद्र्धनात्मक काम थाल्नुपर्ने पर्यटन व्यवसायी महादेव शर्माको भनाइ छ । जस्तो कि मुस्ताङ पुग्ने भारतीय पर्यटकले आफ्नो खानपिन र धार्मिक पर्यटनका रुपमा बागलुङलाई छान्नका लागि उनीहरु बस्ने र घुम्ने स्थान तथा होटलको प्रचार गुगलमै उपलब्ध भए सजिलो हुन्छ । तर त्यस्तो अवस्था यहाँ देखिँदैन । त्यसैले पोखराबाट सडकमार्ग भएर मुस्ताङ पुगेका पर्यटक यता नछिरी उतैबाट पोखरा फर्किने गरेका हुनसक्छन् ।   आन्तरिक पर्यटकको भरमा बागलुङ बागलुङमा विदेशी पर्यटकहरु नगन्य मात्रमा आएपनि आन्तरिक पर्यटकको भने जिल्लाका अधिकांश पर्यटकीयस्थलमा चहल–पहल देखिन्छ । जिल्लाका सुविधा सम्पन्न होटलहरु प्रायजसो आन्तरिक पर्यटकहरुले भरिने गरेको होटल व्यवसायी संघ बागलुङको तथ्याङ्कमा छ । जिल्लाको पिस प्यालेस, होटल समिट धौलागिरि, रेड एप्पल, दिराजन, होटल सुगन, आरती, होटल हिलभ्यू लगायतका होटलहरु प्रायः आन्तरिक पर्यटकले नै भरिने गरेको होटल व्यवसायीको भनाइ छ ।  होटलसँगै जिल्लाको पर्यटकीय गन्तव्यहरु बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, हाँडीकोट, बेलढुङ्गा, सोलेडाँडा, भैरवस्थान, घकुण्डेमा आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्दै गएको छ । कोरोनापछि जिल्लामा आन्तरिक पर्यटकको सङ्ख्या ह्वातै बढेको होटल व्यवसायी ललिता थापाले बताए । अहिले जिल्लाका पर्यटकीयस्थलको अवलोकन भ्रमणका लागि पोखरा, चितवन, गोरखा, काठमाडाँैंलगायतका जिल्लाबाट बागलुङ आउने क्रम क्रमश बढ्दै आएको थापाको अनुभव छ ।  अहिले कालिका मन्दिर, पञ्चकोट र शालग्राम सङ्ग्रहालय परिसरमा अवलोकन भ्रमणमा व्यानरसहितका थुप्रै सवारीसाधन देख्न पाइन्छ । कालिका मन्दिर, पञ्चकोट, लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालयमा आन्तरिक पर्यटकहरु बढेका छन् । पछिल्लो समय आन्तरिक पर्यटक घरबासमा पुग्ने, हाइकिङ गर्ने तथा वनभोज जानेलगायतका कारण आन्तरिक पर्यटकीयस्थल चलयमान भएका हुन् । आन्तरिक पर्यटक थपिदै गएपनि बागलुङ नगरपालिकाले विदेशी पर्यटकहरु ल्याउन संस्थागत रुपमा पहल गर्ने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।  थपिँदै पर्यटकीय गन्तव्य बागलुङमा नयाँ पर्यटकीय गन्तव्य थपिने क्रम जारी छ । कोरोनाकहरपछि बागलुङमा लामो झोलुङ्गे पुल, शालग्राम संग्रहालय, पञ्चकोट, बुद्ध हिल, हाँडीकोट, सहस्रधारा झरना र गाईघाट झरनालगायतका क्षेत्र पछिल्लो समयमा चर्चा कमाएका पर्यटकीय गन्तव्य हुन् । कुश्मा र बागलुङलाई जोडेर निर्माण गरिएको विश्वकै अग्लो बन्जी पुलमा आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको पाइन्छ ।  नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पूर्वाधारपछि चर्चामा आउन थालेको पर्यटन विकास समिति बागलुङका सचिव अर्जुन चोखालले जानकारी दिनुभयो । चोखालका अनुसार प्रविधिको प्रयोगका कारण पर्यटकीय गन्तव्यको प्रचार हुँदा आन्तरिक पर्यटकहरु आउन थालेको बताउँछन् ।  “टिकटकमा देखिएका दृश्यका कारण धेरै मानिस लामो झोलुङ्गे पुल आएको पाइयो, पछिल्लो समय सामाजिक सञ्जालका कारण एकाएक पर्यटकीयस्थल भाइरहल हुने जमाना आइसक्यो”, चोखालले भने, “स्थानीय सरकारको रुपमा रहेका पालिकाले एक पालिका एक पर्यटकीयस्थलको रुपमा विकास तथा पूर्वाधार निर्माण थालेपछि पर्यटकीय गन्तव्य थपिदै गएको हामीले पाएका छौँ ।” चोखालले बागलुङमा आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउनका लागि पर्यटनमैत्री नीति तथा कार्यक्रम ल्याउन आवश्यक रहेको बताउदै बागलुङ जिल्लाको पर्यटन गुरु योजना नहुँदा समस्या भएको जानकारी दिनुभयो ।  खड्किँदै तारे होटल बागलुङमा सुविधा सम्पन्न तारे होटल नहुँदा विदेशी तथा भिआइपी पाहुना आउने आँट गर्दैनन् । जिल्लामा विदेशी पर्यटक तथा भिआईपी पाहुना आइहाले पनि साँझ बस्न पोखरा नै पुग्नुपर्ने अवस्था छ । बागलुङ जिल्लामा हालसम्म कम्तीमा पनि एक सयजना अट्नसक्ने क्षमताको ठूलो होटल स्थापना हुन नसक्दासमेत पर्यटकहरु आकर्षित हुन नसकेको स्थानीय राम शर्माको भनाई छ । पर्यटन बोर्डले बागलुङलाई पर्यटकीय गन्तव्यको रुपमा राख्न नसक्दा विदेशी पर्यटक आउन नसक्नु मुख्य समस्या रहेको शर्माको भनाई छ । राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम गर्न, धेरै पाहुना राख्न र सेमिनार तथा गोष्ठी गर्नका लागिसमेत बागलुङमा उपयुक्त होटल तथा रिसोर्ट नभएको शर्माको भनाइ छ । बागलुङमा एउटा तारे होटल र एउटा सुविधासम्पन्न रिसोर्टको तत्कालै आवश्यकता देखिन्छ ।  पर्यटनमैत्री घरवासको खाँचो जिल्लामा रहेका २८ वटा सामुदायिक घरबासमध्ये कतिपय घरबास नाम मात्रका छन् । यीमध्ये आधा दर्जन घरवास मात्रै पर्यटनमैत्री रहेका छन् । जिल्लाको पहिलो घरबासका रुपमा रहेको भकुण्डेको अतिथि घरवासमा मात्रै विदेशी पाहुना पुग्न थालेका छन् भने अन्य केही जिल्लाका आधा दर्जन घरवासमा मात्रै आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।  केही घरवासमा मात्रै स्थानीय तथा अर्गानिक खानाका परिकारको स्वाद तथा विभिन्न कला संस्कृति देखाउने गरकेका छन् भने केही घरवास नाम मात्रैका घरवासजस्ता छन् । घरवासहरु पूर्वाधार युक्त र पर्यटनमैत्री हुन आवश्यक रहेको पर्यटन व्यवसायीहरु बताउनछन् ।  पर्यटकको छैन तथ्याङ्क     बागलुङमा हालसम्म भित्रने आन्तरिक तथा बाह्य पर्यटकको कुनै तथ्याङ्क छैन । पर्यटनसम्बन्धी खोज तथा अनुसन्धान गर्नका लागि समेत कुनै सन्र्दभ सामाग्री पाइदैन ।  जिल्लाका पालिका, पर्यटन विकास समिति तथा अन्य कुनै पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले हालसम्म जिल्लामा भित्रने पर्यटकको तथ्याङ्क नभएको पाइएको छ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षभित्र प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकहरुको मात्रै जिल्लामा तथ्याङ्क छ । यस वर्ष ढोरपाटन शिकार आरक्ष क्षेत्र घुम्नका लागि नौ हजार स्वदेशी तथा विदेशी पर्यटक पुगेको ढोरपाटन शिकार आरक्षको कार्यालयले जनाएको छ ।  –रासस

सम्बन्धित सामग्री

मुस्ताङमा हिमपात : वर्षासँगै जाडो बढ्यो

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा हिमपात भएको छ । बुधवार बिहानदेखि यो वर्षकै पहिलो हिमपात भएपछि मुस्ताङबासी खुशी भएका छन् । बदलिँदो मौसमसँगै हिमपात हुँदा स्थानीय कृषक तथा पर्यटक हर्षित भएका हुन् । तल्लो क्षेत्रमा पनि हल्का हिउँ पर्न थालेको र चिसो अत्यधिक बढेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ । तल्लो भेगमा सामान्य र उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ । हिउँदयाम सकिएर गर्मीयाम शुरू हुने समयमा मुस्ताङमा हिमपात भएको हो । गर्मीयाम शुरू भएकाले तल्लो क्षेत्रमा भएको हिमपात जमीनमा जम्न सकेको छैन । हिमपातले डाँडा र खर्क सेताम्मे बनेका छन् । हिमपात बढ्दै गएमा बुधवार रातीसम्ममा मुस्ताङ हिमपातले ढाकिएर सेताम्मे बन्न सक्ने स्थानीयबासीको अनुमान छ । मुक्तिनाथ दर्शन तथा मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत हिउँ अवलोकन गर्दै रमाउन थालेका छन् । हिउँ परेपछि कृषकहरू समेत खुशी भएका छन् । हिउँदयाममा वर्षा र हिमपात नहुँदा जमीन सुख्खा भएर खेतीसमेत फस्टाउन नसकेको अवस्थामा हिमपात भएकाले सिँचाईंको लागि राहत भएको कृषकहरूको भनाइ छ । हिमपातले मुस्ताङका कृषकलाई आशिंक राहत दिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । स्याउ बगैंचा र अन्य अन्नबालीको व्यवस्थापनको समयमा हिमपात हुँदा कृषकले लगाएको अन्नबाली फस्टाउने केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ ।

न्यू बिजनेश एज २१औं वार्षिकोत्सव विशेष : नेपालमा एफडीआई र हाम्रो मानसिकता

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को शुरूआत पञ्चायतकालबाटै भएको पाइन्छ । त्यतिबेला राजपरिवारसँगको सम्बन्धबाटै विदेशी लगानी नेपाल भित्रिएको पाइन्छ । त्यसबेला विशेषगरी पर्यटन क्षेत्रमा लगानी आएको हो । चितवनको टाइगर टप्स होटेलमा विदेशी लगानी त्यतिबेला नै आएको हो । त्यसताका वैदेशिक लगानी ल्याउने विषयमा सरकारको कुनै नीति तथा कानून थिएन । व्यक्तिगत सम्बन्ध र चिनजानको आधारमा मात्र लगानी आउने अवस्था थियो ।  विस्तारै विश्वभर नै देशको विकास गर्न अन्तरिक स्रोतसाधन मात्र पर्याप्त नहुने महसूस भयो र आन्तरिकका साथै बाह्य स्रोत पनि आवश्यक रहेछ भन्ने भयो । वैदेशिक लगानीले आन्तरिक लगानीको प्रतिस्थापन नगर्ने बरु नयाँ अवसरहरू खोल्ने र एक प्रकारको तालमेल वा भनौं सिनर्जी ल्याउने रहेछ भन्ने भयो । जापान, कोरिया सिंगापुरको विकास हेर्दा पनि देशको विकास हामी आफ्नो मात्र स्रोतले गर्छौं भनेर नपुग्ने हुने रहेछ भन्ने भयो । विदेशी लगानीलाई हामीले स्वागत गर्न सकेका छैनौं । विकासका लागि राजनीतिक तहमा एक किसिमको समझदारी हुनुपर्छ । राजनीतिक नेताहरूले बुझ्नुपर्छ । आफ्नो सल्लाहकार मात्र राखेर होइन तटस्थ विज्ञको सल्लाह लिनुपपर्छ । विदेशी लगानीकर्तालाई आजको दिनमा धेरै विकल्प छन् । हाइड्रोपावरको सम्भावना नेपालमा छ भनेर मात्र उनीहरू आउने होइनन् । म्यानमार, भुटानमा धेरै विकास भइसक्यो ।    नेपालमा पनि २०४६ सालको परिवर्तनपछि सरकार बनेर धेरै आशा सृजना भयो । अब सरकारले ऐन, कानून निर्माण गर्ला, लगानीको वातावरण बन्ला, विदेशी लगानी आउला र देशको विकास हुन्छ भन्ने धेरैमा अपेक्षा पनि थियो । तर, हाम्रो सम्भावना र अपेक्षाअनुसारको लगानी भित्र्याउन सकेनौं । केही हाइड्रोलगायतमा पर्यटन क्षेत्रमा लगानी आएको छ, त्यो अत्यन्तै न्यून हो । जुन हिसाबले नेपालमा प्राकृतिक स्रोतहरू छन्, जलस्रोतदेखि कृषि र पर्यटनसम्ममा सम्भावना छ । हामी विश्वको सर्वोच्च शिखर सगरमाथा भन्छौं, गौतम बुद्धको जम्मस्थल भन्छौं, धार्मिक रूपमा पशुपतिनाथदेखि मुक्तिनाथ भन्छौं, हिमाल र तालहरू पनि प्रशस्त छन् । तर, हामीले सोचे र चाहेअनुरूप उपयोग गर्न सकेका छैनौं । भारत र चीन, संसारका दुई ठूला अर्थतन्त्र हाम्रा छिमेकी छन् तर पर्यटकीय र व्यापारिक दृष्टिकोणबाट फाइदा लिन चुकेका छौं । यसैगरी ठूलो उपभोक्ताको बजार भारत र चीन हाम्रा छिमेकी हुन् । पर्यटनको हकमा पनि हामीलाई भारत र चीनबाट मात्र पर्यटक आइदिए पनि पुग्छ । व्यापारिक दृष्टिकोणबाट रेस्पोन्स गर्न सकेका छैनौं । हामी भ्यालू अपडेशन र इन्हान्समेन्टमा नराम्ररी चुकेका छौं, जसले गर्दा वर्षेनि लाखौं नेपाली विदेशिन बाध्य छन् । तथ्यांक नै हेर्ने हो भने पनि कुल जनसंख्याको १० प्रतिशत वा ३० लाख युवा कामको खोजीमा विदेश गएको देखिन्छ, जसबाट कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत बराबर आम्दानी भित्रिने गरेको छ र अर्थतन्त्र चलायमान भएको छ । हामी रेमिट्यान्स लगायतबाट आय भएको डलरलाई गाडी, मोटरसाइकलजस्ता उपभोग्य सामान आयातमै खर्च गर्छौं, जसले गर्दा नेपाली अर्थतन्त्र आयात र उपभोगको दुश्चक्रमा नराम्ररी फस्न गएको छ । मुख्य कुरा हाम्रो ध्यान पनि वैदेशिक लगानी भित्र्याएर देश विकास गर्नेतर्फ हुन सकेन । यसको मुख्य कारण भनेको नेपालमा भिजनरी नेतृत्वको अभाव नै हो । हामीले धेरै गर्न सक्थौं । तर, गएको १०–२० वर्ष हामी चुक्यौं र अहिले पनि हामी अलमलमा छौं । सबैतिर राजनीति छरेका छौं, विकास आयोजनामा पनि राजनीति छ । यो पार्टी र त्यो पार्टी भनेर झगडा गरेका छौं । आर्थिक विकास र समृद्धिको विषयमा हामी केन्द्रित हुन सकेका छैनौं । अरूण तेस्रो १९९० मा शुरू गरेको भए वा फास्ट ट्र्याक समयमै बनाउन सकेको भए आज अवस्था बेग्लै हुन्थ्यो । एयरपोर्टका कुरा, बाटो तथा पूर्वाधार मात्र बनाएको भए पनि निकै विकसित भइसकेका हुने थियौं । त्यसैले यो विषय नीतिगत रूपमा मात्र होइन, नेतृत्वकर्ताको भित्रैबाट आउनुपर्छ । देशका नेताहरूलाई भित्रैबाट आउनुपर्छ । किनकि हामीकहाँ २ तिहाई सरकार निर्माण भएर पनि पार्टी फुट्यो । ५ वर्ष नेतृत्व गर्ने सरकार आयो भनेर ठूलो आशा पलाएको थियो । त्यसले काम गरेको भए ठूलो परिवर्तन हुन्थ्यो । हामी जति समस्याको कुरा गर्छौं, चाहे कानून होस्, नीति होस् वा कर्मचारीतन्त्रको ढिलासुस्तीको, सबै जड भनेकै राजनीतिक इच्छाशक्ति नै हो । हाम्रो राजनीतिक नेतृत्व अहिले पनि विकासको विषयमा गम्भीर छैन । अहिले पनि सपना बेच्नुहुन्छ । फेरि हामी नेपालीमा पनि चुनावको समयमा सुन्ने त्यसपछि केही नगर्ने प्रवृत्ति छ । अरू मुलुकमा भएको भए जवाफदेहिता हुन्थ्यो ।  वैदेशिक लगानी बढाउन नीतिनियम तथा कानून हाम्रा समस्या होइनन् । किनकि हामीलाई आवश्यक नीति र कानून हामीले बनाउने हो । हामीलाई साँच्चिकै विदेशी लगानी आवश्यक हुने हो भने नीतिनियम चाहेको समयमा बनाउन सकिन्छ । मुख्य विषय भनेकै त्यसको कार्यान्वयन हो ।  हामी अझै यो आयोजना नेपालले बनाउने हो कि विदेशी लगानीकर्तालाई दिने भनेर दौडेर हिँडेका छौं । बाहिरका लगानीकर्तालाई सकेसम्म पेल्न खोज्ने प्रवृत्ति छ । एउटा प्रोजेक्ट दिने, केही समयपछि लाइसेन्स खोस्ने गरिएको छ । नेपालीहरू संसारकै विज्ञ भइदिन्छन् र त्यो विज्ञ पनि राजनीतिज्ञ नै हुन्छ । त्यही कुरा एक ठाउँमा ठीक अर्को ठाउँमा बेठीक भएको हुन्छ । स्वार्थ बोकेका समूहहरू धेरै भए । यसकारण स्पष्ट दृष्टिकोणसहित विकासका काम अघि बढ्न सकेको छैन । विदेशी लगानीलाई हामीले स्वागत गर्न सकेका छैनौं । विकासका लागि राजनीतिक तहमा एक किसिमको समझदारी हुनुपर्छ । राजनीतिक नेताहरूले बुभ्mनुपर्छ । आफ्नो सल्लाहकार मात्र राखेर होइन तटस्थ विज्ञको सल्लाह लिनुपपर्छ । विदेशी लगानीकर्तालाई आजको दिनमा धेरै विकल्प छन् । हाइड्रोपावरको सम्भावना नेपालमा छ भनेर मात्र उनीहरू आउने होइनन् । म्यानमार, भुटानमा धेरै विकास भइसक्यो ।  धेरै कुरा हाम्रो अति राष्ट्रवादको नाराले पनि बिगारेको छ । त्यसैले हरेक नेपालीको सोच परिवर्तन हुनुपर्छ । विदेशी लगानी पनि राम्रो हो, यसबाट फाइदा लिने पनि हामीले नै हो भन्ने बुझ्नुपर्‍यो । बरु लगानीको अनुगमन गर्नुपर्छ । हाम्रो कानूनअनुसार लगानी गर्न दिऔं, त्यसअनुसार काम भएको छ/छैन अनुगमन गरौं । कुनै पनि देशका लगानीकर्ताले लगानी गरेपछि अलिकति कमाउलान् तर अन्तिममा त्यसको फाइदा लिने त हामी नेपाली नै हौं नि । विदेशी लगानी भएको पूर्वाधार वा उद्योगको फाइदा त यहीँ भएकाले नै लिने हो । त्यसैले टेबल टेबलमा अनुमति रोकेर राख्नुभएन, त्यसलाई सहजीकरण गर्न आवश्यक छ ।  एफडीआई आउँदा हाम्रो देशको सार्वभौमसत्ता, स्वतन्त्रतामा के कस्तो असर पर्छ भनेर तथ्यमा बसेर बहस गरौं । राजनीतिक नेतामा पनि कहिलेकहाँ गलत सन्देश गएको हुनसक्छ । विकास त्यत्तिकै हुन्छ भन्ने सोच हटाउन आवश्यक छ । लगानीकर्ताले सबै कुरा गरून् भनेर उनीहरूलाई अप्ठ्यारो पार्ने हाम्रो प्रवृत्तिमा परिवर्तन जरुरी छ । उनीहरूलाई पनि समान र सम्मानजनक व्यवहार हुनुपर्छ । लगानीकर्तालाई सहज वातावरण बनाइदिने सरकारले हो, लगानीकर्ताले पनि लगानी ल्याएर तोकेअनुसार लगानी गरेर उत्पादन गर्ने, रोजगारी सृजना गर्ने र उत्पादिन सामान विक्री गरेर देखाउने हो । कुनै आयोजना आउनुअघि नै यो त खत्तम छ भनेर गलत सन्देश फैलाउने गरिएको छ । यसले देश बेच्न लाग्यो जस्ता अफवाह फैलाउने गरेका छौं ।  सिंहदरबारमा बसेर प्रोजेक्ट साइन गर्‍यो, आयोजना बन्ने ठाउँका स्थानीयलाई थाहा हुँदैन । यसले पनि अपनत्व कम भएको छ । अहिले संघीयतासँगै स्थानीय तहमा बरु केही आशावादी हुने वातावरण देखिएको छ ।  नेपालका उद्योगलाई बजार हेर्ने हो भने छिमेकी देश भारत र चीनमा ठूलो बजार छ । भर्खरै हाइड्रोपावरको बिजुली विक्रीका लागि भारत र दक्षिण एशियाकै बजार खुला भएको छ । यसैगरी आन्तरिक रूपमा पनि हामीकहाँ धेरै सम्भावना छन् । मुख्य गरी हामीकहाँ व्यवसाय गर्ने लागत उच्च छ । जसका कारण मुस्ताङको स्याउभन्दा चाइनिज स्याउ सस्तो हुन्छ । त्यसैले उद्योगबाट उत्पादित सामानको बजार व्यवस्थापन, सप्लाई चेन, भ्यालु चेनको विकास गर्ने काम सरकारको पनि हो । तर, सबै सरकारले मात्र सक्दैन ।  अब लामो समयको भिजन आवश्यक छ । लगानीकर्ताले हेर्ने विषय भनेकै राजनीतिक रूपमा स्थिरता, आफ्नो लगानीको सुरक्षा हो । त्यो भावना प्रचार भयो भने लगानी आउन सक्छ । त्यो कुरा कुनै कानून वा नीतिमा मात्र लेखेर हुँदैन । व्यवहारमा आवश्यक छ । किनकि दक्षिण एशियामै नेपालको कानून वैदेशिक लगानीकर्ताका लागि उत्कृष्ट छ । एक–दुईओटा प्रोजेक्ट बन्यो भने हामीलाई नै फाइदा हुने रैछ भनेर धारणा आउँछ । धारणा परिवर्तन गर्न सहयोग हुन्छ ।  अन्तरराष्ट्रिय रूपमै विदेशी लगानीकर्तालाई एकद्वारबाट सेवा दिनुपर्छ भनेर त्यही प्रचलन अघि बढेको छ । तर, हामीकहाँ सबैले आआफ्नो पावर प्रयोग गरेको अवस्था छ । कतिपय ठाउँमा कानून बाझिएको छ । प्रक्रिया पनि लामो छ । ढिलासुस्ती गर्ने, कमिशन माग्ने जस्ता विकृतिले बेस्ट अफ द बेस्ट लगानीकर्ता आउन मान्दैनन् ।  लगानीकर्तालाई एकद्वार प्रणालीबाट सेवा दिन हामीले पनि लगानी बोर्ड स्थापित गर्‍यौं । त्यसमा सबै निकायको प्रतिनिधित्व छ । तर, हाम्रा सरकारी निकायहरू आफ्नो पावर छोड्न चाँहदैनन् । बोर्ड उल्टै लगानीकर्ताका लागि अर्को अनुमति लिनुपर्ने ठाउँ भइदियो । हाम्रो पालामा हामी सबै कोअर्डिनेट गर्छौं भन्यौं तर त्यसअनसार काम हुन सकेन । अन्तरराष्ट्रिय अभ्यासमा लगानीकर्तालाई भिसासम्मको काम बोर्डबाटै हुन्छ । हामीकहाँ बोर्डमा अध्यागमनको व्यक्तिसमेत हुने भए पनि उसलाई अधिकार दिएको हुँदैन । लगानीकर्ता लगानी अनुमति लिन ६/८ महीना घुम्दा घुम्दै भिसा सकिन्छ । उनीहरूको समस्या समाधान गर्न कोही लाग्दैन । स्वामित्व लिने नै भएनन् ।  अर्को कुरा, अध्ययन अनुसन्धान भएन । आयोजनाहरू कसरी बनाउने, त्यसबाट के कस्तो फाइदा लिन सकिन्छ भनेर आन्तरिक अनुसन्धान गरेपछि कसले लगानी गर्ने हो, लगानीकर्ता बोलाएर छलफल गरे भयो वा बोलकबोलमा गए पनि भयो । हामीले लगानी सम्मेलन गर्‍यौं, प्रोजेक्ट बैंक भनेर प्रस्तुत गर्‍यौं त्यसमा आधारभूत प्रक्रियासमेत पूरा भएको छैन । प्रोजेक्ट बैंक बनाउँदा निजी क्षेत्रसँग, त्यो क्षेत्रका विज्ञहरूसँग बसेर सल्लाह गर्नुपर्नेमा गरेनौं । टेबलमा बसेर प्रोजेक्ट बन्दैन । हाम्रो समस्या, हामी विश्लेषण नै गर्दैनौं । विश्लेषण गर्‍यौं भने प्यारालाइज हुने गरी धेरै गर्छौं ।  उपयुक्त प्रोजेक्ट पाइपलाइन हुनुपर्‍यो । त्यसको अप्रुभल रिक्स सरकारले लिनुपर्‍यो, यो यो कुरा गर्छु भनेर लगानीकर्तालाई प्रतिबद्धता गर्नुपर्‍यो । त्यसपछि मात्र लगानीकर्ता उत्साहित हुने वातावरण बन्छ ।  धेरै देशमा विदेशी लगानी आउने एउटा बाटो गैरआवासीय नागरिक पनि हुन् । उनीहरूले विभिन्न देशबाट त्यहाँका लगानीकर्तालाई आफ्नो देशमा ल्याउन सक्छन् । तर, विडम्बना हामीकहाँ एनआरएन (गैरआवासीय नेपाली) पनि राजनीतिक विषय भयो । म पनि एनआरएन, विदेशमा बसेर आउँदा धेरै उत्साह थियो । अहिले तीनजना त अध्यक्ष । अहिले नेपालबाहिर बस्ने नेपाली यस्तो वातावरणमा काम गर्न इच्छुक नै छैनन् । यस्तो राजनीतिमा को लाग्छ भन्ने धारणा छ ।  वैदेशिक लगानी ल्याउँदा हामी सम्पत्ति शुद्धीकरण निवारणको विषयमा पनि गम्भीर हुनुपर्छ । नेपालमा कालो धन ल्याएर सेतो बनाएर लैजान दिन हुँदैन । सचेत हुनुपर्छ । धेरै कानूनी जटिलता हुँदा लगानी निरुत्साहित हुने वातावरण पनि बनाउनु हँुदैन । सम्पत्ति शुद्धीकरणको विषयमा बैंकहरूले एकदमै राम्रो काम गरेका छन् । राष्ट्र बैंकको अनुगमन पनि प्रभावकारी छ ।  मैले लामो समय बैंकिङ क्षेत्रमा काम गरें । त्यसपछि लगानी बोर्डमा पनि काम गरें । अहिले पनि लगानीकै क्षेत्रमा काम गरिरहेको छु । मेरो अहिलेसम्मको अनुभवमा वैदेशिक लगानी भित्र्याउन हाम्रो संयुक्त प्रयास आवश्यक छ । तुलनात्मक रूपमा हामी हाम्रा लगानी प्रतिद्वन्द्वीभन्दा राम्रो हुनुपर्छ । लगानी अनुदान होइन भन्ने विषयमा पनि हामी स्पष्ट बन्न जरुरी छ । लगानीकर्तालाई सबै ठाउँ र तहमा स्वागत गर्नुपर्छ । लगानीले के गर्छ भनेर हामीले सबै पक्षलाई बुझाउन आवश्यक भइसकेको छ । राजनीतिको उच्च नेतामा अन्डरस्ट्यान्डिङ, राजनीतिक स्थिरता आवश्यक छ । लगानीकर्तालाई एकद्वार प्रणालीमा सहजीकरण गर्नुपर्छ र नीतिगत रूपमा पनि स्थिरता आवश्यक छ ।  (यादव हुमागाईसँगको कुराकानीमा आधारित)

अझै शुरू भएन कोरला नाकामा भौतिक पूर्वाधार निर्माण

म्याग्दी । चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङस्थित कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण अझै शुरू भएको छैन । २०७६ फागुनमा भन्सार विभागका तत्कालीन महानिर्देशक तोयम रायाले २०७७ वैशाखपछि कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण शुरू हुने बताएका थिए । कोरला नाकामा चीनले आफ्नोतर्फ सम्पूर्ण भौतिक संरचना तयार पारेको छ भने नेपालतर्फ भौतिक पूर्वाधार निर्माणको तयारी समेत  भएको छैन । नेपालले नाकामा आवश्यक सुरक्षा व्यवस्थाका साथै भन्सार, क्वारेन्टाइन लगायत एकीकृत संरचना विकास गर्ने बताइए पनि अहिलेसम्म काम अघि नबढ्दा सरकारको यो योजना अलपत्र परेको छ । छोटो दूरीमा पर्ने भएकाले कोरला नाका गण्डकी र छिमेकी प्रदेशका लागि सबैभन्दा उपयुक्त हुने देखिएको छ । उपल्लो मुस्ताङको भूगोललाई राम्रोसँग बुझेका लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले यस क्षेत्रका लागि तातोपानी नाकाभन्दा कोरला नाका सहज हुने बताए । कोरला नाका सञ्चालन भए गण्डकी र लुम्बिनी प्रदेशमा चिनियाँ सामान सस्तो र सुलभ हुने उनको भनाइ छ । यो नाका सञ्चालनमा आए आर्थिक व्यापारिक मात्र नभई पर्यटन क्षेत्रमा पनि ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ र दामोदरकुण्ड मुस्ताङमै पर्ने हुँदा नाका खोलेपछि यहाँ चिनियाँ पर्यटक र तीर्थयात्री पनि बढ्ने अनुमान गरिएको छ । त्यसैगरी, सोही नाका हुँदै भारतीय तीर्थयात्री चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर पुग्ने भएकाले भारतीय धार्मिक पर्यटकको आगमन बढ्ने मुस्ताङवासीको विश्वास छ । नाकामा भौतिक संरचना निर्माणका लागि १ हजार ३४४ रोपनी जग्गा छुट्याइसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टले बताए । लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई लक्षित गरेर वर्षको दुईपटक नाका खुला गरेर ‘अन्तरदेशीय व्यापार मेला’ नाम दिने गरिएको छ । तर, नेपालबाट भने कुनै पनि सामान चीनतर्फ पठाउने वातावरण अझै नबनेको गुनासो स्थानीय व्यापारीको छ । जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रूपमा यातायातको पहुँच पुर्‍याउन सातओटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण भइरहेको छ । नेपाल–चीन सीमा कोरला नाकामा चीनतर्फ दुई वर्षभित्र भौतिक संरचना तयार भएका थिए । नेपालतर्फ भने कुनै पनि काम अघि बढेको छैन । सीमामा भन्सार कार्यालय, नेपाली सेना, प्रहरी र कर्मचारी राख्ने विषयमा सरकारले कुनै चासो देखाएको छैन । नेपालले इलाका प्रहरी कार्यालय र भन्सार कार्यालय छोसेरमा राखेको छ । उपल्लो मुस्ताङमा रहेको नेपाल र चीनको सिमाना २४ नम्बर पिल्लर क्षेत्र मङ्सिरदेखि फागुनसम्म सुनसान भएकोमा चैतको शुरुआतसँगै यहाँ आउने आन्तरिक पर्यटक बढेको संरक्षण क्षेत्र व्यवस्थापक समिति लोमान्थाङका अध्यक्ष टासी गुरुङले जानकारी दिए । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकासँग जोडिएको सीमा क्षेत्रमा हिउँले व्यापार, होटल व्यवसाय, विद्यालय, र सरकारी कार्यालय फागुनसम्म बन्द थिए । १५० घरधुरी रहेको लोमान्थाङमा एक–दुईओटा होटल मात्र खुलेका छन् । कोरला नाका, गुम्बा, गुफा, माटोको घरलगायत अवलोकनका लागि मार्चदेखि नोभेम्बरसम्म आउने पर्यटकका कारण यस क्षेत्रमा व्यावसायिक चहलपहल हुने होटल व्यवसायी समितिका कोषाध्यक्ष रामबहादुर गुरुङले बताए । वर्ष २०१९ मा लोमान्थाङमा तीन हजार ८२० पर्यटक आएको उनले जानकारी दिए । प्रवेश शुल्क महँगो हुँदा विगतमा भन्दा पर्यटक घटेको उनले बताए ।

मुक्तिनाथमा पर्यटक बढे

मुस्ताङ : प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन्।कोरोनाको जोखिम कम भएसँगै पछिल्लो समय मुक्तिनाथमा दर्शनार्थीहरूको घुइँचो लाग्न थालेको हो।नयाँ वर्ष तथा चैते दशैँको अवसरमा स्वदेशी पर्यटकहरुले मुक्तिनाथ क्षेत्र भरिभराउ भएको छ।हरेक वर्ष चैते दशैँ, बडा दशैँ एवं औँसीको अवसरमा मुक्तिनाथ धाममा दर्शन गर्ने भक्तालुहरुकाे भीड लाग्ने गर्दछ। यस वर्ष पनि मुक्तिनाथमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढिरहेको स्थानीय बताउँछन्।नेपालको मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ धाम भारतको

अझै शुरु भएन कोरला नाकामा भौतिक पूर्वाधार निर्माणको काम

चैत २१, म्याग्दी । दुई वर्षअघि २०७६ सालदेखि नेपाल सरकारले चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङस्थित कोरला नाकाको भौतिक संरचनाको काम अघि बढाउने बताएको भएपनि अझैसम्म शुरु भएको छैन ।  २०७६ फागुनमा अर्थ मन्त्रालयका तत्कालीन महानिर्देशक तोयम रायाले २०७७ वैशाखपछि कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण शुरू हुने बताएका थिए । कोरला नाकामा चीनले आफ्नोतर्फ सम्पूर्ण भौतिक संरचना तयार पारेको छ भने नेपालतर्फ अहिलेसम्म भौतिक पूर्वाधार निर्माणको कुनै सुरसार छैन ।  नेपालले नाकामा आवश्यक सुरक्षा व्यवस्थाका साथै भन्सार, क्वारेन्टाइन लगायत एकीकृत संरचना विकास गर्ने बताइएपनि अहिलेसम्म काम अघि नबढ्दा सरकारको यो योजना अलपत्र परेको छ ।  छोटो दूरीमा पर्ने भएकाले कोरला नाका गण्डकी र छिमेकी प्रदेशका लागि सबैभन्दा उपयुक्त हुने देखिएको छ । उपल्लो मुस्ताङको भूगोललाई राम्रोसँग बुझेका लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले यस क्षेत्रका लागि तातोपानी नाकाभन्दा कोरला नाका सहज हुने बताए ।  कोरला नाका सञ्चालन भए गण्डकी र लुम्बिनी प्रदेशमा चिनियाँ सामान सस्तो र सुलभ हुने उनको भनाइ छ । व्यापारिक प्रयोजनका लागि मात्रै नभएको कोरला नाका सञ्चालनपछि पर्यटन व्यवसायमा पनि उल्लेख्य फाइदा पुग्ने अपेक्षा गरिएको छ ।  हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ र दामोदरकुण्ड मुस्ताङमै पर्ने हुँदा नाका खोलेपछि यहाँ चिनियाँ पर्यटक र तीर्थयात्री पनि बढ्ने अनुमान छ । त्यसैगरी, सोही नाका हुँदै भारतीय तीर्थयात्री चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर पुग्ने भएकाले भारतीय धार्मिक पर्यटकको आगमन बढ्ने मुस्ताङवासीको विश्वास छ । भौतिक संरचना निर्माणका लागि १ हजार ३४४ रोपनी जग्गा छुट्याइसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टले बताए ।  लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई लक्षित गरेर वर्षको दुई पटक नाका खुला गरेर अन्तरदेशीय व्यापार मेलाका नाम दिने गरिएको छ । तर, अन्तरदेशीय मेला भनिएपनि नेपालबाट भने कुनै पनि सामान चीनतर्फ पठाउने वातावरण अझै नबनेको गुनासो स्थानीय व्यापारीको छ । बन्द होटेल खुले, चहलपहल बढ्यो उपल्लो मुस्ताङमा रहेको नेपाल र चीनको सिमाना २४ नम्बर पिल्लर क्षेत्र मंसिरदेखि फागनुसम्म सुनसान भएको भए पनि चैतको सुरुवातसँगै कोरला नाका हेर्न आन्तरिक पर्यटकहरुको भीड बढेको संरक्षण क्षेत्र व्यवस्थापक समिति लोमान्थाङका अध्यक्ष टासी गुरुङले जानकारी दिए । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकासँग जोडिएको सिमाना हिउँले व्यापार, होटल व्यवसाय, विद्यालय, र सरकारी कार्यालय फागुनसम्म बन्द थिए । १५० घरधुरी रहेको लोमान्थाङमा एक दुई ओटा होटल मात्र खुलेका छन्, घर कुरुवाबाहेक सबै तल्लो मुस्ताङ, पोखरालगायतको क्षेत्रमा कार्यालय, विद्यालय सञ्चालन रहेको अध्यक्ष गुरुङले बताए । त्यस्तै विकास आयोजनाको काम पनि चिसोको कारण ठप्प भएको उनको भनाइ छ ।  कोरला नाका, गुम्बा, गुफा, माटोको घरलगायतको कला संस्कृति हेर्न मार्चदेखि नोभेम्वरसम्म होटल लगायतको व्यवसाय चहलपहल हुन्छ भने यो चार महीना ३० ओटा होटलमध्ये एक÷दुई ओटा होटल सञ्चालन मात्र रहेको अन्य सुनसान रहेको होटल व्यवसायी समिति कोषाध्यक्ष रामबहादुर गुरुङले बताए ।  वर्ष २०१९ मा लोमान्थाङमा पर्यटक तीन हजार ८२० पर्यटक आएको कोषाध्यक्ष गुरुङ जानकारी दिए । प्रवेश शुल्क महँगो हुँदा विगतभन्दा पर्यटक घटेको उनले बताए । २०१८ मा ३ हजार ९१८ जना पर्यटक आएका थिए । जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रुपमा यातायातको पहुँच पु¥याउन ७ ओटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण काम चलिरहेको छ । भौतिक संरचना निर्माण गरेर तयारी अवस्थामा चीन : नेपाल मस्त निन्द्रामा नेपाल चीनको सिमानामा चिनले सबै भौतिक संरचना निर्माण गरेर पूर्ण तयारीमा बसेको छ भने नेपालतर्फ भने कुनै तयारी गरेको छैन । भौतिक संरचना निर्माणका लागि १ हजार ३४४ रोपनी जग्गा छुट्याइसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले बताए । चीनतर्फ दुई वर्षभित्र भौतिक संरचना तयार भएका छन् भने नेपालतर्फ कुनै सुरसार छैन । भौतिक संरचना निर्माण गरेर सिमामा भन्सार कार्यालय, नेपाली सेना, प्रहरी र कर्मचारी राख्ने विषयमा सरकारले कुनै चासो देखाएका छैनन् । लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका जनतालाई लक्षित गरेर वर्षको दुईचोटी नाका खुलाउँछ । तर नेपालबाट कुनै सामान पनि चीनतर्फ लाने वातावरण सिर्जना भएको छैन । नेपालले इलाका प्रहरी कार्यालय र भन्सार कार्यालय छोसेरमा राखेको छ । पर्यटकीय केन्द्रको रुपमा परिचित मुस्ताङको उपल्लो मुस्ताङमा लोघेकर र लोमान्थाङ गाउँपालिकाका बासिन्दाको कला संस्कृति तिब्बतीयन संस्कृतिसँग मिल्छ । लोमान्थाङ आमेपाल राजाको माटोको दरवार, ऐतिहासिक गुफा, गुम्बा, माटोको घर, राजाका दरवार हेर्न स्वदेशी तथा विदेशी पर्यटकका चहलपहल हुने कोरला नाकामा आर्थिक हिसाबले दुई देशको व्यापार विकास गर्न पूर्वाधार निर्माणमा नेपाल सरकारले बजेट विनियोजन समयमै गर्नुपर्ने स्थानीयको भनाइ छ । नाका खुलाउने कुरा सम्भाव्यता अध्ययन भ्रमणमा मात्र सीमित  चीनसँग नेपालका १६ हिमाली जिल्ला जोडिएका छन् । पछिल्लो समय नेपालले मुस्ताङको कोरला नाकालाई सम्भाव्यताको प्रमुख सूचीमा त राखेको छ तर, काम भने शुरु गरेको छैन । म्याग्दीको बेनी, मुस्ताङको जोमसोम र उपल्लो मुस्ताङको लोमान्थाङ हुँदै कोरला नाकासम्म सडक विस्तारलाई प्राथमिकता दिए पनि नाका खुलाउने बारे कुनै ठोस निर्णय नेपाल सरकारले गर्न सकेको छैन । सरकारको रवैया देखेर उपल्लो मुस्ताङवासीले असन्तुष्टी व्यक्त गरेका छन् । स्थानीय नागरिक चाँडै नाका खुलोस् भनेर व्यग्र प्रतिक्षामा छन् । दशकअघि आंशिक रुपमा सञ्चालनमा रहेको यो नाकामा त्यतिबेला नै आवश्यक भौतिक संरचना निर्माण गरिएको थियो । भन्सार, सीमा प्रशासन, क्वारेन्टाइन चेक पोस्ट जस्ता प्रशासनिक कार्यालयहरु त्यसबेला नै स्थापना भएका थिए । ती कार्यालयहरु अहिले कामबिहीन छन् । जीर्ण अवस्थामा पुगेका छन् भने नाका पनि ठप्प छ । २४ नम्बर पिल्लर नजिक भवन निर्माण गरेर चिनियाँ पक्षले नाका खुलाउन आफू तयार रहेको संकेत त दिएको छ । तर, आवागमनलाई भने पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । चीनतर्फ १२ चक्के मालबाहक ट्रक चल्ने सडक पनि बनाएको छ । चीनको यो तयारी देख्दा नाका खुलाउन उत्सुक भएको पाइएपनि नेपालतर्फको वेवास्ताका कारण नाका सञ्चालनमा आउन नसकेको स्थानीय र त्यहाँ पुगेर फर्कने गरेका पर्यटकहरुको भनाइ रहेको छ । दुई दिनअघि मात्र कोरला नाकामा पुगेर फर्किएका बेनीका नवराज पौडेलले चीनले नाकाको आफ्नो जग्गामा भन्सार, अध्यागमन कार्यालयदेखि कर्मचारी आवास गृहसमेत निर्माण गरिसकेको बताए । प्रशासनका अधिकारीहरुले नाकामा निगरानी बढाएका उनको भनाइ छ । तर नेपाल सरकारले भौतिक संरचना निर्माण गर्न सकेको छैन । नाका खुलाउने सवालमा सरकारले सम्भाव्यता अध्ययन भ्रमणलाई मात्र सीमित गराएको छ । नेता तथा मन्त्रीहरु नाकासम्म भ्रमणमा जाने र आश्वासन दिएर फर्कने मात्र गरेका छन् ।  लोमान्थाङको १४ हजार फिट उचाइमा रहेको कोरला विशाल मैदानी फाँटमा छ । व्यापारिक कारोबारका लागि प्रशासनिक र व्यापारिक संरचनाहरु निर्माण गर्न जग्गाको अभाव छैन । पोखराबाट कोरलासम्म २७० र मुस्ताङ सदरमुकाम जोमसोमदेखि ११३ किलोमिटर कच्ची सडकले जोडिएको छ ।  दुवै देशका लागि खुल्ला र पठार क्षेत्र रहेको कोरलाबाट तिब्बतको सागा शहर पुग्न ३० किलोमिटर र ढोङवासेन शहर पुग्न लगभग ५० किलोमिटरको दूरी छ । ढोङवाबाट कोरला नाकासम्मको सडक फराकिलो र स्तरीय रहेकाले नेपालसँग व्यापार गर्न सजिलो हुने लोमान्थाङबासी छेवाङ गुरुङको भनाइ छ ।

म्याग्दीको तातोपानीमा खुल्यो धवलागिरिकै ठूलो होटल

म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल भुरुङ तातोपानी र मुक्तिनाथ प्रवेशद्वार  गलेश्वरमा करोडौं रुपैयाँको लगानीमा पर्यटक लक्षित स्तरीय होटल निर्माण गरिएको छ । उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र भुरुङतातोपानीमा २५ करोड रुपैयाँ लगानीमा धवलागिरि क्षेत्रकै ठूलो होटल निर्माण भएको छ भने गलेश्वरमा ७ करोडको लगानीमा होटल ताजमहल सञ्चालनमा आएको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले २५ करोड लगानीमा ५७ कोठा क्षमताको होटल नेचुरल स्प्रिङ प्रालि निर्माण गरेका हुन्  । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी राउन्ड अन्नपूर्णको पर्यटकीय गन्तव्य स्थल हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधासहितको कोठा रहेको हमालले बताए । उनका अनुसार अहिले होटलको ७५ प्रतिशत निर्माण सकिएको छ । करिब ८ रोपनी क्षेत्रफलमा ६ तलाको भवन निर्माण भइरहेको छ । होटल आगामी भदौदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । होटलमा पार्किङ र लिफ्ट सुविधासँगै १५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकल मार्टसमेत सञ्चालनमा आउनेछन् । होटल सञ्चालनमा आएसँगै पहिलो चरणमा ४० जनाले नियमित रोजगार पाउने सञ्चालक हमालले जानकारी दिए । २२ करोड लागत अनुमान गरिए पनि कोरोना महामारीको कारण निर्माण सामग्री अभाव र सामान ढुवानी असुविधाले लागत बढ्ने देखिएको हमालले बताए । ‘यो होटल क्षमताको हिसाबले धवलागिरि क्षेत्रकै ठूलो हुनेछ । स्टार होटलका सुविधा उपलब्ध गराउँछौं । सुविधायुक्त होटलले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा  सघाउने अपेक्षा छ’, उनले भने । पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम–कोरला सडकमा पर्ने भएकाले होटल सञ्चालनमा आएपछि यो सडक खण्ड हुँदै आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउन टेवा पुर्‍याउने अपेक्षा गरिएको स्थानीय पर्यटन व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य आत्मा तुलाचनले बताए । ‘यहाँको प्राकृतिक तातोपानी कुण्ड पर्यटकको रोजाईमा पर्ने गरेको छ । तर, सिजनमा अहिले सञ्चालनमा रहेका होटलले पर्यटकको चाप धान्न सक्ने अवस्था छैन । त्यसैले ठूलो क्षमतामा नयाँ होटल सञ्चालनमा ल्याउन लागेका हौं,’ तुलाचनले भने । तातोपानीमा अहिले ठूला ७ र साना १५ होटलमा ४ सय जनासम्म पर्यटक बस्न सक्ने क्षमताका होटल छन् । अन्नपूर्ण राउन्ड पदमार्ग र मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम सडकले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आउन लागेको यो होटलले पर्यटकलाई आरामदायी बसोबासको प्रबन्ध मिलाउन र पर्यटन प्रवर्द्धनमा सघाउने स्थानीयको भनाइ छ । ७ करोड लगानीमा गलेश्वरमा बन्यो होटल ताज महल आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि मुस्ताङको प्रवेशद्वार म्याग्दीमा करोडौंको लगानीमा स्तरीय होटल सञ्चालन हुने क्रम बढ्दै गएको छ । म्याग्दीको गलेश्वरमा ७ करोड रुपैयाँ लगानी गरी २५ वर्षअघि कामको खोजीमा काभ्रेको धुलिखेलबाट म्याग्दी आएका टंकलाल श्रेष्ठले पर्यटक लक्षित स्तरीय होटल ‘ताज महल’ सञ्चालन गरेका छन् । बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर, मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर होटल ताज महल लज एन्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए । ४० वर्षीय श्रेष्ठले मिहिनेतको कमाइ र सीपलाई होटल क्षेत्रमा अघि बढाएका हुन् । गलेश्वरमा जग्गासहित करिब ७ करोड लगानीमा १३ आना क्षेत्रफलमा पार्किङसहितको होटल स्थापना गरिएको उनको भनाइ छ । सुविधासम्पन्न होटलमा १००  जना पाहुना बस्न सक्छन् । सुविधाअनुसार १ हजारदेखि ३ हजार रुपैयाँसम्म पर्ने ३६ कोठा छन् । चार वटा कोठामा बाथटप, सबै कोठामा तातोपानी, स्नान र इन्टरनेट सुविधासहितको पूर्वाधार रहेकोे होटलमा मौलिक थकाली, इन्डियन, नेपाली खाजा र खानाको परिकारसहितका सेवा रहेको सञ्चालक श्रेष्ठले बताए । म्याग्दी, मुस्ताङ आउने पर्यटकलाई होटल सुविधा नहुँदा बागलुङ, कुश्मा, पोखरा पठाउनुपर्ने अवस्था हटाउन कोरोना महामारीकै समय ठूलो लगानीमा होटल निर्माण गरेको उनको भनाइ छ । श्रेष्ठ ०५३ सालमा कामको खोजीमा म्याग्दी हुँदै मुस्ताङ पुगेका थिए । ‘मुस्ताङको कालापानी होटलमा साढे ५ वर्ष र  होटल यतीमा ९ वर्ष काम गरें’, श्रेष्ठले भने, ‘गलेश्वरमा रिभरसाइड होटल भाडामा लिएर चलाएँ । त्यसपछि आफ्नै लगानीमा मदरल्यान्ड होटल ५ वर्ष चलाएपछि सुविधा सम्पन्न नयाँ होटल सञ्चालनमा ल्याइएको हो’, उनले भने । पछिल्लो समय म्याग्दीका पर्यटकीय स्थलमा पर्यटक केन्द्रित पर्यटन पूर्वाधार निर्माणमा निजी क्षेत्रको व्यक्तिगत लगानी बढेको छ ।

मन्दिर र होटल खुल्दा चिसोमा पनि न्यानो !

माइनस १० डिग्री सेल्सियसभन्दा कम तापक्रममा धारा तथा खोलामा समेत पानी जमेको छ । यस्तो बेला अघिल्ला वर्षहरूमा सधैँजसो बेँसी झर्ने मुस्ताङी कोरोनाको डरले गर्दा यस वर्ष जाडो छल्न पनि झरेनन् । यहीबीचमा जिल्लाभित्रका मन्दिर तथा होटल पनि बन्द भएपछि त मन पनि चिसो गरेर बसेका छन् तर अब भने मुक्तिनाथ मन्दिर र स्थानीय होटल खुल्ने भएपछि उनीहरू मात्र होइन बेँसीतिर बस्ने अरू पनि चिसोमा उकालो चढ्न उत्साही भएका छन् । ‘भर्जिन’ गन्तव्य भनिने उपल्लो मुस्ताङका बासिन्दा पर्यटक आउने भनेर जति उत्साहित त्यत्तिकै फुरुङ्ग छन् आन्तरिक पर्यटक पनि । चिसोले गर्दा धारा तथा नदीहरू जमेको भए पनि पर्यटकलाई स्वागत गर्न स्थानीयवासी उत्साहित रहेको लोमन्थाङका बासिन्दा एवं गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टको भनाइ छ ।