मन्दिर र होटल खुल्दा चिसोमा पनि न्यानो !

माइनस १० डिग्री सेल्सियसभन्दा कम तापक्रममा धारा तथा खोलामा समेत पानी जमेको छ । यस्तो बेला अघिल्ला वर्षहरूमा सधैँजसो बेँसी झर्ने मुस्ताङी कोरोनाको डरले गर्दा यस वर्ष जाडो छल्न पनि झरेनन् । यहीबीचमा जिल्लाभित्रका मन्दिर तथा होटल पनि बन्द भएपछि त मन पनि चिसो गरेर बसेका छन् तर अब भने मुक्तिनाथ मन्दिर र स्थानीय होटल खुल्ने भएपछि उनीहरू मात्र होइन बेँसीतिर बस्ने अरू पनि चिसोमा उकालो चढ्न उत्साही भएका छन् । ‘भर्जिन’ गन्तव्य भनिने उपल्लो मुस्ताङका बासिन्दा पर्यटक आउने भनेर जति उत्साहित त्यत्तिकै फुरुङ्ग छन् आन्तरिक पर्यटक पनि । चिसोले गर्दा धारा तथा नदीहरू जमेको भए पनि पर्यटकलाई स्वागत गर्न स्थानीयवासी उत्साहित रहेको लोमन्थाङका बासिन्दा एवं गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टको भनाइ छ ।