काठमाडौं (अस) । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा शुरू भएको छ । नेपाल राष्ट्र बैंककी कायमुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले सम्मेलनको उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा लघुवित्त वित्तीय संस्था ग्रामीण विकासको मुख्य आधार भएको बताइन् ।
लघुवित्तले गरीब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैंगिक असमानता न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानता कम गर्न टेवा पुर्याएको उनले बताइन् । ‘लघुवित्तले वित्तीय सेवाबाट वञ्चित रहेका समूहलाई प्रदान गर्ने वित्तीय सेवाहरूलाई जनाउँछ’ उनले भनिन्, ‘जसले उनीहरूलाई स्वरोजगारका अवसर विकास गर्न र विभिन्न आयआर्जन गर्ने गतिविधि विस्तार गर्न मद्दत पुर्याउँछ ।’ लघुवित्तले महिलाको आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताइन् ।
उद्घाटन कार्यक्रममा आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले देशमा अझै १८ प्रतिशत जनसंख्या गरीबीको रेखामुनि रहेकाले लघुवित्तले गरीबीलाई शून्यमा झार्न सक्नुपर्ने बताए । एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिएको भन्दै त्यसमा कडाइ गर्नुपर्ने उनले बताए । ‘नाफा कमाउने होडमा लघुवित्त संस्थाहरू लागेको देखिन्छ,’ उनले भने, ‘तर त्यो लघुवित्तको सार्थकता होइन । लघुवित्त कमाउ धन्दामा फस्नु भएन ।’