काठमाडौं । किसानहरुले कृषिमा विदेशी लगानी ल्याउन नहुने भन्दै विरोध गरिरहेका बेला कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा अर्यालले कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभएको छ ।
सोमबार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठुलो लगानी जरुरी भएकोले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभएको हो ।
कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उहाँको भनाई छ । किसानलाई नोक्सान हुने क्षेत्रमा नदिनेगरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्राउने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज कृषि क्षेत्रमा ठुलो लगानीको जरुरी पनि छ । ठुलो लगानीको जरुरी छ भन्दा हाम्रो क्षमताले भ्याउँदैन । कृषि क्षेत्रको विकासको निम्ति आजा ठुलो लगानी गर्नुपर्ने कुरा सरकार आफै एक्लैले गर्नसक्ने ठाउँमा छैन । कृषि क्षेत्रको विकास गर्नको निम्ति हाम्रो सामथ्र्यले भेटेन । हाम्रो लगानीले मात्रै भेटेन । विदेशी लगानीहरु पनि आकर्षित गरेर कृषि क्षेत्रको विकास गरौँ ।’
उहाँले उत्पादन र निर्यात बढाउन पनि विदेशी लगानी ल्याउनुपर्नेमा जोड दिनुभयो । विदेशी लगानी आउँदा नेपाली किसानलाई मर्का नपर्ने उहाँको दाबी छ ।
‘हाम्रा साना व्यवसायी किसानहरुलाई मार्नेगरी होइन । उहाँहरुको संरक्षण गर्नेगरी, उहाँहरुको अझै थप विकास गर्नेगरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ’ मन्त्री अर्यालले भन्नुभयो, ‘उत्पादन बढाऔँ । निर्यात पनि गर्ने । हामिलाई नोक्सान हुने क्षेत्रमा होइन । हाम्रो किसानहरुलाई निरुत्साहित बनाउनेगरी होइन । हाम्रो किसानहरु, व्यवसायीहरुलाई पनि उत्साहित बनाउने अनि हामीलाई नोक्सान हुने क्षेत्रमा पनि नदिने । हामीलाई नोक्सान नहुने, हाम्रा व्यवसायी किसानहरु जो छन् तिनलाई पनि प्रोत्साहित गरिरहन पाइने, संरक्षण गर्न पनि पाइने, हामीले लगानी गर्न नसकेका यावत् क्षेत्रहरु छन् । ति क्षेत्रमा हामीले कृषि लगानी गर्ने र हाम्रो कृषि क्षेत्रको विकास गर्ने ।’
मन्त्री अर्यालले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौँको संख्यामा रोजगारी सिजर्ना सिर्जना गर्ने पनि बताउनुभयो । ...