कृषिमा विदेशी लगानी भित्राउने सरकारको निर्णय किसानमारा : भैरवराज रेग्मी

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले कृषिमा विदेशी लगानी भित्राउने सरकारको निर्णयलाई किसानमारा नीति भएको बताउनुभएको छ । हालै मन्त्रिपरिषद् बैठकले कृषिमा विदेशी लगानी भित्राउने निर्णय गरेपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो । युगदर्शनलाई प्रतिक्रिया दिँदै उहाँले सरकारको पछिल्लो निर्णयलाई चोरढोकाबाट भित्राइएको कृषिसम्बन्धी गलत नीतिको सङ्ज्ञा पनि दिनुभयो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा कृषिमा विदेशी लगानी निषेध गरिएको प्रसङ्ग उठाउँदै अध्यक्ष रेग्मीले भन्नुभयो– ‘कृषिमा विदेशी लगानी भित्राउनेजस्तो गम्भीर विषयलाई चोरढोकाबाट स्वीकृति दिने निर्णय गलत छ ।’ उहाँले यस्तो किसानमारा नीतिबाट खासगरी साना किसान तथा कृषिउद्यमी टाट पल्टने मात्रै होइन, नेपालको सम्पूर्ण कृषिक्षेत्र नै धरासायी हुने बताउनुभयो । ‘कृषिक्षेत्रमा विदेशी लगानी भित्राउने निर्णय गलत छ’ अध्यक्ष रेग्मीले भन्नुभयो– ‘यस्तो निर्णयले कृषिमा परनिर्भरता बढाउने छ ।’ उहाँले नेपालका सम्पूर्ण किसान र किसान सङ्गठन यस्तो निर्णयको विरोधी रहँदै आएको बताउनुभयो । किसान सङ्गठनसित मिलेर यसबारे छिट्टै थप निर्णय गरिने पनि उहाँले बताउनुभयो । हिजो उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णय गरेको जानकारी दिनुभएको थियो । ७५ प्रतिशत कृषि उत्पादन निर्यात गर्न सर्तमा कृषिमा विदेशी लगानी खुल्ला गरिएको बताउँदै उहाँले सरकारले यससम्बन्धी कार्यविधि बनाउन थालिएको पनि जानकारी दिनुभएको थियो । तर विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा भने कृषिमा विदेशी लगानी निषेध गरिएको छ । सरकारले यस ऐनको विरुद्ध कार्यविधि बनाउन थालेको देखिएको छ ।

सम्बन्धित सामग्री

कृषिमा विदेशी लगानीको विरोध

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषिमा विदेशी लगानी खुला गरेपछि यसको विरोध भइरहेको छ । कृषिमा वैदेशिक लगानी भिœयाउने नेपाल सरकारको निर्णय व्यवसायी र किसानको हितविरुद्ध भएको भन्दै विरोध गरिएको हो । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेडलगायतका कृषिमा वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी […]