गोलञ्जोर गाउँपालिका–४, तीनकन्याका जुनार किसान लोकबहादुर आलेमगरको बगैँचामा यतिखेर जुनार सकिँदै गएको छ । उहाँले गत वर्ष फागुनसम्म जुनार बिक्री गरी आम्दानी लिनुभएको थियो । यतिखेर उहाँको बगैँचामा अब १० प्रतिशत मात्रै जुनार बिक्री गर्न बाँकी छ ।यो वर्ष असिना, रोग र कीराका कारण जुनार कम उत्पादन हुनुका साथै माग बढी भएकाले सिजन सकिनुअगावै जुनार बगैँचा रित्तिँदै गएको किसान आलेमगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, बगैँचाबाटै ९० प्रतिशत जुनार बिक्री गरी सात लाख रुपियाँजति आम्दानी लिइसकेँ । बाँकी जुनार बिक्री गर्दा एक लाख रुपियाँजति आम्दानी होला ।