काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओले रू. १७६ दशमलव ५३ देखि ५२९ दशमलव ५९ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ५३ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।
कम्पनीको आईपीओ असार ३० गते बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । कम्पनीले असार २१ देखि २५ गतेसम्म अंकित मूल्यमा १३६ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा कुल १ करोड २० लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
कुल कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरिएको थियो ।