अलैंची उत्पादनमा वृद्धि, किसानलाई राहत

खोटाङ– चालु आर्थिक वर्षमा खोटाङमा अलैंची उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९-८० मा यहाँको एक हजार ६४ हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको र यसबाट ६१० मेट्रिक टन उत्पादन भएको छ । खोटाङमा आर्थिक वर्ष २०७८-०७९ मा ५८५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । अघिल्लो वर्ष ०.५५ उत्पादकत्व रहेको जिल्लामा चालु आर्थिक वर्ष अलैँचीको […]

सम्बन्धित सामग्री

‘कालो सुन’को दिगो बजारीकरण

कालो सुनको उपनामले चिनिने अलैंचीको मूल्य गत वर्षको तुलनामा यस वर्ष १ सय ५५ प्रतिशतसम्म बढेको छ । उत्पादनमा कमी आएसँगै मूल्य बढेको बताइन्छ । खासमा नेपालको अलैंची भारत निर्यात हुने र यसको मूल्य त्यहाँका व्यापारीले तय गर्ने भएकाले नेपाली किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् र यसको मूल्यमा निकै अन्तर आउने गरेको छ ।  गतवर्ष प्रतिमन २७ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य ६९ हजार रुपैयाँसम्म पुगेको छ । स्मरणीय के छ भने १० वर्षअघि यसको मूल्य १ लाखसम्म पुगेको थियो । बीचमा यसको मूल्य झरेको र अहिले उकालो लाग्न थालेको हो । अलैंचीको मूल्य घटेको मात्र होइन, बजार नै पाउन गाह्रो भएपछि धेरै किसानले अलैंची खेती छाडेका थिए । अहिले भने किसानलाई राहत भएको छ ।  अलैंचीको उत्पादनका लागि नेपालको पूर्वीक्षेत्र प्रख्यात रहे पनि धेरै जिल्लामा यसको खेती भइरहेको छ । मूल्य र बजारको समस्याले यसको विस्तारमा रोक लागेको थियो । तर, यसपालि मूल्य बढ्दा किसानहरू यसतर्फ पुन: आकर्षित हुने सम्भावना बढेको छ ।  नेपालका प्राय: क्षेत्रमा अलैंचीको खेती गर्न सकिन्छ । तर, मौसमको प्रतिकूलताले यसको उत्पादन घटीबढी भइरहन्छ । यस वर्षको मौसमले साथ नदिँदा अलैंचीको उत्पादन आधा घटेको छ । उत्पादन घटे पनि बढी मूल्य पाएकाले किसानलाई राहत भएको छ । नेपालमा सामान्यतया ६ हजारदेखि ८ हजार मेट्रिक टनसम्म अलैंची उत्पादन हुन्छ । अलैंची खेती सजिलो र बढी मूल्य आउने भएकाले नै यसलाई कालो सुनको उपनाम दिइएको हो । उच्च मूल्य र कम तौल भएकाले ढुवानी सस्तो पर्छ । अन्य बाली नहुने भिरालो जमीनमा समेत यसको खेती गर्न सकिन्छ । नेपालका खोल्साखोल्सी जहाँ खेतीपाती हुँदैन ती क्षेत्रमा समेत यसको खेती गर्न सकिन्छ । पूर्वी नेपालमा बढी खेती हुने भनी यो परिचित भए पनि पछिल्लो समय अन्य भूभागमा समेत यसको खेती विस्तार भएको छ । पुरानो बगानमा उत्पादन घट्न थालेको देखिन्छ भने विभिन्न रोगहरू पनि लाग्ने देखिन्छ । त्यस्तै माटो र चिसोको व्यवस्थापन नमिल्दा पनि यसको खेती प्रभावित भएको छ । यसको खेतीका लागि अन्तरराष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले विभिन्न किसिमले किसानलाई यसको खेतीबारे चेतना दिइरहेको पाइन्छ । तर, अलैंचीको बजारको समस्या भने देखिन्छ ।  सरकारले उत्पादनदेखि बजारीकरणसम्ममा किसानलाई थप सहयोग गर्न आवश्यक देखिन्छ । अलैंची जस्तो नगदे बालीको उत्पादनदेखि प्रशोधनसम्म यन्त्रको प्रयोग गर्ने हो भने सम्भावना अझ धेरै छ । अलैंचीले राम्रो बजार नपाउनुमा यसको गुणस्तर पहिलो विषय हो । दोस्रो यसलाई सुकाउने प्रविधि हो । परम्परागत तरीकाले यो सुकाउँदा धूवाँ आएर यसले मूल्य पाउन नसकेको देखिन्छ । तर, अहिले आधुनिक भट्टीमा सुकाउन थालेपछि त्यो समस्या हटेको छ । तैपनि ढुसीको संक्रमणले गर्दा विक्री भइसकेको अलैंची फिर्तासमेत आउने गरेको बताइन्छ । त्यसैले खेतीदेखि भण्डारणसम्मका क्रियाकलापमा आधुनिक यन्त्रको प्रयोग गर्नु आवश्यक देखिन्छ ।  अर्को, अलैंची विक्रीका लागि भारतीय व्यापारीमाथि मात्र भर पर्नु हुँदैन । अहिले भारतीय व्यापारीले तय गरेको मूल्यमा अलैंची विक्री गर्नुपर्ने बाध्यता छ । भारत आफै अलैंचीको उपभोक्ता होइन । उसले नेपालसँग किनेका अलैंची प्रशोधन वा अर्धप्रशोधन गरेर तेस्रो मुलुकमा निर्यात गर्छ । खाडी मुलुकमा यसको निकै राम्रो बजार छ तर नेपालले त्यहाँ आफै निर्यात गर्न सकिरहेको छैन । आफै निर्यात गर्न सक्यो भने अलैंचीको दिगो बजार र राम्रो मूल्य कायम हुन्छ । त्यसतर्फ सरकारले कूटनीतिक पहल गरेर पहुँच स्थापित गरिदिनुपर्छ । त्यस्तै प्रशोधन गरेर अलैंची निर्यात गर्ने हो मूल्य अभिवृद्धिको फाइदा पनि लिन सकिन्छ । त्यस्तै अलैंचीको केही तत्व निकालेर अलैंची विक्री गर्न सक्ने हो भने त्यसले पनि थप फाइदा हुन्छ । अलैंचीको तेलको मूल्य निकै बढी छ । त्यस्तो तेल निर्यात गर्न सक्ने हो भने यसले उचित मूल्य पाउँछ । अर्को, नेपालकै बजारमा पनि अलैंचीका उत्पादन प्रयोग गर्न सकिन्छ । अलैंचीको तेल नेपालमै पनि खपत गराउन नसकिने होइन ।  अलैँचीमा अन्य खेतीमा जस्तो बढी खट्न नपर्ने र जस्तोसुकै माटो र भौगोलिक बनावटमा पनि खेती गर्न सकिने भएकाले नेपाली किसानलाई नगदेखेतीका आकर्षित गर्न अलैंची खेतीतर्फ प्रोत्साहित गर्न जरुरी छ । सामुदायिक वनमा पनि यसको खेती गर्न सकिने भएकाले समूहमार्फत पनि खेती गराउन सकिन्छ । यसो भयो भने यो वास्तवकै नेपाली किसानका लागि कालो सुन बन्न सक्छ । त्यसैले सरकारले उत्पादनदेखि बजारीकरणसम्ममा किसानलाई थप सहयोग गर्न आवश्यक देखिन्छ । अलैंची जस्तो नगदे बालीको उत्पादनदेखि प्रशोधनसम्म यन्त्रको प्रयोग गर्ने हो भने सम्भावना अझ धेरै छ । यस्तो सम्भावनालाई बढावा दिने काम सरकारको त हुँदै हो, यसमा निजीक्षेत्र तथा सर्वसाधारणले पनि काम गर्न सक्छन् ।

मूल्यवृद्धिले अलैंचीखेती गर्ने किसानलाई राहत

भोजपुर । यस वर्ष अलैंचीको मूल्यमा वृद्धि भएपछि भोजपुरका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन २६ हजार रुपैयाँमा विक्री भएको अलैंची यस वर्ष प्रतिमन ४० हजार २०० रुपैयाँसम्ममा घरबाटै विक्री भएको टेम्केमैयुङ गाउँपालिका–५ का किसान शिवकुमार विष्टले बताए । अलैंचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यस वर्ष कमी आएको विष्टले बताए । वर्षेनि मूल्यमा कमी, गतवर्ष भएको खडेरी र अन्य कारणले खेती विस्तार नहुँदा उत्पादन घटेको उनको भनाइ छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैंची किसानले विगत वर्षको तुलनामा झन्डै दोब्बर मूल्य पाएका छन् । ठेकेदारले घरबाटै प्रतिकेजी एक हजारमा अलैंची लैजाने गरेको किसान जयकुमार राईले बताए । ‘अलैंचीबाट सात/आठ वर्ष अघिसम्म राम्रो आम्दानी पाएपछि हौसिएर धानखेतमा अलैंची लगाएको थिएँ । गतवर्षसम्म मूल्य घटिरहँदा निराश भए पनि यस वर्षको मूल्यबाट भने केही राहत मिलेको छ,’ उनले भने । उनले तीनओटा बगान गरी करिब १५० रोपनी क्षेत्रफल जतिमा अलैंची लगाएका थिए । किसानको हकहितका लागि काम गरिरहेको जिल्ला अलैंची व्यवसायी संघ, भोजपुरका अध्यक्ष नवीन प्रधानले बताए । खेतीको विस्तार तथा किसानलाई विभिन्न समयमा आउने समस्याको विषयमा संघले सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदै आएको उनको भनाइ छ । अध्यक्ष प्रधानले यस वर्ष मूल्य बढे पनि अलैंचीको उत्पादनमा भने कमी आएको बताए । आफूले पनि ४० रोपनी क्षेत्रमा अलैंचीको खेती गरेको भए पनि सोचेजस्तो उत्पादन नभएको उनको भनाइ छ । ‘यस वर्ष अलैंचीको मूल्य राम्रो नै छ । केही भए पनि किसानलाई राहत मिलेको छ । तर उत्पादन भने यस वर्ष राम्रो भएन,’ उनले भने । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार यस वर्ष जिल्लामा २३२ मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लामा ७१९ हेक्टर क्षेत्र अलैंची खेतीयोग्य भए पनि ५९७ हेक्टरमा उत्पादन भइरहेको कृषि  केन्द्रले बताएको छ । कार्यालयका अनुसार यस वर्ष किसानले प्रतिमन ४० हजारदेखि ४८ हजार रुपैयाँसम्ममा अलैंची विक्री गरेका छन् । जिल्लामा अलैंचीको विस्तारका लागि ६ पकेट, दुई ब्लक र ६ स्थानीय तहको ३० ओटा वडामा अलैंची जोन कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्लामा रामशाही, गोल शाही, डम्बर शाही, जिर्मले जातको अलैंची खेती हुने गरेको छ । भोजपुरका दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङथर्पु, तिम्मा हेलौछा, गुप्तेश्वरलगायत ठाउँमा मुख्य रूपमा अलैंची उत्पादन हुने गर्छ । रासस