लघुवित्तमा सामाजिक बैंकिङ अवधारणा

बैंक, वित्तीय संस्थाको पहुँचमा नपुगेका गरीब तथा विपन्नलाई वित्तीय सेवा पुर्‍याउन प्रवर्द्धन गरिएका लघुवित्त संस्थाहरूमा अत्यधिक प्रतिस्पर्धाका कारण अनेक विकृति देखिन थालेपछि नेपाल राष्ट्र बैंकले यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अध्ययन गरेको छ । अध्ययनले लघुवित्त सेवामा देखिएको समस्याको चिरफार गर्दै यसलाई अहिलेको भन्दा फरक मोडलमा चलाउन सुझाव दिएको छ । यसलाई सामाजिक बैंकिङको अवधारणामा चलाउनुपर्ने अध्ययन समितिको निष्कर्ष रहेको छ । लघुवित्त वित्तीय संस्थाहरूले चर्को ब्याज लिएका कारण नयाँ साहूकारको उपनाम पाउन थालेको र दोहोरो तेहरो कर्जाका कारण कर्जा असुलीमा समस्या परेपछि राष्ट्र बैंकले लघुवित्तबारे चासो दिएको हो । तर, अहिले लघुवित्तमा देखिएका धेरै समस्याको समाधान राष्ट्र बैंक नै गर्न सक्छ । उसले नै लघुवित्तलाई सानो क्षेत्रफलमा फैलिएको वाणिज्य बैंकजस्तो व्यवहार गरी नियमन गर्ने, निर्देशन दिने गर्न थालेपछि नै समस्या बढेको देखिन्छ । लघुवित्तले विपन्न क्षेत्रमा गएर सेवा दिने भएकाले यसको लागत बढी पर्छ । तर, वित्त कम्पनीका रूपमा काम गर्नेगरी लघुवित्त संस्थाहरूलाई स्वीकृति दिएकाले उनीहरू गरीबी निवारणभन्दा बढी नाफामुखी ढंगले काम गर्न थालेका हुन् । पहिले लघुवित्त संस्थाहरू सामाजिक बैंकिङकै अवधारणामा सञ्चालित थिए भन्न सकिन्छ ।  अध्ययन समितिले दिएको सामाजिक बैंकिङका रूपमा सञ्चालन गर्न दिनुपर्ने सुझावले लघुवित्तहरू मुनाफामुखीभन्दा पनि सेवामुखी हुनुपर्नेमा जोड दिएको छ । त्यसो हो भने अहिले जसरी व्यापारीकरण भइरहेको छ त्यो रोकिनेछ । यसबाट राष्ट्र बैंकले जसरी नियमन गरिरहेको छ त्यसरी नियमन गर्न नमिल्ने देखिन्छ । कि त लघुवित्तको नियमनका लागि अलग निकाय खडा गरिनुपर्छ कि त राष्ट्र बैंकभित्रै कुनै संयन्त्र बनाएर यसको नियमन गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले समयमै राम्ररी नियमन गर्न नसक्दा नै लघुवित्तहरू समस्यामा परेका हुन् । गरीबी निवारणका लागि बंगलादेशका अभियन्ता डा. मोहम्मद युनुसको अवधारणामा लघुवित्त खुले पनि त्यसअनुसार नेपालमा काम भएको देखिँदैन । लघुवित्तमा मुनाफा हुने देखिएकाले लघुवित्त खोल्न प्रतिस्पर्धा नै चल्यो । राष्ट्र बैंकले धमाधम स्वीकृति दियो । लघुवित्तको मुनाफाको विरोध भएपछि त्यसमा राष्ट्र बैंकले लगाम पनि लगाएको छ । यसले गर्दा लघुवित्तहरूले ऋणीलाई व्यवसायमा सहजीकरण गर्न सकेनन् । पहिले विदेशी सहयोगमा व्यवसाय कसरी गर्ने भनेर विभिन्न व्यावहारिक कुरा सिकाइन्थ्यो । अहिले यस्तो संस्था छैनन् । लघुवित्त आफैले पनि चेतना प्रदान गर्न सकेको देखिन्न । त्यसैले समस्यामा पर्दै गएका लघुवित्तलाई कुन मोडलमा लैजाने, उनीहरूलाई कसरी स्रोत उपलब्ध गराउने जस्ता विषयमा बहस शुरू भएको हो ।  अध्ययन समितिले सामाजिक बैंकिङको अवधारणामा लैजानुपर्ने सुझाव दिए पनि त्यो कस्तो हो भन्ने स्पष्ट पारेको देखिँदैन । परम्परागत बैंकिङमा बढीभन्दा बढी नाफा कमाउने उद्देश्य हुन्छ भने सामाजिक बैंकिङमा सामाजिक एवं वातावरणीय लाभमा केन्द्रित हुन्छ । मुनाफा कमाउने नभई समग्र समुदाय, वातावरण एवं व्यक्तिसमेतको उत्थान गर्नु यस्तो बैंकिङको उद्देश्य हुन्छ । नवीकरणीय ऊर्जा, हरित ऊर्जा, दिगो कृषिप्रणालीजस्ता सामाजिक उत्तरदायित्वपूर्ण उपलब्धिहरू यस्तो बैंकिङले सुनिश्चित गर्छ । सामाजिक बैंकिङमा साझेदारी र सहकार्यलाई महत्त्वपूर्ण मानिन्छ । लघुवित्तलाई पनि यी नै अवधारणामा आधारित गरी गरीबी निवारणको मूल अस्त्रका रूपमा यसलाई अघि बढाउनु जरुरी छ । राष्ट्र बैंकले यसलाई कुन मोडलमा लैजाने हो त्यसबारे अध्ययन गरी कार्यान्वयनमा लैजान ढिला गर्नु हुँदैन । 

सम्बन्धित सामग्री

चुनौतीको सामना गर्ने बैंकर आवश्यक: ग्राहक सेवामा किन अपेक्षित सुधार देखिँदैन ?

आजको विश्वमा कुशल बैंकरको यकीन परिभाषा दिन कठिन हुने भएता पनि जुन बैंकरमा गुणस्तरीय सेवा दिने क्षमता, भरपर्दो र विश्वसनीय कार्य, कुशल नेतृत्व, नवीन एवं दूरदर्शी सोच, रणनीति बनाउने क्षमता, यसको कार्यान्वयन र बदलिँदो वातावरणको सूक्ष्म अध्ययन, कर्मचारी उत्प्रेरणा एवं मुस्कानसहितको छरितो सेवा, अवसर र चुनौतीको सामना गर्ने दृढता आदि कार्यमा सफलता प्राप्त गर्न सक्ने खुबी छ त्यो नै कुशल बैंकर हो भन्नुमा अत्युक्ति नहोला ।  ठूलो आर्थिक मन्दीले पिरोलेको हाम्रो जस्तो मुलुक जहाँ जीडीपीको आकारको हाराहारीमा निक्षेप रहेको अवस्था छ, त्यहाँ कर्जा लगानी अपेक्षित हुन सकेको छैन । हाल ब्याजदर पनि अधिकांश बैंकहरूले घटाएको अवस्था छ भने कर्जा लगानी बढ्दै गरेको र पहिलो त्रैमासिक पूरा गर्दा नाफा पनि बढिरहेको छ । हालको निक्षेपको अवस्था हेर्दा ९ खर्ब बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम थुप्रिएको छ भने सीडी रेसियो ८१ दशमलव ७४ देखिन्छ । यसरी थुप्रिएको रकमलाई कुशलतापूर्वक उपयोग गर्ने र सीडी रेसियोलाई सन्तुलनमा राख्ने क्षमतावान् बैंकर आजको आवश्यकता हो ।  सबै बैंकरलाई थाहा छ नेपालमा खुला, उदार एवं बजारमुखी रणनीति अवलम्बन भएपछि वित्तीय क्षेत्रमा संख्यात्मक वृद्धि र कारोबारमा समेत वृद्धि भएको छ । एकातर्फ बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा छ तर बजार सीमित छ भने अर्कोतर्फ सम्भाव्य क्षेत्रसमेत साँघुुरो भएको हुँदा गुणात्मक वृद्धिमा जोड दिनुको विकल्प छैन । बैंकिङ पहुँच बढिरहेको, निक्षेप र कर्जामा सन्तुलनको अभाव रहेको, निष्क्रिय कर्जा बढिरहेको, पूँजी वृद्धि र मर्जरको व्यवस्थापन जटिल रहेको, नाफालाई दिगो राख्नु पर्ने, बैंकिङ ऐननियमको परिमार्जन र यसको कार्यान्वयनमा देखिएको जटिलतालगायत वर्तमान अवस्थालाई आत्मसात् गरी बैंक सञ्चालन गर्नु निश्चय पनि चुनौतीपूर्ण छ । तथापि बैंकप्रतिको अपनत्व, मित्रवत् व्यवहार, ग्राहकको आवश्यकताअनुसारको वस्तु तथा सेवाको प्रयोग, ग्राहकमैत्री सेवाको विकास, प्रविधिको विकास र यसको प्रयोग, कर्मचारी उत्प्रेणा, भरपर्दो ग्राहक पहिचान विवरण, वित्तीय साक्षरता र समावेशितालाई जोड दिने प्रवृत्तिले मात्र बैंकिङ क्षेत्र दिगो हुने कुरामा कसैको दुईमत नहोला ।  बैंक तथा वित्तीय संस्थाको हकमा निक्षेपकर्ता, ऋणी, सेवाग्राही, एजेन्ट आदि सबै ग्राहक हुन् । ग्राहक हुन वस्तु तथा सेवा, उत्पादक वा विक्रेता, प्राप्तकर्ता र मूल्यजस्ता पक्षहरू हुन जरुरी छ । सरोकारवाला, लगानीकर्ता र कर्मचारी आन्तरिक ग्राहक हुन् भने सेवा प्राप्त गर्ने व्यक्ति, फर्म, कम्पनी आदि बाह्य ग्राहक हुन् । तसर्थ परम्परागत रूपमा बैंकमा रहेका प्रोडक्ट ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने हिसाबले भन्दा पनि बैंकको प्रोडक्टअनुरूप ग्राहकले आफूलाई ढाल्नुपथ्र्यो, त्यो हुन सकेको छैन । आजकल बैंकहरूले ग्राहकको चाहनाअनुरूप आफ्ना प्रोडक्टहरू बनाउने गर्छन् । ग्राहक मैत्री बैंकिङका लागि ग्राहकको संस्कृति, जात, धर्म, प्रचलन, सामाजिक प्रतिष्ठा, सामाजिक व्यवहार, उमेर, जीवनशैली, पेशा, आर्थिक अवस्था, व्यक्तित्व, रुचि र ज्ञान, उत्प्रेरणा, सन्तुष्टि आदिलाई बुझेर बैंकिङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति नै कुशल बैंकर ठहरिन्छ । ग्राहक सेवा पनि भरपर्दो हुनुपर्छ पछिल्ला दिनहरूमा यस्तो प्रवृत्तिमा ह्रास देखिँदा ग्राहक सेवामा अपेक्षित सुधार कहिले ? भन्ने प्रश्न उठिरहेको अवस्था छ । व्यक्तिगत आचरण, अनुशासन, भ्रष्टाचार र सुशासनको अभाव, बैंकका सञ्चालक र मालिकहरूले दिने बढी दबाबका कारण देखिने मानसिक तनावले गर्दा बैंकरहरूको कार्यकुशलतामा ह्रास आएको देखिन्छ ।  बारम्बार देखापर्ने तरलताको अधिकता र न्यूनताले वित्तीय क्षेत्रलाई अस्तव्यस्त बनाएको देखिन्छ । तरलता कम हुँदा निक्षेप बढाउनुपर्ने चुनौती र बढी हुँदा उपयोगको चुनौती हुन्छ जसले अर्थतन्त्रको लागत बढ्न गई मागमा कमी आउँछ र अर्थतन्त्र थप धराशयी हुन्छ । यसरी तरलता व्यवस्थापनमा निकै कठिनाइको सामना गर्नुपरेको देखिन्छ ।  बैंक तथा वित्तीय संस्थाले हाल धेरै चुनौती र समस्या भोग्नुपरेको छ । नेपालको बैंकिङ क्षेत्रका केही चुनौती हेर्दा तीव्र प्रतिस्पर्धा छ जसले जोखिम र चुनौती दिनहुँ थपिरहेको छ । कमसल धितोमा कर्जा प्रवाह, नियम कानूनको पालनाको अभाव, जालसाजी, साइबर अपराधमा नियन्त्रणको कमी, कर्मचारी आचरणमा सुधारको कमीजस्ता संस्थागत सुशासनका पक्ष छन् । मानवीय साधनको समस्यातर्फ हेर्दा दिनहुँ बैंकको पेशा छोडी विदेश जानेको संख्या बढ्नु र दक्ष र अनुभवी कर्मचारीको कमी, राम्रो भन्दा हाम्रालाई प्रश्रय दिने परिपाटीलगायत देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरू शहर बजार तथा सुविधा सम्पन्न क्षेत्रमा क्रियाशील हुन खोज्नु र विपन्न तथा विकट क्षेत्रमा हुने न्यून उपस्थितिले वित्तीय समावेशीकरणको समस्या देखिन्छ । राजनीतिक अस्थिरता र हस्तक्षेप, चन्दा आतंक, पूर्वाधारका विकास नहुनु, पूँजीगत खर्चमा कमी, उद्यमशीलताको अभाव र प्रतिभा पलायनले गर्दा लगानीमैत्री वातावरणको अभाव छ । बारम्बार देखापर्ने तरलताको अधिकता र न्यूनताले वित्तीय क्षेत्रलाई अस्तव्यस्त बनाएको देखिन्छ । तरलता कम हुँदा निक्षेप बढाउनुपर्ने चुनौती र बढी हुँदा उपयोगको चुनौती हुन्छ जसले अर्थतन्त्रको लागत बढ्न गई मागमा कमी आउँछ र अर्थतन्त्र थप धराशयी हुन्छ । यसरी तरलता व्यवस्थापनमा निकै कठिनाइको सामना गर्नु परेको देखिन्छ । निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर अझै देखिन्छ । यो पनि चुनौती हो । दक्ष कर्मचारीको अभाव र मर्मत तथा सम्भारमा हुने खर्चको वृद्धिले सूचना र प्रविधिको व्यवस्थापनमा समेत चुनौती थपिएको छ । प्रतिस्पर्धा उच्च हुनु, गुणात्मक ऋणको अंशमा वृद्धि नहुनु, परियोजनाको उचित विश्लेषणको अभाव, लागत बढी हुनु, क्षणिक नाफामा तल्लीन हुनु, कोभिड–१९ लगायत विश्व आर्थिक मन्दी एव सुशासनको अभावले खराब कर्जा बढ्दै गएको छ । यसले ऋण व्यवस्थापनमा समेत निकै कठिनाइको सामना गर्नुपरेको देखिन्छ । हुन्डी र ढुकुटी लगायत कानूनबाहिरको कारोबारले गर्दा छाया बंैकिङको प्रभावमा सुधार हुन सकेको छैन । लगानीको अवसर पर्याप्त नहुनुलगायत बैंकिङ क्षेत्रमा देखापरेका चुनौतीहरूको सामना गर्न सक्ने र यथोचित व्यवस्थापन गर्न सक्ने कुशल बैंकर आजको आवश्यकता हो ।  बैंकिङ क्षेत्रमा प्रशस्त अवसर नभएको पनि होइन । बैंकिङ क्षेत्रका अवसरहरूमा उदार अर्थ व्यवस्था, खुला बैंकिङ अवधारणा, नयाँ प्रविधिको विकास, उपभोग र मागमा परिवर्तन, संघीयता, सस्तो सञ्चालन लागत, अन्तरराष्ट्रिय बजारभन्दा सस्तो ब्याजदर, उच्च विप्रेषण, पर्याप्त नियम कानून, सस्तो मानव संसाधनको उपलब्धतालगायत अवसरको भरपुर उपयोग गर्न सक्नु नै कुशल बैंकरको परिचय हो । एक कुशल बैंकरले ग्राहक व्यवस्थापन गर्न र उनीहरूलाई खुशी तुल्याउन वस्तु तथा सेवा बजारमा ल्याउनुअघि राम्रोसँग अनुसन्धान र सर्भे गर्ने, ग्राहकको आवश्यकता, चाहना, मान्यता एवं आकांक्षामा आउने परिवर्तनको विश्लेषण गर्ने, सुझाव तथा गुनासोको सम्बोधन गर्ने, ग्राहक सम्बन्धका बारेमा तालीम प्रदान गरी कर्मचारीलाई ग्राहकमैत्री बनाउने, ग्राहकलाई शिष्टतापूर्वक स्वागत गर्ने, हँसिलो, सुमधुर, सरल स्वभावमा प्रस्तुत हुने, आवश्यकता र गुनासोको सही समाधान गर्ने सामथ्र्य नै ग्राहक सन्तुष्ट बनाउने आधार हो । त्यस्तै भौतिक पूर्वाधारको हकमा आकर्षक हेल्प डेस्क, उचित लोकेशन, ले आउट, डिजाइन, प्रतीक्षालय, आरामकक्ष, पिउने पानी, शौचालय आदिको उचित व्यवस्थाको साथै पत्रपत्रिका, टेलिफोन, नि:शुल्क इन्टरनेट सुविधाको व्यवस्था, सुझाव पेटिका आदिको व्यवस्थापन अपरिहार्य देखिन्छ । तसर्थ एक कुशल र व्यावसायिक बैंकरको परिचय दिन चुक्नु हुँदैन जसका लागि माथि उल्लिखित चुनौतीको सामना र अवसरको उपयोग नै सर्वोत्तम उपाय हो । तथापि बैंकिङ समस्या समाधानका उपायहरूमा सञ्चालन दक्षता बढाउने र लागत घटाउने, दीर्घकालीन नाफामा ध्यान दिने र व्यवसाय वृद्धिमा जोड दिँदै ग्राहक सन्तुष्टिलाई मुख्य आधार बनाउने, दक्ष र अनुभवी कर्मचारीको नियुक्ति, उत्प्रेरणा र रिटेन्सनमा जोड दिने, कर्मचारीको वृत्तिविकास, क्षतिपूर्ति र उनीहरूको समयअनुसारको तालिममा जोड दिने, आफ्नो सम्पत्तिको उचित व्यवस्थापनमा जोड दिने, निरीक्षण, सुपरिवेक्षण र अनुगमनलाई प्रभावकारी बनाउने, संस्थागत सुशासनको पूर्ण पालना गर्ने, सामाजिक दायित्व पूरा गर्ने, छाया बंैकिङलाई नियन्त्रण गर्ने, जनतामा बैंकिङसम्बन्धी जनचेतना जगाउने, वित्तीय समावेशिता र पहुँचलाई जोड दिने, खोज तथा अनुसन्धानलाई जोड दिने, जनतामा वित्तीय साक्षरतामार्फत बचत गर्ने बानीको विकास गर्ने, आन्तरिक सञ्चालनलाई चुस्त दुरुस्त बनाउने, ग्राहक सम्बन्ध विकास गर्न उनीहरूसँग नियमित अन्तरक्रिया गर्ने, निजी व्यावसायिक क्षेत्र र सरकारका अनुगमनकारी निकायसँग नियमित सम्पर्क बढाउने कार्यले मात्र दिगो बैंकिङको परिकल्पना गर्न सकिन्छ । तसर्थ बैंक तथा वित्तीय संस्थाका हरेक प्रबन्धकले उपर्युक्त कुराहरूमा खरो उत्री आफूलाई व्यावसायिक र कुशल बैंकरका रूपमा चिनाउन ढिला भइसकेको कुरामा कसैको दुईमत नरहला ।  लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।

वित्तीय साक्षरतालाई यसरी प्रभावकारी बनाऔं

सामान्यतया वित्तीय साक्षरताले पैसाको व्यवस्थापन गर्न सिकाउँछ तर पछिल्लो समय वित्तीय क्षेत्रमा भएको विकास र विस्तारले वित्तीय साक्षरतालाई यत्तिमा नै सीमित राख्न मिल्दैन । वित्तीय साक्षरताले बैंकिङ उत्पादन तथा सेवा सम्बन्धी ज्ञान र शीपको प्रयोग गरी दैनिक जीवनलाई बैंकिङ कारोबारसँग अभ्यस्त बनाउने बानीको विकास गर्न आवश्यक जानकारी दिन्छ । परम्परागत बैंकिङ कारोबारका साथै बैंकिङ क्षेत्रमा प्रयोगमा आएका नयाँनयाँ प्रविधिको प्रयोगमार्फत गरिने वित्तीय कारोबारसम्बन्धी जानकारीसमेत यसभित्र समेटिएको हुन्छ । त्यसैले बैंकिङ उत्पादन र सेवाको उपलब्धता, प्रविधिको विकास र उपलब्धता, सेवाग्राहीलाई दिइने सेवासुविधाले मात्र वित्तीय कारोबारलाई व्यापक र सहज बनाउन सकिँदैन, यसका लागि वित्तीय साक्षरता अपरिहार्य हुन्छ ।  वित्तीय साक्षरताको क्षेत्रमा राष्ट्र बैंकले गरेका कार्य वित्तीय समावेशितालाई वित्तीय क्षेत्रको नवीनतम अवधारणा मानिन्छ । यसअन्तर्गत वित्तीय पहुँच, ग्राहक संरक्षण र वित्तीय साक्षरताका विषयहरू समेटिएका हुन्छन् । गत असार मसान्तसम्ममा मुलुकका ७५३ स्थानीय निकायमध्ये ७५२ मा वाणिज्य बैंकको शाखा पुगिसकेको र ५४ बैंक/वित्तीय संस्थाका ६ हजार ४६१ शाखाहरूले लाखौं सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरिरहेका छन् । जसअनुसार प्रतिशाखाले ४ हजार ५१४ जनालाई वित्तीय सेवा प्रदान गरिरहेका र ५७ ओटा लघुवित्त वित्तीय संस्थाका ५ हजार १२८ शाखाले प्रवाह गरेको वित्तीय सेवालाई समेत जोड्ने हो भने प्रतिशाखा २ हजार ५१७ जनाले वित्तीय सेवा प्राप्त गरिरहेकाले वित्तीय पहुँचको क्षेत्रमा मुलुकले निकै फड्को मारेको देखिन्छ ।  ओईसीडीको सहयोगमा सन् २०२२ मा गरिएको वित्तीय साक्षरतासम्बन्धी सर्वेअनुसार मुलुकमा ५७ दशमलव ९ प्रतिशत जनता वित्तीय दृष्टिकोणले साक्षर भएका, बागमती प्रदेशमा वित्तीय साक्षरताको अवस्था उच्चतम (६४ दशमलव ५ प्रतिशत) र मधेशप्रदेशमा न्यूनतम (५२ प्रतिशत) रहेको देखिन्छ । त्यसैगरी करिब ६२ प्रतिशत पुरुष र ५५ प्रतिशत महिला वित्तीय रूपले साक्षर भएको सोही सर्वेको प्रतिवेदनमा उल्लेख छ । उल्लिखित तथ्यांकले सर्वसाधारणको उल्लेख्य संख्या अझै पनि वित्तीय साक्षरताबाट विमुख रहेको देखिन्छ ।  ग्राहक संरक्षणतर्फ नियामकले आवश्यकतानुसार विभिन्न व्यवस्थाहरू गर्दै आएको पाइन्छ । नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्रप्राप्त बैंक/वित्तीय संस्थाहरूलाई वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरतासम्बन्धी निर्देशन जारी गरेर सेवाप्रदायक संस्थाहरूलाई सेवाग्राहीप्रति जिम्मेवार बनाएको देखिन्छ । त्यसैगरी वित्तीय कारोबार गर्ने क्रममा ग्राहकवर्गलाई परेका समस्यालाई सम्बोधन गर्ने उद्देश्यले ग्राहकको गुनासो सुनुवाइसम्बन्धी व्यवस्था गरेको छ । यसका लागि ग्राहकले आफूलाई परेको मर्काको विवरण बैंकको वेबसाइटमा रहेको गुनासो सुनुवाइको अनलाइन पोर्टल, ईमेल ठेगाना, बैंकका प्रदेशस्थित कार्यालय र टोलफ्री नम्बरमार्फत दर्ता गर्नसक्ने व्यवस्था रहेको छ । त्यसैगरी बैंक/वित्तीय संस्थाले गुनासो अधिकारीसहितको सूचना तथा गुनासो सुनुवाइ डेस्कको सञ्चालन गर्नुपर्ने र सेवाग्राहीलाई बैंक/वित्तीय संस्थाले प्रदान गरेको सेवासुविधासँग सम्बन्धित सम्पूर्ण जानकारी दिनुपर्ने व्यवस्था गर्दै आएको छ । उल्लिखित अवस्थालाई हेर्दा वित्तीय पहुँच र ग्राहक संरक्षणको क्षेत्रमा विगतदेखि नै विभिन्न कार्य सञ्चालन हुँदै आएको भए पनि वित्तीय साक्षरता पर्याप्त नभएकाले यी कार्य प्रभावकारी हुन नसकेको देखिन्छ । त्यसैले वित्तीय साक्षरतासम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले राष्ट्र बैंकले वित्तीय समावेशिता र ग्राहक संरक्षण महाशाखाको व्यवस्था गरी वित्तीय साक्षरता, गुनासो सुनुवाइ, ग्राहक संरक्षण र यससँग सम्बन्धी कार्यहरूलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्दै आएको छ । बैंकले वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले विगतदेखि विद्यार्थीसँग नेपाल राष्ट्र बैंक र सर्वसाधारणका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैगरी बैंकको वेबसाइटमा भिडियो क्लिप, चेतनामूलक गीतहरूको सँगालो, पाठ्यसामग्री, फाइनान्सियल लिटरेसी डिजिटल ब्यानर, फाइनान्सियल अवेरनेस ब्यानर, वित्तीय साक्षरता मार्गदर्शन, २०७८, वित्तीय साक्षरता पे्रmमवर्क, २०२२ लगायत वित्तीय साक्षरतासँग सम्बन्धित विभिन्न सामग्री राखिएका छन् ।  समावेशी वित्तीय सेवाबाट मात्र मुलुकका सबै तह र तप्काका जनतालाई वित्तीय पहुँचमा समेट्न सकिन्छ । यसका लागि वित्तीय साक्षरता एउटा अनिवार्य शर्त भएकाले आगामी दिनमा यस कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने हुन्छ । सेवाग्राहीलाई वित्तीय रूपले साक्षर बनाउन सामाजिक उत्तरदायित्व कोषको कम्तीमा ५ प्रतिशत रकम प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ । यसका साथै, हरेक वर्ष बैंकको संयोजनमा विश्व वित्तीय सप्ताह कार्यक्रमका अवसरमा बैंकिङ तथा गैरबैंकिङ संस्थाहरू, सहकारीलगायत संस्थाहरूमार्फत वित्तीय साक्षरतासँग सम्बद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्ने र त्यस्ता कार्यक्रमलाई वर्षैभरि निरन्तरता दिन अभिप्रेरित गर्दै आएको छ । यसैबीच वित्तीय साक्षरता कार्यक्रमलाई थप प्रभावकारी बनाउन बैंकले हालै २५ जना अनुभवी सहजकर्ताको रोस्टर तयार गर्ने कार्य सम्पन्न गरेको छ । अब के गर्नुपर्छ ? नेपाल राष्ट्र बैंक र बैंक/वित्तीय संस्थाले विगतदेखि सञ्चालन गर्दै आएकोे वित्तीय साक्षरता सम्बन्धी कार्यहरूले सर्वसाधारणमा वित्तीय साक्षरताको अवस्थामा सुधार ल्याएको कुरामा द्विविधा छैन तर यतिमा नै सन्तोष मानेर बस्ने अवस्था भने अझै बनिसकेको छैन । मौद्रिक अधिकारीको हिसाबले राष्ट्र बैंकले र नियामकीय प्रावधानको अनुपालना गर्दै बैंक/वित्तीय संस्थाद्वारा सञ्चालित वित्तीय साक्षरता कार्यक्रम आपूर्तिपक्षबाट सञ्चालन हुँदै आएका कार्यक्रम हुन् । मागपक्षबाट सञ्चालन भएका यस्ता कार्यक्रमको संख्या नगण्य रहेको देखिन्छ । वित्तीय साक्षरता कार्यक्रमलाई थप प्रभावकारी बनाउन माग पक्षबाट पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ । यसका लागि वित्तीय साक्षरता कार्यक्रमलाई राष्ट्रिय मुद्दाका रूपमा उठान गर्नुपर्छ ।  स्थानीय तह (पालिकास्तर) मा सञ्चालन गर्नेगरी नेपाल सरकारले वित्तीय साक्षरता कार्यक्रमलाई बजेटमा नै समेट्न सकेमा त्यस क्षेत्रमा रहेका सर्वसाधारणलाई वित्तीय दृष्टिकोणले साक्षर बनाउन सहज हुन्छ । त्यसैगरी राजनीतिक पार्टीले आफ्ना निर्वाचन क्षेत्रअन्तर्गत रहेका कार्यकर्ता तथा समर्थकहरूलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराउन सकेमा यसबाट ठूलो संख्या लाभान्वित हुनसक्ने देखिन्छ । त्यसैगरी माध्यमिक तहमा बैंकिङ क्षेत्रसँग सम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्न सकेमा उक्त तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई वित्तीय कारोबारका बारेमा आवश्यक जानकारी प्रदान गर्न सकिन्छ ।  विद्यार्थीहरूले किसान, साना उद्यमी, महिला, निश्चित आम्दानी भएका रोजगार व्यक्ति, विप्रेषण प्राप्त गर्ने परिवार आदिबाट प्रतिनिधित्व गर्ने भएकाले एकातिर विद्यार्थीमार्फत परिवारका सदस्यहरूसमेत वित्तीय रूपले शिक्षित हुन्छन् भने अर्कोतिर वार्षिक करीब ५ लाख विद्यार्थी माध्यमिक तह (एसईई) उत्तीर्ण भई उच्चशिक्षा/श्रमबजारमा जाने भएकाले वित्तीय साक्षरताका दृष्टिकोणले यो फोरम उपयुक्त हुने देखिन्छ । सामान्यतया मागपक्षबाट सञ्चालन गरिने कार्यक्रममा सहभागीहरूलाई कार्यक्रमबारे जान्ने र बुझ्ने इच्छाशक्ति मनैबाट पैदा हुने भएकाले यस्ता कार्यक्रम तुलनात्मक रूपमा बढी उपलब्धिमूलक हुने गरेको पाइन्छ । समावेशी वित्तीय सेवाबाट मात्र मुलुकका सबै तह र तप्काका जनतालाई वित्तीय पहुँचमा समेट्न सकिन्छ । यसका लागि वित्तीय साक्षरता एउटा अनिवार्य शर्त भएकाले आगामी दिनमा यस कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने हुन्छ । त्यसैले वित्तीय साक्षरता कार्यक्रमलाई उपलब्धिमूलक बनाउन माग र आपूर्ति दुवै पक्षबाट नै सञ्चालन गर्नुपर्ने र यसका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंक/वित्तीय संस्था, स्थानीय निकाय तथा सरोकारवाला सबैको ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ ।  लेखक लघुवित्त सम्बन्धी जानकार हुन् ।

दिगो बैंकिङको नयाँ आयाम : सामाजिक बैंकिङ, वित्तीय समावेशीकरणमा सहयोगी

विश्वव्यापी रूपमा सामाजिक एवं वातावरणीय परिवेशमा आएको परिवर्तनसँगै बैंकिङजस्तो नितान्त वित्तीय सेवा प्रदान गर्ने उद्यममा समेत नयाँ आयामहरू थपिँदै आएका छन् । यिनै नयाँ आयामसँगै बैंकिङका परम्परागत अवधारणामा समेत सामायिक परिवर्तन र विकास हुँदै गएको देखिन्छ ।  यस्तै एक नवीन आयामका रूपमा अहिले ‘सामाजिक बैंकिङ’ देखा परेको छ । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट वक्तव्यमा समेत ‘सामाजिक बैंकिङको अवधारणाअनुरूप काम गर्ने गरी लघुवित्त वित्तीय संस्थाहरूलाई बैंकिङ पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउन परिचालन गरिनेछ’ भनी उल्लेख गरेबाट पनि यस प्रकारको बैंकिङप्रति थप चासो व्यक्त हुन थालेको छ ।  अवधारणा र मान्यता  परम्परागत बैंकिङमा बैंकहरूको उद्देश्य बढीभन्दा बढी नाफा कमाउनुहुन्छ भने सामाजिक बैंकिङको उद्देश्य सामाजिक एवं वातावरणीय लाभमा केन्द्रित हुन्छ । यसै कारणले पनि सामाजिक बैंकिङलाई ‘अन्तरात्माको बैंकिङ’ पनि भनिन्छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस्ता बैंकले अवलम्बन गर्ने ‘पारदर्शिता’को सिद्धान्तलाई यस्तो बैंकिङको ‘आत्मा’ नै मानिन्छ । मुनाफा कमाउने नभई समग्र समुदाय, वातावरण एवं व्यक्तिसमेतको उत्थान गर्नु यस्ता बैंकहरूको उद्देश्य हुने भएकाले पनि यिनलाई ‘अन्तरात्माको बैंक’ भनिएको बुझ्न कठिन छैन ।  ‘अल्पकालीन नाफा’ मा ध्यान नदिएर आफूले गर्ने मौद्रिक लगानीको समाजमा पर्ने ‘दीर्घकालीन प्रभाव’लाई विश्लेषण गरी कारोबार तथा गतिविधिहरू सञ्चालन गर्ने भएकाले यस प्रकारको बैंकिङले ‘दिगो विकास’का लागि पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । त्यसैले सामाजिक बैंकिङलाई ‘दिगो बैंकिङ’ पनि भनिन्छ ।  यस प्रकारको बैंकिङले परम्परागत बैंकिङको जस्तो वित्तमा आधारित भएर मात्र वित्तीय सेवा प्रदान गर्न हुँदैन भन्ने मान्यता राख्छ । कुनै पनि बैंकिङ गतिविधिले वित्तीय पाटोका अलावा देशको सामाजिक एवं पर्यावरणीय पक्षप्रति थप प्राथमिकता दिनुपर्ने नै यो अवधारणाको केन्द्रविन्दु हो । अझ स्पष्टसँग भन्नु पर्दा सामाजिक बैंकिङले वित्तीय सेवासम्बन्धी क्रियाकलाप एवं निर्णय प्रक्रियालाई सामाजिक एवं पर्यावरणीय कसौटीमा समेत एकीकृत गर्नुपर्ने मान्यता राख्छ ।  विकासक्रम  हुन त ‘सामाजिक बैंकिङ’ शब्दको प्रयोग सन् १९५० देखि नै हुँदै आएको मानिन्छ तापनि यसको प्रयोगमा व्यापकता र अर्थबोधमा गहनता भने सापेक्षित रूपमा अहिले आएर दिन प्रतिदिन बढ्दै गएको प्रतीत हुन्छ । प्रारम्भमा यसलाई ‘दिगो लगानी’को अर्थमा मात्र बुझिने गरेकोमा अहिले यसलाई अन्य बैंकिङ सेवाहरूको सन्दर्भमा समेत अंगीकार गर्न थालिएको छ । अझ व्यक्तिव्यक्ति बीच प्रत्यक्ष रूपमा सामाजिक सञ्जाल एवं अन्य अनलाइन प्लेटफर्मको माध्यमबाट हुने कारोबार समेतलाई कसै कसैले सामाजिक बैंकिङको परिभाषाभित्र समेटेर यसको दायरालाई अझ फराकिलो बनाउने प्रयास पनि गरेका छन् ।  ‘मूल्यमा आधारित बैंकहरूको विश्वव्यापी संगठन’ (ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालु) का अनुसार अहिले विश्वमा यस्ता सामाजिक बैंकहरू हजारौंको संख्यामा रहेका छन् । सन् १९७० को दशकमा स्थापना भएको जर्मनीको ‘जीएलएस’ बैंकलाई अहिले विश्वकै सबैभन्दा ठूलो सामाजिक बैंकका रूपमा लिइन्छ भने सिकागोको शोर बैंक जस्ता दर्जनौं सामाजिक बैंकहरू अमेरिकामा पनि क्रियाशील रहेका छन् ।  अवयवहरू सामाजिक बैंकिङका लागि कतिपय अवयवलाई महत्त्वपूर्ण मानिन्छ । ती महत्त्वपूर्ण अवयवमध्ये वित्तीय सेवा प्रवाहको सामाजिक एवं पर्यावरणीय प्रभाव मूल्यांकन पहिलो नम्बरमा आउँछ । यसअन्तर्गत बैंकहरूले जलवायु परिवर्तनदेखि लिएर श्रमदेखि श्रमिकसम्मको सन्दर्भमा कार्यान्वयन गर्ने मापदण्ड, मानव अधिकार, तथा समग्र सामुदायिक विकाससमेतलाई दृष्टिगत गरी वित्तीय निर्यणहरू गर्ने गरिन्छ । यसैगरी ‘नैतिकतापूर्ण लगानी एवं कर्जा प्रवाह’ सामाजिक बैंकिङको अर्को महत्त्वपूर्ण कडी हो । यसअन्तर्गत जुन परियोजनाहरूले समाज एवं वातावरणलाई सकारात्मक योगदान दिँदै नवीकरणीय ऊर्जा, हरित ऊर्जा, दिगो कृषिप्रणालीजस्ता सामाजिक उत्तरदायित्वपूर्ण उपलब्धिहरू सुनिश्चित गर्छन् । त्यस्ता परियोजनामा प्राथमिकताका साथ लगानी गर्नुपर्छ ।  सामाजिक बैंकिङले वित्तीय समावेशिताको दायरालाई झन् फराकिलो बनाउन मद्दत गर्छ । लघुवित्त एवं साना तथा मझौला उद्यमीहरूका लागि आवश्यक पर्ने कर्जामार्फत यसले समाजमा वित्तीय सेवाको पहुँचबाट विमुख भएकाहरूलाई पनि वित्तीय जगत्मा एकाकार गराउन उल्लेख्य योगदान दिन्छ ।  पारदर्शिता र जवाफदेही सामाजिक बैंकिङको अर्को छुटाउन नहुने पक्ष हो । यसबाट आफ्ना क्रियाकलाप, गतिविधि, लगानी एवं व्यवसाय तथा अवलम्बन गरिएका नीति आदि समग्र पक्षमा पूर्णरूपमा जानकारी प्रदान हुने गरी सार्वजनिक गर्ने परिपाटी बसाइएको हुन्छ । यसरी पारदर्शी ढंगले विभिन्न तथ्यांक एवं प्रतिवेदन आवधिक रूपमा सार्वजनिक गरिने परिपाटीले आफ्ना सामाजिक उत्तरदायित्वपूर्ण कार्यका बारेमा सरोकारवाला सबैप्रति जवाफदेही बनाउनसमेत यथेष्ट योगदान दिएको हुन्छ । सरोकारवाला सबै पक्षको सहभागिता/संलग्नता सामाजिक बैंकिङको एक अर्को अभिन्न अंग हो । यसअन्तर्गत बैंकहरूले आफ्ना ग्राहक, कर्मचारी, समुदाय, तथा अन्य वकालत समूहहरू सबैलाई सँगसँगै आबद्ध गरी व्यवसाय सञ्चालन गर्छन् । संस्थाले लिने नीति, प्रदान गर्ने उत्पादन तथा सेवा आदिका बारेमा सम्बद्ध सबै पक्षबाट पर्याप्त रायसुझावसमेत ग्रहण गरी यस्ता बैंकले सबैको भावनाअनुरूप समग्र सामाजिक एवं वातावरणीय उद्देश्यहरू प्राप्त गर्ने गर्छन् । संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि सामाजिक बैंकिङको अर्को महत्त्वपूर्ण अवयव मान्न सकिन्छ । यसअन्तर्गत आफ्ना सबै प्रकारका आन्तरिक गतिविधिमा समेत समाजप्रतिको उत्तरदायित्वको भाव प्रकट गरिएको हुन्छ । संस्थामा ऊर्जा खपतमा मितव्ययिता अपनाउनेदेखि लिएर कर्मचारीहरूको बृहत्तर हितका लागि पर्याप्त अवसर प्रदान गर्ने तथा खेर जाने स्रोतको मात्रा उल्लेख्य रूपमा कटौती गर्नेसम्मका क्रियाकलापले पनि सामाजिक उत्तरदायित्वलाई नै आत्मसात् गरेको हुन्छ । यसै गरी सामाजिक बैंकिङका बारेमा कुरा गर्दा ‘साझेदारी र सहकार्य’लाई त झन् छुटाउनै सकिँदैन । यसअन्तर्गत कतिपय गैरसरकारी संस्था, प्रभावशाली लगानीकर्ता एवं सरकारी निकायसँग गरिने सहकार्य तथा समन्वय आदि पर्छन् । धेरैजसो अवस्थामा यस्ता साझेदारीले कतिपय महत्त्वपूर्ण सामाजिक एवं पर्यावरणीय चुनौतीहरूको सामना गर्न उपयुक्त र प्रभावकारी उपायहरू पहिचान गर्नुका साथै ती उपायहरूलाई प्रभावकारी रूपमा अवलम्बन गर्नसमेत सघाउ पुर्‍याउने गर्छ । हुन त सबै प्रकारका संस्थाको सन्दर्भमा र सबै प्रकारका समाजका लागि सामाजिक बैंकिङका अवयवहरूमा एकरूपता नहुन सक्छ तापनि आधारभूत रूपमा उपर्युल्लिखित पक्षहरूलाई नै सबै प्रकारका, संस्था, देश काल एवं परिस्थितिमा लागू हुने सामाजिक बैंकिङका साझा अवयव मान्न सकिन्छ । यति भए पनि सामाजिक बैंकले अहिले विश्वमा आवश्यक पर्ने सम्पूर्ण प्रकृतिका ‘वित्तीय’ आवश्यकताहरू पूर्ति गर्न सक्छन् भन्नेचाहिँ होइन । त्यसैले छिट्टै नै परम्परागत बैंकिङको प्रतिस्थापकका रूपमा यस्ता सामाजिक बैंकहरू विकसित हुनेछन् भन्नुचाहिँ अलिक हतारो नै हुनेछ ।  लेखक बैंकर हुन् ।

नबिल बैंकको सामाजिक उत्तरदायित्वः छथरमा उद्यमशीलता विकास तालिम

नबिल दिगो बैंकिङ अवधारणा अनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै नबिल बैंकले यस कार्यक्रममा आफ्नो आबद्धता जनाएको हो ।

ग्रीन फाइनान्समा प्रवर्द्धन

जलवायु परिवर्तन र आर्थिक समृद्धि यतिखेर संसारभरि नै उठेका जल्दाबल्दा मुद्दा हुन् । मानवीय क्रियाकलापले आर्थिक वृद्धि प्राप्त हुँदै गए पनि त्यसको असर पर्यावरणमा पर्न थाल्यो । त्यसैले पर्यावरणलाई थप बिग्रन नदिन ग्रीन फाइनान्स (हरित वित्त) चाहिन्छ भन्ने अवधारणा अघि बढ्दै गएको हो । नेपालजस्ता मुलुकका लागि ग्रीन फाइनान्सिङको झनै बढी महत्त्व छ । एकातिर नेपाल नवीकरणीय ऊर्जा उत्पादन गर्न प्रचुर सम्भावना भएको मुलुक हो भने अर्कोतर्फ भौगोलिक बनावटका कारण जोखिमयुक्त पनि । त्यसैले ग्रीन फाइनान्सिङलाई जोड दिने हो भने नेपालका लागि दोहोरो आर्थिक लाभ हुने देखिन्छ । पछिल्लो समय नवीकरणीय ऊर्जा, जैविक विविधताको संरक्षण, प्राकृतिक स्रोतसाधनको उपयोग, प्रदूषण रोकथाम जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने देखिएको छ, जुन ग्रीन फाइनान्सकै अवधारणा हो । र, यस्तै विषयमा काम गर्न संयुक्त राष्ट्रसंघलगायत थुप्रै मुलुकले ग्रीन फाइनान्समा काम गर्न जोड दिइरहेका छन् । यद्यपि अझै धेरै विपन्न मुलुकलाई ग्रीन फाइनान्सको अवधारणा नै थाहा नभएको हुन सक्छ । तर, अब ग्रीन फाइनान्सको महत्त्व थाहा नपाउने हो भने मानवीय जीवनमा लाभभन्दा हानि धेरै हुनसक्ने वैज्ञानिकहरूले चेतावनी दिइसकेका छन् । ग्रीन फाइनान्सको महत्त्वमा केन्द्रित हुँदै काठमाडौंमा पनि एक अन्तरक्रिया गरिएको छ । यस अन्तरक्रियामा सहभागी विज्ञहरूले ग्रीन फाइनान्सको महत्त्वलाई जोड मात्र दिएनन् जलवायु परिवर्तनले विकासोन्मुख देशको वित्तीय स्थायित्वमा जोखिम बढ्नेसमेत औंल्याए । आमसर्वसाधारण तहमा यसबारे निकै थोरै छलफल हुने गरे पनि फाटफुट रूपमा हुने यस्ता अन्तरक्रियाले जनचेतना वृद्धिमा पक्कै पनि मद्दत पुग्छ । तर, यतिले मात्र यस्तो जल्दोबल्दो मुद्दालाई न्याय गर्दैन । संसारले समातेको गतिलाई नेपालले चासो नदिने वा त्यस्ता मुद्दामा सँगसँगै अघि बढ्न नसक्ने हो भने आर्थिक, सामाजिक रूपमा नेपाल एक्लिन सक्छ । त्यसैले नीति निर्माण तहमा बस्नेहरूले संसार कहाँ र कता जाँदै छ तथा कुन मुद्दा अहिलेको प्राथमिकता हो भन्नेबारे सचेत भई सोचविचार गर्ने मात्र नभई कार्ययोजना बनाएर काम गर्न आवश्यक छ । नेपाल राष्ट्र बैंकले पनि दिगो विकास र वातावरणमैत्री लगानीका क्षेत्रलाई पहिचान गर्न यसअघि नै ‘ग्रीन ट्याक्सोनोमी’को अवधारणालाई कार्यान्वयनमा ल्याउने भनेको थियो । तर, अहिलेसम्म त्यो अवधारणा कार्यान्वयनमा आए/नआएको यकीन छैन । कार्यान्वयनमा आएको भए पनि के काम भइरहेको छ र जनस्तरमा कुन हदसम्म जानकारी दिइएको छ भन्ने विषय महत्वपूर्ण कुरा हो । ‘ग्रीन फाइनान्सिङ’लाई प्रोत्साहन गर्न हरित बन्ड निष्कासन गर्ने, पूँजी आवश्यकता पहिचान गर्नेलगायत विषय समावेश गरी ग्रीन ट्याक्सोनोमी कार्यान्वयन गर्ने भनिएको थियो । ग्रीन ट्याक्सोनोमीले वातावरण संरक्षणका हिसाबले कस्तो लगानी उपयुक्त छ वा छैन भनेर हेर्ने गर्छ । यस्तो अवधारणाको कार्यान्वयनले वातावरणीय रूपमा दिगो गतिविधि सञ्चालन हुने र लगानीका क्षेत्र पहिचान गर्न सहयोग गर्ने ठानिएको छ । नेपालजस्ता मुलुकका लागि ग्रीन फाइनान्सिङको झनै बढी महत्त्व छ । एकातिर नेपाल नवीकरणीय ऊर्जा उत्पादन गर्न प्रचुर सम्भावना भएको मुलुक हो भने अर्कोतर्फ भौगोलिक बनावटका कारण जोखिमयुक्त पनि । त्यसैले ग्रीन फाइनान्सिङलाई जोड दिने हो भने नेपालका लागि दोहोरो आर्थिक लाभ हुने देखिन्छ । जलविद्युत्, नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा हुने लगानीले विद्युत् उत्पादन वृद्धि हुँदा यसले दिने आर्थिक लाभ त छँदै छ भने जलवायु परिवर्तनका कारण निम्तिने असरलाई न्यूनीकरण गर्न सक्यो भने पनि यसबाट हुने जनधन क्षति घट्न सक्छ । एउटै प्रकृतिको काम गर्दा दोहोरो, तेहोरो लाभ हुनसक्ने भएकाले नेपालले ग्रीन फाइनान्सिङको प्रवर्द्धनका लागि कुनै पनि बहाना गर्न हुँदैन । बैंक तथा वित्तीय संस्थाको लगानी पनि त्यतातर्फ बढ्नुपर्छ र सरकारले त्यस्ता कार्यक्रमका लागि प्रोत्साहन गर्ने नीति लिनुपर्छ । जनचेतनाका लागि विभिन्न अन्तरक्रिया, चेतनामूलक कार्यक्रम गर्नु ठीकै भए पनि योजनाबद्ध रूपमा कार्यान्वयन गर्न ठोस नीति ल्याउनुपर्ने देखिएको छ । अहिलेसम्म वातावरण संरक्षणमा लाग्नेले मौद्रिक लाभ लिन सकेको देखिँदैन । पहिलो चरणमा पर्यावरण संरक्षणमा लागेकाहरू वा वृक्षरोपण गर्नेहरूले यस्तो काम गरेबापत बैंकिङ कारोबार वा बीमाको सुविधा पाएपछि जनस्तरमा यसको महत्त्व र प्रचार बढ्छ । ग्रामीण क्षेत्रमा बस्नेहरूलाई लाभ पुर्‍याउन सके मात्र ग्रीन फाइनान्सिङको अवधारणा कार्यान्वयन हुँदै जान्छ ।

नबिल बैंक र परोपकारी अभियानबीच सम्झौता

काठमाडौं (अस) । उद्यमशीलता प्रवर्द्धन गर्ने सम्बन्धमा नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पीआईएससी)बीच सम्झौता भएको छ । युवा उद्यमशीलता प्रवर्द्धनका लागि यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा नबिल बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईं र पीआईएससी नेपालका कार्यकारी निर्देशक प्रवीण खनालले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले गत चैत २५ र २६ गते काठमाडौंमा ‘युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ विषयमा कार्यशाला आयोजना गरेका थिए । युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी,  उद्यमी लगायतले आफ्ना विचार प्रस्तुत गरेका थिए । तीमध्ये उत्कृष्ट विचार पीआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजकले बताएको छ । उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरूलाई बैंकले बैंकको नीतिको अधीनमा रही विभिन्न बैंकिङ सेवा प्रदान गर्ने भएको छ । कार्यशालामा बैंकका नायव महाप्रबन्धक बजगाईंले युवा उद्यमशीलतामार्फत आर्थिक वृद्धि तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने बताए । युवा उद्यमशीलता प्रवर्द्धनका लागि आयोजित कार्यशालालाई सहयोग गर्न पाउनु उत्साहको विषय भएको उनको भनाइ थियो । आयोजक संस्थाका कार्यकारी निर्देशक खनालले बजार कहिल्यै नमर्ने भएकाले उद्यमशीलता पनि कहिल्यै नमर्ने धारणा राखे । राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्त्वपूर्ण रहेको उनले बताए ।

लघुवित्तमा सीएसआरको प्रयोग

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) व्यावसायिक क्षेत्रको नवीनतम अवधारणा हो । विकसित मुलुकहरूमा विगतदेखि नै यो अवधारणालाई प्रचलनमा ल्याइएको भए पनि नेपालमा भने केही समयअघि मात्र प्रचलनमा ल्याइएको पाइन्छ । औद्योगिक व्यवसाय ऐन, २०७६ ले खुद नाफाको निश्चित प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्थालाई समेटेको छ । त्यसरी नै नेपाल राष्ट्र बैंकले २०७३ सालदेखि इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले खुद नाफाको निश्चित प्रतिशत रकम सीएसआरसँग सम्बद्ध कार्यक्रमहरूमा खर्च गर्नुपर्ने निर्देशन जारी गर्दै आएको छ । नाफा आर्जन गर्नु व्यवसायको मूल उद्देश्य हो र उक्त व्यवसायबाट आर्जित मुनाफाको सानो अंश समुदाय र वातावरणको हितमा खर्च गर्नु सीएसआर हो । व्यावसायिक संस्थाले प्रत्यक्ष लाभको अपेक्षा नगरी समुदाय र वातावरणलाई लाभ पु¥याउने उद्देश्यले सीएसआरसँग सम्बद्ध कार्यहरू सञ्चालन गर्छन् । पछिल्लो समय यस विषयलाई नीतिगत रूपमा नै अनिवार्य बनाउन थालिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंक तथा वित्तीय संस्थाहरूले सीएसआरअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस लेखमा लघुवित्त वित्तीय संस्थाहरूले सञ्चालन गर्नुपर्ने सीएसआरसँग सम्बद्ध कार्यक्रम र त्यसको व्यवस्थापन सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूले सीएसआरअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने र सोका लागि एउटा सामाजिक उत्तरदायित्व कोष खडा गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । यस कोषमा खुद नाफाको कम्तीमा १ प्रतिशत र वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने भएमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम जम्मा गर्नुपर्ने र कोषमा जम्मा भएको रकम आगामी आर्थिक वर्षमा तोकिएका कार्यक्रमहरूमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । यस कोषबाट खर्च बेहोर्ने गरी विभिन्न किसिमका सामाजिक परियोजनाहरू, लघुवित्तीय सेवाको पहुँच अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम, लक्षित वर्गका लागि शिक्षा तथा स्वास्थ्यसँग सम्बद्ध कार्यका लागि नगद अनुदान, दिगो विकास लक्ष्यसँग सम्बद्ध विभिन्न प्रत्यक्ष र अप्रत्यक्ष कार्यक्रम, संस्थामा कार्यरत कर्मचारीका लागि शिशु स्याहार केन्द्रसँग सम्बद्ध कार्यक्रम, अनाथालय, बालमन्दिर र वृद्धाश्रमलाई दिइएका अनुदान तथा गरिएका खर्च, संस्थामा कार्यरत कर्मचारीलाई महामारीजन्य रोगबाट सुरक्षित राख्न गरिने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । लघुवित्त व्यवसायलाई समुदायप्रति उत्तरदायी बनाउन र लघुवित्त व्यवसाय तथा समुदाय बीच एकआपसमा असल सम्बन्ध विस्तार गर्ने उद्देश्यले सीएसआरसँग सम्बद्ध कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको हो । यससँग सम्बद्ध कार्यक्रमको सञ्चालन र त्यसको खर्च व्यवस्थापनका बारेमा विस्तृत अध्ययन गरी नेपाल राष्ट्र बैंकले नेपाली बैंकिङ क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व विषयक अध्ययन प्रतिवेदन हालसालै सार्वजनिक गरेको छ । प्रतिवेदनमा समग्र बैंकिङ क्षेत्रले सीएसआरसँग सम्बद्ध कार्यक्रमहरूमा प्रादेशिक सन्तुलन कायम हुने गरी प्रत्येक प्रदेशमा कम्तीमा १० प्रतिशत रकम खर्च गर्नुपर्ने निर्देशनको पालना नगरेको, वागमती प्रदेशमा मात्र ६७ प्रतिशत कार्यक्रम सञ्चालन भएको लगायत विविध पक्षको उल्लेख गरिएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७६/७७ मा ८३ दशमलव ३ प्रतिशत लघुवित्त वित्तीय संस्थाले यस कोषमा तोकिएबमोजिमको योगदान गरेका थिए भने यस क्षेत्रले आफ्नो मुनाफाको २ दशमलव शून्य १ प्रतिशत रकम अर्थात् १.६ अर्ब यससँग सम्बद्ध कार्यक्रमका लागि खर्च गरेका थिए । मुनाफाको आधारमा उक्त योगदान बैंकिङ क्षेत्रकै सबैभन्दा बढी हो । लघुवित्त वित्तीय संस्थाले सीएसआरअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न सीएसआर सञ्चालनसम्बन्धी कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराई सोहीबमोजिम भौगोलिक क्षेत्र तथा तोकिएको विषयहरूमा सन्तुलन कायम हुनेगरी न्यायोचित ढङ्गले कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । तर, लघुवित्त क्षेत्रमा सञ्चालन भएका यस्ता कार्यक्रमहरूमा भौगोलिक र विषयगत सन्तुलन कायम हुन नसकेको, सम्पर्क र पहुँचका आधारमा कार्यक्रम सञ्चालन गरीएको, आपूm अनुकूल र सहज कार्यक्रमहरूलाई प्राथमिकता दिने गरिएको, लक्षित वर्गलाई प्राथमिकतामा राख्ने गरी कार्यक्रम चयन नगरिएको, कार्यक्रमहरू सुगम क्षेत्र केन्द्रित हुने गरेको लगायत कमजोरी रहेको पाइन्छ । यसरी सीएसआर कोषको व्यवस्थित तवरले सदुपयोग हुन सकेको छैन भने सञ्चालित कार्यक्रमहरूको अनुगमन पनि भएको पाइँदैन । यसै विषयलाई दृष्टिगत गर्दै हालसालै नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई निर्देशन जारी गर्दै वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने भएमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकमलाई यस वर्ष सीएसआर कोषमा जम्मा गर्नु नपर्ने व्यवस्था गरेको छ । यसका साथै, मुलुकमा कोरोना महामारी पैmलिएपछि सीएसआर कोषमा रहेको सम्पूर्ण रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले निर्देशनबमोजिम लघुवित्त संस्थाहरूले सीएसआर कोषमा रहेको सम्पूर्ण रकम उक्त कोषमा जम्मा गरेका छन् । यसरी लघुवित्त वित्तीय संस्थाहरूले सीएसआरसँग सम्बद्ध कार्यक्रमलाई नियमनकारी निकायको निर्देशनको अनुपालनाभन्दा पनि बाध्यकारी व्यवस्थाको रूपमा लिएको देखिन्छ । नेपाल राष्ट्र बैंक बैंकिङ क्षेत्रको नियामक र सुपरिवेक्षक मात्र नभई नियन्त्रक र उत्कृष्ट व्यवस्थापक पनि हो । यही कारणले गर्दा नै अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र थप सशक्त र पारदर्शी तवरले सञ्चालन हुँदै आएको छ । विस्तृत अध्ययन र लामो अनुसन्धानपछि ल्याइएका कार्यक्रमहरूले प्रत्यक्ष रूपमा तत्कालका लागि मौद्रिक एकाइमा फाइदा नदिलाए पनि संस्था, समुदाय र वातावरणलाई दीर्घकालमा सकारात्मक प्रभाव पार्छन् । यस्ता कार्यक्रमको व्यवस्थित कार्यान्वयनले मात्र कार्यक्रमको उद्देश्यलाई मूर्तरूप दिन सकिन्छ । यसै तथ्यलाई मनन गर्दै सीएसआरसँग सम्बद्ध कार्यक्रमलाई प्रभावकारी तवरले सञ्चालन गर्न राष्ट्र बैंकले भर्खरै जारी गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व खर्च व्यवस्थित गर्न मार्गदर्शन जारी गर्ने विषय उल्लेख गरेको छ । आशा गरौं, उक्त मार्गदर्शनले लघुवित्त क्षेत्रमा सञ्चालनमा ल्याइएको संस्थागत सामाजिक उत्तरदायित्व कोषको सही व्यवस्थापन गर्नेछ । लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

केवाईसी र केवाईसीसीको सान्दर्भिकता

ग्राहक पहिचान अर्थात नो योर कस्टुुमर ( केवाइसी ) भनेको बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरूको सम्पूर्ण विवरण राख्ने एक किसिमको फारम हो । विशेषगरी बैंकमा खाता खोल्दा अनिवार्य रूपमा केवाईसी फारम भर्नुपर्ने हुन्छ । यसमा आफ्नो फोटो, परिचयपत्र, ठेगाना र पारिवारिक विवरणलगायत आवश्यक पर्छ । ग्राहक पहिचानले बैंक र ग्राहकको बीचमा विश्वसनीयताको वृद्धि गर्छ । निश्चित उद्देश्य राखी प्रचलित कानूनबमोजिम व्यावसायिक कारोबारमार्फत सेवाप्रवाह गरी राखेका सबै बैंक तथा वित्तीय संस्थाका लागि ग्राहकसँगको सम्बन्ध महत्त्वपूर्ण पक्ष हो । विश्व बजारमा पैसासँग प्रत्यक्ष कारोबार गर्ने गरेका बैंक तथा वित्तीय संस्थाका लागि केवाईसीको महत्त्वपूर्ण भूमिका रहन्छ । सम्पत्ति शुद्धीकरण र आतङ्कवादी कार्यमा वित्तीय लगानी मात्रात्मक र गुणात्मक हिसाबले बढ्न थाले पछि अन्तरराष्ट्रिय क्षेत्रमा ठूलै चासो देखा परेको छ । गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्ति कानूनी स्रोतबाट आएको देखाउन गरिने कुनै पनि काम कारबाहीलाई सम्पत्ति वा मुद्रा शुद्धीकरण भनिन्छ । विश्वका विभिन्न मुलुकमा गैरकानूनी सम्पत्ति आर्जन गर्ने, त्यस्तो सम्पत्ति शुद्धीकरण गर्ने र कुनै पनि किसिमको सम्पत्ति आतङ्ककारी कार्यमा लगानी गर्नेजस्ता कार्यहरू अत्यधिक रूपमा वृद्धि हुन थालेको छ । यस्तो सम्पत्ति हातहतियार तथा लागू पदार्थ तस्करी, ठगी, भ्रष्ट्राचार, मानव बेचबिखन, अपहरण, आतङ्ककारी गतिविधिजस्ता गैरकानूनी कार्यबाट प्राप्त हुने गरेको छ । यसले विकसित मुलुकलाई भन्दा नेपालजस्तो विकासन्मुख मुलुकलाई गम्भीर असर गर्ने छ । यसले नेपालमा पारदर्शिता घटाउने, आर्थिक स्थायित्व ध्वस्त पार्ने, विश्वास गुमाउने, विदेशी मुद्रा विनिमय दर अस्थिर बनाउने, नियमन, निरीक्षण, सुपरिवेक्षणलाई कमजोर पारी अन्त्यमा अपराध र आपराधीलाई नै शक्तिशाली बनाउने हुँदा केवाईसीको सान्र्दभिकता नेपालमा बढेको छ । विसं २०६४ वैशाख १४ गते प्रकाशित मुुद्रा शुद्धीकरण विरुद्धको ऐन २०६३ को कार्यान्वयनसँगै नेपालको केन्द्रीय बैंकले भ्रष्टाचार, चोरी, करछली, ठगि, लागूऔषधको ओसार पसार, वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरण रोक्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थामा केवाईसी फारम अनिवार्य भर्नुुपर्ने व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको थियो । आन्तरिक कारोबारको सूक्ष्म अध्ययन गर्न, कुनै एक संस्था वा व्यक्तिले जम्ममा गरिदिएको रकम या एक खातामार्फत अर्को खातामा जाने रकमजस्ता दुुई पक्षीय कारोबारको समेत सूक्ष्म अध्ययन जरुरी छ । तसर्थ वित्तीय कारोबारको वैधानिकताको जानकारी राखी बैंक तथा वित्तीय संस्था थप सुरक्षित बन्नका लागि समेत नो योर कस्टुुमरको अवधारणा अगाडि आएको हो । तर, धेरै बैंक तथा वित्तीय संस्थाले हाल पनि एकातर्फ केवाईसीको विवरण पूर्णरूपमा अपडेट गर्न चुुकेको पाइन्छ । केवाईसीमा भरिएको विवरणको भेरिफिकेशन समेत भएको पाइँदैन । नेपाल राष्ट बैंकले जारी गरिएको एकीकृत निर्देशनमा समेत कारोबार गर्न आउने ग्राहकको पहिचान, बसोवास र पेशाको बारेमा जानकारी लिने जस्ता निर्देशन दिइएको छ । नियम तथा निर्देशनको पालना नगर्ने र नगराउने पक्षलाई कमीकमजोरीको आधारमा सजाय तथा जरीवाना गर्ने समेत उल्लेख छ । व्यक्तिको पेशा, व्यवसाय, कारोबारको निरन्तर अनुगमन, पारिवारिक तथा अन्य पृष्ठभूमि र गतिविधिका बारेमा बैंक तथा त्यसमा कार्यरत कर्मचारी चनाखो बन्नुपर्छ । तर, १० लाखभन्दा बढी रकम जम्मा हुन आएकोमा ग्राहकले आयस्रोत नखुलाएको भौचरसमेत बैंकले स्वीकार गरेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाहरूले बैंकिङ कारोबारमा आउने ग्राहकको केवाईसीको रूपमा विस्तृत सूचना मात्र राख्ने कार्यले ग्राहकसँगको सम्बन्ध विस्तार र बैंकिङ अपराधकोे पहिचान गर्न कठिन हुुन सक्छ । तसर्थ केवाईसीसीग्राहक पहिचान र हेरचाहलाई समेत उतिकै महत्त्व दिनुपर्छ । बैंकिङ क्षेत्रको थप सुधार, विस्तार र स्रोत साधनको प्रभावकारी उपयोगद्वारा ग्राहाकवर्गलाई चुस्तदुरुस्त र गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक छ । ग्राहक व्यवसायको मेरुदण्ड हो जो विना व्यवसायको कल्पनासम्म पनि गर्न सकिँदैन । कुनै व्यक्ति वा निकायले बैंकसँग ऋण, निक्षेप वा एजेन्सीसम्बन्धी कार्यका लागि प्रस्ताव गर्ने र बैंकले स्वीकार गर्ने प्रक्रियाबाट ग्राहक सृजना हुन्छन् । तसर्थ बैंकको सबै उत्पादन एवं व्यवहार ग्राहकमैत्री हुनु जरुरी छ । बैंकमा विभिन्न प्रोडक्टहरू हुन्छन् । सेवाप्रवाह गर्ने स्थान, प्रविधि तथा साधन विभिन्न हुन सक्छन् । कुनै ग्राहकले इन्टरनेटको माध्यमबाट त कसैले एटीएमबाट अनि कसैले मोबाइलबाट त कसैले प्रत्यक्ष रूपमा काउण्टरबाट सेवा प्राप्त गरिरहेका हुन्छन् । आजकल बैंकहरूले ग्राहकको चाहनाअनुरूप आफ्ना प्रोडक्टहरू बनाउने गर्छन् । संस्कृति, जात, धर्म, प्रचलन, सामाजिक प्रतिष्ठा, सामाजिक व्यवहार, उमेर, जीवनशैली, पेशा, आर्थिक अवस्था, व्यक्तित्व, रुचि ज्ञान उत्प्रेरणा, सन्तुष्टि आदिलाई हेरेर बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकमैत्री नीति तथा वस्तु बनाउनुपर्छ । ग्राहकको आवश्यकता, चाहना, मान्यता एवं आकांक्षामा आउने परिवर्तनको विश्लेषण गर्ने, सुझाव तथा गुनासोको सम्बोधन गर्ने, ग्राहक सम्बन्धका बारेमा तालीम प्रदान गरी कर्मचारीलाई ग्राहक मैत्री बनाउनेजस्ता काम गरिनुपर्छ । ग्राहकलाई सन्तुष्ट बनाउन भौतिक सुविधा, आकर्षित हेल्पडेस्क, प्रसिद्ध लोकेशन, लेआउट र डिजाइन, प्रतीक्षालय, आरामकक्ष, पिउने पानी, शौचालय आदिको उचित व्यवस्था हुनुपर्छ । पत्रपत्रिका, टेलिफोन, निःशुल्क इन्टरनेट सुविधाको व्यवस्था एवं सुझाव पेटिका, छिटो र स्तरीय सेवा, पालो प्रणाली, राम्रो व्यवहार, असल चालचलन , सहयोगी र समाधानमुखी व्यवहार पनि आवश्यक हुन्छ । नेपाल सरकारले समेत सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिने सम्बन्धमा सबै निकायलाई निर्देशन दिएको थियो । तर, सर्वसाधरणले यसको अनुुभूति पाउन सकेको अवस्था देखिँदैन । निजीक्षेत्रका बैंकले भने यसमा ध्यान दिएको पाइन्छ । बैंकिङ क्षेत्रमा कानून र निर्देशन धेरै हुने तर कार्यान्वयन फितलो र ग्राहक सेवा र संरक्षण समेत कमजोर एवं असुुरक्षित हुुँदा ग्राहकको गुुनासाहरू बढ्न थालेको पाइन्छ । अब नेपालको केन्द्रीय बैंकले केवाईसी मात्र नभई यसलाई परिमार्जन गर्दै केवाईसीसी अर्थात् ग्राहक पहिचान र हेरचाहको एउटै प्याकेजसमेतको अवधारणा ल्याउनु आवश्यक भएको छ । लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुुन् ।