स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने क्यान महासंघको माग

२४ भदौ, काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) कारण लगाइएको निषेधाज्ञा र लकडाउनले गर्दा गरिखाने वर्ग अफ्ठ्यारोमा …

सम्बन्धित सामग्री

कोभिड महामारीले पुनः सुस्ताउँदै पर्यटन क्षेत्र

काठमाडौं । कोभिड महामारीको असरबाट विस्तारै लयमा फर्किंदै गरेको नेपालको पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रासले पुनः सुस्ताउन थालेको छ । पर्यटन क्षेत्रले लय लिँदै गर्दा ओमिक्रोन भेरियन्ट संक्रमण बढेसँगै  पर्यटन क्षेत्र प्रभावित भएको छ । पछिल्ला दिनमा निरन्तर बढिरहेको संक्रमणले व्यवसायी मात्रै होइन, आम सर्वसाधारणलाई चिन्तित तुल्याएको छ । महामारीको प्रतिकूल परिस्थितिका बीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसाय चलायमान बनाउन व्यवसायीले माग गरेका छन् । कुल जनसंख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट ‘डेल्टा’जस्तो खतरनाक नभएको विज्ञले बताइरहेका छन् । तथापि, नयाँ भेरियन्टले चाँडो संक्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ । कोभिड संक्रमितको ग्राफ हेर्दा पछिल्ला १० दिनमा अत्यधिक संख्यामा संक्रमित बढेका छन् । पुसको तेस्रो साता झन्डै ३०० हाराहारी संक्रमित रहेकोमा पुस मसान्तसम्म पुग्दा पाँच हजार नाघिसकेको छ । पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका हुन् । साथै उनीहरूले कोरोना संक्रमण भन्दै हठात् लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ ।      होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए । ‘संक्रमण बढे पनि एक्कासि बन्दाबन्दी गर्नु हुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक संक्रमण बढेका विश्वका अन्य मुलुकले पनि यही अभ्यास गरिरहेका छन्,’ उनले भने । स्वास्थ्य र आर्थिक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकार र निजीक्षेत्रको समन्वयका साथ प्रभावकारी कदम अविलम्ब अघि बढाइनुपर्ने उपाध्यक्ष शाहको भनाइ छ । महामारीको त्रासले होटल क्षेत्र पनि सुनसान जस्तै छन् । विदेशी पर्यटक उल्लेख्य मात्रामा नआउँदा होटल खोल्ने र पाहुना कुर्नुपर्ने अवस्था मात्रै भएको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका उपाध्यक्ष शाहले बताए । ‘होटल व्यसाय सुस्त छ, व्यापार छैन, होटल खोलेर के गर्नु मानिसमा अन्योल छ,’ उनले भने । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । कोभिड–१९ का अघिल्लो लहरजस्तो यो पटकको भेरियन्ट बढी घातक नभएको विज्ञले बताइरहेको र खोपको मात्रा बढेर स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष ध्यान दिइरहेको अवस्था भएकाले तत्कालै बन्दाबन्दीमा नगरेर पर्यटन क्षेत्रलाई सञ्चालन गरिनुपर्ने नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङले बताए । उनका अनुसार योपटक वसन्तकालीन पर्वतारोहणका लागि बुकिङ राम्रो छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खोमबहादुर सुवेदीले महामारीबाट सतर्कता अपनाएर व्यवसायलाई चलायमान बनाउन सरकार र निजीक्षेत्रले प्रभावकारी कार्ययोजनाका साथ काम गर्नुपर्ने खाँचो औंल्याए । यस्तै प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बडुवालले कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको र व्यवसायलाई कसरी सञ्चलन गर्ने भन्नेबारे सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य जरुरी भएको बताए । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्था हेरेर पर्यटन प्रवर्द्धनको रणनीति परिवर्तन गर्न सुझाव दिए । यस्तै एक्सपिडिसन अपरेटर एशोसिएशनका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने सुझाए । रासस