कुमारी बैंक र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कात्तिक ७, काठमाडौं । कुमारी बैंक र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ । दुवै कम्पनीहरुले सोमवार अर्थात् कात्तिक ८ गते बुक क्लोज गर्दैछन् । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र यी दुवै कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले यस वर्ष गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते आफ्नै कार्यालय नक्सालमा २१औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११:३० बजे शुरु हुने जानकारी दिएको छ । उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, शिवम् सिमेण्टले गत आर्थिक २०७७/०७८ वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते होटल सोल्टी, काठमाडौंमा बिहान १० बजे छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको चुक्तापूँजी भन्दा बढी रकम कुनै बैंक तथा वित्तीय संस्थाहरुबाट थप कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सम्बन्धित सामग्री

कुमारी बैंकको ऋणपत्र आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि निष्कासन गरेको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रयोग गरेर पनि ऋणपत्र खरीद गर्न सक्नेछन् । ऋणपत्र निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।

अपर तामाकोशीको शतप्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । भदौ १८ गतेदेखि विक्रीमा आएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँ छ । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । शतप्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रूपैयाँ कायम हुनेछ ।  हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २६ गते एक दिन बुक क्लोज गरिएकाले साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकहरूसँगै लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  यस कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी २ अर्ब ३१ करोड रूपैयाँभन्दा बढी मात्र थियो । गत वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा नोक्सानी बढ्न गएको हो । अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष ७ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी रहेको हो । वित्तीय आम्दानी भने अघिल्लो वर्ष ४९ लाख रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ३ करोड ८१ लाख रूपैयाँभन्दा बढी भएको छ । अन्य आम्दानी समेत अघिल्लो वर्ष २० लाख रूपैयाँभन्दा बढी भएकोमा गत वर्ष २ करोड ४५ लाख रूपैयाँभन्दा बढी भएको छ ।  विद्युत विक्रीबाट अघिल्लो वर्ष ७ अर्ब ११ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ८ अर्ब १२ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँ छ भने रिटेन्ड अर्निग ६ अर्ब ९१ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीले लिएको दिर्घकालिन कर्जा अघिललो वर्षभन्दा गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ७३ अर्ब ७८ करोड रूपैयाँभन्दा बढी रहेको दिर्घकालिन कर्जा गत वर्ष ७३ अर्ब १५ करोड रूपैयाँभन्दा बढी कायम भएको हो । अल्पकालिन कर्जा भने अघिल्लो वर्ष ५ अर्ब १० करोड रूपैयाँ रहेकोमा गत वर्ष ६ अर्ब पुगेको छ । गत चौथो त्रैमाससम्म कम्पनी ३५ रूपैयाँ ४९ पैसा प्रतिशेयर नोक्सानीमै रहेको छ । प्रतिशेयर नेटवर्थ भने ३४ रूपैयाँ ६७ पैसा छ ।

सोनापुर मिनरल्स् एण्ड आयलको आईपीओ स्थानीयले खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले साउन २९ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने भदौ ११ गतेसम्म आईपीओ विक्री गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने कम्पनीले १० लाख ७६ हजार २६८ कित्ता आईपीओ विक्री गरेको हो ।  कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले प्रिमियम मूल्यसहित आईपीओ विक्री गर्न अनुमति पाएको हो । आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न अनुमति पाएको हो । सर्वसाधारण तर्फको शेयरमध्ये १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको हो । कुल कित्ता आईपीओमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पाका स्थानीय बासिन्दाका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ विक्री गर्न लागेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताको माग गर्न सकिनेछ । अधिकतम कित्ताका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड छ । स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले दाङमा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ जेठ १८ गतेदेखि कम्पनीले उत्पादन शुरू गरेको हो ।

७ ओटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

माघ ११, काठमाडौं । प्रडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेका ७ ओटा कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।   क्यापिटलको स्वामित्वमा रहेका प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, आईसीएफसी फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।   कम्पनीले माघ ५ गतेदेखि आफ्नो स्वामित्वमा रहेको ति ७ ओटा कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । विद्यमान संस्थापकहरुलाई प्रथामिकता दिई यसभन्दा अगाडिनै कम्पनीले ३५ दिने सूचना प्रकाशित गरीसकेको हुँदा यसै सूचनाद्वारा विद्यमान संस्थापकहरुलाई जानकारी गराएको छ । क्यापिटलले प्रभु बैंकको ४६ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १७५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  त्यसैगरी, प्राइम कमर्शियल बैंकको शेयर न्यूनतम मूल्य प्रतिकित्ता रू. १९०, कुमारी बैंकको रू. १७५, आईसीएफसी फाइनान्सको रू. २५०, नेपाल ग्रामीण विकास लघुवित्तको रू. ४००, नेशनल लाइफ इन्स्योरेन्सको रू. ३९४ र नेपाल इन्स्योरेन्सको रू. ४५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।  विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कुमारी बैंक र शिवम् सिमेन्ट सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज कार्तिक ७ गते आइतबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि कार्तिक ८  गते सोमबार बुक क्लोज गरेका १ बाणिज्य बैंक, १ लघुवित्त र १ रियल सेक्टर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । आज कुमारी बैंक, गुराँस लघुवित्त र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।कुमारी बैंकले कात्तिक १६  गतेका लागि साधारणसभा डाकेको बैंकले छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत गरि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्। गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन्। साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गुराँस लघुवित्तले कात्तिक २२ गते सोमबारका लागि साधारणसभा डाकेको छ।  साधारणसभा प्रयोजनार्थ लघुवित्तले यहि कात्तिक ८ देखि २२ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै लघुवित्तको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य लघुवित्तलाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने,  लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन् । लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १६।९० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद गरि कुल १७।८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन्।हाल लघुवित्तको चुक्तापुंजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ। बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९ करोड ७५ लाख पुग्नेछ। लघुवित्तको साधारणसभाले संस्थापक समुहबाट चार जना संचालकको लागि निर्वाचन गर्नेछ। शिवम सिमेन्टले  कार्तिक १६ गते मंगलबार भर्चुअल माध्यमबाट समेत सहभागी हुन् सक्ने गरि सभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । कम्पनीले अहिलेसम्मकै उच्च लाभांश घोषण गरेको छ। कम्पनीले गत आर्थिक बर्षको कमाईबाट २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीको असोज २२ गते बसेको संचालक समितिको ९२ औं बैठकले गत आर्थिक बर्षबाट दिने लाभांश प्रस्ताव गरेको हो। उक्त लाभांश साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा वितरण हुनेछ। नगद लाभांश बापत कम्पनीले १ अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्ने छ। कम्पनीले आफ्नो चुक्ता पुंजी ४ अर्ब ४० करोडको २९ प्रतिशतले हुन आउने उक्त रकम बराबरको नगद लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले गत आर्थिक बर्षबाट प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै उच्च हो। यसअघि शिवम सिमेन्टले २४.२१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो। कम्पनीले गत आर्थिक वर्ष एक अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो। कम्पनीले थप कार्य गर्न सक्ने गरि कम्पनीको उदेश्य थप गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने भएको छ । कम्पनीले आफ्नो उदेश्यमा 'आइरन ओर, फलाम, खनिज तेल, खनिज नून, डोलोमाइट, खरि, रेडक्ले, चुनढुंगा लगायतका धातु तथा अधातु खनिज पदार्थहरूको खोज अनुसन्धान, संकलन, उत्खनन्, दुवानी तथा खरिद विक्री गर्ने । चुनढुंगा उत्खनन गर्दा निष्कने ओभर वर्डनलाई खानीस्थलबाट व्यवस्थापन गर्न क्रसिंग गरी वा नगरी सडक, पुल भवन, कुलो नहर निर्माणमा आवश्यक पर्ने निर्माण सामाग्रीको रूपमा उपयोग गर्ने, अन्य व्यक्ति वा संस्थालाई हटाउन लगाउने वा विक्री गरी ओभरवोर्डन व्यवस्थापन गर्ने' भन्ने बुँदा थप गर्न लागेको हो ।त्यस्तै सभामा अध्यक्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको बार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको कम्पनीको वासलात तथा सोही मितिमा समाप्त भएको आ. व. २०७७/०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका ले.प. सम्बन्धि अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ,  कम्पनीको आ. व. २०७८०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , कम्पनी ऐन २०६३ को दफा ९३ बमोजिम यस कम्पनीका आधारभूत शेयरधनी वा संचालक सम्बद्ध रहेको संस्था तथा यसै संस्थाका सम्बद्ध अन्य कम्पनीसंग गरेको कारोवार छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।कम्पनीले आफ्नो उद्येश्य एवं परियोजना बमोजिमका कार्यहरूका लागि कम्पनीको चुक्ता पूँजी भन्दा बढि रकम कुनै बैंक तथा वित्तिय संस्थाहरूबाट थप कर्जा सुविधा लिनु परेको खण्डमा पनि कर्जा सम्झौता गरी आवश्यक रकम कर्जा सुविधा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्ने प्रस्ताव पेश गर्ने छ।कम्पनीले साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ८ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। कात्तिक ७ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन।