कुमारी बैंकको ऋणपत्र आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि निष्कासन गरेको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रयोग गरेर पनि ऋणपत्र खरीद गर्न सक्नेछन् । ऋणपत्र निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।